-->
लेप्चाहरु  चुनावको राजनीतिमा सक्रिय हुने छाट्

लेप्चाहरु चुनावको राजनीतिमा सक्रिय हुने छाट्


डी के वाइबा, कालिमन्युज, कालेबुङ, 20 दिसम्बर। लेप्चा बिकास बोर्ड गठन पछि आज कालेबुङको मेला ग्राउण्डमा आयोजित अन्तिम लेप्चा राजा पुणो गेबु आच्योकको 282 औं जन्मदिवस कार्यक्रमले अब लेप्चाहरु सक्रिय राजनीतिमा उत्रिने छाँट स्पष्ट बनेको छ। 
लेप्चा बिकास बोर्ड गठन गठनलाई लिएर अनेकौ राजनीति हुँदा समेत मौन राजनैतिक बयानबाजीबाट टाडा बसेको ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसन (ईल्टा)ले आगामी दिनमा सक्रिय राजनितिक भूमिका निर्वाह गर्ने स्पष्ट बन्यो। 
आफ्नो भाषा, साहित्य, संस्कृति, जाति र क्षेत्रको निम्ति महत्वपूर्ण योगदान पुर्‍याउँने लेप्चा राजा गेबु आच्योकको जन्मदिनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आज लेप्चाहरुले पहाडमा रहेका एक लाख लेप्चा मतदाताहरु एक बन्नु पर्ने आह्वान गरेको छ। 
उक्त घोषणा संगै लेप्चाहरुले आगामी 2014 मा सम्पन्न हुने लोकसभा चुनावमा सक्रिय भूमिका निर्वाह गर्ने छाँट पनि स्पष्ट भएको हो। मायल्याङ लेप्चा बिकास बोर्डका अध्यक्ष एल एस तामसाङको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रुपमा सिक्किम सरकारका पूर्व अतिरिक्त सचिव पीडब्ल्यूडी ढेण्डुप अदेनमो लेप्चा उपस्थित रहेका थिए। 
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै एल एस तामसाङले लेप्चा बिकास बोर्ड लेप्चाहरुले लेप्चाहरुकै निम्ति ल्याएको हो भने। "यो बोर्ड भनेको बाइ द लेप्चा,टू द लेप्चा र फर द लेप्चाज भनेको सरह हो ” एल एस तामसाङले कार्यक्रमलाई सम्बोधन गर्दै भने। यसक्रममा तिनले उक्त बोर्डले लेप्चा जातिको भाषा, साहित्य संस्क़ृतिको बिकास गर्ने बताउँदै अब चाँडै लेप्चा भाषा प्राथमिक पाठशालाहरुमा अध्ययन हुने बताए। 
तिनले अब लेप्चा जाति अरूको पछि लाग्ने परम्परालाई तोडेर एकबद्ध हुने आह्वान गर्दै राजनैतिक रुपमा सचेत बन्नुपर्ने पनि तिनले बताए। “अब लेप्चाहरु राजनैतिक रुपमा एकबद्ध हुनपर्छ। हामीले धेरै सांसद र बिधायकहरु पठायौँ तर ग्रामीण क्षेत्रमा बस्ने हाम्रा लेप्चा दाज्यु भाईहरुको आङमा न्यानो घाम कहिल्यै लाग्न सकेन” कार्यक्रमलाई सम्बोधन गर्दै ईल्टा अध्यक्ष दोर्जी टी लेप्चाले भने। 
यसक्रममा तिनले अब लोकसभा चुनाव आउँदैछ भन्दै राजनैतिक दलहरुले पनि अब सोंच्नुपर्छ भने। यसक्रममा तिनले आफूहरुले सम्पूर्ण पहाडवासीको भविष्य उज्वल होस भन्ने चाहना राखेको पनि तिनले बताए। लेप्चा भाषा प्राथमिक पाठशालाहरुमा अध्ययन गर्ने बिषयलाई लिएर कतिपय राजनैतिक दलहरुले बिरोध गर्ने गरेको बताउँदै यो राम्रो कार्य नरहेको तिनले बताए। 
“संविधानको 350 ए अन्तर्गत अल्पसंख्यकहरुले आफ्नो भाषामा पड्न पाउनपर्ने उल्लेख रहेको छ। संविधान भन्दा ठूलो कोही छैन” दोर्जी टी लेप्चाले भन। यसक्रममा एमएलडीबी उपाध्यक्ष युसुफ सिमिकले सम्बोधन गर्दै लेप्चाहरुको लडाई आफ्नो जातिमा रहेको पछौटेपन र गरिबी उन्मूलनको लडाईरहेको बताए। 
आफ्नो जातिको सर्वाङगिन बिकासको निम्ति कार्य गर्दा आफूलाई गाली गर्ने कार्य भएको बताउँदै आफूहरुले कसैको बिरोध नगरेको स्पष्टीकरण दिए। "अब लेप्चा भाषामात्र होइन गुरूङ तामाङ र अन्य भाषाहरूको पढाइ शुरू हुने कुरामा हामी आश्‍वस्त छौं। कसैको पनि मातृभाषाको विरोधमा कुरा गर्नु ठीक होइन” सिमिकले भने। 
यता उक्त कार्यक्रममा आज अथिङ केपी तामसाङ ल्याङवेज एण्ड लिटरेरी अवार्डद्वारा लुङस्योल दोरिङका पुणो गेबु आच्योक स्कूललाई पुरस्कृत गरियो यसक्रममा लेप्चा पत्रिका अनि सीडी पनि सार्बजनिक गरियो। 
कार्यक्रममा लेप्चा समुदायले बिभिन्ना सांस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरेका थिए भने यस अवसरमा सिक्किम दार्जीलिङ लगायत बिभिन्न स्थानहरुबाट धेरै मात्रमा लेप्चा मानिसहरु उपस्थित रहेका थिए।

0 Response to "लेप्चाहरु चुनावको राजनीतिमा सक्रिय हुने छाट्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.