-->
राजनेता, राजनीति र राजीनामाको हल्ला

राजनेता, राजनीति र राजीनामाको हल्ला

डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 नोभेम्बर 2013। कहिले सरकारलाई डर देखाउँन, कहिले जनतालाई आफ्नो पक्षमा आकृष्ट पार्न राजनेताहरु राजनीतिमा राजीनामाको हल्ला पिट्छन। राजनीतिमा यसरी राजीनामाको हल्ला दार्जीलिङ पहाडमा समय समयमा चल्दै आईरहेको छ।
दार्जीलिङ पहाडमा जब जब राजीनामाको चर्चा अघि आउँछ त्यस चर्चामा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीको नाउँ पहिलो पंक्तिमा आउने गरेको छ। यहीँ राजीनामाको हल्ला हुने क्रममा आज कालेबुङ शहरमा डा हर्कबहादुर छेत्रीले राजीनामा दिए भन्ने हल्ला कालेबुङ शहरमा डडेलो झै सल्कियो। पत्रिका पसल, चिया दोकान, डम्बर चौक, पार्टी अफिस सबैतिर तिनको राजीनामा बिषयमा नै चर्चा थियो। आफ्नै पार्टीका कार्यकर्ता र नेताहरुदेखि लिएर बिपक्षका नेताहरुसंगै राजनीतिमा चासो राख्नेहरुले डा छेत्रीले राजीनामाको चर्चालाई खुलेर कुराकानी गर्दै गफ हाँकिरहेका देखियो।
वास्तवमा राज्य सरकारले त्रिपक्षीय सम्झौतामा मुद्दा माफीको कुरालाई पालन नगरेको सन्दर्भमा डा छेत्रीले राजीनामा दिने बयान दिएको आजको एक अङ्ग्रेजी राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएको थियो। सरकारले आफ्नो बचनलाई पालन नगरेको र पार्टी अध्यक्षले तिनलाई दिएको जिम्मेवारी पुरा नगरेको सन्देह जनाइएको कुरो बताइएको थियो। आफूले सरकार समक्ष गर्नु पर्ने प्रयास गरेको तर सरकारले सो पालन नगर्दा पार्टी अध्यक्षले तिनलाई सो सरकार समक्ष सम्झाउन असमर्थ भएको मन्तव्य पोखे पछि सरकारको नियत बिरुद्ध बिद्रोह गर्दै राजीनामा दिने तिनको धम्कि थियो। तर तिनको उक्त बयान बोकेर समाचार पत्र कालेबुङ आईपुग्न अघिनै राजीनामाको हल्ला कालेबुङ शहर भित्रिसकेको थियो। हल्लाको डडेलो यत्ति सल्केको थियो कि जता ततै चर्चाको बिषय नै डा छेत्री बनेको थियो।
“कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले पार्टीबाट राजीनामा दिए’रे” कालेबुङ शहरमा बिहानैदेखि यसरी हल्लाको डडेलो गल्लि गल्लिमा सल्कन्दै थियो। शहरको मुटु मानिने डम्बर चौकमा कानेखुशी चल्दै थियो। ‘पत्रकारहरुलाई त थाह होला नि के हो वास्तविकता ?’ चौकमा समाचारको खडेरीमा समाचार केहि होला कि भनेर गफ हाँक़्दै बसेका पत्रकारहरुलाई चिनेकाहरुले सोद्धै थिए।
सिलगडी, दार्जीलिङ लगायत अन्य क्षेत्रका पत्रकारहरुले यताका पत्रकारहरुलाई फोनको घण्टि बजाएर त्यहीँ कुरा जान्न खोज्दै थिए। राजीनामा दिएको हल्लाको डडेलो निभाउँनलाई पत्रकारहरु डा हर्कबहादुर छेत्रीलाई फोन गर्दै थिए। तिनको बन्द रहेको मोबाईल फोनमा सम्पर्क गरेर हल्लाको डडेलो निभाउने पत्रकारहरुको प्रयास दिनभरिमा पनि सफल हुन सकेन।
यसरी राजीनामाको हल्लाको डडेलो साँझ पर्दासम्म बजारमा केवल चर्चा मात्रै बन्यो।

0 Response to "राजनेता, राजनीति र राजीनामाको हल्ला"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.