-->
गोजमुमोले बङगालको अघि आत्मसमर्पण गरेको छ – प्रताप खाती

गोजमुमोले बङगालको अघि आत्मसमर्पण गरेको छ – प्रताप खाती

डी के वाइबा, कालिमन्युज, कालेबुङ 22 अक्टोबर। एकातिर पहाडमा गोजमुमो पार्टीका समर्थकहरु तृणमूल कङ्ग्रेसमा सामेल भईरहेका छन भने अर्कोतर्फ बिपक्षी पार्टीहरुले पनि गोजमुमोको उत्तिकै आलोचना गर्न शुरु गरेको छ। 
यसैक्रममा दार्जीलिङ पहाडको बर्तमान राजनैतिक परिदृष्य माथि गोर्खालिग महासचिव प्रताप खातीको टिप्पणी लिन चाहँदा गोजमुमो पार्टीले गोर्खाल्याण्डको मुद्दासंग बेईमान बनेको कारण जनाधार समाप्त हुँदै गएको बताए।
“मोर्चाले आज बङ्गालको अघि आत्मसमर्पण गरेको छ। नेताहरूले गोर्खाल्याण्डको घोडामा चढेर चौकी र पद लिए तर जनता त माछामाछा चेपेगाडा नै भए। गोजमुमो पार्टीको जनाधार तासको घर जस्तै भताभुङ्ग हुँदैछ” प्रताप खातीले भने। 
तिनले मोर्चा प्रमुख बिमल गुरुङको नाउँ नलिई भने- “चौकीदार र जति पनि ल्याकत नभएको मान्छेलाई जनताले नेता बनाए”। यसैक्रममा तिनले 23 को वार्ताले पनि हावा खाएको बताए। 
यसै क्रममा खातीले जनतालाई समेत मुद्दाको निम्ति इमान्दार बन्ने आह्वान गर्दै “जनताले चोर, ढाँट र दलालहरूलाई विश्वास गर्दा यो गति भएको हो। हामी केवल गोर्खाल्याण्ड माग्छौं। गोर्खाल्याण्ड जनताको आकाङ्क्षा हो, हाम्रो सवैधानिक हक हो। यसलाई हासिल गर्न इमान्दार नेतृत्व चाहिन्छ। अनि जनता पनि इमान्दार हुनुपर्छ” खातीले भने। 
तिनले गोजमुमो पार्टीले केवल हिंसाको राजनीति मात्र गरेको आरोप लगाउँदै आफुहरु माथी अनेकौ अत्याचार हुँदा समेत भाका नफेरेको दाबी तिनले गरे। 
तिनले पत्रकारहरुसंग कुराकानी गर्दै जनताले सही नेतालाई छान्नु पर्ने बताएका छन। आफुहरु जनताको चाहनालाई पूर्ण गर्नको निम्ति सधै कार्य गरिरहेको दाबी गर्दै “जनताको आकाङ्क्षाको लागि सधैँ अडिग छौं। हामी भन्छौँ जनता लहै लहैमा लाग्नु हुँदैन। गोर्खाल्याण्ड चाहने जनता पनि अडिग रहनुपर्छ, कुरा फेर्नु हुदैन। गोर्खाल्याण्डसम्म पुग्न धैर्य चाहिन्छ। चौकी र पैसाको राजनीति गरेर गोर्खाल्याण्डमा पुग्न सकिँदैन। जनता पनि इमान्दार बनेर सठिक नेतृत्वलाई सहयोग गर्नुपर्छ” खातीले अझ भने।
दार्जीलिङ पहाडमा अहिलेघरी दल परिवर्तन गरेर तृणमूल कङ्ग्रेसमा सामेल हुने कार्यलाई खातीले दुर्भाग्यपूर्ण बताएका छन। 
“गोर्खाल्याण्ड माग्नेहरू तृणमूलमा जानु उचित होइन। तृणमूल काग्रेसमा जानु भनेको स्वार्थको राजनीति गर्नेहरू विभिन्न उद्देश्यपूर्तिको लागि जानु हो। तर इमान्दारीपूर्वक् गोर्खाल्याण्डको लागि नेतृत्व गर्न चाहनेहरू त्यहाँ जादैनन। हामी जनसमर्थन पायौँ भने जनाकांक्षा पूरा गर्नेछौ किनभने हामी कुरा फेर्दैनौं” प्रताप खातीले स्पष्ट भने।

0 Response to "गोजमुमोले बङगालको अघि आत्मसमर्पण गरेको छ – प्रताप खाती"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.