-->
गोर्खाहरुको धैर्यताको बाँध तोडिएको दिन सरकारले थेग्न सक्दैन – अरुण घतानी

गोर्खाहरुको धैर्यताको बाँध तोडिएको दिन सरकारले थेग्न सक्दैन – अरुण घतानी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 अगष्ट। “ममता ब्यानर्जीले भारतिय गोर्खाहरुको आकाक्षालाई पैतालाले कुल्चने दुस्साहस नगरोस। आन्दोलनलाई दबाउँने अल्टिमेटम फिर्ता गर। यहाँ खटाएका सीआरपीका जवानहरु फर्काऊ। होईन भने जब देशलाई सुरक्षा गर्ने गोर्खाफौजहरु फर्किनेछन त्यसबेला देशलाई खत्रा हुनेछ” – उक्त कुरा क्रामाकपा पार्टीको युवा एकाई गक्रायुमोका महासचिव अरुण घतानीले भनेका हुन। यहाँको डम्बर चौकमा क्रामाकपाको जुलुसपछि सम्पन्न भएको पथसभालाई सम्बोधन गर्ने क्रममा तिनी बङगालकी मुख्यमंत्री ममता ब्यानर्जीप्रति निकै कडा स्वरले बर्सिए।
“क्रामाकपा अब सडकमा निस्केको छ।
यो गोर्खाल्याण्डको आवाजलाई सरकारले कुल्चने प्रयास गर्ने गोर्खाहरुको धैर्यताको बाँध टुट्दा सरकारले थेक्न सक्दैन” तिनले सरकारलाई चेतावनी दिदै भने। यस अवसरमा ममता ब्यानर्जीले पहाड बन्दलाई 72 घण्टाभित्र फिर्ता गर्नु भनि दिएको अल्टिमेटमलाई ममता ब्यानर्जीले यथाशिघ्र फिर्ता गर्नु भन्दै गणतांत्रिक आन्दोलनलाई दबाउँने प्रयास गरे त्यसको परिणाम ठिक नहुने तिनले बताए। यसैक्रममा तिनले छुट्टै राज्य गोर्खाल्याण्ड चाहनेहरु एकबद्ध भएर आन्दोलनलाई अघि बडाउँनुपर्ने आह्वान गर्दै अब पार्टीको झण्डाको रंग हेरेर होईन तर जातिको राष्ट्रिय राजनैतिक सुरक्षाको माग अघि बडनु आवश्यक रहेको तिनले बताए। 
“हामीले ममता ब्यानर्जी र अशोक भट्टचार्यको कोठेबारी मागेका होईनौ। हामीले हाम्रो संवैधानिक अधिकार मागेका हौँ। यदि ममता ब्यानर्जीले दिन्न भन्छौ भने भारतीय संविधानको धारा 3 जलाएर देखाऊ। होईन भने सुगौली सन्धि र सिञ्चुला सन्धिसंगै आएका भूभागहरु हामीलाई फर्काएर छुट्टै राज्य गोर्खाल्याण्ड बनाईदेऊ” घतानीले स्पष्ट भने। तिनले केन्द्र सरकारले पनि गोर्खाहरुको संवैधानिक मागलाई न्यायसंगत हेर्ने आह्वान गर्दै देशको निम्ति सिमानामा लडने गोर्खाहरुको संवैधानिक अधिकार खोसिए देशकै निम्ति घातक बन्ने चेतावनी दिए। यसैक्रममा तिनले जीटीएको बिरोध गर्न पनि पछि परेनन। 
पहाडका जनता अनि जीटीए थाप्ने दलका नेताहरुले नै जीटीए फेल भयो भनेपछि अब आन्दोलन पछि फर्कनु नहुने बताउँदै जबसम्म छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्त हुँदैन तबसम्म टालटुले व्यवस्थामा बिसाउँनु नहुने अरुण घतानीले बताए। अर्कोतिर उक्त पथसभालाई क्रामाकपा पार्टीका उपाध्यक्ष जे बी राईले सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले तालिबानी फरमान जारी गरेर आन्दोलनलाई दबाउँने प्रयास गरिरहेको आरोप लगाए। 
“विश्वमा तानाशाहको राज गर्ने हिटलरको अन्त्य भयो। आज यदि हिटलर भएका भए ममता ब्यानर्जीको अमानवीय कार्य देखेर सायद रुन्थे होला। आगामी दिनमा तिनको पनि बङगालमा कालो ईतिहास लेखिनेछ” जे बी राईले भने। छुट्टै तेलेंगना राज्य गठनको निम्ति जसरी सम्पूर्ण राजनैतिक पार्टीहरु मुद्दाको निम्ति एक भए त्यसरी नै पहाडका राजनैतिक दलहरु पनि एक हुनपर्ने आह्वान राईले गरे। “गोर्खाल्याण्डको निम्ति अब राजनैतिक दलहरु राजनैतिक सिद्धान्त र आदर्शलाई पर राखेर एक हुनुपर्छ अनि सामुहिक रुपमा साझा कार्यक्रमको रुपरेखा तयार पारेर अघि बडनुपर्छ” जे बी राईले भने। 
यसैक्रममा ममता ब्यानर्जीले दार्जीलिङ पहाडका मानिसहरु मेरो मानिसहरु हुन भन्ने गरेता पनि तिनले दार्जीलिङका मानिसहरुको आर्तनादलाई भने बुझ्ने प्रयास गर्नुको साटो अझै धम्काउँने कार्य गर्नु अन्याय हो भनि तिनले बताए। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा आज क्रामाकपाले एउटा जुलुस निकालेको थियो। उक्त जुलसमा यहाँको नगरपालिका कार्यालय अघिबाट आफ्नो जुलुस शुरु गरेको थियो। 
बिभिन्न प्रकारका प्ला कार्डहरु बोकेर गोर्खाल्याण्डको नारा लगाउँदै जब क्रामाकपा समर्थकहरु यहाँको थाना डाँडा हुँदै मेन रोड आईपुगेको थिए त्यस समय गोर्खाल्याण्डको माग गर्दै सडकमा निस्केका गोजमुमो समर्थकहरुले थप्पडी बजाएर क्रामाकपालाई स्वागत गरे। 
यतिमात्र होईन यस अवसरमा क्रामाकपा पार्टी कार्यकर्ताहरु संगै मोर्चा समर्थकहरुले पनि गोर्खाल्याण्ड जिन्दावादको नारा लगाउँदा एकचोटी डम्बर चौकनै गोर्खाल्याण्ड जिन्दावादको नाराले गुञ्जयमान भयो। उक्त जुलुसले सम्पूर्ण शहर परिभ्रमण गरिसकेपछि यहाँको डम्बर चौकमानै आएर एउटा पथसभामा परिणत भई समापन भयो।

Related Posts

0 Response to "गोर्खाहरुको धैर्यताको बाँध तोडिएको दिन सरकारले थेग्न सक्दैन – अरुण घतानी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.