-->
क्रामाकपा अनि गोजमुमो गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँदै सडकमा

क्रामाकपा अनि गोजमुमो गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँदै सडकमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 अगष्ट 2013। कालेबुङ शहर अघिका दिनहरु भन्दा आज सबैभन्दा धेर गोर्खाल्याण्ड जिन्दावादको नाराले गुञ्जियो। 
गोर्खाल्याण्ड प्रेमी जनताहरुले छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने पहाडका राजनैतिक दलहरु सडकमा उत्रियोस भन्ने दिर्घदिनको चाहना पुरा भएको कारण पनि आज धेरैले स्वर सुकेसम्म गोर्खाल्याण्डको नारा भट्ट्य़ाए। 
ससाना नानीहरुदेखि लिएर युवा अनि बृद्धहरुले पनि आज अतिनै हर्षको साथ गोर्खाल्याण्डको नारा लगाएको देखियो। उक्त घटना त्यसबेला भयो जतिबेला क्रामाकपा पार्टीका कार्यकर्ताहरु आफ्नै पार्टीको झण्डा बोकेर सडकमा गोर्खाल्याण्डको नारा लगाउँदै आईपुगे। 
यतिमात्र होईन आजनै गोर्खाल्याण्डको मागमा गोरानिमो पार्टी अध्यक्ष एंव पूर्व पार्षद दावा पाख्रिन पनि आफ्ना समर्थकहरु लिएर गोर्खाल्याण्डको माग गर्दै पोष्टरिङ गर्दा अझै जनतामा खुशीको लहर देखियो। गोर्खाल्याण्डको मागमा गोजमुमो पार्टीले पहाड बन्द डाकेको आज 9 दिन पुरा भयो। बन्दको आठौँ दिन पश्चिम बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड बन्द 72 घण्टाभित्र खोल्नु भनि अल्टिमेटम दिए पछि आज त्यसको प्रत्युत्तरमा शहरमा मानिसहरु हजारौँको संख्यामा भेला भएका थिए मानौ उक्त भिडले ममता ब्यानर्जीलाई नै चेतावनी दिईरहेको थियो। 
दोकानपाट, शैक्षिक संस्थान, सरकारी कार्यलय ठप्प बन्द भएको अवस्थामा गोर्खाल्याण्डको माग गर्दै हजारौ मानिसहरुले कालेबुङ शहरमा गोर्खाल्याण्ड जिन्दावाद ! ममता ब्यानर्जी मूर्दावाद !! को नाराले शहर गुञ्जयमान बनेको थियो। बन्दको 9 दिनमा आज गोर्खाल्याण्ड प्रेमी जनताहरुले कालेबुङ शहरमा अनौठो घटना पनि देख्न पाए। 
गोर्खाल्याण्ड प्रेमी जनताहरु कालेबुङको मुटु मानिने डम्बर चौकमा दैनिक रुटिन झै नाराबाजी लगाईरहेकै समयमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा(गोरानिमो) पार्टी प्रमुख एंव पूर्व पार्षद दावा पाख्रिन पनि डम्बर चौकमा गोर्खाल्याण्डको माग गर्दै पोष्टर टाँस्न आईपुगेका थिए। यस क्षण तिनले पोष्टर टाँस्दा कुनै बिरोध भएन बरु गोर्खाल्याण्डकै वकालती गरिरहेका गोजमुमो पार्टीकै नेताहरुसंग बसेर तिनले कुराकानी पनि गरे। दावा पाख्रिनले डम्बर चौकमा पोष्टरिङ गरेपछि डम्बर चौकमा नै बसीरहेका गोजमुमो पार्टीका युवा नेता एंव सभासद निमा तामाङ, केन्द्रिय समिति सदस्य शुभ प्रधान लगायत अन्य मोर्चा नेताहरुसंग गफ गर्दै एकै स्थानमा बसेपछि सबैले नै तिनीहरुलाई हेरिरहेका देखियो। 
त्यसैबेला यता सडकमा छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी गर्दै क्रामाकपा पार्टीका कार्यकर्ताहरु रातो अनि तिरंगा झण्डाहरु फर्फराउँदै सबैले एकसाथ गोर्खाल्याण्ड जिन्दावादको नाराबाजी लगाउँदै आउदा सम्पूर्ण मानिसहरु उत्साहित भए। “आज धेरै दिनपछि भिन्ना भिन्नै पार्टीका कार्यकर्ताहरु आ आफ्नो झण्डा बोकेर छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी गर्दा साह्रै खुशी लाग्यो। हाम्रो माग एकमात्र गोर्खाल्याण्ड हो। एउटै मुद्दाको निम्ति यसरी सबै पार्टीहरु एक हुनु सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी जनताको निम्ति खुशीको दिन हो” – गोजमुमो पार्टीको झण्डा बोकेर नाराबाजी लगाईरहेका सानु छेत्रीले भने। 
क्रामाकपाको जुलुस सडकमा आउँदा सडक किनारमा आज गोजमुमो समर्थकहरु माझ देखिएको उत्साह बिषयमा जान्न चाहँदा मोर्चाकै अर्का कार्यकर्ता एंव गोर्खाल्याण्ड जिन्दावादको नारा लगाईरहेका सुरज प्रधानले मुद्दाको निम्ति राजनैतिक रंग हेर्ने समय सकिएको बताए। “जब गोर्खाल्याण्डको कुरा उठछ तब गोर्खाल्याण्ड नदिनेहरु राजनीति बिर्सेर बिरोध गर्न एक हुन्छन। हामी गोर्खाल्याण्ड माग्नेहरु एउटै मुद्दाको निम्ति एक हुन सकेको छैनौ। जनताले यतिखेर सबै राजनैतिक दलहरु आफ्नो पार्टीको सिद्धान्तलाई पर राखेर पार्टी भन्दा जाति ठूलो भन्दै एक होस भन्ने चाहेका छन। यस्तो अवस्थामा यसरी सडकमा क्रामाकपाका साथीहरु आउँदा हाम्रो एकताको प्रदर्शन भएको छ। यसक्षणमा हामी अंकमाल गरेर अघि बडनै पर्छ” – सुरज प्रधानले भावुक बन्दै भने। 
यता यसरी नै आजको उक्त दृश्य हेरेर खुशी हुनेहरु धेरै थिए। जसको प्रत्यक्ष प्रमाण आन्दोलनको निम्ति सडकमा ओर्लिएका जनताहरुको आँखामा स्पष्ट देखिन्थ्यो।

0 Response to "क्रामाकपा अनि गोजमुमो गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँदै सडकमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.