-->
मदन तामाङ हत्याकाण्डका आरोपीहरु छुटनु दुर्भाग्यजनक हो – प्रताप खाती

मदन तामाङ हत्याकाण्डका आरोपीहरु छुटनु दुर्भाग्यजनक हो – प्रताप खाती

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 मई। अखिल भारतीय गोर्खालिग पार्टीका अध्यक्ष स्व मदन तामाङ हत्याकाण्डको आरोपमा सीबीआईले पक्राऊ गरेका आरोपीहरु आज अन्तरिम जमानमा छुटेपछि अभागोली महासचिव प्रताप खाती यसलाई दुर्भाग्यजनक हो भनि टिप्पणी गरेका छन। 
गत 15 फरवरीको दिन दार्जीलिङ रेल्वे स्टेसनबाट सीबीआईले पक्राऊ गरेको पाँच आरोपीहरु मध्ये आज बिद्यार्थी मोर्चाका महासचिव किश्मत छेत्री, अध्यक्ष केशवराज पोख्रेल, युवा मोर्चा नेता आलोक कान्तमणी थुलुङ अनि पुरण थामी आज अंतरिम जमानतमा छुटेका छन। गोजमुमो पार्टीको भातृसंगठनका नेताहरु आज जमानतमा छुटेपछि गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले प्रतिक्रिया व्यक्त गर्दै “हत्याका आरोपीहरु छुट्नु दुर्भाग्यजनक हो” भने। तिनले मदन तामाङ हत्याकाण्डका आरोपीहरुले जमानत प्राप्त हुनुमा सीबीआई जाँच टोलीको लापारवाली रहेको आरोप लगाएका छन। 
यसको साथै आज न्यायालयमा बचाव पक्षका अधिवक्ताले न्यायधीशलाई झूटो कुरा बताएर जमानत दिलाएको दाबी समेत गरे। “बचाव पक्षका अधिवक्ताले आज सीबीआई टोलीका अधिवक्ता नभएको अवसरमा कोर्टलाई गलत जानकारी दिए। 
बचाव पक्षका वकिलले बिगत सात महिनादेखि आरोपीहरु जेलमा बन्द रहेको बताउँदै तिनीहरुको जमानत मागे। वास्तवमा आरोपीहरु सात महिना देखि जेलमा बन्द थिएनन। तिनीहरु चार महिनादेखि जेलमा बन्द हुँदा हुँदै पनि बचाव पक्षका वकिलले भने न्यायालयमा झूटो जानकारी दिदै आज जुन जमानत दिलाउँने कार्य गरेका छन यसलाई हामी सर्वोच्च न्यायालयमा चुनौति दिनेछौ” – प्रताप खातीले भने। तिनले मदन तामङ हत्याकाण्डको आरोपमा एफआईआरमा नाम भएका आरोपीहरुलाई यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गर्दै पक्रा परेका आरोपीहरुलाई छोडनु दुर्भाग्यजनक हो भनि बताएका छन। 
चार्जसिटमा नाउँ भएका मुख्य आरोपीहरुले यसरी जमानत पाउँनु सीबीआई जाँच टोलीको कमजोरी हो भन्दै जाँच कार्यसंग आफुहरुको विश्वास नरहेकै कारण यस मुद्दालाई सर्वोच्च न्यायलयमा पुर्‍याएको पनि खातीले जानकारी गराए। 
“मदन तामाङ हत्याकाण्डमा जाँच गरिरहेको सीबीआई टोलीले आरोपीहरुलाई भटाभट छोडीरहेका छन। वास्तवमा सीबीआईले यहाँ गोजमुमो अध्यक्ष बिमल गुरुङ, रोशन गिरी, कर्णल रमेश आले, डा हर्कबहादुर छेत्री साथै अन्य गोजमुमो नेताहरुलाई पक्राऊ गर्नुपर्ने हो। मोर्चाका उक्त नेताहरुनै मदन तामाङ हत्याकाण्डका मास्टरमाईण्डहरु हुन। यिनीहरु मास्टरमाईण्ड हो भन्ने फोन ट्य़ापिङले नै प्रष्ट पारेको छ” खातीले भने।
तिनले उक्त फोन ट्य़ापिङको आधारमा नै उक्त नेताहरुलाई सीबीआईले यथाशिघ्र पक्राऊ गर्नुपर्ने कुरामा पनि जोड दिएका छन। आफुहरु अहिलेको जाँच कार्यमा सन्तुष्ट नरहेको बताउँदै सर्वोच्च न्यायलयमा छुटै स्पेशल ईंन्भेस्टिगेसन टिम गठनको माग आफुहरुले गरिरहेको अझ जनाएका छन। 
यसै सिलसिलामा तिनले आगामी 4 जुनको दिन सर्वोच्च न्यायलयमा उक्त मुद्दाको अघिल्लो सुनवाई हुने जानकारी गराए। तिनले आगामी दिसम्बर महिना भित्रमा यस मुद्दाको छिनाफाना हुनसक्ने सम्भावना व्यक्त गर्दै फोन ट्यापिङको प्रमाणले गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि रोशन गिरी अफजल गुरु झै हुने ठोकुवा समेत गरे।
“संसदमा आक्रमण गर्ने अफजल गुरुले जसरी आक्रमण गर्न अघि फोनमा कुराकानी गरेका थिए ठिक त्यसरी नै मदन तामाङ हत्याकाण्डको मामलामा पनि बिमल गुरुङ, रोशन गिरी लगायत अन्य नेताहरुले कुराकानी गरेका छन। उक्त फोनमा भएको कुराकानी नै महत्वपूर्ण प्रमाण हो। यसै प्रमाणको आधारमा अब मोर्चा नेताहरुको अवस्था पनि त्यस्तै हुनेछ” – खातीले स्पष्ट भने।

0 Response to "मदन तामाङ हत्याकाण्डका आरोपीहरु छुटनु दुर्भाग्यजनक हो – प्रताप खाती"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.