महकुमा स्तरिय बिद्यार्थीहरुमाझ कविता प्रतियोगिता सम्पन्न
कालिमन्युज, कालेबुङ 17 अप्रेल। नेपाली साहित्य अध्ययन समितिको आयोजनामा आज महकुमा स्तरीय कविता प्रतियोगिता सम्पन्न भयो। साहित्य प्रति रुची रहेका बिद्यार्थीहरुलाई प्रोत्साहन दिने उदेश्यले आयोजना गरिएको उक्त कविता प्रतियोगिता वर्सिप सेंटरमा सम्पन्न भएको थियो।
बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानको सहयोगितामा सम्पन्न उक्त महकुमा स्तरको अंतर बिद्यालय कविता प्रतियोगितामा बयोबृद्ध कवियत्री सानुमति राई, टी बी ठकुरी, बी आर छेत्री आदि बिशिष्ट अतिथिका रुपम उपस्थित रहेका थिए। उक्त कविता प्रतियोगितामा कालेबुङ संलग्न क्षेत्र लगायत अलगडा, पेदोङ, टिस्टा,गोरुबथान आदि क्षेत्रका माध्यमिक तहका विद्यार्थीहरुले भाग लिएका थिए।
कालेबुङ महकुमा क्षेत्रका बिभिन्न बिद्यालयहरुका मोठ 35 जना बिद्यार्थीहरुले भाग लिएको उक्त कविता प्रतियोगितामा जुबली उच्चतर माध्यमिक विद्यालयकी छात्रा बबिता खवास पहिलो, गङ्गोत्री हाई स्कूलका त्रिरत्न राया दोस्रो अनि कुमुदिनी विद्याश्रमका दिल कुमार सुब्बा तेस्रो भए।
यस्का साथै टिस्टा उच्चतर माध्यमिक विद्यालयकी छात्रा साङ्डोमा शेर्पालाई सांतवना पुरस्कार प्रदान गरियो। उक्त बिजयी प्रतियोगीहरुलाई समितिका अध्यक्ष एमबी प्रधानको बाहुलीबाट नगद राशी सहित प्रमाण पत्र प्रदान गरियो। कविता प्रतियोगिताको निर्णायक मण्डलीमा कथाकार सञ्जय विष्ट, कवि मनोज बोगटी, कवि लेखक टीकाभाइ अनि पत्रकार प्रदीप लोहागुण थिए। यसै कार्यक्रमबीच साहित्य अकादमी अनि युवा साहित्य अकादमी पुरस्कारले सम्मानित लेखक-कविहरु उदय थुलुङ अनि मनोज बोगटीलाई पनि समितिले अभ्यर्थना जनाईयो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्ययन समितिका सचिव बलभद्र शर्माले आज सम्पन्न महकुमा स्तरको प्रतियोगिताका बिजेताहरुले जिल्ला स्तरको प्रतियोगितामा भाग लिने अवसर पाएको जानकारी गराए। तिनले दार्जीलिङ, खरसाङ अनि डूर्वसमा पनि महकुमा स्तरको प्रतियोगिताको आयोजना गर्ने काम पूरा भएपछि जिल्ला स्तरको कविता प्रतियोगिता आगामी जूनको अन्तिम सातातिर आयोजना गरिने बताएका छन।
यस अवसरमा समितिले नियमित प्रकाशमा ल्याइरहेको साहित्यिक पत्रिका साहित्य संकेतको 33औं अङ्क लोकार्पण गरियो। कार्यक्रममा कवि मनोज बोगटी, टीकाभाइ, प्रदीप लोहागुण अनि बिशाल राईले कविता पठन पनि गरेका थिए भने साहित्यकार उदय थुलुङले साहित्य सृजना सम्बन्धी आफ्नो विचार प्रकट गरे।
0 Response to "महकुमा स्तरिय बिद्यार्थीहरुमाझ कविता प्रतियोगिता सम्पन्न"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.