गोर्खाल्याण्डको माग गर्दै मोर्चाको मौन जुलुस
डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 मार्च। कालेबुङको मेला ग्राउण्डबाट गोजमुमो अध्यक्ष बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति गत 17 फरवरीको दिन निर्णायक आन्दोलनको घोषणा गर्दै बिभिन्न कार्यक्रमको घोषणा गरे पनि अहिले उक्त कार्यक्रमहरुमा फेरबदल गरिएको छ।
मोर्चा अध्यक्ष बिमल गुरुङको नेतृत्वमा दिल्ली हिडेका प्रतिनिधि टोलीले राष्ट्रपतिलाई भेट गरेपछि आन्दोलनको रुपरेखामा मोर्चाले फेरबदल ल्याएको छ। यसै क्रममा गोजमुमो पार्टीले निर्णायक आन्दोलनको घोषणा गर्दै आज अनि भोलिको दिन अगावै दुईदिन सम्पूर्ण पहाड बन्दको घोषणा गरेको भए पनि उक्त घोषणा स्थगित राखेर आज मोर्चाले पहाड बन्द गर्नुको साटो मौन जुलुसमा नै चित्त बुझाएको छ। राष्ट्रपति अनि गृहमंत्रीले मोर्चालाई आन्दोलन नगर्ने अपिल गरेको कारण राष्ट्रपतिकै अनुरोधमा मोर्चाले निर्णायक भनिएको तेस्रो चरणको आन्दोलनलाई परिवर्तित गर्दै मौन जुलुस गरेको छ।
यसै सिलसिलामा मोर्चाको आज बन्दको कार्यक्रम नभए पनि मौन जुलुस भने शहरमा सम्पन्न भयो। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गोजमुमो पार्टीले आज शहरमा मौन जुलुस निकाल्यो। यहाँको पार्टी कार्यालयबाट शुरु भएको उक्त मौन जुलुसले डम्बर चौक हुँदै दशमाईल फाटक पुगेर शहर परिक्रमा गर्यो। यस अवधी उक्त मौन जुलुसमा मोर्चाको बिभिन्न भातृ संगठनहरुले सहभागिता जनाएको थियो। गोजमुमो पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार नै आजको मौन जुलुस सम्पन्न भयो भने उक्त मौन जुलुस भोलि पनि निकालिने भएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा निकालेको उक्त मौन जुलुसमा गोजमुमो कार्यकर्ताहरुले बिभिन्न मांग लेखिएका प्लाकार्डहरु बोकेका थिए।
पार्टी कार्यालयबाट निकालिएको उक्त मौन जुलुसले शहर परिक्रमा गरेपछि यहाँको डम्बर चौकमा आईपुगेर पथसभामा परिणत भयो। गोर्खाल्याण्ड राज्य गठनको माग संवैधानिक माग रहेको कारण सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा प्रदान गर्नुपर्ने पथसभालाई सम्बोधन गर्दै मोर्चा नेतृत्वहरुले माग गरे। गोजमुमो कालेबुङ महकुमा समितिका सचिव कुमार चाम्लिङले पथसभालाई सम्बोधन गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड गठन यथाशिघ्र गर्नुपर्ने माग गरे। तिनले अहिले राज्य सरकारले बिभिन्न षडयन्त्र रचेर गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन खोजिरहेको पनि आरोप लगाए।
0 Response to "गोर्खाल्याण्डको माग गर्दै मोर्चाको मौन जुलुस "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.