-->
कालेबुङमा भित्रिएका मुस्लिमहरूलाई भेटे विनय तामाङले  .... ‘शान्ति सद्भावना बनाएर राख्नुपर्छ – विनय तामाङ

कालेबुङमा भित्रिएका मुस्लिमहरूलाई भेटे विनय तामाङले .... ‘शान्ति सद्भावना बनाएर राख्नुपर्छ – विनय तामाङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ| ‘कालेबुङको मस्जिदमा जो मुस्लिम साथीहरू आएर बसेका छन् उनीहरूलाई नराम्रो दाग लागेको थियो। पहाडका जनताको पक्षबाट माफी माग्न अनि भविष्यमा यस्ता घट्नाहरू हुनेछैन भने आश्वासन दिलाउन आज यहाँ आएका हुँ’ उक्त कुरा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले भनेका हुन्।

साङ्गठनिक कार्य लिएर कालेबुङ आइपुगेका तामाङले केही दिन अघि कालेबुङमा रोहोङ्गिया भित्रिएको भन्दै भाइरल बनेको भिडियोमा देखिएका 15 जना मुस्लिम समुदायका मानिसहरूलाई भेटघाट गरे। उनले यहाँको ठाकुरबाडी स्थित मस्जिदमा बसेका सम्पूर्ण 15 जना मुस्लिम मानिसहरूलाई भेटेर भाइरल भिडियोको कारण ठेस पुगेकोमा माफी मागे।

‘जसले पनि यो कार्य गरेका छन् त्यो कार्यले म एकदमै लज्जित छु अनि तपाईँहरूसँग दार्जीलिङ पहाडका मानिसहरूको पक्षबाट क्षमा चाहन्छु’ विनय तामाङले अझ भने -‘यो गलत काम गर्नेले पनि क्षमा माग्नु पर्नेछ। किन भने यदि त्यस दिन यो भाइरल भिडियोको कारण साम्प्रदायिक हिंसा फैलिएको भए सम्पूर्ण भारतभरीनै हिंसा भड्किने थियो।’ उनले उक्त भिडियोलाई शिक्षित अनि कानुनी ज्ञान समेत भएका व्यक्तिले समेत प्रचार गर्नुको साथै बिमल गुरुङको नाउँ उल्लेख नगरी ‘डिजिटल सहीछाप गरेर अहिले म बसेको कुर्सीमा बस्ने व्यक्तिले समेत प्रचार गरे अनि यो अत्यन्त्यै गलत कार्य हो’ भने। ‘यहाँ जतिजना आएका छन् उनीहरू सबै भारतीय मुसलमानहरू हुन्’ तामाङले भेटघाटपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने।

उनले आफुहरू साम्प्रदायिक सद्भावना लिएर बाँचिरहेको भन्दै यस्ता कार्यहरूले क्षेत्रको शान्ति सद्भावना बिग्रेर जाने सम्भावना हुने पनि बताएका छन्। ‘हामीले पहाडमा अहिले शान्ति र सद्भावनाको माहौल तयार पारिरहेका छौँ। यहीँ शान्ति र सद्भावना बिगार्नका निम्ति नै कतिपय तत्वहरूले यो कार्य गरेको हुनपर्छ’ विनय तामाङले भने। आफुले यस्तो संवेदनशील मुद्दामा बोल्न नचाहे पनि दार्जीलिङ पहाड र कालेबुङको यस मस्जिदमाथि कालो बादल मडारिन थालेपछि आफु एकजना अभिभावक भएको कारण यो समस्यालाई समाधान गर्न अघि आएको पनि जानकारी गराए। उनले कुनै पनि संवेदनशील मुद्दामा कसैले पनि टिप्पणी गर्न अघि त्यसको सत्यता जाँच गर्नुपर्ने अपिल पनि गरेका छन्।

अर्कोतर्फ यता पहाडका कतिपय राजनैतिक दलहरूले पहाडमा जीटीए चुनाव हुनपर्छ भन्ने माग गरिरहेको सन्दर्भमा प्रश्न गर्दा उनले आफु कुनैपनि चुनावमा जान तयार रहेको बताएका छन्। ‘चुनाव गर्नु नगर्नु राज्य चुनाव आयोगको कार्य हो। तर, मैले अघिबाटै भनिसकेको छु कि कुनै पनि चुनावमा जानका निम्ति हामी तयार छौँ’ विनय तामाङले भने। उनले यता अहिलेघरी गोरामुमो पार्टीले जीटीए रद्द गरेर दागोपाप फर्काउनुपर्छ भन्दै माग गरिरहेको सन्दर्भमा प्रश्न गर्दा उनले यसबारे ‘त्यो गोरामुमो पार्टीको मुद्दा होला मलाई केही भन्नु छैन’ भने।

यता अहिलेघरी गोरामुमो पार्टीले जीटीए रद्द गरेर दागोपाप फर्काइदेउ भनिरहेका छन्। यसबारे प्रश्न गर्दा तामाङले तिखो बयान दिएका छन्। उनले भने-‘गोरामुमो पार्टीकाहरूलेनै भनेका हुन् दागोपाप एक्पाइर भएको ट्याबलेट हो भनेर। आज फेरि जीटीए रद्द गरेर दागोपाप फर्काइदेउ भन्नु कहाँसम्मको कुरा हो? उनीहरूले कुनै पनि बयान दिन अघि पहिला दिएका बयानहरू पनि हेर्नुपर्नेछ।’

अर्कोतर्फ अघिलेघरी पहाडमा कोइरी बन्द भएपछि निर्माणका सामाग्रीहरू ल्याउन गाह्रो परिरहेको छ। पहाडका कोइरीहरूबाट निर्माणका सामाग्रीहरू निकाल्न बन्द गरिएको सन्दर्भमा प्रश्न गर्दा तामाङले यसबारे चाँडै समस्या समाधान हुने आश्वासन दिएका छन्। उनले यस विषयमा राज्यका उच्च पदस्थ अधिकारीवर्गसँग वैठक भइसकेको बताउँदै चाँडै समस्या समाधान हुने स्पष्ट पारे।  

0 Response to "कालेबुङमा भित्रिएका मुस्लिमहरूलाई भेटे विनय तामाङले .... ‘शान्ति सद्भावना बनाएर राख्नुपर्छ – विनय तामाङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.