-->
कोलकोताबाट फर्कियो सांस्कृतिक टोलि -पहल .......वृहत्तर एकताको निम्ति सामुहिक प्रयास हुनपर्छ – टिका भाई

कोलकोताबाट फर्कियो सांस्कृतिक टोलि -पहल .......वृहत्तर एकताको निम्ति सामुहिक प्रयास हुनपर्छ – टिका भाई

डी.के.वाइबा,कालिमन्युज,कालेबुङ २६ जुलाई। ‘पहल सांस्कृतिक अभियानले’ जातीय मुक्ति संघर्षको पक्षमा अनि राज्य आतङ्कको विरोधमा कोलकोताको विभिन्न स्थानहरूको सांस्कृतिक प्रस्तुति दिएर पहाड फर्केका छन्।
पहलको 13 सदस्यीय टोलीले जाधवपूर विश्वविद्यालय, नदिया जिल्ला, हुगली लगायत अन्य ठाउँहरूमा गोर्खाल्याण्ड अनि यसको औचित्यमाथि कार्यक्रम गरेर फर्किएको हो। 
22 देखि 24 जुलाईसम्म भएको कार्यक्रममा टोलीले गोर्खाल्याण्ड गठनको औचित्यबारे बुझाउँदै गोर्खाल्याण्ड राज्य गठनलाई लिएर कलकत्ताका मानवअधिकारवादी एवं गणतान्त्रिक शक्तिहरूको विचार बुझ्दै अनि उनीहरूबाट गोर्खाल्याण्डको समर्थन बटुलेर पहाड फर्केका हुन्।
‘गोर्खाल्याण्ड न्यायसङ्गत माग हो। यस मागलाई दबाउनका निम्ति राज्य आतङ्क सक्रिय छन्। हामीले कोलकोतामा राज्य आतङ्क र न्यायसङ्गत गोर्खाल्याण्ड मागको औचित्य प्रजातान्त्रिक शक्तिहरूलाई बुझाएका छौँ। प्रजातान्त्रिक शक्तिहरूले गोर्खाल्याण्डको मागलाई खुलेर समर्थन पनि गरेका छन्’
पहल सांस्कृतिक टोलिका टिका भाईले भने।
कोलकोतामा रहेक वौद्धिक जमातका मानिसहरूले गोर्खाहरूको न्यायसङ्गत मागलाई अघिबाटै समर्थन गर्दै आएको कुरा त्यहाँ पुगेपछि थाह पाउन सकेको बताउँदै अब यस आन्दोलनलाई अझ वृहतर बनाउँनका निम्ति गोर्खाल्याण्डलाई समर्थन गर्ने शक्तिहरूलाई एकिकृत गर्नु आवश्यक रहेको पनि उनले बताएका छन्।
‘भारतमा गोर्खा जातिको राजनैतिक अनि राष्ट्रिय अधिकारका निम्ति प्रजातान्त्रिक शक्तिहरूको आवश्यक्ता छ। अब कोलकोता लगायत देशका अन्य ठाउँहरूमा रहेका प्रजातान्त्रिक शक्तिहरूलाई गोर्खाहरूको राष्ट्रिय अधिकार प्राप्तिको निम्ति गोलबद्ध बनाएर शक्तिलाई एकिकृत पार्नुपर्छ’ टिका भाईले अझ भने।
उनले सरकार प्रायोजित मिडियाहरूले गोर्खाल्याण्ड आन्दोलनलाई कोलकोतामा अपव्याख्या गरिरहेको बताउँदै त्यस्ता अपव्याख्याहरूलाई बुझाएर सही व्याख्यान दिनुपर्ने आजका आवश्यक्ता रहेको पनि उनले बताएका छन्।
‘कलकत्ताका धेरै मानिसहरू अलग राज्यको आन्दोलन एउटा दलमाथि भ्रष्टचारको प्रश्न उठ्ने सम्भावनाको कारण उठेको हुनसक्ने संशयमा थिएछन्। वास्तवमा यो मिडियाद्वारा गरिएको झुटो प्रचारको प्रभाव हो। हामीले गोर्खाल्याण्डको वास्तविकतामाथि बुझाउन सकेका छौँ। यस्तै कार्य अरुबाट पनि हुनपर्छ’ उनले भने।
यसक्रममा कलकत्ताका धेरै बुद्धिवीजि, राजनैतिक-सांस्कृतिक कर्मीहरूले कलकत्तामा कार्यक्रम आयोजना गर्ने, उनीहरूको क्षमता अनुरूप साथ दिने भएको पनि उनले जानकारी दिएका छन्। ‘गोर्खाल्याण्डको समर्थनमा बङ्गाली समाजका गणतन्त्रप्रेमी वुद्धीजीवि, राजनैतिक-सांस्कृतिक कर्मीहरूको हस्ताक्षरसहितको पर्चा-पत्र तयार गरेर कलकत्ताको आम नागरिकहरूमा पुऱ्याउने जस्ता कार्यहरूका निम्ति उनीहरूले सहमति व्यक्त गरेका छन्’ टिका भाईले भने।
उनले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई सिर्जनात्मक पहल गर्दै उर्जावान आन्दोलन गर्नुपर्ने सुझाव पनि दिएका छन्। ‘हाम्रो शक्तिलाई सिर्जानात्मक बनाएर अघि बड्नुपर्छ। ध्वँसात्मक आन्दोलनले उपलब्धी हासिल गर्न गाह्रो हुन्छ। सिर्जनात्मक आन्दोलनले अझ थप प्रजातान्त्रिक शक्तिहरूलाई जोड्न सकिन्छ जसले लक्ष्य प्राप्तिका निम्ति सहज हुनेछ’ उनले भने।
गोर्खाल्याण्ड सम्बन्धि कोलकोतामा सांस्कृतिक प्रस्तुति दिएर फर्केका पहलका टिका भाईले यता राजनैतिक दलहरूलाई राजनैतिक माइलेज प्राप्तिको राजनीतिबाट टाडो बस्नुपर्ने सुझाव पनि दिएका छन्।
‘कुनै पनि राजनैतिक दलले पोलिटिकल माइलेजको निम्ति राजनीति नगरोस्, जनताको त्याग अनि बलिदानको सम्मान होस्। यहाँ एकार्कामाथि शंकाको दृष्टि राख्ने होइन तर वृहतर एकता निर्माणको निम्ति राजनैतिक दलहरूको सामुहिक प्रयास हुनपर्छ’ उनले अझ भने।

0 Response to "कोलकोताबाट फर्कियो सांस्कृतिक टोलि -पहल .......वृहत्तर एकताको निम्ति सामुहिक प्रयास हुनपर्छ – टिका भाई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.