-->
छैटौँ दिन अनशनकारीहरूको अवस्था चिन्ताजनक .... प्राण जाओस् तर राज्य लिनैपर्छ – अनशनकारी

छैटौँ दिन अनशनकारीहरूको अवस्था चिन्ताजनक .... प्राण जाओस् तर राज्य लिनैपर्छ – अनशनकारी

डी.के.वाइबा,कालिमन्युज,कालेबुङ २६ जुलाई। गोर्खा जनमुक्ति युवा मोर्चाले सुरु गरेको आमरण अनशनले आज छैटौँ दिन पुरा गरेको छ। आमरण अनशनको छैटौँ दिन पुग्दा अनशनकारीहरुको अवस्था अझ चिन्ताजनक् बन्दै गएको छ।
‘हामी छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मर्न तयार छौँ। सरकारले गोर्खाहरूको राष्ट्रिय परिचयको निम्ति गोर्खाल्याण्ड गठन गर्नुपर्नेछ। जबसम्म सरकारले गोर्खाहरूलाई न्याय दिँदैन तबसम्म आन्दोलन जारी राख्नुपर्छ। आन्दोलनलाई जारी राख्न अनि गोर्खाल्याण्ड निर्माणको निम्ति हामी हाम्रो अन्तिम श्वास रहेसम्म यस आमरण अनशन जारी राख्नेछौँ’ आमरण अनशनकारी राजु विश्वकर्मले भने।
तीनजना अनशनकारीहरू मध्ये अजित रोका अनि सागर दियालीको अवस्था अझ बिग्रेको छ भने राजु विश्वकर्मको पनि स्वास्थ्य दिन दिनै खराब बनिरहेको छ। यद्यपी आमरण अनशन सुरु भएको छैटौँ दिन पुग्दा समेत यता सरकारी पक्षबाट भने कोहि अनशन स्थलको भ्रमण गर्न आएका छैनन्।
‘हामी गोर्खाहरूलाई राष्ट्रिय परिचयको आवश्यक्ता छ। त्यो राष्ट्रिय परिचय केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र पुरा गर्न सक्नेछ। हामी देशको रक्षा गर्नेहरूलाई अब देशले न्याय दिनुपर्छ। न्यायको निम्ति हामी प्राण त्यागेर सहिद बन्ने पछि हट्नेछैनौँ’ राजु विश्वकर्मले पत्रकारहरूसँगको कुराकानीमा भने।
‘ल्याण्ड इज् ल्याण्ड’ त्यहीँ कारण हामीलाई गोर्खाल्याण्ड चाहियो’ उनले अझ भने। उनले आमरण अनशनको छैटौँ दिन पुग्दा आफ्नो स्वास्थ्य धेरै बिग्रेको बताउँदै राज्य प्राप्तिको लडाँईमा अब सम्झौता गर्न नहुने पनि बताएका छन्। ‘हाम्रो प्राण जाओस् तर राज्य लिएरै मर्नुपर्छ। राज्य नपाएसम्म अब सम्झौता पनि गर्नु हुँदैन’ अनशनकारी राजु विश्वकर्मले अझ भने।
सोहिक्रममा यता अर्का अनशनकारी अजित रोकाले अनशनको छैटौँ दिन आफुहरूको स्वास्थ्य बिग्रेपछि अस्पतालबाट आएका चिकित्सकले झट्ट चिकित्सा लिने सुझाव दिएको बताउँदै आफुहरूले गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति चिकित्सा नलिने प्रतिबद्धता जाहेर गरेका छन्। ‘हामीलाई दवाई होइन गोर्खाल्याण्ड चाहिएको छ। सरकारले हाम्रो माग के हो भन्ने बुझेर झट्ट निर्णय गर्नुपर्नेछ’ अनशनकारी अजित रोकाले भने।
‘बिहान अस्पतालबाट डाक्टर आएपछि हाम्रो स्वास्थ्य बिग्रेको कुराबारे जानकारी दिए। उनीहरूले हाम्रो शरिरको भित्र भागहरूमा धेरै समस्या देखा परेको भन्दै झट्टै दवाई लिने सुझाव दिएका छन्। पानी पिउँने आग्रह गरे। हामी गोर्खाल्याण्डको निम्ति प्राण दिनेछौँ तर दवाई पानी लिनेछैनौँ’ अजित रोकाले अझ भने।
आमरण अनशनको छैटौँ दिन पुग्दा अनशनकारीहरूको स्वास्थ्य धेरै बिग्रेपनि पत्रकारहरूसँग कुराकानी गर्दा उनीहरूको अनुहारमा गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलनमा देखिएको उर्जा भने उत्तिकै देखिंंन्थ्यो। अनशनकारीहरूको मनोबललाई बढाउँन भेला भएका मानिसहरूलाई अझै उल्टा जोश भर्दै उनले भने – ‘अबको आन्दोलनले राज्य लिएर छाड्नुपर्छ। सम्झौताहिन आन्दोलनले लक्ष्य प्राप्ति गरेर सहिद बने आत्माले पनि शान्ति पाउनेछ।’
यसैक्रममा अर्का अनशनकारी सागर दियालीले पनि छुट्टै राज्य प्राप्ति नभएसम्म आन्दोलनलाई अघि बडाउने आह्वान गर्दै आफुहरू अन्तिम श्वास रहेसम्म आमरण अनशनलाई जारी राख्ने प्रतिबद्धता रहेको बताए। ‘अन्तिम लक्ष्य भनेको गोर्खाल्याण्ड हो। त्यहीँ लक्ष्य हासिल गर्न आज हामी मर्नलाई समेत पछि हटेका छैनौँ’ सागर दियालीले भने।
गोर्खा जनमुक्ति युवा मोर्चाले गत 21 जुलाईदेखि सुरु गरेको आमरण अनशनले आज छैटौँ दिन पुरा गर्दा तीनैजना अनशनकारीहरूमा छात्ति दुख्ने, भुँडी दुख्ने, निम्न रक्तचाप आदि समस्या देखा परिरहेको छ। उनीहरूको शरीरमा पानीको मात्रा कम्ति भएको कारण चिकित्सकले कमसेकम पानी पिउँने अथवा सलाइन लिने सुझाव दिए पनि उनीहरूले त्यसलाई अस्वीकार गरेका छन्।

Related Posts

0 Response to "छैटौँ दिन अनशनकारीहरूको अवस्था चिन्ताजनक .... प्राण जाओस् तर राज्य लिनैपर्छ – अनशनकारी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.