
ससुराली : उपेन्द्र सुब्बा - उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’बाट
उपेन्द्र सुब्बाको कथा : ससुराली
उपेन्द्र सुब्बा, साहित्य पोस्ट : चुङ्चिवा खोला तरेर आधा घण्टा उकालो हिँडेपछि खोक्सुङले चौतारीमा आफ्नो झोला बिसायो र पारि आफ्नो गाउँ हेर्यो । उसले टार खेतमाथिको आफ्नो घर ठम्यायो । चुन र टिनले टल्केको तीनधुरे घर, क्याप्टेन हर्कजङले अठ्ठाइस् सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’ । गाउँमा इन्डियन, मलाया, हङकङका अरू पनि क्याप्टेन ल्याप्टेनहरू थिए तर सबैको भन्दा ठूलो घर यही थियो ।
खोक्सुङले झोलाबाट चौंठो निकाल्यो । छेउमै भएको भोकटेको पात टिपेर दुनाजस्तो बनायो अनि रक्सी सारेर स्वाट्टै पार्यो । दौराको फेरोले मुख पुछेर एक पटक सुसेली हाल्यो । मन्द बतास पनि त्यहीवेला चल्यो, निधारको पसिना थोरै सुक्यो । खोक्सुङ झोला टिपेर लाग्यो उकालो ।
खोक्सुङ आज जोडटोडले हिँडेर रात-साँझ ससुराली पुग्नेछ…
दश वर्षअघि विहे हुँदा खोक्सुङ मात्र चौध वर्षको थियो । ‘विहे गर्दिनँ’ भन्दै खोक्सुङ सात दिन सात रात रोएको थियो तर क्याप्टेनको अघि उसको केही सिप चलेन । उमेरले आफूभन्दा चार वर्ष जेठी बाउकै नम्बरीकी छोरीसँग धुमधामले विहे भयो उसको । यो अवधिमा थुप्रै घटानाहरू भए । सबभन्दा ठूलो घटना त ठूलाघरे क्याप्टेन नै बिते । खोक्सुङका दुई दिदीहरूले सुखले कुटुम्बघर गरिखाएका छन् तर उसकीले भने के खोजेकी हो कुन्नि ? फकाईफुलाई गरिल्यायो, भागेर माइत पुगिजान्छे ।
गरेर खानलाई क्याप्टेनले प्रशस्तै खेतबारी जोडिदिएका छन् । क्याप्टेन्नीले पनि बुहारीलाई नराम्रो गरेको होइन । बुहारीलाई पल्टनबाट ल्याएको स्लिकको साडी, टाटनको बर्को दिएकै हुन्, नौगेडी-शिरफूल, गहनापात शिर्जन्तै दिएकै हुन् तर बुहारी भने हप्ता दिनभन्दा बढी घर अडिन्न । भन्नेहरूले के के थोकसम्म भने खोक्सुङलाई ? कति साथीभाइले त कसरी शुरु गर्ने ? लक कसरी लगाउने ? भन्नेसम्मका आइडिया दिन पनि भ्याइसकेका थिए ।
खोक्सुङ आज स्वास्नी लिन सातौं पटक ससुराल जाँदै छ । उसले सोचेको छ- यो अन्तिम हो, अब उप्रान्त जाने छैन…
बल्ल उकालो सकियो । खोक्सुङले अनुहारको पसिना पुछ्दै लामो श्वास फेर्यो र आफू आएको बाटोतिर हेर्यो । तलको खोला धर्सोजस्तो मात्र देख्यो । अलिक मास्तिर फच्चाकफुचुक परेका घरहरू । अबको बाटो तेर्सेतेर्सो मात्र भन्ने सोच्दा खोक्सुङको मन फुरुङ्ग भयो । बाटोछेउ चौरमा झोला बिसाएर उत्तानो पल्ट्यो ।
उज्यालोमै ससुराल पुग्न खोक्सुङलाई मन पर्दैन । बाटोमा अनेक मान्छे भेटिन्छन् । कति ढोग्नुपर्ने भेटिन्छन्, कति साली- भदैनीहरू भेटिन्छन् । सालीभदैनीहरू इत्रिएर लाजै पार्छन् ।
खोक्सुङले झोलाबाट चौंठो निकाल्यो र ठाडो घाँटी लगायो । तीन घुड्को लगाएपछि ‘आ…’ गर्दै मुख मिठ्यायो । झोला बोकेर ससुरालको बाटो हेर्यो- तेर्सैतेर्सो, डाँडैडाँडा, लेकैलेक । त्यहाँबाट अलिकति ओरालो भरेपछि पुगिन्छ ससुराली ।
खोक्सुङ बाटो लाग्यो । एक्लै बाटोमा हिँड्दा स्वास्नीसँग बिताएका केही अविस्मरणीय क्षणहरूको सम्झना आउन थाल्यो…
तेस्रो दशैंको रित बुझाएर खोक्सुङले स्वास्नी घर ल्याएको थियो । बोलचाल थिएन । आफ्नो मजेत्रो मात्र ओढेर स्वास्नी गुन्द्री ओछ्याएर भुइँमा सुत्थी । एक रात जाडोले निदाउनै नसकेपछि खोक्सुङकी स्वास्नीले आधारातमै उठेर आँगनमा खरेटो लगाई, घरका भाँडाकुँडा धोई । तै पनि उज्यालो भएन । कोठामा आई । जाडोले लगलग काम्दै बसी । बिरहमा पालम गाई । के सुरमा हो बोलिपठाई- ‘ए, म दुःखियाको सुर्ती पनि सकिएछ… ।’
खोक्सुङ निदाएको थिएन । सिरानीमा राखेको सुर्तीको पोका स्वास्नीतिर फालिदियो । स्वास्नीले भनी, ‘ए… धर्मै भयो ।’
स्वास्नीले सुर्ती बेरेर खाइसकी । अहँ, अझै उज्यालो भएन । बिहान झन्झन् चिसो बढ्दै गएपछि बिस्तारै आएर खोक्सुङ सुतेको खाटमा बसी । एकछिनपछि त्यही छेउमा ढल्किई । खोक्सुङको उसै घाँटी सुकेर आयो । आँट कसेर ओढेको सिरक स्वास्नीतिर फालिदियो । स्वास्नीले थोरै सिरक तानेर खुट्टासम्म छोपी । खोक्सुङको सास बढेर आयो, त्यस्तो जाडोमा पनि उसको निधारभरि चिटचिट पसिना आयो । सुकेको घाँटी थुकले भिजाउन खोज्यो, थुक निल्न सकेन । बल गरेर थोरै स्वास्नीतिर सर्यो । उसलाई स्वास्नीको जीउबाट तातो राप आइरहेको जस्तो लाग्यो । उसले आँट गरेर स्वास्नीतिर हात बढाउन मात्र के खोजेको थियो, स्वास्नीले कोखामै एक घुस्सी मारी । खोक्सुङ हल न चल भयो ।
स्वास्नी खाटबाट उठेर हिंडी । बिहान हुनेवेला खोक्सुङ भुसुक्कै निदायो । बिहान उठ्दा स्वास्नी घरमा थिइन । ऊ पहिलो पटक भागेकी स्वास्नी लिन ससुराल गयो । सासू-ससुराले आफ्नो छोरीलाई सम्झाएर, बुझाएर घर फर्काउने भए तर फर्किने दिन स्वास्नी घरमा छैन । सोधिखोजी गर्दा थाहा भयो- स्वास्नी त भागेर मावली पुगिछे । खोक्सुङ एक्लै घर फर्यो ।
त्यसपछि-
खेक्सुङका बाबु खस्ता मात्रै स्वास्नी घर आई । कार्जे सकेर कुल-कुटुम्ब सबै गएपछि घरमा आमा, खोक्सुङ र स्वास्नी मात्र रहे। एक रात खोक्सुङले आँट कस्यो- अब साथीभाइले भनेजस्तै नगरी भएन । ऊ हिंस्रक आक्रमणमा उत्रियो तर कसोकसो कर नपरिरहेको मौका पारेर स्वास्नीले छातीमा जोर लात हानी । खोक्सुङ उछिट्टिएर कुनामा पछारियो । कुनामा ओथारो बसेको कुखुरा तर्सेर कराउँदै बाहिर निस्क्यो । घरभित्र सुतेकी आमा स्याल आएको भन्ठानेर हातमा अगुल्टो लिएर कराउँदै बाहिर निस्किइन् । त्यही मौकामा स्वास्नीले चम्पट हानिछे ।
खासमा खोक्सुङ आमाको करले मात्र स्वास्नी लिन जाँदै छ । उसलाई यो स्वास्नीले घर गरी खान्छ भन्ने फिटिक्कै विश्वास छैन । पल्टनमै सम्धि बोलेका बाउ पनि अब छैनन् । आमाले ‘बाउको वचन त राख्’ भनेकाले मात्र ऊ अन्तिम पटक ससुराल जाँदै छ ।
खोक्सुङ ससुराल पुग्दा सासूआमा बाहिर सिकुवामै भेटिइन् । ज्वाइँलाई देख्नासाथ घरभित्र मुन्टो घुमाएर कराइन्, ‘कान्छी बाहिर निस्की ।’
खोक्सुङले सासूआमालाई ढोग्यो ।
‘ए, भेना पो ।’ कान्छी सालीले सेवारो गरी । हतार-हतार खाटमा राढी ओछ्याउँदै साली हुनाको मजाक थपिहाली, ‘हाओ भेना । तपाईं त ससुराल आउनै पो छोड्नुभो त ? दिदीले साह्रै पो चित्त दुखाइदियो कि ? दिदीको सट्टा कि मै पो जाऊँ हाउ ?’
खोक्सुङले शिरदेखि पाइतालासम्म सालीलाई एकखेप हेर्यो । अस्तिको फुच्ची केटीमा अचम्मैको आकर्षण देख्यो तर केही नबोली मुस्कुरायो मात्र । पानीको गाग्रो बोकेर आउँदै गरेकी स्वास्नीले पिँढीनेर आइपुग्दा खोक्सुङलाई देखी । बहिनीले दिदीको डोको समाई । गाग्री निकालेर खुट्टा बजार्दै स्वास्नी घरभित्र गएको खोक्सुङले हेरेन । त्यहीवेला सासूआमाले कान्छीलाई कराइन्, ‘फतरफतर के बोलिबसेको ? भेनालाई भित्र बोला ।’
सालीले ‘लु भेना भित्र जाऊँ भनेको खोक्सुङलाई बडो अच्छा लाग्यो । ऊ भित्र के पस्यो, स्वास्नीचाहिँ फुत्तै बाहिर निस्किई । सासूआमाले सम्धिनीको सन्चोबिसन्चो सोध्दै गर्दा आइपुगेका ससुराबाले दैलोमै उभिएर सोधे, ‘को हाओ यो रूखको ठुटाजस्तो ?’
‘बाउ म पो,’ खोक्सुङले ससुराबा उभिएकै ठाउँमा गएर खुट्टामै ढोग्यो ।
‘ए नाक्चीको पोइ पो !’ ससुराबाले कम्मरमा बाँधेको खुकुरी खोलेर मूल खाँबोको काँटीमा झुण्ड्याए । त्यसपछि खाटमा उपरखुट्टी लाउँदै सोधे, ‘अनि किन पो आइस् त ?’
‘हजुरको सम्धिनीले बुहारी लिन पठाएर पो,’ खोक्सुङले सानो स्वरमा भन्यो ।
‘तेरो स्वास्नी हो, आफैँ फकाएर लैजा,’ ससुराबाले कुरा सके । सालीले किनामा भुट्नलाई डढाएको खुर्सानीले खोक्सुङ नराम्ररी सर्कियो । ऊ नाकमुख छोपेर खोक्दै सिकुवामा निस्कियो । खाटमा बसेकी स्वास्नी फुत्त भित्र पसी ।
खाना खाएर खोक्सुङ बाहिर खाटमा बसिरहेको थियो, स्वास्नी र साली जूठा भाँडाकुँडा लिएर निस्किए । खोक्सुङलाई लाग्यो- मौका यही हो स्वास्नीसँग कुरा गर्ने । आजसम्म उसले स्वास्नीसँग दोहोरो बात मारेकै थिएन । छेउमा पुगेर उसले भन्यो, ‘घर गरिखाने हो भने भोलि घर हिंड, होइन भने…’
खोक्सुङले पूरा कुरा भन्नै नपाई स्वास्नीले हातको भाँडा पछारी र घरभित्र पसी ।
‘छि: भेना तपाईं त ! बूढी फकाउन पनि नजान्ने ।’ सालीले खितिति गरेर हाँसिदिई ।
खासमा खोक्सुङले पनि त्यसै भन्न चाहेकोचाहिँ थिएन । उसले राम्ररी नै फकाउनु चाहेको थियो तर भन्दा त्यसै भनिपठायो । आफ्नो कुरै नसुनी स्वास्नी फन्केर हिँडेकोमा खोक्सुङको चित्त दुख्यो, रिस पनि उठ्यो ।
सालीले एक्लै धन्दा सकी । स्वास्नी बाहिर निस्किँदा पनि निस्किइन ।
भेना ! राति डर लाग्छ भने भन्नू है ! म साथी दिन आउँछु ।’ खाटमा ओछ्यान लगाइदिँदै सालीले भनी ।
‘ल ।’
‘नसुती पर्खिनु है त ।’ सालीले आँखा पनि सन्काइदिई । खोक्सुङ हेरेकोहेर्यै भयो ।
सालीले भित्र पसेर ढोकामा आग्लो लगाएपछि खोक्सुङ सिरक ओढेर ओछ्यानमा ढल्क्यो । जुनेली रात थियो । गाउँका कुकुरहरू भुकेको सुनेर ससुराली घरको कुकुर पनि भुक्न थाल्यो । स्वास्नीको बारे मनमा अनेक कुरा खेलाउँदै, ओल्टोकोल्टो गर्दागर्दै खोक्सुङ आधा रात कट्नै लागेको वेला भित्रबाट ढोका खोलियो । खोक्सुङ तर्सियो तर मस्त निदाएजस्तो नाटक गर्यो ।
मनमा झिलिक्क लोभ आयो- ‘साली त होइन ?’ उसले सिरकलाई उचालेर हेर्यो । होइन, स्वास्नीचाँहि रहिछ । ऊ चाल मारेर उठ्यो र बिस्तारै स्वास्नीको पिछा लाग्यो । स्वास्नी सुँगुरको खोरपछाडि पिसाब फेर्न बसी । खोक्सुङ त्यहीं पुग्यो । स्वास्नी तर्सेर उठी । खोक्सुङले पाखुरामा च्याप्प समातेर आफूतिर तान्यो ।
स्वास्नीले फुत्कनका लागि सक्दो बल गरी, खोक्सुङले झनै कसिलो गरी कस्दै ल्यायो । केहीछिनपछि स्वास्नीले बल गर्न छोडी । अब खोक्सुङले मनमौजी गर्नथाल्यो । गाउँभरिका कुकुरहरू उसै गरी भुकिरहेका थिए । ससुराली घरको कुकुर भने खोई किन हो ? चुप थियो ।
बिहान साली आँगनमा खरेटो लाउँदै गर्दा खोक्सुङ ससुरालको नयाँ ओखली नियाँल्दै थियो ।
‘के पो हेर्नुभो भेना त्यति साह्रो ?’ सालीले सोधी, ‘हाम्रो लेकमा धान कुटी खानु छैन क्यारे । यसो किनामा बनाई खानुलाई बनाको ।’
‘ओए कान्छी, ज्वाइँलाई गोरु फुकाई दे । तल तोरीबारी जोतोस् ।’ पिंढीमा उभिएका ससुराबाले आदेश दिए ।
‘कान्छी, भेनालाई भित्र ले ! खाजा खाएर जानू !’ घरभित्रबाट सासूआमाले भनिन् ।
खोक्सुङ भित्र पस्दा स्वास्नी जाँड छान्दै थिई । रातिको हर्कत सम्झेर उसलाई लाज र डर दुवै भयो ।
‘उसै त भागिहिँड्ने, अब त झन् के मान्ली र घर जान । गोरू नारिराखेर उतैउतै धाईफाल दिनुपर्ला । भुत्रा गर्नु ससुरालीको काम ? अर्कै केटी ल्याइन्छ । साले झ्याइँ झ्याइँ विहे गरिन्छ’ यस्तै के के सोच्दै गर्दा खोक्सुङको अगाडि सालीले जाँड राखिदिई ।
खोक्सुङले शङ्का मान्दै डबका उठायो । सोच्यो- ‘अमिलो होला पक्कै । यसले मलाई भगाउने जाँड बनाएको हुनुपर्छ ।’
एक सुरुप जाँड तानेपछि खोक्सुङ छक्कै पर्यो । उसले आजसम्म ससुराल घरमा यति मीठो जाँड पाएकै थिएन । सास नफेरी डबका रित्यायो । सालीले तीन खेप थपेपछि बल्ल उठ्यो । खोक्सुङ जाँडले रमरम भएर आँगनमा निस्किँदा स्वास्नीले हल्लुँडजोतारो दिँदै भनी, ‘छिटो गरेर आउनू है ! घर जानु ढिलो हुन्छ ।’
अचम्म !
विश्वास नलागेर खोक्सुङले स्वास्नीलाई पुलुक्क हेर्यो । स्वास्नी रातीपिरी भएर लजाउँदै भित्रतिर गई । खोक्सुङले रातिको कुरा सम्झ्यो । फिस्स हाँसेर लाग्यो बारीतिर छिटोछिटो ।
(उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’बाट)
श्रोत अनि साभार लिंक : https://sahityapost.com/aakhyan/story-aakhyan/150602/
0 Response to "ससुराली : उपेन्द्र सुब्बा - उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’बाट"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.