यौन शोषण, हत्या र मानिस बेपत्ता बनाएको आरोप लागेका रामबहादुर बम्जन जलेश्वर कारागारमा : यस्तो छ दैनिकी
सुनिता बराल, कान्तिपुर महोत्तरी, माघ २, २०८० : क्षमताभन्दा दुई गुणा बढी कैदी बन्दी राखिएको जलेश्वर नेपालको कारागारका ५ सय ९३ जना कैदीबन्दीमध्ये एक हुन्, लिटिल बुद्ध भनिने रामबहादुर बम्जन।
बारा रतनपुरीका १६ वर्षीय रामबहादुर बम्जन २०६३ सालमा एक दिन सुटुक्क घर छाडेर हिँडेका थिए, १७ वर्षपछि उनी ठूलो चर्चा परिचर्चाबीच अदालत उपस्थित हुँदै छन् । योबीचमा आस्थाका नाममा यौन शोषण, हत्या र मानिस बेपत्ता बनाएको आरोप लागेका उनी चार वर्षदेखि फरार थिए । सर्लाही जिल्ला अदालतको आदेशपछि जलेश्वर कारागार पुगेका बम्जनले सुरुआती दिनमा छुट्टै सुत्ने खाट र कोठा माग गरे पनि कारागारले उनलाई सामूहिक रुपमै अन्य कैदी बन्दीसँगै राखेको छ ।
कारागार प्रमुख रामचन्द्र साहले कारागारभित्र क्षमताभन्दा बढी कैदी बन्दीलाई नै राख्न समस्या भइरहेकाले बम्जनको माग पूरा गर्न नसकिएको बताए । ‘सुत्ने ठाउँ अभावका कारण त्रिपाल टाँगेर कैदी तथा थुनुवाहरु बसिरहेका छन्,’ प्रमुख साहले भने, ‘हामीले अन्य कैदी बन्दीसरह नै उहाँलाई पनि राखेका छौँ ।’
२७ गते बिहान बम्जनले कारागारको संयुक्त भान्साको खाना नखाने भन्दै लसुन, प्याजसमेत नराखेको शुद्ध साकाहारी खाना माग गरेका थिए । कारागार प्रमुख साहले उनलाई २ दिनसम्म कारागारमा रहेका कैदी बन्दी साधुसन्तहरुसँगै खाना खुवाएको बताए ।
कारागार प्रशासनका अनुसार दुई दिनसम्म बम्जन मन्दिर परिसरमा बिहानको समय ध्यानमा बसेका थिए । बम्जनको अनुरोधपछि प्रशासनले आइतबारबाट सेवा सत्कारको लागि भन्दै एकजना सहयोगी नियुक्त गरेको छ । लागू औषध मुद्दामा जेल चलान भएका नरवीर लामा अहिले बम्जनका सहयोगी छन् । बम्जनको लागि खाना पकाउने, अन्य काममा सघाउने, अह्राएको काम गर्ने गरी लामालाई बम्जनको सहयोगीको रुपमा नियुक्त गरेको कारागार प्रशासनले जनाएको छ ।
बम्जन अहिले तीनतले कारागार भवनको तेस्रो तलामा ७ जना नाइकेसँगै बस्छन् । कारागारका सूचना अधिकारी रवीनचन्द्र ठाकुरले बस्ने राम्रो व्यवस्था गरिदिन प्रशासनसँग अनुरोध गरेपछि कारागारमा भएकामध्ये राम्रो कोठामा ७ जना नाइकेहरुसँगै उनलाई राखिएको बताए । ‘उनी कारागारमा धेरै बोल्दैनन्,’ ठाकुरले भने, ‘अहिले अन्य बाहिरी मानिसहरुसँग भेट गर्न समेत मानिरहेका छैनन् ।’
सुरुका केही दिन अनुयायी बताउनेहरु कारागारमा बम्जनलाई भेट्न निकै आउने गरेका थिए । अहिले त्यति आउँदैनन् । सोमबार बम्जनले श्रीमतीसँगै कारागारमा भेट्न पुगेका मानव अधिकारकर्मी र आफ्नो वकिलसँग भेट गरेका छन् ।
कारागारभित्रको मन्दिर परिसरमा प्रत्येक दिन कैदी बन्दी साधुसन्तले भजनकीर्तन गर्ने गरेका छन् । यस्तो कीर्तनमा सहभागी हुन साधुसन्तले बम्जनलाई अनुरोध गर्ने गरे पनि उनी सहभागी भएका छैनन् । कारागारमा ४ सयभन्दा बढी पुस्तकहरु रहेको पुस्तकालय पनि छ । तर बम्जन पुस्तकालयका पुस्तकहरु पढ्दैनन् । ‘बम्जन बस्ने कोठामा टीभी राखिएको छ,’ सूचना अधिकारी ठाकुरले भने, ‘उहाँ कोहीसँग खासै बोल्नुहुन्न टीभी हेरेरै दिन बिताउनुहुन्छ ।’
लामो समयसम्म सर्वसाधारणलाई झुक्याउँदै र चार वर्षदेखि प्रहरीलाई समेत छक्याउँदै आएका उनी मंगलबार पनि काठमाडौंस्थित निवासबाट भाग्न खोजेका थिए । तर प्रहरी घेरा परेसँगै उनको नाटकीय जीवनले नयाँ मोड लिएको छ ।
छक्याउने खेलमा उनी सुरुदेखि नै ‘उस्ताद’ थिए । किशोरवयमै एकाएक घरबाट हराएपछि परिवार र गाउँलेले खोजी सुरु गरेका थिए, रतनपुरी नजिकको जंगलमा एउटा रूखमुनि ध्यान गरिरहेको अवस्थामा भेटिएका उनले आफूलाई तपस्वी घोषणा गरे । उनलाई ध्यान बसेको हेर्न बिस्तारै भीड लाग्न थाल्यो । र, त्यो ठाउँ ‘धार्मिक स्थल’ का रूपमा चिनिन थाल्यो । उनले त्यसरी नै १० महिना बिताए । त्यतिका महिना उनले पानीसमेत नपिई ध्यानमा बसेको प्रचार गर्न भक्तहरू खटिएका थिए । अनुयायी र स्थानीयले उनलाई बुद्धकै अवतार दाबी गर्थे । बम्जनले भक्तलाई प्रवचन दिन्थे । त्यसैका आधारमा उनको परिचय ‘लिटिल बुद्ध’ बनेको थियो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेका उनी बेलाबेलामा अचानक सम्पर्कविहीन हुन्थे । रतनपुरी छेउको जंगलमा १० महिना ध्यान गरेपछि उनी एकाएक सम्पर्कविहीन भएको खबरले देश–विदेशमा चर्चा पायो । केही दिनपछि बाराकै हलखोरिया जंगलमा एउटा रूखमुनि ‘तपस्यारत’ अवस्थामा भेटिए । भेटिएको खबर पनि चर्चित भयो । बीबीसी र डिस्कभरीजस्ता टीभी च्यानलले बम्जनमाथि विशेष सामग्री नै प्रसारण गरे ।
डिस्कभरीको ‘बुद्ध ब्वाय’ वृत्तचित्रले बम्जनको चर्चा विश्वभर भयो । देश–विदेशमा बढ्दो चर्चासँगै उनका अनुयायी र भक्तको दायरा फराकिलो बन्दै गयो । सर्वसाधारणदेखि नेता र उच्च सरकारी अधिकारीसमेत उनका भक्त बन्न थाले । बम्जनले प्रचार गरेको बोधी श्रवण धर्म संघमा पूर्वराज्यमन्त्री मणि लामा सक्रिय छन् भने अर्का पूर्वराज्यमन्त्री यशोदा लामाले पनि बम्जनको भक्तका रूपमा चिनाउँदै आएकी छन् । ‘गुरुलाई भेट्न’ भन्दै उनी बुधबार सीआईबी कार्यालयसमेत पुगेकी थिइन् ।
यस्तै देश–विदेशबाट आर्थिक स्रोत बटुलिन थाल्यो । केही वर्षमै उनले सर्लाही, लमजुङ, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौंमा आश्रमहरू बनाए । सिन्धुली कमलागाई नगरपालिका–८ पैरेस्थित आश्रम करिब ४२ बिघामा फैलिएको छ । २४ बिघाको लालपुर्जा नै थियो भने बाँकी सामुदायिक वनको जग्गा अतिक्रमण गरिएको थियो ।
त्यस्तै सिन्धुपाल्चोकको इन्द्रावती–५ का केही स्थानीयले ३० रोपनी जग्गा दिएपछि त्यहाँ पनि आश्रम बनाए । त्यहीं उनले ‘मैत्री पद्धति’ सुरु गरे । कसैसँग दोहोरो नबोल्ने बम्जनले २०७३ सालमा ‘मैत्री मार्ग’ अँगालेर पहिरन बदले । रातो बौद्ध चीवरको साटो सेतो र हरियो रङको पहिरन अनिवार्य गरे । सँगै मैत्री बोधी संघ बनाए ।
बाहिर ‘बुद्ध’ बने पनि आश्रमभित्र भने उनले अपराधको भयानक संसार खडा गरेको गुनासो बढ्दै गयो । महिलाहरूलाई बन्धक बनाउने, यौन शोषण गर्ने र हत्यासमेत गरेको आरोपका उजुरी पर्न थालेपछि भने बम्जनको छवि धुमिल भयो । उनी २०६७ सालदेखि नै विवादित छन् । बाराको हलखोरियास्थित जंगलमा बसेका बेला उनी र उनका अनुयायीले सोही जंगलमा च्याउ टिप्न आएका सर्वसाधारणलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । विभिन्न समयमा स्थानीयलाई कुटपिट गर्ने, बन्धक बनाउने गर्दै आएका उनले आश्रमका आनीहरूलाई यौन शोषण गरेको तथा अनुयायीलाई बेपत्ता पारेको घटना पनि सार्वजनिक भए । सिन्धुपाल्चोकको आश्रमबाट दुई बेपत्ता भएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी पर्यो ।
पछि सिन्धुपाल्चोकको इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा पनि आश्रम बनाए, जहाँ प्रहरीले २०७६ पुसमा छापा मारेको थियो । त्यहाँ बेपत्तामध्येका मकवानपुरका सञ्चलालको हत्या गरेको प्रहरीको आशंका थियो । करिब ८० रोपनीको आश्रम भित्र एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट फेला पारिएको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि पुष्टि हुने थप प्रमाण फेला पर्न सकेको थिएन ।
त्यस्तै उजुरी सिन्धुलीमा पनि थियो । आश्रमका आनीहरूमाथि यौन हिंसा गरेको, बेपत्ता पारेको र हत्या गरेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीपछि २०७६ सालमा उनी फरार भए । प्रहरीले उनलाई पक्राउ गर्न बारा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङका आश्रमहरूमा छापासमेत मारेको थियो । तर, उनी प्रहरीलाई छक्याउँदै, लुक्दै हिँड्न सफल भइरहे ।
बम्जनले चार अनुयायीलाई आश्रमबाटै बेपत्ता पारेको भनी उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी परेको छ । चुन्मो भन्ने चिनीमाया तामाङ, डोल्मो भन्ने फूलमाया रुम्बा, सञ्चलाल वाइबा र सुरेशकुमार आले आश्रमबाट बेपत्ता भएकाले ‘खोजतलास गरी पाऊँ’ भन्दै परिवारका सदस्यले उजुरी गरेका छन् ।
नुवाकोटकी २९ वर्षीया चुन्मो २०६९ असोजदेखि, मकवानपुरकी ३० वर्षीया डोल्मो २०७१ माघदेखि, मकवानपुरकै ५१ वर्षीय सञ्चलाल २०७१ चैतदेखि र बाराका ३४ वर्षीय सुरेश २०७२ जेठदेखि बेपत्ता छन् । चुन्मो, डोल्मो र सञ्चलाल सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रमबाट र सुरेश बारा निजगढस्थित आश्रमबाट बेपत्ता भएका थिए ।
बम्जनलाई बोधी श्रवण धर्म संघ र नमो तपोवन संरक्षण तथा संवर्द्धन समितिका स्वयंसेवकले सुरक्षा दिने गरेका थिए । २०६९ मा संघकै पदाधिकारीले सिन्धुपाल्चोककी एक आनी र एक विदेशी नागरिकलाई तीन महिनासम्म बन्धक बनाएको आरोप लागेको थियो । बम्जनले बाराको हलखोरियामा राष्ट्रिय वन अतिक्रमण गरेर गुम्बा बनाएको आरोपसमेत लागेको थियो । जिल्ला वन कार्यालय र स्थानीय प्रशासनले बम्जनलाई वन क्षेत्रमा प्रवेशमै रोकसमेत लगाएको थियो ।
पछि उच्च अदालत, हेटौंडाले अन्तिम फैसला नहुन्जेल बम्जनलाई नरोक्नू भन्ने आदेश दिएको थियो । त्यसपछि उनी पुनः हलखोरियाको वनमा बस्न थालेका थिए । पछि वन मन्त्रालयले २०७० मा हलखोरिया वन क्षेत्रमा कुनै पनि निर्माण र उपभोग गर्न नदिने निर्णय गरेको थियो । मन्त्रालयको उक्त निर्णयविरुद्ध बम्जनका अनुयायीले आन्दोलनसमेत गरेका थिए । तर, स्थानीय प्रशासनले वनभित्र बनाइएको भौतिक संरचना भत्काइदिएपछि उनी सिन्धुली पुगेका थिए । भागम्भाग गर्दै आएका उनी अनुसन्धान व्यवस्थित भएपछि चार वर्षदेखि भने फरार थिए ।
तर, मंगलबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको बूढानीलकण्ठस्थित एउटा बिलासी घरबाट पक्राउ गरेको हो । उनको निवासबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ । यस्तै अमेरिका, अस्ट्रेलिया, भारत, चीन, क्यानडा, डेनमार्क, इन्डोनेसियालगायत १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको मुद्रा पनि बरामद भएको थियो । ५ करोडमा सेतो रङको ल्यान्ड क्रुजर गाडी किन्ने तरखरमा रहेका बम्जनले धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट सोरुमलाई ३ करोड रुपैयाँ नगद बैनासमेत गरिसकेको अनुसन्धान अधिकारीहरूले बताएका छन् । हाल भने उनी तुलाराम तामाङका नाममा रहेको प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको सेतो रङको टोयोटा फर्चुनर चढ्थे । अरू चार वटा मोटरसाइकल प्रयोग गर्थे । प्रहरीले बम्जनबाट गाडीको चाबी, १४ वटा मोबाइल, ५ वटा आइप्याड र ट्याब, तीन वटा मोटरसाइकलका बिलबुक, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ, एउटा भ्वाइस रेकर्डर र २ वटा मेमोरी कार्ड पनि बरामद गरेको छ ।
उनका थप सम्पत्ति विवरणबारे विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । ‘यो कहाँबाट आयो, कसरी आयो, के स्रोत हो भन्ने अनुसन्धान हुँदै छ तर अवश्य पनि यति ठूलो पैसा घरमा राख्नु सामान्य मान्न सकिँदैन,’ पत्रकार सम्मेलनमा प्रहरी अधिकारीले भने । बाल यौन दुराचार मुद्दामा फरार भएकाले बुधबार नै उनलाई सर्लाही लगिएको छ । बिहीबार सर्लाही अदालतमा उपस्थित गराइने सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए । अवैध रूपमा विदेशी तथा नेपाली मुद्रा राखेको लगायत अन्य आरोपमा अनुसन्धानपछि थप मुद्दा चलाइने प्रहरीको भनाइ छ ।
बम्जनले बाराको हलखोरियास्थित आश्रममा रहेकी आनीलाई २०७१ साउनमा बलात्कार गरेको मुद्दा जिल्ला अदालत सर्लाहीमा परेको थियो । सर्लाही अदालतले २०७६ माघ २३ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका थिए । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर र बाराका प्रहरीको सूचीमा पनि बम्जन फरार अभियुक्त थिए ।
प्रहरीका अनुसार दुई महिनादेखि श्रीमती र दुई सन्तानसहित बूढानीलकण्ठमा बस्दै आएका थिए । पक्राउ गर्न प्रहरी घरमा छिरेपछि हाम फालेर भाग्ने प्रयास गरेका थिए । ‘यसपालिको अपरेसन धेरै व्यवस्थित थियो, त्यसैले सफल भयो,’ सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्, ‘पहिलाका अपरेसनहरू अलि सार्वजनिक हुन्थे, अनुयायी र विभिन्न माध्यमबाट उसले आफूलाई हाइड गर्थ्यो ।’ यो अनुसन्धानलाई ब्युरोले ‘अपरेसन ब्लु’ भनेको छ ।
0 Response to "यौन शोषण, हत्या र मानिस बेपत्ता बनाएको आरोप लागेका रामबहादुर बम्जन जलेश्वर कारागारमा : यस्तो छ दैनिकी"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.