-->
अनित थापाको मुख्यमन्त्री ममता ब्यानर्जीसंग भेट - बैठक फलदायक : थापा

अनित थापाको मुख्यमन्त्री ममता ब्यानर्जीसंग भेट - बैठक फलदायक : थापा

कालिमन्युज, कालेबुंग, ८ फरवरी २०२३: गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) का प्रमुख कार्यकारी अनित थापाको बुधवार राज्य विधानसभामा मुख्यमन्त्री ममता बनर्जीलाई भेट भयो | थापाले मुख्य मंत्रीसंगको भेटमा जीटीएलाई सुचारु रुपले संचालन गर्न, सम्बोधन गर्न आवश्यक पर्ने केही मुद्दाहरू उठाए। 
बैठक फलदायक भएको बताउँदै उनले लामो समयदेखि अड्किएका नीतिगत विषयलाई अगाडि बढाउन र कार्यान्वयन गर्न मुख्यमन्त्रीले मुख्य सचिव र गृहसचिवलाई निर्देशन पनि दिएको जानकारी एक प्रेस सम्मेलनमा गराए । 
"मैले मुख्यमन्त्री ममता ब्यानर्जीलाई ३१ बुंदे मागहरु राखे अनि त्यसमा आवश्यक कदम चाल्न आग्रह गरेको छु ताकि राज्य सरकारका सबै विकास कार्यहरू र स्थानान्तरण गरिएका विभागहरूसँग सम्बन्धित नीतिहरू जीटीए मार्फत कार्यान्वयन गर्न सकियोस। नीतिगत विषयको कार्यान्वयनलाई प्राथमिकताका आधारमा अघि बढाउनुपर्छ,’ थापाले भने । 
उनले पहाडको शिक्षा प्रणाली अझै बिग्रदै गएको र यसलाई पुनर्जीवित गर्नुपर्ने बताए । बैठकमा शैक्षिक विषयहरू मध्ये छुट्टै विद्यालय सेवा आयोगको गठन, कालेबुङ जिल्लामा सर्व शिक्षा अभियान र मिड-डे मील कार्यक्रम सञ्चालन, प्राथमिक शिक्षक नियुक्तिका लागि भर्ना नियमको स्वीकृति, जीटीएको लागि छुट्टै प्राथमिक शिक्षा बोर्डको गठन आदि मागहरु बारे पनि चर्चा भयो जसमा सकारात्मक स्वीकृति मिलेकोछ । 
उनले यी सबको निम्ति कोषको कुनै समस्या नहुने र पोलिसीका कुराहरु सुल्झेपछि समयमै सबै मिल्दै आउने बताए । 
“पहाडमा सन् १९८६देखि यता कुनै पञ्चायतको निर्वाचन भएको छैन र यो वर्ष यो हुने भएकोले खुसी छौं। हामी जीटीए क्षेत्र अन्तर्गत आइसीडीएस परियोजनाहरूमा आंगनवाडी कार्यकर्ता र सहयोगीहरूको लागि भर्ती प्रक्रिया सुरु गर्न चाहन्छौं," थापाले भने। 
विपक्षीहरुले छुट्टै गोर्खाल्याण्ड राज्यको मुद्दा उठाएको विषयमा सोध्दा थापाले यो पूर्ण रूपमा केन्द्रीय विषय भएको र आफ्नो प्राथमिकता पहाडको विकास रहेको बताए ।

0 Response to "अनित थापाको मुख्यमन्त्री ममता ब्यानर्जीसंग भेट - बैठक फलदायक : थापा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.