सिङ्गल युज प्लास्टिकमाथि प्रतिबन्ध : असल ग्रहको दिशातर्फ कदम
भूपेन्द्र यादव, पीआइबी, कालिमन्युज, 8 जुलाई २०२२ : वर्ष 2018 मा, भारतले “प्लास्टिकद्वारा प्रदूषणको अन्त्य गरौं” शीर्षकमाथि विश्व पर्यावरणदिवस पालन गर्दा, प्रधानमन्त्री नरेन्द्र मोदीले सिङ्गल युज अर्थात् एकपटक मात्र प्रयोग गर्नमिल्ने प्लास्टिक प्रयोगको अन्त्य गर्न आह्वान गरेका थिए। एक वर्षपछि, आफ्नो स्वतन्त्रता दिवसको सम्बोधनमा प्रधानमन्त्री मोदीले यसै मुद्दालाई उठाउँदै फेरि भने, “के हामी भारतलाई एकल प्रयोगका प्लास्टिकबाट मुक्त राख्न सक्छौं? यस्तो विचार कार्यान्वयन गर्ने समय आएको छ। यस दिशामा काम गर्न टोलीको परिचालन गर्नुपर्नेछ... पसलेहरूले सूनपाट वा कपडाको थैली बेच्नुपर्नेछ। ग्राहकहरूले प्लास्टिकको प्रयोग घटाउने तरिका अप्नाउनुपर्नेछ। प्लास्टिक प्रयोगको अन्त्य गर्न हामीले प्रविधिको सहारा लिनुपर्नेछ।”
प्लास्टिकको प्रयोग समाप्त गर्नका लागि कैयौं कारण छन्। यसले पर्यावरणका साथै मानिसहरूको स्वास्थ्यलाई पनि क्षति पुऱ्याउँदछ। थोरै मात्र प्लास्टिकको पुनःचक्रण हुँदछ वा फोहोरबाट ऊर्जा उत्पादन गर्ने संयन्त्रमा नष्ट गरिन्छ। अधिकांश प्लास्टिक भूमिभरण स्थलमा थुप्रिने गर्दछ जहाँ त्यो सड्न हजारौं वर्ष लाग्ने गर्दछ। सबैभन्दा खराब कुरा यसले विषाक्त पदार्थ उत्पन्न गर्दछ, जसले माटो अनि पानीलाई नै दूषित बनाउने गर्दछ। यो सड्ने प्रक्रियामा मसिना टुक्रा बनी सूक्ष्म प्लास्टिक बन्नपुग्दछ। नयाँ अनुसन्धानले माटो, ताजा पानी अनि हावामा पनि यस्ता सूक्ष्म प्लास्टिक हुने गरेको उजागर गरेको छ। यो धेरै गम्भीर चिन्ताको विषय हो।
भारतले एकल प्रयोगका प्लास्टिकको अन्त्य गर्ने आह्वानले विश्वभरी प्लास्टिकद्वारा हुने प्रदूषण विरुद्ध उल्लेखनीय कार्वाहीलाई गति प्रदान गरेको छ। यसको परिणामस्वरूप मार्च महिनामा केन्याको नैरोबीमा सम्पन्न संयुक्त राष्ट्र पर्यावरण महासभामा ऐतिहासिक “प्लास्टिकद्वारा प्रदूषणको अन्त्य : अन्तरराष्ट्रिय स्तरमा कानूनी रूपमा बाध्यकारी अभिसन्धि” ग्रहण गरियो। संयुक्त राष्ट्रको पर्यावरण कार्यक्रमका कार्यकारी निर्देशक इङ्गर एण्डर्सनले पेरिस जलवायु सम्झौतापछिको सबैभन्दा महत्त्वपूर्ण बहुक्षेत्रीय पर्यावरण सम्झौता भनी बताएका छन्।
भारतमा एकल प्रयोगका प्लास्टिकमाथि प्रतिबन्ध 1 जुलाईदेखि लागू गरियो। पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयले प्लास्टिकद्वारा प्याकेजिङका लागि विस्तारित उत्पादकको दायित्त्व (ईपीआर) बारे दिशानिर्देश अधिसूचित गरेको छ। उत्पादक, आयातक तथा ब्राण्डका मालिकहरूद्वारा ईपीआर अन्तर्गत सङ्कलित पुनःचक्रण गर्न मिल्ने प्लास्टिकका अवशेषहरूको न्यूनतम स्तर निर्धारण गर्नाले प्लास्टिक प्याकेजिङ अवशेषको परिचक्री अर्थनीतिलाई सुदृढ बनाउनेछ। ईपीआर दिशानिर्देशले नयाँ विकल्पको विकास प्रोत्साहित गर्नका साथै वहनीय प्लास्टिक प्याकेजिङलाई बढावा दिनेछ।
दिशानिर्देशमा प्याकेजिङको निम्ति पुनःचक्रण गरिएका प्लास्टिकको प्रयोग गर्न निर्देशित गरिएको छ। यस कदमले पुनःचक्रण गरिएका प्लास्टिकका वस्तुको माग सिर्जना हुनेछ। प्लास्टिकका विकल्पबारे प्रश्नहरू खडा गरिएका छन्। पर्यावरणलाई क्षति हुने तरिकाको विकासमाथि मोदी सरकार विश्वास गर्दैन तर पर्यावरण बचाउनका लागि विकासलाई ठप्प गर्न पनि मिल्दैन। यसै बुनियादी सिद्धान्तलाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले पर्यावरणका लागि जीवनशैलीको आह्वान गरेका छन् भने पर्यावरण एवं वन मन्त्रालयले जागरूकता फैलाउन विकल्पहरूमाथि राष्ट्र स्तरीय प्रदर्शनी आयोजन गरिरहेको छ। राज्य अनि केन्द्र शासित प्रदेशहरूलाई पनि यस प्रकारको प्रदर्शनी आयोजन गर्नका साथै प्लास्टिकका विकल्प तेजीका साथ विस्तार गर्न सहुलियत प्रदान गर्न आग्रह गरिएको छ।
जैविक रूपमा सड्ने-कुहिने प्लास्टिकका लागि अस्थायी मानक अधिसूचित गरिएको छ। सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई) मन्त्रालयले विकल्प विनिर्माण गर्ने एमएसएमई एकाइहरूलाई सहयोग गर्न केन्द्र सरकारको योजनाहरूमा प्रावधान बनाएको छ। राज्य अनि केन्द्र शासित प्रदेशहरूलाई प्लास्टिकका विकल्पको विस्तारलाई व्यापक रूपमा विस्तार गर्न सहुलियत प्रदान गर्न आग्रह गरिएको छ। पर्यावरण एवं वन मन्त्रालयले स्टार्ट अप इण्डिया योजना अन्तर्गत विकल्पका अभिनव विचारहरूलाई अघि बढाउन उद्योग एवं आन्तरिक कारोबार विभागसँग मिलेर काम गरिरहेको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले (सीपीसीबी) सड्ने प्लास्टिक उत्पादन गर्ने करिब 200 निर्मातालाई एकपटकको प्रमाणपत्र जारी गरेको छ। मोदी सरकारको कारोबारी सहजता नीति अनुरूप, यस प्रमाणपत्रको नविकरण गर्न आवश्यक पर्दैन। यस्ता निर्माताहरूको प्रमाणिकरणका लागि अनलाइन पोर्टल विकास गरिएको छ। एमएसएमईहरूलाई सहयोग गर्न केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले केन्द्रिय पेट्रोकेमिकल अभियान्त्रिकी एवं प्रविधि संस्थान (सीआइपीईटी) सँग मिलेर एकल प्रयोगका प्लास्टिकको विकल्पतर्फ बढ्न एमएसएमईहरूका लागि कार्यशाला आयोजन गरिरहेको छ। ई-कमर्स कम्पनीहरूका साथै शीर्ष बिक्रेता/ प्रयोगकर्ता तथा काँचो प्लास्टिकका वस्तु निर्माताहरूलाई प्रतिबन्धको सम्बन्धमा निर्देश जारी गरिसकिएको छ। तर जनभागीदारीबिना पर्यावरण बचाउने लक्ष्य हासिल गर्नसकिँदैनछ नागरिकहरूलाई जागरूक बनाउने पहल पनि जारी छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले एकल प्रयोगका प्लास्टिकमाथि प्रतिबन्ध सफल बनाउन विस्तृत उपाय गरिरहेको छ। बोर्डको विस्तृत कार्ययोजनामा काँचो मालका साथै प्लास्टिकको माग घटाउनदेखि लिएर निगरानीका लागि डिजिटल हस्तक्षेप शुरु गर्न लगायत निर्देशहरू प्रभावी रूपमा कार्यान्वयनका लागि राज्य बोर्डहरूलाई मार्गदर्शन अनि जागरूकता फैलाउने जस्ता उपाय सामेल छन्। योजना कार्यान्वयनमाथि निगरानी राख्न एकल प्रयोगका प्लास्टिकको अन्त्य तथा प्लास्टिक अवशेष प्रबन्धनको राष्ट्रिय ड्यासबोर्ड पनि स्थापित गरिएको छ।
भावी पिँढीलाई गर्वका साथ हस्तान्तरण गर्नमिल्ने वहनीय ग्रहको निर्माणतर्फ यो प्रतिबन्ध महत्त्वपूर्ण कदम हो। सबैको सहभागिता अनि सामूहिक प्रयासद्वारा हाम्रो दैनन्दिन जीवनबाट एकल प्रयोगका प्लास्टिकको अन्त्य सफलतापूर्वक गर्नसक्नेछौं। प्रधानमन्त्रीको परिकल्पना अनुरूप पर्यावरणमैत्री विकल्पहरू अप्नाए मात्र वहनीय भविष्यको निर्माण गर्नसकिनेछ।
भूपेन्द्र यादव, (केन्द्रिय पर्यावरण वन एवं जलवायु परिवर्तन तथा श्रम एवं रोजगार मन्त्री)
0 Response to "सिङ्गल युज प्लास्टिकमाथि प्रतिबन्ध : असल ग्रहको दिशातर्फ कदम"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.