-->
तारा एयर दुर्घटना : २१ को शव भेटियो १० शव काठमाडौं लगियो कान्तिपुर: परिवारकै सात जना रहेनन्

तारा एयर दुर्घटना : २१ को शव भेटियो १० शव काठमाडौं लगियो कान्तिपुर: परिवारकै सात जना रहेनन्


घनश्याम खड्का, लालप्रसाद शर्मा,, कान्तिपुर, म्याग्दी, पोखरा — तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । २२ यात्रुमध्ये एक जना अझै भेटिएका छैनन् । खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ । उद्धार गरिएका अन्य १० शव खराब मौसमका कारण सोमबार घटनास्थलमै राखिएको छ ।

आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानो सरेभीरमा दुर्घटनाग्रस्त अवस्थामा करिब १९ घण्टापछि भेटिएको थियो । खोज तथा उद्धारकर्ताले सोमबार दिउँसो ३ बजेसम्म दुर्घटनास्थलमा छरपस्ट शव, यात्रुका सामग्री संकलन गरी १० वटा शवलाई तल झार्न सकेका थिए ।

शव संकलन भए पनि यात्रुको पहिचान हुन सकेको छैन । खराब मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गराई शव उठाउन नसकिएपछि उद्धारकर्ताले शव बोकेरै तल कोवाङ बस्तीमा झारेका थिए । तर अन्य १० शव भने तल ल्याउन प्रयास गरिए पनि मौसमकै कारण असम्भव भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । शवको उद्धार भइरहेका बेला हिउँ र पानीसमेत परेको थियो । घटनास्थलबाट कोवाङ बस्तीमा आउन पैदल ४ घण्टा लाग्छ । खोंज तथा उद्धारमा सेना, सशस्त्र र नेपाल प्रहरीका ६० बढी सुरक्षाकर्मी खटिएका थिए ।

अहिले घटनास्थलमा १४ सैनिक र प्रहरी टेन्ट टाँगेर बसेका छन् । उनीहरू खोज र उद्धारकर्मी हुन् । मौसमअनुकूल भए उद्धार गरिएका शवलाई राति नै तल झार्ने योजना रहे पनि मौसम नसुध्रिएपछि घटनास्थलमै राखिएको प्रजिअ शर्माले बताए । उनीहरू मंगलबार बिहानैदेखि हराइरहेका एक जना र खोंचमा रहेको शवको उद्धारमा जुट्नेछन् । सोमबार बिहानपख मौसमले केही समय साथ दिएकाले उद्धारमा सहज भएको थियो ।

दुर्घटनास्थल कात्तिक २८ मा मानापाथी हिमालबाट झरेको हिमपहिरो गएकै ठाउँ हो । ‘घटनाको प्रकृति हेर्दा विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिन्छ । विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको जस्तो छ’ घटनास्थल पुगेका स्थानीय इन्द्रसिं शेरचनले भने, ‘शवहरू चौंरी गोठाला हिँड्ने बाटोभन्दा केही पर धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।’

मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङका विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । बागलुङको बडिगाड गाउँपालिका–७ का घर्ती केही समययता थासाङको लेकमा यार्चा टिप्न बस्दै आएका थिए । आइतबार बिहान नजिकैबाट जहाज गएको र एक्कासि ठूलो आवाज आएपछि जहाज ठोक्कियो भनेर साथीहरूसँग कुराकानी पनि गरेका थिए । उक्त समयमा बादल लागेर डाँडाकाँडा देखिएको थिएन । सोमबार बिहान उनी ५ बजेपछि जहाज खोज्न निस्किएका थिए । इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सम्पर्कमा आएपछि उनले घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए । घटनास्थल अन्दाजी ४ हजार २ सय मिटर माथि छ ।

यत्रतत्र छरिएको अवस्थामा शवको उद्धार गरिएको थियो । डीएसपी दानीका अनुसार काठमाडौं पठाइएका शव जलेका थिएनन् । अधिकांशको टाउको, हात र खुट्टामा चोट लागेको देखिएको उनले बताए । ‘आगलागी भए, नभएको यकिन छैन,’ उनले भने ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार पत्रकार सम्मेलन गरी बाँकी शव मंगलबार ल्याइने जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सोमबार सेनाको हेलिकोप्टरबाट ल्याइएका १० वटा शव पहिचान गर्न शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ । उनले हराइरहेको शवको खोजी, खोंचमा रहेको शवको उद्धार गरी बाँकी शवलाई मौसमअनुकूल भए मंगलबार ल्याइने बताए ।

परिवारकै सात जना रहेनन्
‘नातिनी मेरै अघि आएर हजुरआमा भनेर बोलाउँछे कि झैं लाउँछ’

विमान दुर्घटनामा धनुषा मिथिला नगरपालिका–११ लोटा टोलका एकै परिवारका सात जना राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । उनीहरू मुक्तिनाथ दर्शन गर्न पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमानमा चढेका थिए ।


जेष्ठ १७, २०७९ दीपक परियार, सुनीता बराल, हरिराम उप्रेती, हरि गौतम: पोखरा, महोत्तरी, गोरखा र रुकुम पश्चिम — बिलौना गरिरहेकी शान्ति लामा बेलाबेला डाँको छाडेर रुन्छिन् । बहिनी कान्ति, बुहारीहरू प्रेमकुमारी, पवित्रा र प्रतिष्मा घरीघरी परिवारको सम्झनामा भक्कानिइरहेका छन् । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटनामा परिवारका सात जना एकैपटक गुमेको खबरले शान्तिको परिवारसँगै धनुषाको मिथिला–११ लोहटा गाउँ नै स्तब्ध छ । ‘हे निष्ठुरी दैव, मेरा सबैलाई किन लगिस् ? किन बनाइस् हामीलाई टुहुरो ? म कसरी मन बुझाऊँ ? कसको सहारामा बाँचौं ?’ शान्ति भनिरहन्छिन् ।
गत शुक्रबार बिहान मुक्तिनाथ जान शान्तिका बुबा मकरबहादुर तामाङ र आमा सुकुमाया घरबाट अटोरिक्सामा निस्किएका थिए । तामाङ दम्पतीसहित शान्तिका दुई फुपू–फुपाजू र फुपूका छोरा राजन गोले (दाइ) पनि सँगै तीर्थ हिँडेका थिए । आइतबार बिहान दुर्घटनामा परेको जहाजमा परिवारका सात जना एकैपटक गुमाएपछि शान्तिको परिवारमा अशान्तिको छाल मडारिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका शान्तिका फुपाजु इन्द्रबहादुर गोले र फुपू राममायाका कान्छा छोरा मनोज विदेश गएर पहिलो कमाइको पैसाले परिवारलाई घुमाउन चाहन्थे । झन्डै वर्ष दिनअघि बेलायत गएका मनोजले पठाएको खर्चले तामाङ र गोले परिवारको गत चैतमै घुम्न जाने योजना थियो । मनोजले बुबा–आमा, मामा–माइजू र सानोबुबा–सानीआमा (पुरुषोत्तम गोले र तुलसादेवी तामाङ) लाई घुमाउने आफ्नो इच्छा पूरा गरिदिन दाइ राजनलाई अनुरोध गर्दै खर्च पठाएका थिए ।

घुम्न निस्कने योजना राजनले निर्वाचनका कारण पछि सारेका थिए । केही दिन गाडीमा जाने कि जहाजमा भन्ने छलफल चलिरह्यो । पछि मकर, सुकुमाया काठमाडौं जाने र जहाजबाटै मुक्तिनाथ जाने तय भएको थियो । शान्ति मामाकी छोरी हुन् भने राजन र मनोज फुपूका छोरा हुन् । ‘दुवै जना फुपू–फुपाजु र राजन काठमाडौंमै थिए,’ शान्तिले भनिन्, ‘मेरो बुबालाई चाहिँ असाध्यै मुक्तिनाथ जान मन थियो तर आमा जाने मन छैन भन्दै जानुभएको, अब कहिले नफर्किने भए ।
शान्तिका बुबा मकर गाउँमा ४० वर्ष शिक्षण पेसा गरेका अवकाशप्राप्त शिक्षक थिए । दुर्घटनामा परेपछि गाउँले दुःखी छन् । उमेरले ४० पुगेका राजनका बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका थिए । बुबाआमा काठमाडौंमा बस्न नमानेपछि राजनले गाउँमा दुई तलाको पक्की घर बनाइरहेका थिए । राजनले काठमाडौंमै बस्ने उनका सानोबुबा सानीआमा, लोहटामा बस्ने मामा माइजूलाई समेत काठमाडौंमा जुटाएर सिंगो परिवार नै मुक्तिनाथ लैजाँदै थिए ।

उनीहरूले मुक्तिनाथ जाने र फर्कने टिकट एकैपटक लिएको शान्तिले बताइन् । ‘एक सातामा घरै आइपुग्छौं नानी भनेर शनिबार राति ९ बजे बुबाले फोन गर्नुभएको थियो,’ शान्तिले भनिन्, ‘आइतबार कसैसँग कुरा हुन पाएन । एकैपटक जहाज हराएको खबर पाएँ ।’ जहाज हराएको सूचना पाएपछि सबैलाई फोन गर्ने प्रयास गरे पनि नभएको उनले बताइन् । ‘जहाज हरायो भन्दा के गर्ने कसो गर्ने भयो,’ उनले भनिन् । परिवारका सबै अभिभावक गुमाउनुपरेको पीडाले उनीहरू छट्पटाइरहेका छन् । तामाङ दम्पतीका तीन छोरा, दुई छोरी छन् ।

गोरखाका एकै परिवारका ४ जना परे

अध्ययनको सिलसिलामा अमेरिकामा रहेका गोरखाको सहिद लखन–५ तिनमानेका गणेशनारायण श्रेष्ठका छोरीहरू रविना र रोजिना घर आएका बेला परिवारसहित घुम्न मुक्तिनाथ निस्किएका थिए । ५२ वर्षीय गणेशनारायण, श्रीमती ४८ वर्षीया रश्मि, छोरीहरु २० वर्षीया रविना र २३ वर्षीया रोजिना जहाज दुर्घटनामा परेका हुन् । स्थायी घर तिनमाने भए पनि काठमाडौंमा श्रेष्ठ परिवार बस्दै आएको थियो । ‘आइतबार बिहान जहाज हरायो, केहीबेरमा हाम्रा छिमेकी पनि हुनुहुन्छ भनेपछि स्तब्ध बन्यौँ,’ तिनमानेका विजय पुडासैनीले भने, ‘वैशाख २२ मा गाउँ आएर फर्कनुभएको थियो ।’
परिवारका चार जना सवार जहाज हराएको खबर पाएलगत्तै अध्ययनका लागि अमेरिकामा रहेका श्रेष्ठका छोरा रोशन नेपाल फर्केको गणेशनारायणका भान्जा कृष्ण श्रेष्ठले बताए । ‘मामा मिलनसार हुनुहुन्थ्यो, समाजसेवामा पनि रुचि राख्नुहुन्थ्यो,’ कृष्णले भने । जहाजमा तिनमानेका चार जना रहेको खबर सुनेलगत्तै गाउँपालिका अध्यक्ष रमेश थापालगायत गाउँले आइतबारै पोखरा पुगेका थिए । शव लिन श्रेष्ठका आफन्त र छिमेकी सोमबार पोखराबाट काठमाडौं गएका छन् ।

नातिनी पर्खिरहेकीे छन् उमासरा

‘सम्झनाहरू सँगै लिएर मर्ने लक्ष्य छ, सपनाहरू होइन...’ एक वर्षअघि गोसाइँकुण्ड पुग्दाको फोटो फेसबुकमा राखेर यी हरफ लेखेकी एयर होस्टेस किस्मी थापा आइतबार मुस्ताङमा अस्ताइन् ।
थासाङ–२ सानोसरेमा भएको जहाज दुर्घटनामा परिवारको एक भरोसा ढल्यो । उमासरा किस्मीको सबैथोक थिइन् । उमासरा रणपाल (परियार), किस्मीकी मामाघरकी हजुरआमा । स्याङ्जाको चापाकोट–४ मल्याङकोटकी विष्णुदेवी रणपालले गाउँमै अन्तरजातीय विवाह गरिन् । थापामगर श्रीमान्को परिवारले उनलाई दलित भन्दै स्विकारेन । छोरी जन्मिएपछि श्रीमान्ले पनि हेलाँहोचो गर्न थाले । विष्णुदेवी किस्मीलाई च्यापेर माइत फर्किइन् । छोरी र नातिनी पाल्ने जिम्मा उमासराको काँधमा आयो ।

नातिनी नजन्मिँदै उमासराले भारतीय सैनिक श्रीमान् गुमाएकी थिइन् । पेन्सन बुझेर जीविका चलाइन् । छोरी र नातिनीलाई आफ्नै भरमा राखिन् । किस्मी पढाइमा सानैबाट तेज थिइन् । पेन्सन बुझेको पैसाले नातिनी पढाइन् । विष्णुदेवीले अर्को बिहे गरेपछि झन् नातिनीभन्दा बढी छोरीकै रूपमा किस्मीलाई उनले अपनाइन् ।

किस्मीले गाउँकै विद्यालयबाट एसईई र वालिङबाट १२ कक्षा उत्तीर्ण गरिन् । उनको लक्ष्य थियो– एयर होस्टेस बन्ने । मामाका छोरा अमर परियारका अनुसार आफन्तले उक्त पेसा नरोज्न भने पनि किस्मीले मानिनन् । आफ्नो ‘सपना’ पूरा गरेरै छाडिन् । पोखरामा एयर होस्टेसको कक्षा लिइन् ।

उमासरा हक्की स्वभावकी थिइन् । अनुभव र व्यवहारले खारिएर अनेक दुःख–अड्चन पार गरेर आएकी उनी समाज सेवामा पनि सक्रिय थिइन् । गाउँटोल, छरछिमेकले उनको कुरा खान्थे । किस्मीमा ठ्याक्कै उनकै गुण सरेको अमर बताउँछन् । ‘हजुरआमा कसैसँग नडराउने, आँटिली, मिहिनेती हुनुहुन्छ,’ उनले भने, ‘दिदीको स्वभाव पनि त्यस्तै थियो ।’ किस्मीको प्रेरणाको स्रोत नै हजुरआमा हुन् ।

२७ वर्षीया किस्मी घुम्न खुब रुचि राख्थिन् । नयाँ ठाउँ घुम्ने, साहसिक गतिविधिमा रमाउने सोख थियो । गत साता काठमाडौंमा बलात्कार तथा यौन हिंसाविरुद्धको प्रदर्शनमा उनी सहभागी भएकी थिइन् । टिकटकमा भिडियो राख्दै उनले महिला सशक्तीकरणका लागि आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएकी छन् । बुबाले आफ्नो नामबाट नागरिकता बनाइदिन नमान्दा उनले लडेरै लिएकी थिइन् ।
मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकी एयर होस्टेस किस्मी थापा । तस्बिर : किस्मीको फेसबुक


पाँच वर्षअघि उनले यती एयरलाइन्समा जागिर सुरु गरिन् । यतीले उनलाई भगिनी संस्था तारा एयरमा पठायो । उनले एयर होस्टेसका रूपमा काठमाडौं–लुक्ला, पोखरा–जोमसोम, नेपालगन्ज–रारालगायत रुटमा धेरै उडान भरिन् । केही समयअघि उनले आमा र हजुरआमालाई डोल्पा घुमाउन लगेकी थिइन् ।

मावली घरमै हुर्किएकाले मामाका छोराछोरीलाई पढाउने जिम्मा आफ्नो पनि भएको उनले महसुस गरिन् । बहिनी शर्मिला र भाइहरू आरजु र दिवसको पढाइ खर्च व्यहोरिन् । उनकी आमा विष्णुदेवी यसपटक दलित महिला वडा सदस्यमा भएकी छन् । सबैतिर राम्रो भइरहेको थियो । आइतबार जहाज दुर्घटनाको खबर सुन्दा मल्याङकोटमा सन्नाटा छायो । खबरले किस्मीकी आमा विष्णुदेवी अचेत थिइन् । उमासराले भनिन्, ‘नातिनी मेरै अघि आएर हजुरआमा भनेर बोलाउँछे कि झैं लाउँछ ।’

बुबाको त्यो अन्तिम आशीर्वाद
पाइलट उत्सव पोखरेल
२५ वर्षीय उत्सव पोखरेल आइतबार बिहान जोमसोम उडानको तयारीमा थिए । पोखरामा रहेका उनले ट्विन अटरबाट उडान भर्नुअघि जाजरकोट सदरमुकाममा रहेका बुबा मणिरामसँग छोटो कुराकानी गरे । मणिरामले ‘शुभयात्रा बाबु’ भनेर आशीर्वाद दिए । उत्सव पोखराबाट जोमसोमका लागि उडे ।
मणिराम भने आफू कार्यरत जाजरकोटकै नलगाड नगरपालिकातर्फ लागे । मणिराम कार्यक्षेत्र नपुग्दै उत्सव को–पाइलट रहेको तारा एयरको उक्त विमान सम्पर्कविहीन भएको खबर आयो । मणिराम नगरपालिकाकै व्यवस्थापनमा नेपालगन्ज हुँदै काठमाडौं पुगे । सोमबार बिहान विमान दुर्घटना भएको यकिन भएपछि उनको गाउँ चौरजहारी–३ शोकमा छ । उत्सव चौरजहारीका पहिलो पाइलट थिए ।’

Related Posts

0 Response to "तारा एयर दुर्घटना : २१ को शव भेटियो १० शव काठमाडौं लगियो कान्तिपुर: परिवारकै सात जना रहेनन्"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.