-->
मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’ - डेढ सय घर डुबे, अर्बौंको क्षति-  3 शव फेला , चिनियाँ नागरिक, भारतीय नागरिक र १३ जना बेपत्ता

मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’ - डेढ सय घर डुबे, अर्बौंको क्षति- 3 शव फेला , चिनियाँ नागरिक, भारतीय नागरिक र १३ जना बेपत्ता


अनिश तिवारी, कान्तिपुर असार ४, २०७८: मेलम्ची, सिन्धुपाल्चोक — वर्षा अझै रोकिएको छैन । कालो लेदोले भरिएको डरलाग्दो बाढीले बजारलाई क्रमशः कटान गर्दै छ । तटीय क्षेत्रका अधिकांश दुईतले घर बाढीमै हराइसके, केहीको अवशेष देखिएको छ । बजारका चार, पाँचतले चिटिक्क देखिने घरलाई लेदोले ढाकेको छ । जिल्लाको समृद्ध नगरमा गनिने मेलम्ची बजारलाई बाढीले मंगलबार एकै रातमा बगर बनाएको छ ।

त्यही बगरबीच नदीछेउमा चुर्लुम्म डुबेको आफ्नो घर हेर्दै बसिरहेका मेलम्ची नगरपालिका–११ का ४६ वर्षीय हीराकाजी श्रेष्ठ बेलाबेला मुख छोपेर रोइरहेका छन् । मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयको एउटा कोठामा आश्रय लिइरहेका उनको चार जनाको परिवार निदाएको छैन । ‘ज्यानबाहेक केही जोगिएन, यही एकसरो कपडा ज्यानमा छ त्यत्ति हो, ऋण गरेर बनाएको घरजग्गा सबै बाढीले निल्यो, कहाँ जानु, के गर्नु ?’ बिहीबार दिउँसो मेलम्ची बजार देखाउँदै उनले भने । श्रेष्ठले ७० लाख रुपैयाँ लगानी गरेर चारतले घर बनाएका थिए । उनले घर बनाउँदा लागेको १० लाख ऋण तिर्न अझै बाँकी छ । अब उनी कहाँ गएर बस्ने अन्योलमा छन् ।


मेलम्ची बजारको माथिल्लो भेग टारबाट घर हेर्दै गरेकी मेलम्ची नगर टारकी ३४ वर्षीया मनिता थापाका आँखा अझै ओभाएका छैनन् । ‘घर त डुब्यो, यो स्कुले कोठामा कतिन्जेल बसिरहनुपर्ने हो थाहा छैन, राहतको भरमा पेट भरिएको छ, जग्गा, सम्पत्ति सबै एकै रातमा बगर बनाइदियो,’ उनले भनिन् । सवारी चालक श्रीमान्को काम खोसियो, दुईसरो लत्ताकपडा र साथमा भएको नगदबाहेक घरबाट केही निकाल्न नपाएपछि उनको तीन जनाको परिवारलाई यहाँ बस्न मन लागेको छैन । ‘हामीजस्तै सबै एकअर्कालाई हेरेर चित्त बुझाउनुपरेको छ । कतै जान पनि कोरोनाको डर छ, कहाँ जानु र ?’ उनले भनिन् ।

बाढीको विध्वंस बिहीबारबाट केही सामान्य भएको छ । मेलम्ची र इन्द्रावतीमा पानीको सतह घट्दो छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ह्योल्मोभूमि, हेलम्बु हुँदै मेलम्ची खोलामा आएको बाढीमा परेर मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना प्रभावित भएका छन् ।


बाढीले बुधबार डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार र उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर । तस्बिर : अंगद ढकाल/कान्तिपुर मेलम्ची बजारमा झन्डै डेढ सय घर पूरै डुबेका छन् । आधा दर्जन घरका केही भाग देखिएको छ । बिहीबार साँझसम्म तीन जनाको शव भेटिएको छ । बुधबार एक र बिहीबार दुई शव फेला परेका हुन् । सिन्धुपाल्चोकमा एक र सिन्धुलीको सुनकोसी नदी किनारमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार मृत्यु हुनेमा चिनियाँ नागरिक ४८ वर्षका यु सिछु, २३ वर्षीय गोडटी आनच्छ्यो र भारतीय नागरिक ३२ वर्षीय कमललोचन महतो छन् । यीबाहेक १३ जना अझै बेपत्ता रहेको डीएसपी सापकोटाले बताए । बेपत्ता भनिएका २० जनामध्ये चार जना सकुशल सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले बताए ।

बाढीका कारण फसेका ७४ जनाको बुधबार र बिहीबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । बाढीले घरजग्गा सबै बगाइसकेपछि पनि बेलाबेला नदीको लेदोले ढाकेको घर हेरिरहेका मेलम्ची नगर पीपलटारका ४५ वर्षीय मानबहादुर तामाङलाई आफ्नोभन्दा बढी गाउँमा जग्गा नभएका परिवारलाई कष्ट हुने मान्छन् । ‘गाउँमा जग्गा हुने गाउँ जालान् तर यहाँबाहेक अन्यत्र एक पाइला जग्गा नहुने मेरोजस्तै परिवार कहाँ गएर बस्ने भन्ने अन्योल थपिएको छ,’ उनले भने ।

*** सशस्त्र र नेपाली प्रहरीले बिहीबार अबेर साँझसम्म पनि मेलम्ची बजारछेउको बीचमा जोगिएका घरबाट आवश्यक सामग्री ओसार्न स्थानीयलाई सघाइरहेका छन् । बाढीबाट विस्थापित ८० परिवारलाई इन्द्रेश्वरी मावि भवनमा गाँसबासको व्यवस्थापन गरेर आश्रय दिइएको छ । नदी किनारका बचेका घरमा अझै जोखिम भएकाले सुरक्षाकर्मीलाई खटाएर सामान्य आउजाउ पनि बन्द गरिएको मेलम्ची नगरकी उपमेयर भगवती नेपालले बताइन् ।


मेलम्चीबाट हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका जोड्ने मोटरेबल पुल बाढीले बगाएपछि सम्पर्क जोड्ने विकल्प खोज्न थालिएको उनले बताइन् । ‘तीनवटा गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ, हेलम्बुसँग सडक जोड्न तत्काल एक्स्काभेटर र इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिकासम्म पुलको विकल्पबारे सोच्दै छौं,’ उनले भनिन् । मेलम्ची र हेलम्बुमा बिजुली आपूर्ति र मोबाइल नेटवर्क नहुँदा उद्धार राहत पुर्‍याउन झनै कठिनाइ देखिएको उनको भनाइ छ ।

अविरल वर्षात्का कारण मंगलबार उर्लिएको मेलम्चीमा बाढी कसरी आयो भन्नेबारे यकिन तथ्य अहिलेसम्म खुल्न सकेको छैन । हेलम्बु–१ का अध्यक्ष मिङमार ह्योल्मोले भने मेलम्चीघ्याङभन्दा माथिल्लो पहाडी भाग नामासाङसाङ भास्सिएर मेलम्ची खोलाको मुहानक्षेत्र थुनिएर बाढी आएको हुन सक्ने बताएका थिए ।


मेलम्ची नगरका मेयर डम्बर अर्यालले हेलिकप्टर लिएर हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका क्षेत्र अनुगमनमा पुगेकाले कहीं ठूलो पहिरो खसेको नपाइएको बताएको उल्लेख गरे । हेलम्बुको शिरभेग र पाँचपोखरी थाङपाल गाउँपालिकाको गाङछपो हिमालमा असारमै हिउँ परेको प्रस्ट देखिने र त्यही हिउँ भास्सिएर आएको हुन सक्ने उनले अनुमान गरे । मंगलबार साँझतिर पाँचपोखरी थाङपाल गाउँपालिकाको याङ्ग्री लार्के क्षेत्र र हेलम्बु गाउँपालिकाबाट मेलम्चीमा पानीको सतह बढेको जानकारी जिल्ला प्रशासनमा आएलगत्तै मेलम्ची तटीय क्षेत्रका जनप्रतिनिधिलाई खबर गरेका थिए । गाउँमा सूचना पुग्दानपुग्दै बाढी आउन थाले पनि स्थानीय सुरक्षित स्थानतिर लागेकाले मानवीय क्षति हुन पाएन ।

नगरप्रमुख अर्यालले बाढीले मेलम्चीलाई १० वर्षपछि धकेलेको बताएका छन् । ‘खोला बजारको बीचसम्म आएर बगर तुल्यायो, झन्डै १० हजार रोपनी जमिन बगर बनेको अनुमान छ,’ उनले भने, ‘डेढ सय घर डुबे, अर्बौंको क्षति भएको छ । अहिले उद्धार र राहत व्यवस्थापनको प्रथम चरणमा छौं ।’ 

(Source& courtesy- https://ekantipur.com/news/2021/06/18/16239774246331824.html)

0 Response to "मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’ - डेढ सय घर डुबे, अर्बौंको क्षति- 3 शव फेला , चिनियाँ नागरिक, भारतीय नागरिक र १३ जना बेपत्ता"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.