रचे मुम्बईवासी नेपालीभाषीहरूले नयाँ इतिहास- जातिको कल्याणको लागि म सदैव अघि रहनेछु – दीपा झा
जातिको कल्याणको लागि म सदैव अघि रहनेछु – दीपा झा
मुम्बई 19 अक्टुबर (निस) – मुम्बईमा रहेर आइरहेका नेपालीभाषी महिलाहरूले सुरू गरेको हाम्रो छहारी अभियानको काम देखेर मलाई धेरै खुसी लागेको छ। यसरी हाम्रा महिलाहरू समाजोत्थानका लागि अघि आउनु जातिको लागि शुभसङ्केत हो। मुम्बईका नेपालीभाषीहरूको सामाजिक संस्था नेपाली-गोर्खा सेवा समिति अनि महिनैपिच्छे भेला हुने नेपालीपन बोकेको बसिबियाँलो र सुन्दा नै आफ्नोपन अनुभूत हुने हाम्रो छहारी का समस्त कर्मीहरूलाई मेरो आन्तरिक हृदयबाट शुभकामना अनि बधाई छ। उनीहरूले गरिरहेको सामाजिक कर्मको म आफ्नो मनबाट प्रशंसा मात्र गर्दिनँ तर यसका लागि म आफ्नो तर्फबाट गर्नसक्ने सहयोग गर्न तयार छु। आफ्नो जाति र समाजको लागि काम गर्ने जाँगरिला हातहरूलाई म आफुले सक्ने सहयोग गर्न सदैव तत्पर रहनेछु। हाम्रो समाजका रोगीहरू तथा अन्य वर्गको सहयोगको लागि मुम्बईमा यसरी बस्ने आश्रम उपलब्ध गराइरहेको
यो संस्था दीर्घायु रहोस् भन्ने कामना गर्दै यसका महिला कर्मीहरू अनि यससित जोड़िएका देश-विदेशका सबै वरिष्ठ अनि युवा नेपालीभाषी नारीहरूप्रति म यसरी मानव कल्याणका लागि अघि आइदिनुभएबापत् बधाई टक्र्याउँछु अनि उहाँहरू सबैसबैको सुस्वास्थ्यको मङ्गलकामना व्यक्त गर्दछु।
उपर्युक्त मन्तव्य पोख्दै हिजो 18 अक्टुबरका दिन यहाँको चेम्बुरस्थित हाम्रो छहारीको आश्रममा नेपाली सङ्गीत जगतकी सुपरिचित गायिका दीपा नारायण झाले नेपाली गोर्खा सेवा समितिको मुखपत्र हाम्रो छहारी स्मारिकाको लोकार्पण गरिन्।
बलिउडका विख्यात गायक उदित नारायण झाकी पत्नी अनि टिभी एङ्कर आदित्य नारायण झाकी आमा श्रीमती झाले कार्यक्रमलाई जीवन्त रूपमा डिजिटल माध्यमबाट सारा संसारबाट हेरिरहेका दर्शक तथा श्रोताहरूलाई सम्बोधन गर्दै हाम्रो छहारी-ले गरिरहेको सामाजिक कार्यको मुग्धकण्ठले स्वागत गरिन् अनि यस अभियानसित जोड़िएका देश-देशान्तरका सम्पूर्ण नेपालीभाषीहरूप्रति जातीय चाड़ दसैँको अग्रिम शुभकामना टक्र्याइन्।
यसअघि लोकप्रिय टिभी च्यानल हाम्रो प्रजाशक्ति मार्फत् जीवन्त प्रसारण भइरहेको कार्यक्रमलाई सञ्चालन गर्ने क्रममा हाम्रो छहारीका सल्लाहकार तथा लेखक हीरा छेत्रीले गत अप्रेल महिनादेखि कोरोना महामारीको कारण ठप्प हुनगएको महिनाको हरेक तेस्रो आइतबार सम्पन्न हुने मासिक भेटघाटको कार्यक्रम बसिबियाँलोको 24 -औँ प्रकरणको सञ्चालन गर्दै अतिथिहरूलाई स्वागत गरे।
मुख्य अतिथि श्रीमती झा तथा अन्य गन्यमान्य अतिथिहरूलाई हाम्रो छहारीको पक्षबाट गोर्खे खदा पहिऱ्याएर स्वागत जनाइयो भने यसै उपलक्ष्यमा स्थानीय नेपाली युवा उद्यमी तथा डेफोडिल्स इन्डस्ट्रिजका प्रोपराइटर रामजी शिवाकोटीले हाम्रो छहारी-मा आउने रोगीहरूको आवश्यकतालाई मध्यनजर गरेर तयार गरिएका 50 -वटा हाते झोलाहरू दान गरे।
मुख्य अतिथि झाको बाहुलीबाट ती झोलाहरू अतिथि तथा रोगीहरूलाई प्रदान गरियो। यसै कार्यक्रममा मुम्बईको पुरानो संस्था संयुक्त नेपाली महासङ्घका महामन्त्री पूर्ण कँवरले हाम्रो छहारीलाई आर्थिक सहयोगस्वरूप व्यक्तिगत चेक प्रदान गरेर यस अभियानप्रति हार्दिक शुभकामना व्यक्त गरे।
सरकारले जारी गरेको सामाजिक दूरत्वको अनुदेशलाई पालन गर्दै अनलाइन माध्यमद्वारा आयोजना गरिएको यो कार्यक्रममा भारतलगायत नेपाल अनि इजरायलबाट पनि हाम्रो छहारी-का नारी अतिथिहरू जोड़िएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी काठमान्डौँ, नेपालबाट अनि सामाजिक कार्यकर्ता सुश्री प्रतिष्ठा राईले तेल अभिभ, इजरायलबाट हाम्रो छहारी-प्रति शुभकामना व्यक्त गरे भने दार्जीलिङबाट लब्धप्रतिष्ठ सिनेकर्मी मेनुका प्रधान एवम् साहित्य अकादमी पुरस्कार विजेता विन्द्या सुब्बा, कलकत्ताबाट दूरदर्शनकी सेवानिवृत्त वरिष्ठ अधिकारी तथा नेपाली सिनेकर्मी देविका मोक्तान, गान्तोकबाट समाचारवाचिका उषा शर्मा, आइजोल मिजौरामबाट लेखिका तथा सामाजिक कार्यकर्ता सुश्री लक्ष्मी मिनु, फुलबारी, सिलगड़ीबाट सामाजिक कार्यकर्ता दोजी लेप्चा छेत्री अनि कालेबुङबाट युवा लेखक सुषमा शर्मा आदिले आआफ्नो ठाउँबाट हाम्रो छहारीप्रति शुभेच्छा प्रकट गर्दै स्मारिका विमोचन कार्यक्रममा भाग लिएका थिए।
मुम्बईबाहिरबाट कार्यक्रममा जोड़िएका अतिथिहरूले कोरोनाजस्तो विश्वव्यापी सङ्क्रमणले सारा संसार ठप्प रहेको बेला पनि हाम्रो छहारी स्मारिका निर्धारित समयमा प्रकाशित गरेर इतिहास रच्न सकेकोमा यस काममा खट्ने सबैलाई बधाई दिए।
कार्यक्रममा विशेष रूपले हाम्रो छहारी-का सदस्यहरू सिने कलाकार तारा शर्मा, कास्टिङ डाइरेक्टर सागर शर्मा तथा अन्य गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अर्कोतिर आज लोकार्पण गरिएको हाम्रो छहारी-को स्मारिका बड़ा दसैँको उपलक्ष्यमा समस्त सदस्यहरूको हातहातमा पुऱ्याउने लक्ष्य रहेको जानकारी मुम्बईबाट नेपाली-गोर्खा सेवा समितिका सल्लाहकार रामसिँह तिरुवाले दिएका छन् भने लोकार्पण कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनसकेबापत् संस्थाका जनसम्पर्क प्रभारी विकास दूतराजले सम्बन्धित सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।।
0 Response to " रचे मुम्बईवासी नेपालीभाषीहरूले नयाँ इतिहास- जातिको कल्याणको लागि म सदैव अघि रहनेछु – दीपा झा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.