जिनत अमानलाई हेरेरै हामी हुर्कियौँ.....
हीरा छेत्री, कालिमन्युज, 21 अक्टोबर 2019, एन्टप हिल, मुम्बई : आज जिनत अमानले छक्कै पारिन् मेरो स्मरण-शक्ति बुझेर। भयो के भने मध्यरातीको बेला थियो। जिनत अमान मेराअघि ठिङ्गै उभेर सोधिन्, कैसे है आप? मैले भनेँ, मेडम यो मेरो सौभाग्य हो कि तपाईँजस्ती व्यक्तित्व मेरासामु उभिनु भएको छ। जुन व्यक्तिलाई सिनेमाको पर्दामा, फिल्मी पत्रिकाको पन्नामा वा टिभीमा देख्न मात्र पाइन्थ्यो, भेट्न र छुन र कुरै नगरौँ। उनलाई म केवल आफुदेखि 12 ऐँचीको दूरीमा पाइरहेको छु।
सत्तर र अस्सीको दशकमा हिन्दी सिने जगतमा तलहका मच्याउने हिरोइन जिनत अमानसँग म बात गरिरहेको थिएँ। सुनेर जिनत केही हाँसिन्। त्यसपछि मात्रै अरूले पनि बिस्तारै चिन्नथाले मसित बात गर्ने त कुनै एक जमानाकी प्रसिद्ध बलिउड नायिका जिनत अमान रहिछन् भनेर नत्र त उनी नचिनिने भइसकेकी रहिछिन्। हुनसक्छ सायद भिड़भाड, हल्लाखल्ला, ग्लेमरदेखि धेरै टाढ़ा रहने जिनत चाहन्थिन् हवाईअड्डामा पनि उनलाई कसैले नदेखून्, नचिनून्, नपछ्याऊन, फोटो नउतारून्। यसैले जिनत अमानले कसैसित पनि फोटो खिच्न मन गरिनन्। तर मेरो अनुरोध सुनेपछि भने उनी आफैले – हीरा, यता फर्केर खिचूँ नत्र अँधेरो आउँछ होला भनेर सेल्फी पनि होइन उनकै सहायकलाई नै खिच्न लगाइन्।
होकि हैन कसले सुन्यो र कसले देख्यो र? हावाको कुरा - भन्दा पनि मिल्छ। तर कुरा त्यो ठुलो होइन, अर्कै छ।
मैले भनेँ, मेडम, आपको याद है न आपका एक फिल्म इश्क इश्क इश्क?
जिनत - अरे, मैं कैसे भुल सकती हुँ अपनी पुरानी फिल्में? लेकिन क्यों पुछ रहे है आप?
मैले त्यो फिल्मको सुटिङ हेरेको कुरा गर्दा जिनतले भनिन्, यो त कालिम्पोङमा सुट गरेको फिल्म हो। मैले गर्वका साथ भनेँ, मेडम, म त्यही कालेबुङको हुँ। अनि तपाईँको त्यो फिल्मको सुटिङ हेरेको कताकता याद छ। सन् 1972 -तिर हुनुपर्छ।
होइन, 1973 हो। अँ के पो भन्छ त्यो एउटा होटल थियो जहाँ हामी बसेका थियौँ भनेर उनले सम्झना गर्ने कोसिस गरिन् मैले झिङ्गे दाउमा भनेँ, सायद हिमालयन होटल हुनुपर्छ। मैले जिनत अमानको पासपोर्टमा जन्म-तारिख हेर्दै भनेँ, मेडम त्यतिखेर तपाईँ केवल 20 वर्षकी हुनुहुन्थ्यो। अनि उनको आँखा केही रसाएजस्तो भयो, भनिन्, हो म त्यस्तै सारै कलिली ठिटी थिएँ। भर्खर सिनेमामा काम गर्दैथिएँ। तिमीहरूको ठाउँ एकदम सुन्दर छ, प्रकृतिको आशीर्वाद पाएको ठाउँ छ। तर म छक्कै पर्दैछु तिमीलाई त्यो कुरा कसरी अहिलेसम्म याद छ? त्यतिखेर तिमी कति उमेरका थियौ?
मैले भनेँ, सायद पाँच-छ साल।
तिम्रो याददाश्त त तेज रहेछ भनेर मेरो प्रशंसा गरेपछि मैले भनेँ, पुराना कुराहरूमा मात्रै हो मेडम आजकल त आजको कुरा भोलि बिर्सिने बानी छ। तर मेडम तपाईँ जस्ताको त्यस्तै हुनुहुन्छ। मैले केवल मन राखिदिनलाई मात्रै यसरी प्रशंसा गरिरहेको बुझेर उनले भनिन्, हैन म त्यस्ती छुइनँ। कुनै पनि एङ्गलबाट छुइनँ। त्यसपछि उनले मलाई पासपोर्टको नयाँ पन्ना जोगाएर स्ट्याम्प ठोकिदिने अनुरोध गर्दै प्लिज भनिन्। म छाँगाबाट झरेजस्तो भएँ। जिनत अमानले मलाई प्लिजको साथ गरेको अनुरोधलाई कसरी टुक्र्याउने र? काम सिद्धिएपछि उनी हिँड़िन् - थ्याङ्क यु भन्दै। लगत्तै पछिपछि तिनका प्राइभेट सेक्रेटरी आएर भने, मेडमसित खुब लामो बात भयो त। यसरी मेडम अपरिचितहरूसँग हतपत बात गर्दिनन् आजकल। तर तपाईँसित निक्कै लामो बोलिन्। फोटो चै नखिचेको? मैले भनेँ, यतिखेर फोटो खिच्न गएँ भने मेरो सर्वनाश हुन्छ। तपाईँको पछि हेर्नुहोस् न लाइनमा मान्छे कति छन्? सायद भोलि भोट छ, त्यसले गर्दा भिड़ होला। साँच्चै आजको राती धेरैधेरै भिड़ थियो महाराष्ट्रको चुनाउको कारण होकि? त्यस भिड़मा उभिनेहरू थुप्रैमा मेरा काउन्टरसामु थिए – अनिल कपुर, शान, अनुराधा पौडवाल पनि।
तर हामी आज जिनत अमानकै चर्चा गरूँ। उहाँलाई चिन्नेहरूले सायद फिल्मी दुनियाँबाट जिनतले संन्यासै लिइसकेको बुझेका होलान् तर होइन अरे समय नपाएर त्यस्तो भएको भनिन्। तरै पनि आफ्ना प्रशंसकहरूको सामु यसै साल उनको फिल्म पानीपत आउनेवाला रहेछ।
सत्तरीको दसकमा जिनत अमानले हिन्दी हिरोइनहरूका लागि ढोका खोलिदिएकी हुन् बोल्ड, ब्युटिफुल, ओपम माइन्डेड, ब्रोड माइन्डेड बन्नलाई। लजालु हिरोइनहरूलाई धक फुकाएर डायलग हाँक्ने काम उनैले सुरू गरेकी थिइन्। उनका फिल्महरूमा त्यतिखेर चर्चित फिल्म हो हरे राम हरे कृष्ण अनि यसको गीत दम मारो दम। जिनतका पिता अमानुल्लाह खान पुरानो जमानामा संवाद अनि कहानी लेखक थिए। उनका पाकिजा, मुग्ल-ए-आजम आदि फिल्महरू खुब चलेका हुन्। जिनतले आफ्ना पिताको नाउँ अमानुल्लाहलाई नै अमान बनाएर परिचय स्थापित गरेकी हुन्। उनको जन्म 19 नोभेम्बर, 1953 -मा मुम्बईमै भएको थियो अनि उनी 13 वर्षकी हुँदा पिताको देहान्त भएको थियो। आफ्नो स्कुले जीवन मुम्बईमा र उच्चाध्ययन गरेकी हुन् लस एन्जेल्सबबाट। पछि त्यहाँबाट फर्केर भारत आएपछि उनकी बिधवा माताले एक जर्मनी व्यक्तिसित दोस्रो बिहे गरेर भारतको नागरिकता त्यागेकी थिइन्। यतिखेर जिनत अमानले फेमिना पत्रिकामा पत्रकारको काम गरिन् अनि मोडल पनि बनिन्। उनले 1970 -मा मिस एसिया पेसिफिक इन्टरनेसनलको उपाधि हत्याएपछि सिनेमामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने कोसिस गरिन्। द एभिल विदिन, हंगामा अनि हलचल फिल्ममा आफ्नो भाग्य जाँचिहेर्दा उनी फ्लप भइन् र आमासित माल्टा जाने तयारी गर्नथालिन्। यतिखेर देव आनन्दलाई आफ्नो सिनेमा हरे रामा हरे कृष्ण -का लागि आफ्नी बहिनीको भूमिकामा एकजना साहसी, खुला हृदयी, आधुनिक पहिरनमा सजिन तयार नायिकाको आवश्यकता परिरहेको थियो जसले हिप्पीहरूसित गाँजा फुकेर धुवाँ उड़ाएको दृश्यमा आफुलाई अभिनित गर्नसकोस्। त्यतिखेर देव आनन्द खुबै नामी हिरो थिए अनि उनको बिपरीत नायिकाको भूमिका छोड़ेर बहिनी बन्न कोही पनि राजी भएनन्। उनले जाहिदा, मुमताज आदिलाई अनुरोध गरेका थिए। यस्तो अवस्थामा उनले लिएका थिए फ्लप हिरोइन जिनत अमानलाई। त्यसपछि जिनतको जिन्दगीले कुन घुम्ती मोड़्यो अनि हरे राम हरे कृष्ण फिल्ममा जिनत अमानमाथि फिल्माइएको गीत दम मारो दम -को जिउँदो इतिहास कस्तो छ त्यसबारे सबै फिल्मप्रेमीहरूलाई थाहै छ। यस फिल्मका लागि जिनत अमानले बेस्ट सपोर्टिङ फिल्म फेयर एवार्ड पाएकी थिइन्। यसपछि मात्रै हिन्दी हिरोइनहरूले आफुले चाहेको अथवा दर्शकहरूको मागअनुसारको कपड़ा पहिरिन थालेका हुन्। कामुक पहिरनहरूको सुरुआत गर्ने श्रेय हिन्दी सिनेममा जिनत अमानलाई नै जाँदछ। देव आनन्दले अब जिनतलाई आफ्नी हिरोइन बनाएर फिल्महरू बनाए – हीरा पन्ना, इश्क इश्क इश्क, वारन्ट, डार्लिङ डार्लिङ, कालाबाज आदि। देव आनन्दपछि जिनत अमानलाई फिल्ममा सही गराउने निर्माता-निर्देशकहरूको लाइन लाग्नथाल्यो। यादों की बारात -मा रातो मिनी स्कर्ट पहिरिएर सुनिताको भूमिकामा गितार समाती चुरा लिया है तुम ने जो दिल को गीत गाई युवा हृदयहरूको मन जित्ने जिनतलाई शताब्दीको सबैभन्दा विवादास्पद भूमिकामा ल्याएका थिए राज कपुरले सत्यम् शिवम् सुंदरम् –मा। सन् 1978 -मा प्रदर्शनमा आएको यो फिल्मको पोस्टर हेर्न हामी केटाकेटीलाई दिइँदैनथ्यो। ओम स्टुडियोको छेउमा एकजना पालाको घर छ। ती पाला सायद नोभेल्टीमै काम गर्थे। उनको घरको दैलामा यो फिल्मको पोस्टर लागेको थियो। हामी स्कुलेहरूलाई त्यो पोस्टर हेर्दा पालाले खेदेको सम्झना आयो आज जिनत अमानलाई देख्दा झल्झली र मैले यो कुरा पनि बताइदिएँ। कुनै दिन मैले सोचेको थिइनँ हिन्दी फिल्मकी सुपर नायिका जिनत अमानसँग यसरी एकआपसमा बात गर्ने औसर मिल्नेछ भनेर। साँच्चै जिनत अमान छक्कै परिन्, खुसी भइन्, मज्जा मानिन्। घरिघरि त रुलारुला जस्तो पनि गरिन् कि जस्तो पनि लाग्छ। इश्क इश्क -को सुटिङको कथा गर्दा मेरो सम्झना शक्तिबाट अवाक् बनिन्। मैले ती कुराहरू गरिदिएँ जब उनीहरू डा. ग्राहाम्स होम्समा आएका थिए।
जिनतका प्रसिद्ध फिल्महरू हुन् – हरे रामा हरे कृष्ण, यादों की बारात, रोटी कपड़ा और मकान, इश्क इश्क इश्क, वारण्ट, चोरी मेरा काम, धरमवीर, डार्लिंग डार्लिंग, छैला बाबु, आशिक हूं बहारों का, अजनबी, शालीमार, हीरालाल पन्नालाल, सत्यम् शिवम् सुंदरम्, डन, टक्कर, राम बलराम, बम्बई 405 माइल्स, अब्दुल्लाह, द ग्रेट ग्यांब्लर, कुर्बानी, दोस्ताना, इंसाफ का तराजु, प्रोफेसर प्यारेलाल, लावारिश, गोपिचंद जासुस, पुकार, हमसे है जमाना, महान, सोनी मोहिवाल आदि। उनले काम गरेका हिरोहरूको गन्तीमा राज कपुर र देव आनन्ददखि लिएर सुपरस्टार अमिताभ बच्चन, राजेश खन्ना, मनोज कुमार, शशि कपुर, धर्मेन्द्र, शत्रुघन सिन्हा, बिनोद खन्ना, सञ्जय खान, फिरोज खान, राज बब्बर आदि आउँछन्।
त्यतिखेर मैले सुनेको एउटा कुरा हो कि होइन पुरानाहरूलाई थाहा हुनुपर्ने – इश्क इश्क-को सुटिङको समयमा देव आनन्दले कालेबुङको मेन रोडको भ्रमण गर्ने भए अरे। त्यतिखेर देव आनन्द भनेपछि केटीहरू हुरुक्कै। देव आनन्दसँग बिहे गर्न नपाए आजीवन कुमारी बस्ने कस्सम खाने ठिटीहरू पनि थिए भन्छन्। अनि कतिजनाले त देव आनन्दले टेकेको भुइँबाट माटो उठाएर आफ्नो सिउँदो पनि भरे भन्छन्। देव आनन्द डम्बरचोक आइपुग्ने खबर सुनेर सम्पूर्ण कालेबुङ नै ओइरिएको थियो अरे अनि कानुन अनि व्यवस्थामै धक्का लाग्लाजस्तो स्थिति उब्जेको थियो अरे। त्यतिखेर हातहातमा क्यामेरा हुने कुरै आएन। सेल्फी त कुन चराको नाउँ हो हो। देव आनन्दलाई आफ्नो नाङ्गो आँखाले देख्न पाउनेहरूले साँझ घर फर्केपछि कुख्राको मासु खाएका थिए भन्छन्। त्यतिखेरका पट्ठा युवकहरू अथवा गाउँघरका स्मार्टहरूमा पञ्चरत्न प्रधान सर पनि थिए अरे जसले त्यो अनियन्त्रित भिड़लाई तितरबितर गर्न आफ्नो युवाशक्तिको भरपुर प्रयोग गरेर देव साहबअघि सानोतिनो हिरो नै बनेका थिए भन्छन् पुरानाहरू। यो घटनालाई कसैले ताजा गरिदिए कति राम्रो हुनेथियो।
त्यो समयमा बनभातको प्रथा खुब चल्थ्यो। बनभात भनेको कस्तो हुन्थ्यो भने – एउटा जिपको केरियरमा घोन्द्रे माइक अघिपछि मुख गरेर बाँधिन्थ्यो र त्यसै केरियरमा दाउराका भारी, समाजका ठुलाठुला भाँड़ाबर्तन बाँधेर गाउँलेहरू खाँदाखाँद गरी चड़्थे। युवतीहरू सिटमा बस्थे, युवकहरू प्रायः उभिन्थे। छोटो बडीको जिप हुन्थ्यो त्यसको पछाडिको टेलबोट खोलेर उभिन्थे युवकहरू। गीत बजाएर सबैलाई सुनाउन पाए बनभात सफल भन्नुपर्थ्यो त्यतिखेर। टाढ़ाभन्दा टाढ़ा कालेबुङबाट रेली र बेनीसम्म जान्थे बनभातेहरू। गीत बजाउने माइकको अपरेटरको ठुलो महत्त्व हुन्थ्यो। अपरेटरको जुन सम्मान, इज्जद, अभ्यर्थना, कदर हुन्थ्यो गाउँघरमा बिहोबटुल, पुजापाठ र बनभोजतिर त्यसको एउटा अलग संस्मरण लेख्न सकिन्छ। भगवान् र अपरेटर अगाड़ि उभिएर घरमा बास मागे मानिसले भगवान् रोज्दैनन् थिए। बनभाट टोलीमा महाराजा नै हुन्थे ओपरेटर। यस्तै ख्याति थियो सिनेमामा टिकट दिने सलिम बाबु, झ्याप्से मामा, खड़का बाउहरूको। गेटमा उभिने पालाहरूसँग केटाकेटीहरू यति धेरै डराउँथे त्यति त स्कुलका हेडमास्टरसित पनि डराएनन् होला। डा. हर्कबहादुर छेत्रीले एकदिन कुरैकुरामा भन्नुभएको सानामा उहाँको सपना थियो अरे ठुलो भएपछि सिनेमा हलको गेटकिपर बन्ने किनभने सिनेमा जतिपल्ट पनि हेर्न पाइन्छ। यसरी नै कालेबुङका अल्लारे-बल्लारेहरू रँगालिएर घुम्न निस्केको यौटा सम्झना छ डा. पारसमणि प्रधानको। सन् 1924 -तिर उनी आफ्ना साथीभाइसित बन्दुक बोकेर फोर्ड गाड़ी लिएर बेनी मेला घुम्न गएको संस्मरण साँच्चै घरिघरि पढ़्न मन लाग्ने खालको छ। सम्झनुहोस् न आजभन्दा झन्नै सय सालअघि कालेबुङमा गाड़ी।
एकदिन बनभातको यौटा जिपमा – हेलो डार्लिङ, एक नई शहर का नाम ले बाबु देखा है मैंने दार्जीलिङ – भन्ने गीत बजाउँदै सड़कबाट गुढ्यो। यो गीत डार्लिङ डार्लिङ भन्ने फिल्मको थियो। दार्जीलिङ भन्ने शब्द यसरी हिन्दी सिनेमाको गीतमा सुन्न पाउँदा खुबै हर्ष लागेर त्यो फिल्म हेर्न लालायित थियौँ हामी कालेबुङे-दार्जीलिङेहरू। त्यसमाथि हिरोहिरोइन परेछन् देव आनन्द र जिनत अमान नै। खुबै नाम चलेको युगल जोड़ी। कन्चन हलमा सिनेमा लाग्न 6-7 महिनाअघि नै पोस्टर आइपुग्थ्यो। यो फिल्मको पनि आयो तर फिल्म कहिल्यै आएन। आजसम्म पनि यो फिल्म कता गयो, के भयो थाहा छैन। कि त आएर पनि थाहै नपाइ सुटुक्कै भाग्यो कि। त्यस्तो त नहुनुपर्ने किनभने मलाई मन परेको फिल्म त म आमाको बिँड़ी खाने पैसाबाट नाफा खाएर पनि हेर्ने कट्टर फिल्मभक्त थिएँ। एकदिन रिसी कपुरसित भेट भयो भने यो कुरा सुनाइदिन्छु – खेल खेल में फिल्म हेर्ने पैसा मैले कसरी जुटाएको थिएँ। अस्ति पुजा भट्टसँग उनकै घरैमा भेट हुँदा मैले सडक फिल्मसित जोड़िएका यादहरू सुनाइदिएको थिएँ। छक्कै परेका थिए बाबुछोरी दुवै अनि अँगालो मारेर मसित फोटो खिचाएका थिए दुवैले।
खासमा हामी यी फिल्मी हस्तीहरू घमन्डी हुन्छन् भन्ने ठान्छौँ तर हुँदैन रहेछन्। उनीहरूलाई मन पर्ने कुरा कसैले गरिदिए भने मन पराउँदा रहेछन् हामीलाई पनि। मलाई घरमै बोलाए महेश भट्टले, दिउँसोको खाना पनि खानू भने। बोनी कपुरले त्यसै गरे। रोनी स्क्रुवालाले पनि निम्त्याए। तर म चाहन्छु एकदिन शताब्दीका महानायक अमिताभ बच्चनसित मेरो भेट होस् अनि हिन्दी फिल्ममा पाइला टेक्नअघि दार्जीलिङ आएर हाम्रा एम. एल. सुन्दासज्यूसँग दुइ हप्ता सँगै सुतेको कुरा गरूँ। सुन्दासजूले दाबी गरेपछि मैले त्यसमाथि उनको संस्मरणयुक्त रचना लेखेर छापेको पनि थिएँ। खासमा म चाहन्थेँ यो संस्मरण मनोज बोगटी भाइले लेखून्। किनभने एम. एम. गुरुङको निधन हुँदा मनोज भाइले हाम्रा संस्कृतिका ज्ञाता गुरुङज्यूले कसरी गब्बर सिँह अथवा अमजद खानलाई थपप्पड हिर्काएका थिए त्यो घटना खुबै रोचकतासित लेखेका थिए। मनोजले भ्याएनन् र मैले कनीकुत्थी लेखेँ त्यो घटना। यो घटना त सुन्दासज्यूको दाबी हो तर यसलाई पुष्टि गर्ने त अमिताभ नै हुन् नि। उनकै मुखबाट सुन्नुपर्छ यो कुरा र पुष्टि भएपछि म फेरि त्यसको सिक्वेल लेखूँला। आजलाई हामी जिनत अमानकै कुरा गरेर यो सम्झनाबाट टाढ़ियौँ किनभने हामी जिनतकै फिल्म हेरेर हुर्किएका मस्त पट्ठाहरू थियौँ कुनै समय....
ईश्वरले हाम्री प्यारी हिरोइनलाई, कालेबुङलाई माया गर्ने नायिकालाई सदैव सुखी राखून्।
0 Response to "जिनत अमानलाई हेरेरै हामी हुर्कियौँ..... "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.