-->
स्मिता सोताङ् राईका कविताहरु    ...ह्याप्पी भेलेनटाइन्स् डे ......... Happy नयाँ वर्ष २०२०......... अन्तिम पत्र तिमीलाई ............. स्वतन्त्रताको एउटा दिन ..........पिरियड ईज माई प्राइड -रगतको गर्व ............हली.....बाबु.........म पनि घर हुँ............गाउँ.........  मृत्यु शैया.... के,तिमी मन पराउँछौ मलाई .... मेरीआमा...... उनको कौमार्य.... आज थाहा हुँदैछ सानु..... 'गुडबाई साँइली'

स्मिता सोताङ् राईका कविताहरु ...ह्याप्पी भेलेनटाइन्स् डे ......... Happy नयाँ वर्ष २०२०......... अन्तिम पत्र तिमीलाई ............. स्वतन्त्रताको एउटा दिन ..........पिरियड ईज माई प्राइड -रगतको गर्व ............हली.....बाबु.........म पनि घर हुँ............गाउँ......... मृत्यु शैया.... के,तिमी मन पराउँछौ मलाई .... मेरीआमा...... उनको कौमार्य.... आज थाहा हुँदैछ सानु..... 'गुडबाई साँइली'

ह्याप्पी भेलेनटाइन्स् डे 
काँध, काँधमा पिरती बोकेर हिडेका प्रेमपत्र,
उभिएका छन् अहिले-हात हातमा सम्बन्ध विच्छेदका
कागजात बोकेर
आफ्नै प्रेम विरुद्ध।। प्रेम दिवशकै दिन ,
आत्मसमर्पण गरेका गुलाफहरुका
फुस्रो अनुहार ,
छापिएका छन्-किताबका भित्ताभरि।।

किन जोखिममा छ गुलाफको जिन्दगी ??
यत्ति कमजोर किन छ प्रेम ?? 

कायर हुन् प्रेमी-यसो भन्छ गुलाफ।।
धोकेबाज हुन् प्रेमी-विद्रोह गर्छ बुढो अक्षर।। 

यसो हुन अघि नै ,
तिमी मान्छे बन।।
मान्छे बन्छु म।। 

हरेकवर्ष जस्तो-गर्न सक्दिन गुलाफको जवानी सँग अन्याय।
हरेकवर्ष जस्तो-केहि छैन म सँग ,
यो प्रेम दिवश ,
तिमीलाई प्रेम गर्ने सामर्थ बाहेक।। 

जस्तरी!
साँघुरो धरतीमा वर्षौदेखि-
बलियो गरि उभाएकीछु तिमीलाई।
त्यस्तरी नै-के तिमी उक्लिनु दिन्छौ 

मलाई तिम्रो पराकाष्ठा सम्म??

तिम्रै उचाई सम्मको म!
मेरै धरातलमा उभिएको तिमी!
यतिबेला,निर्धक्क भन्न सकूँ-
#ह्याप्पी भेलेनटाइन्स् डे साथी !!


स्मिता-सोताङ-राई ।
14 February 2020  
...........................
 Happy नयाँ वर्ष २०२०!!
#Happy नयाँ सपना
#Happy नयाँ विचार
#Happy नयाँ व्यवहार
#Happy नयाँ मानसिकता
#Happy नयाँ जीवन !!
जानेहरु सधै भनेरै जाने भए,
म बिदाईको हात हल्लाई रहेकी हुनेथें हुँला।।
तर!
आउँनेहरु पनि त,
कहिले सोधेर आएनन्।।
#Happy नयाँ वर्ष २०२०!!


स्मिता-सोताङ-राई ।
1 January 2020  
 ....................................


तिम्रो पुरुष्त्वको हत्या गरेर,
फर्कीरहेकी छु म

आँखा लट्ठिएकोछ,
चिट,चिट तप्किरहेको पसिनाले,
निथ्रुक्क भिझेकोछ शरीर।
पूरै रातो भएकी छु म!!
ढुक्क नबस !
यो मेरो बैँस नहुन पनि सक्छ।।
हुनसक्छ,
तिम्रो पुरुष्त्वको हत्या गरेर,
फर्कीरहेकी छु म!!


स्मिता-सोताङ-राई ।
3 December 2019
...........................



संवेदना !
संवेदना,
आँखीभावलाई,
परेलीलाई,
#संवेदना !
आँखा भित्र अटाउँन सकेका,
आँखा भित्रै हराउँन सकेका,
डिल-डिल अड्किएर
चुहुन नसकेका
संवेदनालाई !!!
स्मिता-सोताङ-राई ।
28 November 2019
...........................


Behind Every Soldier, There is Soldier #Their Wives Their Family !
अन्तिम पत्र तिमीलाई 
जब देखि, प्रेम गर्यौ मलाई !
हिमाल, समतल, माटो, बालुवा,
भोक र युद्धलाई प्रेम गर्ने निर्णय गरें मैले।
म तिम्रो प्रेमी थिएँ।
प्रिया!
प्रेमले शत्रुलाई पनि,
प्रेम गर्न सिकाउँदो रहेछ।
मलाई थाहा छ।
मेरो लडाई भन्दा अलग छ,
तिम्रो लडाई।
रातमा दुखिरहने सम्झना,
दिनमा जिस्किरहने मेरो झझल्को,
हरेक रात, तिमी छेउ पल्टिने खाली सिरानीको सास,
मुटु छेउ अल्झाएँर बाँचीरहन्छ्यौ
तिमी!
दराज भरि झुण्डिएको मेरो कपडाको सुगन्ध,
भित्तामा टाँसिएको ठूलो तस्विर,
आँखामा बिसाईरहेका, लजालू पलहरु
कत्ति चोटि,
आँखाकै किनार बगाई पठाउँछ्यौ।
दर्कने पानीले सुत्न दिँदैन तिमीलाई,
पारी गाउँमा भुकेको कुकुरले,
निदाउँनै दिँदैन।
घर माथिको खन्यूमा,
लाटाकोशेरो कराउँदा ,
कत्ति चोटि मुटु चुडाई पठाउँछ्यौ।


यसबखत!
हामी बिच उभिएको चट्टान,
मेरो वरिपरि बहकिरहेको बारुद,
मलाई गिज्जाइरहेको घना रात भन्दा कठोर,
म हुँदै होइन।
म फूल रहेछु,
फूल भित्र मुटु हुँदोरहेछ,
म तिमी जस्तै रहेछु
प्रिया !


जूनको सापटि उज्यालोमा,
ढुङ्गामा अलिकति माटो जडेर,
माटोमा अलिकति हिउँ धसेर,
लेख्दैछु यो पत्र।
थाहा छैन-पुग्छ या पुग्दैन तिमी सम्म!
युद्धले भिजेको,एक टुक्रा पत्रले,
सुकाउँन सक्छ या सक्दैन
तिम्रो ह्रदय घाउँ।
हुनसक्छ एउटा साँझ या त रात लिएर
फिर्नेछु म।
त्यसबेला-घृणा हुनेछ म सँग तिमीलाई!
मेरो गन्ध मन पर्नेछैन,
मन पर्ने छैन-मेरो शरीर तिमीलाई !
तिमीलाई मेरो केहि,केहि,केहि मनपर्ने छैन।
रिसाउँनेछ्यौ तिमी!
ठुस्किने छ्यौ बेस्सरी र
मूर्छा पर्नेछ्यौ।
प्रिया!


जीवन युद्ध हो !
र प्रेम समर्पण।
जसरी म समर्पीत छु!
त्यस्तरीसमर्पीत छ्यौ तिमी।
यति थाहा छ मलाई!
तिमी उठ्नेछ्यौ,
उभिने पनि छ्यौ तिमी!
तिमी,
म जस्तो छ्यौ
प्रिया !
#अन्तिम_पत्र_तिमीलाई।
स्मिता-सोताङ-राई ।
25 October 2019
....................................
स्वतन्त्रताको एउटा दिन 

आज पन्ध्र अगस्त् ।।
देशले - गान्धी, नेहरु, बोस सम्झिरहेको छ, देशवासीले सम्झिरहेका छन।
म सम्झिरहेकीछु- हरेक वर्ष-धान, मकै, र कोदोको भाउसँगै फाँसी चड्ने दुर्गामल्लहरु।
भोकले ठेलिबस्दा पनि,
विदेश जाँदैन दाज्यु।
छातीका करङहरु बजाइबस्छन् गरिबीका धुन,
म रामसिंह ठकुरी सम्झिरहेकी छु।
स्वतन्त्र  थिएन देश।
चियाको बोट, कुइनेन, खेतबारी, घर, आँगन, र घुरेन पनि हाम्रो थिएन।
चियाको मुनासँगै पलाउने आशा,
कुइनेनको बोक्रासँग टाँसीरहने सपना,
पानी सरह  खेतबारीमा बगिरहने भोक,
आज पनि देशको 'ब्रिफकेश'मा बन्द छ।
घर, आँगन र घुरेनको नापजोख,
हिसाबकिताब कुनै मंत्रीको गोजीमा कैद छ।
अंग्रेज छैन आज,
त्यसैले देश स्वतन्त्र छ ।

देशले सियाचिन जान्दछ,
काश्मीर जान्दछ,
रेगीस्तान जान्दछ।
गोबर, पसिना, माटो गन्हाउँने मेरो बाबुले देश चिनेको छ।
मेरो गाउँले घाँसको भारीसँगै, काँधमा बोकेको छ देशलाई ।
र त, देशलाई खेतबारीमा रोप्छन् मेरा बाबुहरु,
दाज्युहरु डोकोमा,
निकाली बस्छन् आकार देशको,
आमाहरु कोठेबारीमा गोडिबस्छन् देश।

देशले आज गंगा, ब्रह्मपुत्र
देश सम्झिरहेछ।
म सम्झिरहेकीछु-
भीमसेन थापाहरुको पसिनाले तीर्खा मेटाउने विदेश।
मालिकको भान्साकोठा सम्झिरहेकीछु।
र सम्झिरहेकी छु-
आफ्नै पाइतालाले कुल्चेका सपनाहरु
बडारिरहने-
ईन्द्रेणी र सावित्रीहरु।

तपाईलाई थाहा छ?
देशले पटक-पटक गान्धी जन्माउनै सकेन।
बरु, मेरो आमाहरुले जन्माए-गान्धी।

-काँधमा राइफल भिरेर,
राइफलको टुप्पामा मुटु उनेर,
त्यही मुटुमा देश बोकेर,
उभिरहेछन् सीमानामा
लामेताँत गान्धीहरु।
ती गान्धीहरुका आमा सम्झिरहेकी छु।
यतिबेला म सम्झिरहेकीछु-
लालकिल्लामा स्वतन्त्रताको भाषण दिईरहेको
प्रधानमन्त्रीको  स्वतन्त्र छाती।

आज पन्ध्र अगस्त्।
म सम्झिरहेकीछु-तपाई,मेरो,हाम्रो स्वतन्त्रताको एउटा यस्तै  दिन।
तपाई, के सम्झिरहनु भएको छ ??

स्मिता-सोताङ-राई । 15 अगस्त् 2019
(झोलुङ मैदानमा आयोजित स्वतंत्रता दिवस समारोहमा पठित कविता)

...............................................................
पिरियड ईज माई प्राइड 
रगतको गर्व 

कटकटि भुडि खायो,
ढाँड चुडिएँला जस्तै दुख्यो,
छात्ती निमोठे जस्तै चर्कियो,
बिहान रगतको आहालमा थिएँ।
त्यहि दिनदेखि नै हो म आमा जस्तो मगमग बासना आउन थालेकी हुँ।

दुखिरहन्थ्यो, सहिरहन्थे म।
होसियार हुनपर्छ,
छोरी मान्छे आफै जोगिनु पर्छ।
भनिरहन्थिन् आमा।

उम्रिन्दै गरेको स्तन, चौडन्दै गरेको कम्मर,
रजस्वलाको दिन,
बेस्सरी आफूलाई ढाकेकी हुँ। 
एक लश्कर आँखाहरु -मेरो अनुहारमा बिसाउँछन्,
छात्ती सुमसुम्याउँछन्,
त्यसपछि कम्मरमा अड्किन्छन्।
अर्को लश्कर आँखाहरु-सबभन्दा पहिले उदाङ्गो पार्छन् मलाई,
खित्का छोडेर हाँसिरहन्छन्-मेरो नाङ्गोपन माथि।
त्यसैले त आतंककारी जस्तो भागिरहनु पर्छ मैले।

हत्यारा जस्तो डराई रहनुपर्छ।
कसरी नडराऊ डरलाग्दो यस्तो आँखाहरु सँग म?
यस्ता यातनाहरु,कहिले सम्म सहि रहुँ??

आज पनि रगत गन्हाँएको दिन,बिछ्याउनबाट लखेटिनु पर्छ मैले।
टेक्नै हुँदैन मैले भान्सा कोठाको सँघार।
मन्दिरदेखि टाढा बस्नु पर्छ।
हरेक महिनाको पाँचदिन अछुत हुनै पर्छ मैले।

कत्ति कायर छौ तिमी,
कमजोर भन्छौ मलाई,
कमजोरलाई नै लखेटिरहन्छौ।
तिमी साँच्चै कायर छौ।

मलाई कुज्याउँन सक्ने हातहरु,
शरीरको आफ्नै अंगमाथि अधिकार राख्न नसक्ने हातहरु,
फुत्त, फुत्त तृष्णाका राल निचोड्दै फाल्ने हातहरु,
मन्दिर भित्र पसुन र सोधुन,
ढुङ्गाको ईश्वरलाई कुन रङ्गको रगत मन पर्छ?

एकबिहान, चुहुँदै गरेको आफूलाई छामे।
रगतको फाल्सालाई निहाले।
मैले देखें,हो मैले बुझें।
साँच्चै,जिन्दगीका अन्तरङ्गहरु लपेटिएका हुँदारहेछन् रगतमा।
एक तमाशको अनुभुतिहरु लछेप्रै टाँसीएका हुँदारहेछन्।
रगतबाट सपनाका पखेटाहरु उम्रन्दोरहेछन्।

त्यसपछि रत्ति डर लागेन मलाई।
भयानक एक थुप्रो तिम्रो गिदीसँग,
तिमीले जफत गरेको ब्रहमाण्ड,
मलाई कुज्याउँन सक्ने सामर्थ
ति सबै मेरै उपज हुन। 
तिमी कमजोर नठान मलाई 
म तिमीलाई कायर पनि ठानीहाल्दिन
बस रक्ताम्य हुनदेउ मलाई र देख्न देउ जिन्दगीका रंगी -बिरंगी सपनाहरु। जिन्दगीका बंजर पाटाहरुमा – मलाई तिमी चाहन्छौ। तिमीलाई म चाहन्छु
तिमी मलाई रगत बग्न देउ ।।
म बगिरहन्छु जीवनका गीतहरु सुसेल्दै
र उमारीरहन्छु प्रेमका बीजहरु। 
तिमीलाई थाहा छैन मस्ंग रगत नहुनु भनेको
तिमीसंग रंग नहुनु हो ॥ 

स्मिता सोताङ राई  2019
.................................................... हली

१.आकाशले एक थोपो बादल खसाल्दा...
'रोमान्टिक' भएर,बेस्सरी पाखुरा मुसारेथ्यौ।
भान्सा घरका रित्ता-भाँडा,रित्ता ढुकुटी,
....प्रेयसीलाई सम्झेथ्यौ,।।
....रित्ता पेट सम्झेथ्यौ ।।
२.मिरमिरे घामले देखेको छ तिमीलाई.....
मेरो छात्तीमा लपेटिन आउने,
साँझको हावाले छोएको छ तिमीलाई....
एउटी 'म'!
बाँचेकी छु ती अनुभुतिहरुलाई ।।।
३.समयले भेट्यो, छोएन....
पाखुरी लग्यो, पक्रेन तिम्रो पाखुरा ।
वर्षौदेखि टाँसिएको गलबन्दी नै,
बन्यो तिम्रो कमजोरी ।।।
उता निस्सासिन्छिन् प्रेयसी तिम्रो,
यता 'म' ।।
४.मलाई रत्ति भर डर छैन,
बाँझोपनसँग....
म खेत हुँ 'हली' !
यो उर्वर छात्तीमा ,
इलामे, दुबो, झार फुलाउन सक्छु ।।
बन्जर बाँचीदिन सक्छु....
५.मलाई डर लाग्छ 'हली' !
के,फुलाउन सक्छिन्???
तिम्रो प्रेयसीले....
तिरस्कार....???

स्मिता सोताङ राई ।। #ह्याप्पी_असाढको_पन्ध्र ।। 30 जुन 2019

(कविता देखि बाहिरको फिलिङ्स हो ल 😁😁
....वर्खाको पानी,
मलाई दिक्क लगाउनलाई खसिरहन्छ ।।
...त्यही पानीको एक थोपोले मेरो 'बा-'को पाखुरा छुँदा,
'बा-' रोमेन्टिक बन्छ ।।
किन भन्नुस् त ??
....मेरो बाबा हली होनि त् ।
..............................


बाबु
'बाबु' काने गोरु हो।
काने गोरुलाई औँशी न पूर्णे,
बस्! दिन भरि जोत्तिन पाउनुसँग मतलब छ।
बाबुले जोत्तिन पाउनु-
साँझको घाँस, पराल जुट्नु हो ।।
बाबुले जोत्तिन पाउनु-
चुल्हामा आगो जल्नु, भातको भाँडा रमाउनु हो।।
बुडो गोरुले, बन्जर जमिन फुटाए झैँ......!!
जोत्तिरहन्छ बाबु-जीवनका ती बन्जर पाटाहरु भत्काउन।।

स्मिता सोताङ राई ।। 16 जुन 2019

-----------------

सम्झना,
मैले, सधैँ सम्झिएकी रहेछु तिमीलाई!
जुन दिन बिर्सन खोँजे,
तिमी,गालाको बाटो भुईमा पोखियौ ।।
स्मिता सोताङ राई ।।  15 जुन 2019
..............

म पनि घर हुँ

१.मलाई छिनाइसके पछि हेर्नु-
तिम्रो हातबाट जीवन छिनिएको ।
म ढले पछि हेर्नु-
तिम्रो हातबाट जीवन चुहेको ।।
२.रुख हुँ हजुर !
मैले भत्किनै पर्छ,
र बनिनु पर्छ, तिम्रो घर ।।
३.प्रिय मान्छे!
तिमीले भुल्यौ-म पनि कोइली चरीको घर हुँ !!

स्मिता सोताङ राई ।।  15 जुन 2019

.............................................

गाउँ

अचेल गाउँ,

१.सबै अपाङ्ग छन्.... हर्के दाज्युको अपाङ्ग भत्ता-अपाङ्ग नै छ, आइपुगेको छैन हातसम्म ।। आमाको जाँड-ओथरामा नै छ! बाबा, वर्खाको पानी छेक्न,चिम बटुल्न व्यस्त छन् ! माईला दाज्यु, अझै पनि रोगी अलैचीको खुट्टा नै मुसारीरहेछ ! गाउँ त्यस्तै छ! पुरानै छ ! गाउँ चलिराछ ।।

२.तर,गाउँ नयाँ पनि छ अचेल.... गाउँमा मधेसको हावा चल्छ, गाउँ मधेस गन्हाउँछ !! बाटाभरि,झण्डाहरु छन्, झुण्डहरु छन् !! नयाँ फेरी बोकेर,पुरानै जोगीहरु गाउँ पसेका छन् ।। जोखाना देखायो-गाउँको आयु छोटो छ रे !! भोग ढाल्नु पर्छ रे !!

३.डर लागिराछ-गोफ्ले डाँडामा गीद्ध कराउँदा, बिच गाउँ बाट, एक हूल परेवा उडि गएको सपना देखेकी थिँए!! म चाहन्छु-मैले देखेको थुप्रै सपनाहरु जस्तै यो सपना पनि 'फेल' खावोस् !! नत्र.... गीद्ध पसे-गाउँ सखाफ पार्छ ! होस् बरु- पुरानै गाउँ ठिक छ ।।।

स्मिता सोताङ राई
1 जुन 2019

.............................

मृत्यु शैया

मृत्यु शैयामा लडेको म, के देख्न सक्थें र कठोरी झ्यालबाट मैले ?? रक्तहिन घाम, चाउँरिन्दै गरेका दिनका गाला, थोपा भएर खसेका, बादलका घमण्ड, ती सब म जस्ता थिए।।

र देख्न सक्थें-शीर निहुराएर उभेको बुडो रुख, त्यहि फेदिमा ओत लागेका बटुवाहरु, परालका टुक्रा च्यापी,हाँगामा बिसाएका दमाई चरीका जोडा।

र देख्न सक्थे-जीवनको मृत्युसँग विलौना !! त्यसबेला, मान्छे भएर मर्नुको पछुतो सास नलिमा अड्कियो ।
काश! एउटा दिन बाँच्न पाँए,
म रुख हुन चहान्छु ।।

स्मिता सोताङ राई 
27 मई 2019

......................

के तिमी मन पराउँछौ मलाई ?


प्रिय,
तिम्रो गीत गाइरहने,मौरी मन पर्दैन मलाई !
तिमी गन्हाउने गुलाफ मनपर्दैन ।।

तिम्रो हात बनेर,छुन आइरहने पानीको थोपा मनपर्दैन !
तिमी भएर, टाँस्सिन आउँने हावा पनि मनपर्दैन ।।

आकाशको आक्रोश,
बाँध तोडेर बग्ने बाढी,
गुलाफको काँडा मनपर्छ......

आँधीबेहेरी मनपर्छ .....

प्रिय,
मलाई, पुतली मर्दैन ...
गौंथलीको जोडा मनपर्दैन..
भङेराको प्रेम मनपर्दैन....
मलाई,झुसुलकिरा मनपर्छ,
लाग्छ,त्यसको झुस बिझिरहोस्.....बिझिरहोस्......

प्रिय,
मलाई,स्वतन्त्र आकाशमा उडिरहने,
एक्लो 'चील'...
त्यसको 'पखेटा'
'आँखा' मनपर्छ ।।

के,तिमी मनपराउँछौ मलाई ??

स्मिता सोताङ राई
15 मई 2019

.....................

मेरीआमा

ड्ल्लै घाम, आङमा बोकी हिड्ने मेरी आमा,
’फेसबुक वालमा’ अटाँइनन ।
हारसँग कहिले नहारेको,
उनको इतिहास,
’वाट्सएप स्टेटस’मा अटाँएन॥

आमा दिवस कहिले हो??
मलाई थाहा छैन... ॥

मेरो जीवन होस,
दिन होस,
आमा होस॥

आमा दिवस कहिले हो? मलाई थाहा छैन ॥

स्मिता सोताङ राई
12 मई 2019

.....................................

उनको कौमार्य

एक धर्सा,
सेतो तन्नामा कोरिएको,
एक धर्सा रगतले,
उसको कौमार्य जोख्छ भने,
पहिलो रजस्वलाको,
पहिलो दिन आउँनु,
रगतको आहालमा,
निथ्रुक्क भिजेकी हुन्छिन,
उनको कौमार्य त्यसदिन ॥

स्मिता सोताङ राई
12 मई 2019

-----------------------

आज थाहा हुँदैछ सानु

१.मेरो शरीर,रोगी अलैंचीका झ्याङ्ग जस्तै भइसकेछ,
शिरु म जस्तै फुलिसकेछ,
तिम्रो तस्विर सँगै हाँस्ने भित्ता,बुढा भइसकेछन्,
तर,किन बुढो हुँदैन जवान यादहरु,?
आज थाहा हुँदैछ सानु,
यादलाई, तस्विर काफी हुँदैन रहेछ ।।

२.मलाई थाहा छ, तिमी कुनै वार्डड्रोभकी मालिकनी भएकी छ्यौ,
ऐनाको घमण्ड भएकी छ्यौ,
सिन्दूरको भाग्य भएकी छ्यौ,
हरियो पोते घाँटिमा बेह्रेर, कसैकी आयु भएकी छ्यौ,
आज थाहा हुँदैछ सानु,
तिमी नहुँदा म कोहि नहुँदोरहेछु,
म सँग केहि नहुँदो रहेछ ।

थुप्रै,थुप्रै हुनु जीवनमा,एउटा तिमी नहुनु
केहि नहुनु रहेछ,
आज थाहा हुँदैछ सानु!!

३.माया त तिमीले पनि गरेथ्यौ,
कसम खाएथ्यौ,प्रेम पत्र लेखेथ्यौ
मेरो हातमा हात राखी,साथ पनि दिएथ्यौ,।।

पसिनाले भिजेको मेरो निधारमा, तिमी कोरिएन रहेछ्यौ,
ठेलो कोरिएको मेरो हातकेलामा,
तिम्रो नाम कोरिएन रहेछ,
आज थाहा हुँदैछ सानु,
पत्रमा कोरिएका अक्षरहरु प्रेम हुँदैन रहेछन् ।।

४.तिमी सँग हिड्ने गरेको ढुङ्गे बाटो,
अलकत्रे सड्क भएको छ,
तिमीलाई थाहा छ ? सड्कमा हिड्नु सजिलो छैन मलाई ।
त्यसैले त पानी पर्दा मात्र हिड्ने गरेको छु,
म चाहान्छु-कसैले थाहा नपावोस्, तिमी मेरो आँखाबाट खसेको।।
कसैले नदेखोस्- तिमी म सँग हिडेको ।।

५.तिमीलाई सम्झन्दा, मरु झै पोल्छन् जब आँखाहरु,
धरती-आकाशको वेदना बोकेका अचानो
क्षितिज जस्तै जब दुख्छ यो मन,
मलाई थाहा हुन्छ सानु-
प्रेम गाँडे घाउ रहेछ, प्रेम दुखिरहन्छ,।।

६.तिमीलाई थाहा छ सानु?
तिमी नभए देखि-माउ नभएका चल्लाहरु सँग प्रेम गर्न थालेको छु,
बेजोडा धनेससँग प्रेम गर्न थालेको छु,
न्याउल चरीसँग प्रेम गर्न थालेको छु
आकाश,धरती, क्षितिज, किनारलाई प्रेम गर्न थालेको छु।

आज थाहा हुँदैछ सानु-
तिमी नभए देखि , साँच्चै म प्रेमी भएको छु ।।

स्मिता सोताङ राई
12 मई 2019 (धुपौरे नेपाली पत्रिका)

...................

आमा जन्मदिन.. म जन्मदिन !


धेरै वर्ष जन्मायो जन्मदिनले, हुर्कायो, जवान बनायो !
खै,यस वर्ष जन्माइ हेरौं त आमालाई ¿
फोसीबाट खस्ने, थोपा जस्तै जन्मिदो रहिछे आमा,
वर्षै पछि,बारीको कान्ला सँगै होचिन्दै रहिछे,
जस्तै सखारै आएर,
साँझमा फर्कने घाम ,
त्यस्तै धमलिन्दै, अस्ताउँदै रहिछे आमा ।।

यसपालि,जन्मदिनले जन्माएन मलाई !!
धरतीमा नखसेको उज्यालो, त्यहि अध्याँरोसँग जन्मिदो रहिछे, कठै !

मेरी आमा ।।।
आमा_जन्मदिन_म !!!

स्मिता सोताङ ।।
1 मई 2019

 ..................

श्यामपट 'जिन्दगी' 

१.बाह्रौ कक्षाको परिक्षामा,पहिलो आँए.....
'कालो अक्षर भैंसी बराबर'-मेरा आमा बाबुलाई,
म,पहिलो दोस्रो,अन्तिम आउँनु-कालो अक्षर,कालो भैसीं एउटै लागेको थियो ।।
पहिलो पल्ट - आमा-बाबुका अनुहार र,
बादल हटेर घाम लागे पछिको आकाश बराबर लागेको थियो मलाई ।
बाह्र वर्षदेखि,खेतमा नाँचीरहेका बुडो कोदालो,
दिनहुँ,उधिन ढुङ्गमा खियिन्दै आएका खुर्पा,बिसाए त्यसदिन।

रातो भालेको 'वाचीपा',कडा चखनी चाखेर,खरानी भित्र लुकेकी चुल्हा पनि,
दियो जस्तै धपक्क बलेकी थिइन् कुनामा ।।

२.मिस सिम्फनी!
तपाईले पढाउनु भएको 'परी'को कथा होइन जिन्दगी,
चन्द्रमाको देशमा हराउँने 'रामु' जस्तै अभर परेको छ।

तपाई जस्तै 'सिम्फनी' पटक्क होइन जिन्दगी,
खोलाको बगरमा,गाइनेको गीत भएको छ।

श्यामपटमा कोरिएका जोड,घटाऊ,गुणा,भागका चिन्ह्रहरु अझै याद छ मलाई,
तपाईको औलींमा खियिने खरिमट्टी रहेछ जिन्दगी त!
मिस सिम्फनी! कहाँ हुनुहुन्छ तपाई?
खरिमट्टी जस्तै खियिन्दै हुनुहुन्छ कि?
जोड,घटाऊ,गुणा बिच भाग भइसक्नु भो ?

३.लिप्पन छात्तीमा बोकेकी थिएँ देश,
छात्ती अग्लियो,उचाँले देशलाई।।
वर्षौ भरि-गंगा,यमुनालाई बगाएँकी थिए,
देशको फैलिएको भागलाई,कलिलो छात्तीमा बोकेथें।।

मिस!
तपाईले भूगोलमा देखाउँनु भएको मेरो देश,
देशको कुन भूभागमा पर्छ,म उभेको भाग??
मेरो कलिलो छात्तीमा अटाउँने मेरो देश,
विशाल देशको पन्नामा,लेखिएको छैन रहेछ मेरा आमा बाबुका इतिहास ।।

मिस सिम्फनी!
तपाई कुन देशमा अटाउँनु भो??
कुन देशमा अल्पिनु भो??
तपाईले चिनाउँनु भएको मेरो देश,त्यहिँ अलमलिरहेछु म ।।

४. मिस!
मेरो हातमा कलम होइन,
कोदालो,खुर्पा,थमाइदिनु पर्नेथियो,
बुझाउँनु पर्ने थियो-पसिनाको दाम,
जनाउँनु पर्ने थियो-ऋणको गुणा,रहरको जोड-घटाऊ,
औजारको गणित सिकाउँनु पर्नेथियो ।।

खरिमट्टी जस्तै खियिन्दै गरेका मेरा आमा बाबु,
उनीहरुका सालिक त निर्माण गर्नसक्थें
कमसेकम!!
मिस सिम्फनी!

तपाईले सिकाउँनु भएको दुईको जोड,पटक्क होइन जिन्दगी!
गणितको कुनै जटिल प्रश्न जस्तै,
शुन्यमा नै अड्केको छ।।

मलाई गणितको जोड,घटाऊ होइन,
औजारको गणित सिकाउँनु पर्ने थियो,
खरिमट्टी जस्तै खियिन्दै गरेका मेरा आमा बाबु,
उनीहरुका, सालिक निर्माण गर्न सक्थें आज!!

अफसोस्!
मिस सिम्फनी!

तपाईले ,दिनहुँ मुसार्ने श्यामपट जस्तै,
निष्पट खाली छु 'म' !!

स्मिता सोताङ ।।
26 अप्रेल 2019
.....................


'त्याग'

आफ्नो सौन्दर्य,आफ्नो होइन, जीवनको खासै अर्थ छैन !
फक्रनु,फुल्नु,चुडि्नु, इलाउनु.... यहि जीवन हो ।
गुनासो पनि कहिले छैन ।।।

स्मिता_सोताङ_राई ।।
30 March 2019
...........................................................

माली

म सँग रुप छै न,
आकार छैन,
सुगन्ध छैन,
तिम्रो प्यास मेट्ने रस छैन म सँग,
'जङ्गली' फूल हुँ म !

हो, म सँग कृतिम आकार छैन,
खुस्बु छैन,महक छैन ।।

तर,खै कुन्नि के ले तान्यो तिमीलाई म तिर....
मेरो निराकार रुपको कुन आकार देख्यौ,
आज,म तिम्रै आगनीमा,पौला हान्दैछु,
निर्धक्क,निर्धक्क ... .।।

नत्र त,हाँगा भाँचेर फुलदानी भर्ने,
पत्रदल तोडेर,बिछ्याउँना बिछ्याउँने,
कोपिलाको खुस्बुले नै लट्ठ मात्ने फुलप्रेमिहरुको त कमि छैन।

तर,एउटा तिमी,
मेरो जिन्दगी सँग प्रेम गर्ने'माली' ।।

अनि एउटा म,
बैँस भरि,तिम्रै निम्ति फुलिदिने ,
'जंगली फूल '।।

म सँग आकार छैन,रुप छैन,
कृतिम सुगन्ध छैन ...
बस्,एउटा कौमार्य छ!

बैँस छ!
एउटा जिन्दगानी।।

स्मिता_सोताङ_राई ।।
28 March 2019

............................

जिन्दगी

जिन्दगी त बहाना मात्र हो !
बाँच्नेलाई एउटा दिन काफी छ,
त्यो एउटा दिनमा -उत्सव,उपयोग,दर्शन होस्,
जिन्दगीलाई,एउटा दिन काफी छ।।

स्मिता_सोताङ_राई ।।
26 March 2019

...................

'भूत'

उहिले नै....
बोज्युको कथामा, डरलाग्दा हुन्थे भूतहरु ...
शरीर चुसेर,रगत पिउँथे तिनीहरु,
मानिसको काँचै मासुले प्यास मेटाउँथे तिनीहरु ।।
बोज्युको कथामा ।।

डर त अझै पनि त्यस्तै लाग्छ,
साँझ नभई,घरभित्र पसीजाऊ....
घरको कतै गुप्त कोठामा लुकिजाऊ ।।

दोबाटोको कतै झ्याम्म झाडि भित्र,
अजिङ्गर झै मुख बाएर,डुकेको त छैन ?
ब्वासो झै आँखा तन्काएर,
मेरो बाटो कुरेको त छैन ? हँ ? ती भूतहरु ।।

डर लाग्छ,
हो, साँच्चै डरलाग्छ ।।

उबेला,बोज्युको कथामा भूतहरु...
क्रुर,दुष्ट,नरभक्षी, विलासी थिए।।।

अब्बुई ...ईई ! दुरुस्तै अहिलेको मान्छे जस्तै ।।।

स्मिता_सोताङ_राई ।।
21 March 2019

.........

जवान तस्विर बुडो भएर सेतै फुल्यो,
बुडो याद अझै जवान छ ॥

अल्लारे दिन, अल्लारे याद, याद आउँदा...
कता कता,

घाँटिहरु बाडुलीमा अझै पानी पिउँदो हो ॥

स्मिता सोताङ राई
5 मार्च 2019
 ....................

'कविता'

जब शुन्यताले,शोर मच्याउँन थाल्छ,
अनिद्राले,निद्रा खर्ल्याप्प निल्छ,
कतै गहिरो पोखरीमा,डुब्न थाल्छन् तनावहरु।।

तब,मस्तिष्कले किताब छाप्छ,नबुझ्ने अक्षरमा......
त्यसपछि,कुनै पुरानो खाताको बिच पन्नामा कोरिन्छ निराशा,
भनौ एउटा

'कविता' ।।।

स्मिता_सोताङ_राई ।।
4 March 2019
..................

क्रुश बोक्नु, जीवन सहज नहुनु हो, ...
शीरमा काँडा पहिरिनु , जीवन कठिन हुनु हो ॥
जसले जीवनभर क्रुश बोक्दछ...
शीरमा काँडा पहिरिदिन्छ....
उसले, एकदिन शान्तिमा विश्राम गर्नेछ ॥

के तपाईले देख्नुभएकोछ ??
संसारले शान्तिमा विश्राम गरेको ??
आफ्नो विश्रामको ठाँउ थाहा गर्नुहोस ।

स्मिता सोताङ राई
3 मार्च 2019
................................

युद्ध

युद्ध किन लडिन्छ? कोसँग लडिन्छ?
यो त रगतको आहालमा जिन्दगी रोप्नेलाई थाहा छ,
यति थाहा छ,
आफ्नो विरुद्ध आफै लड्नु,भयानक युद्ध हो।
आफूलाई जित्नु, मजा छैन।
आफूसँग हार्नु, शकुन छैन।
लडिरहने तागत छैन।।
हार जीतको दोधारे सिमाना,
तनावको आहालमा चुर्लुम्म डुबेको लडाकु,
त्यसको जिन्दगी नै युद्धभूमि बनेको छ।।
घाइते,कमजोर, अशक्त अवस्था त्यसको.....
यो युद्धको अन्त्य छ र ???
कि लडिरहनु यसको नियति हो???

स्मिता_सोताङ_राई ।।
1 March 2019

..................

जातको अपमान हुनु

तिम्रो 'जात' को अपमान हुनु,
यो त जायज हो प्रेयसी.....
मान्छेले त यहाँ,
चन्द्रमालाई पनि 'दाग'को नाजायज खोट देखाउँछन्।
तिम्रो जातको अपमान हुनु,.....यो त जायज हो प्रेयसी ।।।

स्मिता_सोताङ_राई ।।
20 February 2019
...........................

श्रद्धान्जली!!

सिपाहीको शरीर चिरा,चिरा च्यातिन्दा...
धेरै आमाहरुको छात्तीले छोपिएको मन, आँखाले नभ्याउँने टुक्रामा टुक्रिएकोछ।
थुप्रै जोडि सिरानीहरुलाई,कहिले नभेट्ने गरि छुटिनुपरेको छ।
अब,चुराको ध्वानी सुन्न पाउँने छैन भान्सा कोठाहरुले,
बेरङ्ग,फुस्रो,हिड्नु पर्नेछ सिउँदोहरुले।
आउँदो रक्षा बन्धन ??
रित्तो,शुन्य हुनेछन् हातहरु,
मोटो, मोटो पावरको चश्माले पनि देख्न पाउँने छैनन् छोरोहरु....।
अब होली,दिवाली,राखी पनि घर आउँने छैनन् छुट्टिहरु,
साँझको चीसो हावाले याद बोकि ल्याउँदा,
दिन र रात जस्तै कहिले नभेट्ने भए ति प्रेयसीहरु ।
शहीद बाबुले वीरताको सलामी थाप्दै गर्दा,
गर्भ भित्र टुहुरोको उपाधि थाप्दैछन् छोराहरु ।
छि:छि:छि: छिमेकी !

कायरताको पनि हद हुन्छ 'यार'!
लुकेर त मेरो देशमा,लुकाछिपी लेख्छन् सिपाहीका छोरा,छोरीहरु....
लड्छस् भने, जङ्ग लड्न  आइज,
मेरो देशले लड्न जानेको छ तँ सँग युद्ध।
मेरो देशको सिपाहीले छात्ती थापेर मर्न र छात्तीमा राखेर मार्न जानेको छ।
....यसरी,पर्दा भित्र लुकेर, दुश्मनी....
छि:छि:छि, जायज भएन साला 'काफर'।।
यो लुकाछिपीको खेलमा,
खै, कहाँ छ तेरो देशप्रेम ???
आज मेरो देश टुहुरा हुँदा, मेरो देशले डाँको छोडि रुँदा,
तँ खित्का छोडि नहाँस् छिमेकी!
मलाई अफसोस् छ!
तेरो बुडी अम्मी र बुडो अब्बु प्रति,
उनीहरुको पनि चश्मा र लाठी भाँचिनेछन्।
तेरो काफरे मुलुकमा पनि,
गुञ्जिनेछन् विद्रोहको नमाज, 'एकदिन' !!!

Behind Every Army Man, There is an Armies of 'Their Wives', Children, Parents!!!
#Rest_in_peace_Brave_hearts !!!🙏🙏

स्मिता_सोताङ_राई ।।
16 February 2019

........................

भ्यालेन्टाइन डे!!

पिरतीका मिठा अनुभूति बोक्ने ती प्रेम पत्रहरु,
साटिएका छन् अहिले, सम्बन्ध विच्छेदका कागजात पत्रहरुमा।
उभिनु परेको छ प्रेमीहरुलाई कठघरामा, गम्भीर हत्यारा झै शीर निहुराएर,
आफ्नै प्रेमको विरुद्धमा......
गाढा रातो गुलाफले, प्रेममा रङ्ग भर्न सक्थ्यो भने,
पुरानो किताबको पन्नाभित्र, रङ्ग उडिसकेको, त्यसका पत्रदलहरु मुसार्नु पर्ने थिएन प्रेमीहरुले।
चिया र कफिको तातो चुस्किहरुले, सम्बन्ध न्यानो राख्न सक्थ्यो भने,
सेलाएर जाँदा, खल्लो हुन पर्ने थिएन सम्बन्धहरुले।
म त मनाउँदैछु भ्यालेन्टाइन डे,
आफ्नै घुरेनको सागबारीमा......
साग र डुकुको प्रेमिल संसारमा।
सागको पात ,खाराक खुरुक लाछिएर जाँदा,
झिनो डुकु फुलिरहन्छ....फुलिरहन्छ,
बिऊ' बनिनुलाई ।

#मायाले_सहन्छ_पर्खन्छ_धर्य_गर्छ ।
Happy Valentine's Day!
#Love_is_to_hold_on_till_the_End !!
Love is in the Air, Just spread it ♥ ♥ ♥

स्मिता_सोताङ_राई ।।
14 फरवरी 2019

..................

ढोकाहरु

स्कूलका ढोकाहरु खुल्लीसके....
बाबुहरु अझै कुरिरहेछन्, महाजनका बन्द ढोकाहरु।

र पर्खीरहेछन् बाबुका कानहरुले, मालिकका गाली सुन्न पाउने अवसरलाई,
आत्तिरहेछन् बाबुका रुखो हातहरु, बालुवा र सिमेन्टको चुँहुदो झरी छाम्नलाई,
तयार छन् बाबुका बुडो काँध, ढुङ्गाका थाकहरु उचाल्नलाई।

छोरोले अंग्रेजी बोल्नु पाउनु, बाबुले 'अंग्रेजी गाली' खान पाउनु पर्छ।

छोरोले सपना देख्नु पाउनु, बाबुले पसिना बेच्न पाउनु पर्छ।

जब, बाबुको पातलो छालाले, पसिना निस्कने मसिना ढोकाहरु खोलिसक्छन्...
तब, मोटो - मोटो किताबहरुले छोरोको स्कूले झोला भरिन्छन्।

स्कूलका ढोकाहरु खुल्लीसके. .....
बाबुहरु अझै कुरिरहेछन्, महाजनका बन्द ढोकाहरु ......।

स्मिता_सोताङ_राई ।।
11 फरवरी 2019

------------------

धेरै जन्मे संसारमा हिरोहरु,
मरेर गए।

अब 'मानव' जन्मनु पर्छ,
संसार बचाउँनलाई ।।

#Be_human_
#safe_the_world_as_Hero !!    

स्मिता_सोताङ_राई ।।
7 फरवरी 2019
Live Heroically,Being Human!!


---------------------

यसबेला,जीवनले व्यङग्य कसिरहेछन् म माथि,
जसरी,बन्चरोले हान्छन् प्रहार मुढा माथि!
म चाँहि मस्त सम्झिरहेछु- बन्चरोको प्रचुर प्रहार पछि,बनिएका ति मुढाका 'दाउराहरु' !!

स्मिता_सोताङ_राई ।।
1 फरवरी 2019

------


आँखाले देखेको कुरो,
मनलाई मन पर्दैन कोहिबेला......!!!

मनलाई छोएको कुरो,
आँखाले सधै बोल्छ यहाँ ....!!!

#अचम्म_छ_!!!

स्मिता_सोताङ_राई ।।
13 जनवरी 2019

-----


नसोच्नु त्यो कहिले,
हाँगा निहुरन्छ ......!

'फल' लागेको बोट,
जहिले झुकेको हुन्छ !!!

#Stay_Humble !!
#Stay_Grounded !!

स्मिता_सोताङ_राई ।।
12 जनवरी 2019

---------------


उसले विश्वविद्यालय पढि सकि हरे- खुशी छे 'उ' .....
म अझै त्यै,तल्लो घरे कान्छा दाज्यु,माथिल्लो घरे रामे दाज्युहरुकै कथा बटुल्दै,
'गाउँ'लाई पढ्दैछु....
धरै खुशी छु 'म'!!

#Read_society 🙏
#society_is_also_an_education !!

स्मिता_सोताङ_राई ।।
3 जनवरी 2019

--------

नयाँ साल

पोहोर पनि यस्तै नयाँ साल थियो,
यसपालि पनि त्यस्तै ,नयाँ साल आएछ....
पोहोर कै जस्तै,नयाँ आशा,नयाँ इच्छा,नयाँ सपना,
थुप्रै के ,के नयाँ बोकि ल्याएछ !

.....तर,यहाँ जिन्दगीहरुको अवस्था र व्यवस्ता चै किन त्यहि पुरानो ?
.....कि नयाँ सालले,पुरानो सालसँग त्यहि थोत्रो साइनो गाँस्दैछ ??
नयाँ सालमा !!

.....नयाँ वर्ष २०१९ को सबैमा शुभकामना, !!यस नयाँ वर्षले, थुप्रै जिन्दगीहरुलाई नयाँ बनाउन सकेको होस्!! थुप्रै विचार र दृष्टिकोणहरुलाई पनि नयाँ बनाउनु सकेको होस्! नयाँ वर्षले हामीमा #समानता, अनि एकता ल्याउँन सकेको होस् !!
ह्याप्पी न्यु यिएर 2019 !!!

मे गड ब्लेस यु अल !!

स्मिता सोताङ राई ।।
1 जनवरी 2019


------

चरा, त मेरो गाउँमा कराउँछ,
उनको,शहरमा त गाडी चिच्याउँदो रहेछ !!!

स्मिता_सोताङ_राई ।।
30 दिसम्बर 2018

-------------------------------------------


खबरकागज

हरेक बिहानीको खबरकागजमा,
मेरै गाउँ छाँपिएको जस्तै लाग्छ,
मेरै गाउँले,खै,के के भन्न खोजे झै लाग्छ....
पल्टाउँनु छैन मलाई,खबरकागजको पन्नामा बलात्कारको खबर,
मेरो गाउँको, सडकको लुगा उध्रिएर,अर्धनङ्गन उत्तानो पल्टिएको देखेकी छु !
पढ्न पर्दैन मैले, खिचातानीको खबर,
मेरो गाउँको फाटकमा झुत्ता परेर, नाथे हड्डिमा राल चुहाउने 'कुकुर'हरु देखेकी छु!
सुन्नु छैन मलाई, शोषणको खबर...
घर आँगनीमा
'किरा'हरु देखेकी छु!

र पढ्नु छैन मलाई यी सब षड्यन्त्रहरु,
मेरो गाउँको छात्तीमा,जाल बुन्ने 'माकुरा',
त्यहि माकुरालाई निल्ने 'बच्चा'हरु देखेकी छु !

पढ्नु पर्दैन मैले भ्रष्टचारलाई,खबरकागजको पन्नामा....
साईली बोज्युको घरको छानो, थुप्रै थुप्रै गाई गोठहरुमा देखेकी छु !

पढ्नु छैन मलाई यी सब खबरहरु,
जब मैले यो सब जीवन्त देखेकी छु !

तर ,मेरो गाउँको खबर ,खै कसले कुन कागजमा लेख्दैछ ?
......लेख्दैछ र ??¿

#Newspaper_fever !!  

स्मिता सोताङ राई ।
27 दिसम्बर 2018

-------------------


उसले
युद्ध जित्छ,
म 'मन' जित्छु!

उ योद्धा !
म पनि 'योद्धा' !!

#Be_a_warrior
#Not_a_worrier !!

स्मिता_सोताङ_राई ।।
26 दिसम्बर 2018


--------------------


ईश्वर

मैले त्यहि मान्छेले बडि ईश्वर खोजेको देखेको छु,

जुन मान्छेले,मान्छेलाई, मान्छेको ठाउँ समेत दिन नसकेर

भान्सा कोठाको ढोका अघि उभ्याउने गर्छ !

ढुङ्गै,ढुङ्गैले बनिएको मन्दिरमा,के उसले ईश्वर भेट्ला र ???

समय

बाजेको पालाको घडेरी,

बाबुको पालामा घर बनिएर,

मेरो पालामा यति अग्लिएछ,यति अग्लिएछ. ...

छिमेकीको करेसो सम्म पुग्ने घामलाई पनि खोसी लगेछ !!

स्मिता_सोताङ_राई ।।
24 दिसम्बर 2018
--------------

गाउँ

मेरो गाउँले साँझ,बिहानी घाँसको भारी बोक्छ,

उकालो, ओह्रालो,भिरालो पाखामा 'खुइइइ...

खुइइइ सुस्केरा सँगै ठूलो भुल्डुङमा दुध पनि ओसार्छ,

लछेप्रै पसिना दलिएको घाँस, त्यहि घाँसबाट बनिएको गोबर....

त्यहि गोबरमा, मेरो गाउँ ले टमाटर उमार्छ,

खोर्सानी फुलाउँछ,

आलु फलाउँछ!!

अभाग्यवश, मेरो गाउँ ले 'दाम' कहिले पाएन!

मेरो गाउँको 'भाउ' कहिले बडेन!

#गाउँले_Vibes!!!!            

स्मिता_सोताङ_राई ।।
6 दिसम्बर 2018

-------------

दशैँ आएछ !

दशैँ आयो,दशैँ आयो......

सबै कराउँथ्यो,

भोलिपल्ट,नयाँ,नयाँ लुगा लगाएर,

खेल्न पनि निस्कन्थ्यो !!!

भाई र म त्यो रंङ्ग,बिरंङ्गको दामी लुगा

आँखा मिचिमिचि,हेर्थ्यौ !!

घरमा आएर हाम्रो झगडा,

आमाको लुङ्गि पक्रेर,बाबाको सर्टको बौलामा झुण्डिएर.....

........निकै बेरमा,बाबाले चुल्हापट्टि फर्केर 'भोलि' किन्दिन्छु भन्नुहुन्थ्यो!

भोलि भनेको हामीलाई सय साल लाग्थ्यो,

तर, बाबालाई ! भोलि भनेको एक झप्को निद्रा मात्रै थियो !

साच्चै नै, हाम्रो लागि भोलि भनेको, भोलि सकिएर पर्सी, पर्सी सकिएर, निकोर्सी.....

निकोर्सीको भोलि हुँदै,दशैँ सकिनु भोलिको अघिल्लो दिन हुन्थ्यो !

आमाको साडि छोटिएर,लुङ्गि हुन्थ्यो,

बाबाको सर्ट रङ्ग,बिरङ्ग धागोले सिलिएर "इन्द्रेणी" बनिन्थ्यो !!!!

तर,हाम्रो नयाँ लुगा पक्का आउँथ्यो !!!!

फर्केर हेर्छु ती दिनहरु......

मनाउँनु छैन मलाई यो दशैँ,

न्यानो घामसँगै,त्यो दिनको चिसो यादहरु बोकेर ल्याउँछ यसले!!!

सयपत्रीको सुवाससँगै,त्यस बेलाको नमिठो गन्ध बोकेर ल्याउँछ यसले !!!

चाहिएन मलाई यस्तो दशैँ !

यो दशैँमा पनि हाम्रो आमा र बाबाको जस्तै,

कतिवटा साडिहरु टुक्रिन्दै होला, कतिवटा सर्टहरु रङ्ग,बिरङ्ग धागोले सिलिन्दै होला !!!

यो साल पनि, कत्ति,

भाई र म जस्तै,भोलिलाई पर्खेर.....

रातभरि निदाउँनै सकेको छैन होला !!!!

#Happy_Dussera !! To EveryOne!!

स्मिता_सोताङ्ग_राई
17Oct 18
....................

समय! अब त आइदे !

ए समय!

अब त आइदे,

बिहानीको मिरमिरेमा हुन्छ या त साँझको झिसमिसेमा हुन्छ,

तँ पखेटा फैलाएर आइज,त्यहि पखेटामा मलाई उचाली,

आकाशको छेउ त्यो शिखर,जहाँबाट मैले मेरो घर,घुरेन,छिमेकी,आफन्तलाई ,

छर्लङ्गै देख्न सकुँ,

त्यो उचाँईमा त पुर्याई दे !!!

ए समय!

अब त गुस्ताखी छोडि,अंगालो लगाई दे!

जसरी मैले,तैले दिएको चोट,हार,चुनौतीहरुलाई उपहार सम्झी स्वीकारेकी छु!

जसरी तैले चिथोरेको दागहरु,

तैले ल्याएको भेलबाडी गइसकेपछिको,चिरा परेको सुख्खा जमिन जस्तै रुखो क्षणलाई पनि आाफ्नै सम्झेर अंगालेकी छु!!

तलाई थाहा छैन !

म तेरो लागी कति इमान्दारी,घमण्डी छु भन्ने कुरा,

कसैले मलाई तेरो के छ ? भनेर सोद्धा !

म छात्ती फुकाएर 'मसँग समय छ' भन्ने गर्छु !!

अरु सबले हाँस्दै,रमाउँदै तिहार मनाउँदा,त्यहि तिहारमा पनि म चैँ तलाई नै पर्खेर बसेकी छु!

ए समय!

मैले तलाई यसरी पर्खेकी छु,

जस्तो कि मरुभुमीले पानीको बुँद् पर्खेको हुन्छ!

मैले तँलाई यसरी पर्खेकी छु,

जस्तो कि नानी गर्भमा आए पछि एउटी आमाले नौ महिना सकेपछिको त्यो एउटा बिहानी पर्खेर बसेकी हुन्छ !!

मैले तलाई यसरी पर्खेकी छु,

जस्तो कि एउटी चरीले गुड बुन्नलाई,झ्याम्म परेको रुखको पातहरुलाई कुरेकी हुन्छ !!

तर समय! बिन्ती छ तँलाई!

तँ जहिले आउँछस्,

दुलही जस्तै श्रृगारिएर आउनु है!

तँ नहुँदा,मलाई हेप्ने हारहरुलाई,

तेरो जन्ति देखाउनुछ मलाई!

तँ आउँदा,बिहानीको घाममा मुरली बजाउँदै आउनु है!

तँ नहुँदा,बिरहीको गीत गाउँने कोइलीलाई,

तेरो धुन सुनाउनुछ,मलाई !

तँ आउँदा,दियो जस्तै मिरिरि बलेर आउँनु है!

तँ नहुँदा,मलाई छोप्ने त्यो निष्पट अन्धकारलाई,

तेरो उज्यालो दिन देखाउनुछ,मलाई!

तर तँ जुन दिन आउँछस्!

जुन बाटो भएर आउँछस्,

जुन मौसम,जुन गल्ली,जुन मोड भएर आाउँछस्!!

आउँदा,आउँदै अन्जुली भरी खुशी पनि बोकेर आउनु है,

तँ नहुँदा,मलाई घरिघरि जिस्काउँदै कटकट दुखिरहने कमजोरीलाई,

तँ ढिलो,छिटो,!

उकाली,ओह्राली,पहाड चड्दै,समतल खस्दै,घुम्दै,घुम्दै,

सबै कहाँ आउँनु सक्ने तेरो तागत देखाउनुछ,मलाई !!!

#Have_patience !!
Right time Will come to You!!
#What_goes_around_comes_around !!

स्मिता सोताङ राई ।।
13 October 2018

-------------

पानी त अझै पनि पर्ने गर्छ ,

तर,हिजाज म घरबाटै छाता बोकेर हिँड्ने गरेको छु !!!!

स्मिता सोताङ राई ।।
11 Oct 2018

-----------

कारीगर हुँ हजूर ,

शब्दको माटोले, कहानी सजाउँछु!

कसैलाई लाजवाब लाग्छु......

धेरैलाई बेकार !!!

#I_love_writing !!
#no_matter_what !!

स्मिता सोताङ राई ।।
10 Oct

--------------

कसले कसलाई जित्यो ???

रनेले चुरोट पिउँछ!

बिहान पिउँछ,खाँजासँग चिया जस्तै पिउँछ !

फेरी पिउँछ..

दिउँसो पिउँछ,साँझमा पिउँछ,

रातमा पानीसँगै पिउँछ!!

त्यसले सोच्दा पिउँछ, नसोचि पनि पिउँछ !!

त्यसको हातमा चुरोट निर्धक्क जल्छ,

अँध्यारोमा जूनकिरी जस्तै, चम्कन्दै जल्छ.....

खरानी,भुइमा खस्दा, धुवा हाँस्दै उकालो चड्छ!!

हावासँग मिसिन्दै बादलमा हराउँछ !!

फ्याँकेको आधी 'ठुँटा' चै कुनामा लडिबस्छ !!

समय चितुवा भन्दा छिट्टो कुदेको .......

एकदिन रने ....दाउराको थाकमा,

त्यसको शरीर, खरानी हुँदै भुइमा खस्दा,

त्यसको अपूरो सपनाहरु कालो धुँवाको मुस्लोसँगै,

चिच्याउँदै, बादलमा हराउँछ !!!!

रनेको स्वास्नी र दुइ तीन भाल्डाङ,भुल्डुङ कुनामा निस्सासिन्दै रोइरहेको.....

त्यसले फ्याँकेको आधी 'ठुँटा' चुरोटले कुनाबाट त्यो दृष्य हेर्दै हाँसीरहन्छ ...

"हा,हा,हा,हा .....

बदलाको हाँसो !!!!!

#No_offence_at_all 🙏
#Smoking is the perfect way to commit suicide, without Actually Dying.....
You are Always Better off, iF U Quit #Smoking..... !!
It's Never too late!!
#Remember_Ur_Family_needs_you !!

स्मिता सोताङ राई ।।
4Oct 2018

-----------------

If One-day i will write a 📖 Book,
You Would Be A Character!
Our Life Would Be A Story!!!
#Dedicated!! Truly! I wana Write About Your Heroic Role in My LifE!! 😇
#Being_loved ❤💙💚💛💜😍

#तिम्रो_र_मेरो_कथा_के ?😜

.....................

आफ्नो इच्छा, आंकाक्षालाई हारेर,! दु:ख र संघर्षलाई हाँसी हाँसी पचाएर....

गाउँ र समाजलाई पुन निर्माण गर्न सक्ने क्षमता बोकेका ति काँधहरु,

गाउँमा लुकेर बसेका ति मसिना झिनो, ओझल परेका पोथ्राहरुलाई उखेली,

आँगनको डिल खनेर,फुलबारी बनाँउन सक्ने हातहरु....

ढुङ्गा,रोडा, आँधी बेह्री जस्तै समयहरुसँग....

जुझ्दै अगाँडि बड्न सक्ने ति पाइलाहरु!!!

नरोकियोस!! कुनै वाधा र अड्चनहरुले....

नछेकियोस!! साँझको किञ्चित अन्धकारले....!!

बिहानीको झुल्के घाममा,सदैव हुर्केको,बडेको देख्न पाउँ यी आँखाहरुले !!!

स्मिता सोताङ राई ।।
2 Oct 2018

.......

मेरो शब्दहरु कानसम्म पुग्दैन !!

यो त्यहाँसम्म पुग्छ.....

जहाँ सम्म आवाज पुग्न सक्दैन !!!

#saturdayThought
#tired_fever_dizziness !

स्मिता सोताङ राई ।।
29 Sept 2018
......................


फरक यति छ....!

बाबाले दिनुभएको 'नोट'र मैले कमाएको 'नोट'मा यति फरक छ.....

बाबाले दिनुभएको नोटमा चैँ इच्छाहरु खित्का छोड्दै पर-परसम्म पुगेर भएभरको के के बोकेर आउँथ्यो !

मैले कमाएको नोटमा चैँ इच्छाहरु 'मलाई त्यो रङ्ग मन परेन' 'मलाई रहर नै छैन' भन्दै बसिरहन्छे!!

बाबाले दिनुभएको नोट चैँ मलाई एकैक्षणको मिठो गनाउँथ्यो !

अहिले मैले कमाएको नोटमा चैँ, मलाई त्यस बेलाको बाबाको पसिना मगमग गनाउँछ!!

फरक यति छ!

स्मिता सोताङ राई ।।
23 Sept 2018
................................

त्यस बेलाको नोटको 'अंक' मात्र आँखामा टल्कन्थ्यो!!

अहिले भने त्यो नोटको कुना कुनाको आँखाबाट बाबाको पिठ्युँऊबाट बग्दै गरेको पसिनाको खोला छर्लङ्गै देख्छु !!!

फरक यति छ! बाबाले दिनुभएको नोटमा चै रहरहरु - यो भएन, त्यो भएन भन्दै घुड्की देखाएर रुन्थिन्!

अहिले, आफुले कमाएको नोटमा चै रहरहरु- थुप्रै कुराहरु नहुँदा पनि -"आ.. ...होस्! भइहाल्छ"......भन्दै मिठो हाँस्छिन् '!!

'फरक यति छ'!!!!

स्मिता सोताङ राई ।।
19 Sept 2018

...................................

रातमा अबेरसम्म अनलाइन बस्ने सबै गैरजिम्मेवारी हुँदैनन् !!

कहिले,कहिले जिम्मेवारीहरुले पनि निद्रा उडाउने गर्छ !!

स्मिता सोताङ राई ।।

19 Sept 2018

--------------

खुबै हौसला बडाको थियो, हावाले 'धुलो' को ....

तर! दुई थोपा पानीले यसलाई 'जमिन' देखाई दियो!!!!

#stay_grounded #stay_humble #stay_happy !!
Have A Productive Day Ahead 😍
#GoodMorning_vibes !!


स्मिता सोताङ राई ।।

22Sept 2018

.................



मौसमको घमण्ड त हेर....

जस्तो कि,यसले भर्खरै,

तिमीलाई छोएर आएको छ !!

स्मिता सोताङ राई ।।
9 Sept 2018
...............


जीवनहरु....

एउटा जीवन ,

गोबरले लिपेको पुरानो भान्सा कोठामा...

अगेनाको छेउको,अँध्यारो कुनामा जन्मिन्छ.. ..

आमाको न्यानो छात्तीमा,लटपटिन्छ,

....अनि उनको ढुकढुकीको गतिसँगै...

त्यो जीवन टुकुलटुकुल हिँड्न सिक्छ!

फिते चप्पल खुस्केर लड्दै, ....... उठ्नु सिक्छ !!

घाँसको भारीसँगै,जिम्मेवारीको झोला काँधमा उठाउनु सिक्छ,

फाटेको स्कूले झोला सिलाउँदा,सिलाँउदै....सपनाहरु बुन्नु सिक्छ!!

गुन्द्रुकको अमिलो झोलमा,डल्ले खोर्सानीको पिरोसँगै,

पसिनाको अमिलो 'स्वाद' चाख्छ !!

करेलाको ति... तो 'हर्ल्याङै' झोलसँगै,

जिन्दगीको नमिठो पाटाहरु पनि पिउँछ !!!

एकदिन उसले जिन्दगीको आँखामा,आँखा जुँधाएर हाँस्छ!!

अनि जिन्दगी मख्ख परेर, उसलाई हेरेको हेरेकै.....

त्यो जीवन र त्यसको जिन्दगीलाई हेर्दै गाँऊ हुर्कन्छ. ...

अनि एकदिन त्यो जीवन मर्छ,

तर मर्दैन .......

दाउराको थाकमा,कात्रो भित्र मिठो हाँस्छ!!

गाँऊको हुर्किन्दै गरेको अरु जीवनहरुमा,

त्यो जीवनको पुनर्जन्म हुन्छ !!

अर्को जीवन,....

रुवाको थाकमाथि जन्मन्छ !!

'फुलालाइन'को तातो लुगामा बेरिन्छ !!

'ललाबाई' मा निदाउँछ.... रुवा जस्तै माथि माथि उड्दै हुर्कन्छ !!

जिन्दगीलाई आरामले जवान बनाउँछ......

यो जीवन आराम,आरामकै बीचमा सेतै फुलेर बुडो हुन्छ !!

अनि एकदिन यो जीवन पनि मर्छ.....

मर्छ...... अनि हराउँछ !!

यहाँ हरेक दिन दुइटा जीवन मर्ने गर्छ!

एउटा जीवन,मर्छ ...... तर मर्दैन !!

अर्को जीवन मर्छ.....तर मरेको मरेकै हुन्छ !!!!

स्मिता सोताङ राई ।।
8 Sept 2018
.............


यहाँ हरेक जीवन मर्ने गर्छ....तर

हरेक जीवन, जिउँदैन यहाँ . ...!!!

#i_wana_die_a_perfect_death !! A death without #Regret!!

A death of satisfaction...!!

स्मिता सोताङ राई ।।
7 Sept 2018

.............


'गुडबाई साँइली'

जुन रुखको फेदनेर उभिएर,

हाम्रो सम्बन्धको दिर्घायु माङथ्यौ तिमी

त्यहि रुखमा अडेस लागेर विदा माँग्दैछौ आज..

अब, तिमी नै भन न साँइली, कुन आँटले बिदा गरौँ म तिमीलाई,

या कुन कमजोरीले रोकौँ ??

तिमीसँग न युद्ध हो मेरो,न त लडाई !

म त माया नै माया सरिको मनले माया गर्छु तिमीलाई।

तिमी नै भनन साँइली, दुनियाँको कुन तागतले थामौ यति गर्हौ मनलाई,र विदा मांगौ तिमीलाई?

साँइली निस्सासियौ हौली,

धनबिनाको मेरो मनमा,

सायद!

अथवा दाग पो देख्यौ कि मेरो रुपमा कतै,

हुनसक्छ मेरो रंगमा, रंग नै पो भेट्टाइनौ की...

साँइली, थुन्से बोक्दा चोया खिपे जस्तो

जतनले खिपेर आफ्नै घरको गारो जोडे जस्तो निस्कपट् जोडेर

गौथलीले गुँड बनाए जस्तो,

प्रेमले घोलेर मैले तिमीलाई

धनबिनाको मेरो त्यही खाली मनको पाटा भरी,

'ताज महल' भन्दा सुन्दर खडा गरेको छु!

मेरो बेरुप रुपले, चन्द्रमाले दागलाई जस्तै माया गरेको छु! मैले तिमीलाई

पक्का हो साँइली!

म तिमीलाई म जस्तै बेरंङ माया गर्छु!

कुनै दिन हावाको झोँकाले तिम्रो मनलाई छोएछ भने,

पानीको थोपाले तिम्रो ह्रृदयलाई भिजाएछ भने,

सम्झिनु,म तिमीलाई त्यस्तै बेवास्ता बहने हावा जस्तै बेरङ माया गर्छु!!

त्यही बेपरवाहा खस्ने पानी जस्तै रंङविहीन माया गर्छु॥

जाऊ साँइली जहाँ जान्छौ जाउ,

जाँदा,जाँदै बाँकी यादहरु पनि सङ्सङै लिएर जाऊ,

बरु सक्छौ भने यति भनिदिएर जाउ,

तिमी मैले नदेख्ने गरि धेरै पर पुगेर छलिए पछि,

मलमलको साडीमा,मखमली फूल बोकेर...

मेरो यादको बघैँचामा याद नै बनेर फुल्यौ भने...म भेट्न आँऊ कि नआँऊ?

तिमी बस्ने मेरो छात्तीको न्यानो भाग पनि लिएर जाऊ,

तर यति चाँही भनिदिएर जाउ तिमीले मलाई भुलिसकेपछि

मेरा धमिला यादहरु पुछेर फ्याकिसकेपछि

मैले फेर्ने श्वासको पहिलो निश्वाशमा तिमीलाई पाँए भने....

म तिमीलाई महसुस गर्नु कि,श्वासै लिनु छोडिदिनु???

नसोँच्नु,तिमी बिना म कमजोर बन्नेछु...

तिम्रो साथ नहुँदा भत्किएर ढल्नेछु....

मलाई थाह छ! आज जति दुखेको छ...

त्यसैले बनाउनेछ भोलि मलाई!

तिमी जहाँ अडिन्छौ,नयाँ घडेरी बनाउनु,

विश्वासको खाँबोमा,मायाको छानो ओडाउनु,

आँगन भरि जिन्दगी फुलाउनु,

यति कामना गर्छु यसघडि

पैह्रोमा पुरिएको मेरो मनले!!

माया थियो साँइली, युद्ध थिएन त्यो,

पराजित भएर बन्दि हुनलाई !!

नर्सुताउनु म एक्लो र खाली हुनेछु भनेर !!

एक्लै नै बाँचिरहेछ बर्षौँदेखी त्यो आकाश पनि

खाली नै हाँसीरहेछ बर्षौ देखी त्यो जून पनि!

नडराउनु पनि तिमी कहिल्ये,

पठाउँने छैन म याद तिमीलाई!

मैले तिमीलाई बिर्सेको पनि ठानी नहाल्नु,

यदि! त्यो यादको छात्तीले,

मेरो छात्तीलाई छुन सक्ने भए,

सम्झनाभित्र बाडुलीको 'ढुक ढुक' ढुकढुकीले

मेरो ढुकढुकी सुन्न सक्ने भए,

आज यो दोबाटोमा उभिएर,

दोष दिन पर्ने थिएन भाग्यलाई मैले यसरी !

तर! म त तिमीलाई बिर्सिन्दा,बिर्सिन्दै पनि,

बिर्सिन सक्तिन साँइली !!

गाडे घाऊ जस्तै गाडिएर बसेकी छौ तिमी, यो मन भित्र

समयको चोट,समयले निको पार्छ.... तर दाग??

त्यसबेला मैले जूनलाई हेरेर चित्त बुझाउनु?? या जूनको दागलाई पनि म त्यसको सहारा ठान्नु ???

कुनै दिन, तिमीले सबै थोकलाई बिर्सेको बेला हुनसक्छ

या सबै थोकलाई सम्झँदा पनि हुनसक्छ्....

कि सबै थोकलाई "सहेको" बेला पनि हुनसक्छ.... मेरो सम्झना आउँनेछ तिमीलाई!

त्यसबेला सम्झिनु मायाले 'सहन्छ'......

जान सक्छौ तिमी.....गुडबाई साँइली !!

यसघडि यति खल्लो मनलाई लिएर दुनियाँको कुन समझले सम्झाएँर भनौ,

यति मिठो गुडबाईमा कुनै उल्लास हुँदैन भनेर, कुनै स्वाद हुँदैन भनेर !!!

अब,धेर नबस साँइली !

तिमीले छोडि जान आँटेको खालीपनसँग पनि

कतै माया बस्नेछ मेरो, कतै माया बस्नेछ मेरो!!

गुडबाई साँइली !!!

#Love_is_kind #Love_is_patience ! #Love_Tolerates !!
#मायाले_सहन्छ !!

स्मिता सोताङ राई ।।
30 August 2018

.................



'केरला तर्दैछ'

बाढिले केरला बगायो....

घरको छाना छोप्यो,

आँगन पुर्यो!

तर!सपनाहरु! आशाको पुल हिँडेर...


#अझै_तर्दैछ !!

पानीले शरीरलाई निथ्रुक्क भिजाए पनि,

केरलाको आँखामा पिँडा सुख्खै रुँदैछ!

यसको छात्तीको हरियो पाटा,भत्ताभुङ्ग भत्किए पनि,

उब्रिएको बन्जर पाखामा,झिनो आशाहरु उम्रिन्दैछ!

यसघडि,यो यति भिजेको छ,

बिहानीको,सिङ्गो घामले पनि सुकाउन सक्दैन यसलाई...

यसलाई यति दुखेको छ ,

मलहमपट्टिले यति छिट्टो निको पार्दैन यसलाई !!

बाडिले बगाउन नसकेको पाटाहरु,

यसघडि आँशुमा चुर्लुम्म डुब्दैछ!!

भेलले पुर्न नसकेका पाखाहरु,

अहिले, चोट र शोकमा पुरिन्दैछ !!

तर! पानी पानीको बीच,

भविष्यको डुङ्गा चड्दै,


#तर्दैछ_केरला

माटो र ढुङ्गाको थाक बीच,

आँशुको घुटको पिउँदै


#तङ्गरिन्दैछ_केरला

केरला,अब तिमी जहाँ उम्रिन्छौ,

त्यहि फुल्नु,फुलै फुल बीच लटरम्मै फल्नु !!

अनि फेरि एउटा 'युग' खडा गर्नु,

भेल बाडिले बगाउन नसक्ने दह्रो "भोलीलाई" जन्माउँनु !!!

केरला, जति तिमीलाई दुखेको छ..

यसघडि म पनि त्यति नै दुख्दैछु.....!!!


Prayers 🙏

#lets, pray For Kerala 🙏
#lets, stand together for Kerala
"Humanity" is A Language that Everyone can Understand ...
The Sole meaning Of Life iS to Serve "Humanity"!!

स्मिता सोताङ राई ।।
27 Aug 2018
.............


"गोरुको काँध"

एउटा गोरुले बन्जर जमिनलाई

बलले तानेर फुटाउँछ!

काँधमा जुवाको भारी झुण्डाउँछ

मुखमा 'मोहलो'को ताला झुण्डाएर

हलोलाई एकोहोरो तानी रहन्छ....

चर्को घामले त्यसको ढाँड च्यात्छ,

बेलुकीको दर्कने त्यो च्यातिएको घाउँमा भरिन्छ ...

तर! दिउँसो बजेको सिर्कुनाको आवाजलाई,

भुल्न सक्दैन त्यसले,नाथे एक अंगालो घाँसले. .

भुल्न सक्दैन त्यसले, हलीको नमिठो गालीलाई,

नाथे एक मुठी परालले !!!

हो त्यहि बुडो गोरु,मेरो,तिम्रो,हाम्रो "बाबु" हो

गोरु त बारी जोतिसके पछि बिसाउँछ,

काँधलाई घामले सेकाउँछ,खुरलाई आरामले तेर्साउँछ...

तर "बाबु"! जीवन भर जोत्तिरहन्छ...

'होर्रा' भन्दा घुम्दै, 'ह,ह' भन्दा अडिन्दै

बाबु जोत्तिरहन्छ....त्यो चर्को घाममा,वर्खे झरीमा...

आँशुलाई पसिनामा मिसाएर,भन्न मन लागेका कुरालाई

मोहलो जस्तै कुण्डी मुखमा झुण्डाएर,

बुडो गोरुले बन्जर जमिन फुटाए झैँ...

जोत्तिरहन्छ बाबु जीवनको त्यो बन्जर पाटाहरु भत्काउँन ...

त्यो बुडो गोरु त कहिले कहिले औैशीँ पूर्णेमा बिसाउँछ,

मख्ख सुत्छ! तर 'बाबु' काने गोरु हो

बाबुलाई न औशीँ,न पूर्णे

बाबुलाई बस् दिनभरी जोत्तिनु पाउँनुसँग मतलब छ !!

बाबु जोत्तिनु भनेको चैँ बेलुकीको घाँस,पराल जुट्नु हो!

बाबु जोत्तिनु भनेको बेलुकी पेट अघाएर,अनुहार हाँस्नु हो !!

फेरी वर्खा आउँछ! अब बुडो गोरुले आङ तन्काउँछ !

खेतमा जोत्तिनलाई खुर दह्रो बनाउँछ

त्यो खेतमा जोत्तिन्छ ....

धानको लहलह बिउलाई हेरेर, मोहलो भित्र थुक निल्दै जोत्तिन्छ ...

तर! तर! हिउँदमा त्यसले पराल खान्छ!!!

अर्को मौशमसम्मलाई आरामले बिसाउँछ !!!

तर! बाबु दिनभरि जोत्तिएर पनि

'ब्याडे'को मसिना धानलाई

बिहान,बेलुकी सुमसुम्याउन पुग्छ !!

एकदिन, आफू जोतिएर खनेको खेतको गह्रामा,हिलो,हिलो छानेर रोपिदिन्छ !!

जतिजति धान बड्दै जान्छ,उति उति बाबुको काँध पिल्सिन्दै जान्छ!!

जतिजति धानमा बाला लाग्दै जान्छ,

त्यति त्यति बाबुको खुर फाँटिन्दै जान्छ !!

तर,भाल्डाङ भुल्डुङ धानको बोट जस्तै हातहरुले

लहलह बाबुको गालामा छुँदा ..

'बाबु' मख्ख निदाउँछ,काँधलाई बिसाएर....

बालामा,भरी भरी धानहरु भरिन्दा

बाबु गजक्क हाँस्छ जुवा,हलो,सिर्कुना बिर्सेर ..

कहिले,कहिले त बालीलाई कसैले छोइ पो देला कि...

चुडिएर भुइमा पो झर्ला कि, कसैको नजर पो लाग्ला कि भनेर बाबु "गोरु" देखि "गोठाला" पनि हुनेगर्छ !!!

अनि बाबुले हिउँदको सपना देख्नथाल्छ !

न्यानो घाममा,आरामले खुर तेर्साएर....

मैले उमारेको अन्नको स्वाद चाख्छु....

परालमा आराम गरेर बिसाउँछु भन्छ !!!

तर, बाबुको जीवन भनेको नै "गोरुको काँध" रहेछ ...

जसरी बुडो गोरुको काँधमा जुवाको छाप मेटिन्दैन,

बाबुको जीवनमा जोत्तिनु मेटिन्दैन !!

न त बाबुको जीवनमा हिउँद आउँछ,न त परालमा आराम नै गर्छ !

बुडो गोरु भन्दा अभागी त बुडो बाबु रहेछ ....

बाबुले उमारेको धान, हिउँद नआई कोहि'नुनिया'सँग साँटिएछ,

कोहि 'बासमति' जस्तै महँगो भएछ.....

धेरै जस्तो त "शामा" पो निस्किएछ !!!!

तर, यदि तिमी धानको बोक्राबाट निस्किएर चामल बनिएको छौ भने...

कोहि,कोहि बेला तिम्रो बाबुले खाने अलुवा चामलसँग साटिएर आउनु कि

अनि हेर्नु- तिमी ब्याडेमा, सानो सानो उम्रिन्दा

तिमीलाई न्यानो पार्ने "सोत्तर" खोज्न जाँदा,

हातमा,काँडाले घोँचेको खिल अझै आलै छ !

तिमीलाई हिलोमा गाँड्दा, तिम्रो ढाँड भाँचिन्छ कि भनेर

हातको औँलाले रोडाहरु कोट्याउँदा गएका "उचिराहरु" अझै उस्तै छ !!

तिमी धानको बाला जस्तै, मगमग गन्हाउँदै ठमठम हिँड्दा...

ठेलै सरिको हातले पक्रेर चुमेको तिम्रो गाला....

राम्ररी हेर्नु "छाप" अझै त्यहिँ होला.....

छाप अझै आलै होला ......

#Dear_fathers,
I salute Your Sacrifices!! #Dear_superheroes !!
This Poem is Really Close to My heart... When my father Heard this poem ....He Had tears in His Eyes!!!
I LovE YoU #PaPa!! I Respect Your Life!!
Thank You So MucH PapA, for providing Us Such a comfortable life...!! Thank you for Giving us, A Life full of Joy...!!
I can't imagine My life Without You....
Thank you For being My #first_love, #first_hero,#first_dream,#first_hope !!!

आई लभ यु पापा !!!! ❤ ❤ ❤....

स्मिता सोताङ राई ।।
23 Aug 2018

....................................

'सास सँगैको लाश' ....

मैले सुनेको, मान्छे मर्दा कसैको खुट्टा,कसैको नाकबाट सास जान्छ रे...

यो कुरा मैले सुनेको मात्र हुँ...

तर मैले यहाँ मान्छेको सास गएको होइन ...

मान्छे मरेको देखेको छु ....

कति भोकले,कति डरले,कति रोगले,धेरै जसो शोकले मरेको देखेको छु....

कतिले ईश्वरलाई भूत ठानेर...

धेरै जसो भूतको पछि पछि शमशानघाट तिर लम्केर मरेको देखेको छु...

मैले थुप्रै सपनाहरुलाई दाउराकोमा थाकमाथि सुतेको देखेको छु..

थुप्रै रहरहरुलाई,आवाजहरुलाई,योग्यताहरुलाई कात्रो भित्र बेह्रिएको देखेको छु...

मर्नेहरु बाँच्दैछन् यहाँ!

बाँच्नेहरु मर्दैछन्...

हो! यहाँ मान्छे मर्दैछन्...

दिनँहु मर्दैछन्....

सास गएर होइन,साससँगै मर्दैछन् मान्छे यहाँ..

लाश भएर होइन,

बाँचेरै मर्दैछन् मान्छे यहाँ ....!!!

साससँगै लाश बन्दैछन् मान्छे यहाँ .......

स्मिता_सोताङ_राई ।।
10 Aug 2018

.............

यहाँ यस्तै छ.......


आकाश शिर निहुराएर धरतीलाई हेरीरहन्छ .....

म शिर उचालेर

आकाशलाई ताकी रहन्छु....

आकाश चैँ धरती कतै मुस्काउछिन् कि भनेर गुनगुनाइरहन्छ .....

अनि म कतै आकाश पानी बनेर आउँछ कि भनेर,पर्खीरहन्छु....

जीवन यसरी नै चलिरहेछ.....

'उसले' 'उसलाई' हेरेर...

मैले 'उसलाई' पर्खेर नै जीवन बितिरहेछ .....

यसमा दोष छैन कसैको,

आकाशले धरतीलाई हेर्नु, मैले आकाशलाई पर्खनु एउटा,एउटै हो ....

ऊ 'दिवाना' म 'दिवानी' !!!!

स्मिता_सोताङ_राई ।।
5 Aug 2018


............


जब झुसुले किराले त्यसको जीवन सकिएछ भनेर सोँच्छ नि .... ..... तब त्यो 'पुतली' भएर उड्न थाल्छ !!

तपाईको जीवन, तपाईको सोँचमा निर्भर छ !!

स्मिता_सोताङ_राई ।।
18 July 2018

.................


शिक्षित उ होइन, जसले धेरै थाक किताब पढेको छ !!शिक्षित उ हो जसले जीवनलाई अध्ययन गरेर, धेरै बुझेको छ ! किनकी, शिक्षा जीवनको निमित्त तयारी होइन ..... शिक्षा आफै नै "जीवन" हो !!!!

स्मिता_सोताङ_राई ।।
12 July 2018
...........


उफ !! Airtel,

तिम्रो बाटो हेरेकोले आँखा टट्टाई सक्यो !!!

तिमीलाई पर्खेकोले 'आशा' मरिसक्यो !!!

सबभन्दा साह्रो त, 'टाशी सिम' चलाकोले पैसा स्वाहा भइसक्यो !!

स्मिता_सोताङ_राई ।।
18 June 2018
....................

मैले बुझेको यति जिन्दगीलाई


कहिले भान्सा कोठाको भाँडाकुडा सँग नाँचदा नाँचदै मैले सोचेको जिन्दगीलाई!!

कहिले कुच्चोले कसिङगर बटुलदै समझेको जिन्दगीलाई !!

कहिले,फूलबारीको झार गोड्दा गोड्दै,घुरेनको शिरुबारी हेरेर, सोँचेको जिन्दगीलाई!!

हरेक महिना जोड् र घटाऊको हिसाब नमिल्दा, खोजेको जिन्दगीलाई !!

कहिले कहिले,निधार भएर बगेको पसिनामा चाखेको जिन्दगीलाई !!

यति बुझदा, यति बुझेको मैले जिन्दगीलाई !!!

बर्खे झरिमा धान रोप्नु होइन जिन्दगी !

साँईला दाजूले भुइमा बसेर डोको बुन्नु जस्तो पनि होइन जिन्दगी !!

जिन्दगी, टनटलापूर घाममा बारीको डल्ला फोर्नु हो !!

जिन्दगी, चट्टानको बाटो हिँड्नु हो !!

जिन्दगी, कमिलाले चिनीको डल्ला बोक्नु जस्तै हो !!

जिन्दगी, रोबर्ट ब्रुसको कथामा माकुराले भित्ता चड्नु जस्तै हो !! जति चड्छ जिन्दगी, त्यति नै झर्छ जिन्दगी !!!

जति चड्ँछ ..... त्यति झर्छ ....

तर जब, एकदिन !जिन्दगी कथाको माकुरा जस्तै धेरै पल्ट्मा माथि उक्लिन्छ नि !!!

तब फर्केर हेर्नु !!! वाह ! क्या, स्वादिलो छ जिन्दगी !!!!!


#Life is Not a piece Of cake!! #Life is all about Struggle, hardship, And Hope!!!
#struggle, hardships, hurdles, pain, Failure, and hope -those beautiful elements completes "Life"

स्मिता_सोताङ्ग_राई
13 June 2018
..............

'यहाँ सपना देख्नु साह्रो छैन'


म कहिले सपनालाई बिल्डिङ जस्तै माथि,माथिसम्म उठाएर हेर्छु !

कहिले सयपत्रीलाई जस्तै लसकरै उन्छु !

कहिले काँहि त चङगा जतै म पनि सपना सङगै माथि,माथि उड्छु !!

तर! खै मेरो सपनाको घडेरी कमजोर भएर हो कि !

मैले उनेको सयपत्री नै कलिलो भएर पो हो कि !!

कि त! म उड्ने चङगाको धाँगो नै खिएर हो ...

सपनाहरु सबै भत्केर,खुस्किएर,चुडिएर छरपष्ट् पोखिन्छ!!!

यहाँ सपना देख्नु साह्रो छैन !!

तर ! भुइभरि पोखिएर,टुक्रिएको सपनाहरुलाई बटुलेर फेरी जोड्न चाँहि .... धेरै,धेरै नै गाह्रो छ !!!

'यहाँ सपना देख्नु साह्रो छैन' !!!!

स्मिता_सोताङ्ग_राई
6 June 2018

....................


जब एक दिन सबै रुखहरु काटिएर, ठूला ठूला घरहरु बनिनेछ,

खोला खोल्सा सुकेर, सड़कहरु खनिनेछ, अनि हामी आफूलाई सभ्य मान्नेछौँ !!

त्यो दिन हामीलाई महशुस हुनेछ,"पैसा" खाएर मान्छे अघाउन् वा बाँच्न सक्दैन भन्ने कुरा !!

स्मिता_सोताङ_राई ।।
5 June 2018

........

जीवन नामको खिड्कीबाट पर्दा उघारी यसो हेरेको !

चुनौतीहरु एक पछि अर्को होड बाजि गर्दै म तिरै आउँदै थियो !!

मलाई दबाउँन,हराउँन,टुटाउँन, मेरो धैर्यतालाई तोड़न !!!

म पनि मुसुक्कै हाँसेर त्यसको आँखामै हेरेर भनिदिए--- आउँदै गर!! स्वागत् छ!! म तिमीहरुकै पर्खाईमा छु !!

किनकी, मलाई दह्रो बनाउने, नयाँ बनाउने,अनि मलाई "म" बनाउने तिमी 'महानुभाव' हरु नै त हौ ।

#टु डियर #

स्मिता_सोताङ_राई ।।
3 June 2018

0 Response to "स्मिता सोताङ् राईका कविताहरु ...ह्याप्पी भेलेनटाइन्स् डे ......... Happy नयाँ वर्ष २०२०......... अन्तिम पत्र तिमीलाई ............. स्वतन्त्रताको एउटा दिन ..........पिरियड ईज माई प्राइड -रगतको गर्व ............हली.....बाबु.........म पनि घर हुँ............गाउँ......... मृत्यु शैया.... के,तिमी मन पराउँछौ मलाई .... मेरीआमा...... उनको कौमार्य.... आज थाहा हुँदैछ सानु..... 'गुडबाई साँइली'"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.