
हिमालय फरेस्ट भिलेजर्स अर्गनाइजेसनद्वारा विनय तामाङको वक्तव्यको विरोध ..... विनय तामाङले तीन दिनभित्रमा माफी माग्नुपर्छ – लिला गुरुङ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 10 जुलाई | हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका सचिव लिला कुमार गुरुङले पत्रकार सम्मेलन आयोजना गरेर गोजमुमो अध्यक्ष विनय तामाङले लगाएका सम्पूर्ण आरोपहरूलाई आधारहिन भन्दै जनता समक्ष माफी माग्नुपर्ने माग गरेका छन्। उनले आफुलाई लगाएका गम्भीर आरोपहरूका निम्ति विनय तामाङले माफी माग्नुपर्ने तीन दिनको समय सिमा पनि तोकेका छन्। यदि माफी नमागे मानहानिको मुद्दा दर्ता गर्ने चेतावनी दिएका छन्।
जनसभा अवधी लगाएका सम्पूर्ण आरोपहरूको एकपछि अर्को जवाब दिनेक्रममा गुरुङले 15 लाख रूपियाँ मागेको आरोपबारे आफ्नो स्पष्टिकरण दिँदै विनय तामाङले माफी माग्नुपर्ने माग गरेका हुन्। ‘यो 15 लाखको जुन कुरा छ यसबारे उहाँले (विनय तामाङले) सार्वजनिक रूपले आगामी तीनदिन भित्रमा जनतासामु माफी नमागे अथवा प्रमाण नगरे हामी मानहानीको मुद्दा गर्न बाध्य हुनेछौँ।’
लिला गुरुङले अझ भने -‘15 लाखको कुरा कहिल्यै गरिएको छैन। एनएचपीसीले 2004 मा 2 करोड दिँदा समेत हामीले त्यसलाई नकारेर आन्दोलनलाई जारी राखेर सर्वोच्च न्यायालयमा समेत गएको हो।’ उनले सङ्गठनबाट 5 हजार उठाएको आरोपलाई पनि अस्वीकार गरेका छन्। ‘कुनै पनि सङ्गठनलाई हामीले 5 हजार दिनु भनेका छैनौँ। यसबारे कसैलाई पनि सोधे थाह लाग्नेछ’ गुरुङले स्पष्टिकरण दिँदै भने।
‘विनय तामाङले हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन अनि मेरो नाउँ लिएर जे जति आरोपहरू लगाए ती सबै आधारहीन आरोपहरू हुन्’ लिला गुरुङले अझ भने –‘हामीले बनअधिकार कानुनलाई लिएर काम गरिरहेका छौँ। कसैलाई ढाँट्ने काम गरेका छैनौँ।’
उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा उल्टै तामाङले आफ्नो भाषणमा जनतलाई ढाँट्ने कार्य गरेको आरोप लगाए। ‘विनय तामाङले बनबासीको अधिकारको कुरालाई अघि बडाउँनको साटो उल्टै हामीलाई आरोप लगाउने काम गरे। यसले हामी दुखीत छौँ’ लिला गुरुङले अझ भने ‘एउटा राजनैतिक दलले शोषित पीडित जनताको पक्षमा काम गर्ने सङ्गठन विरुद्ध आरोप लगाउनु न्यायसङ्गत होइन।’
गुरुङले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा सेभोक रम्फु रेलमार्ग निर्माण हुँदा जीटीएको पक्षबाट विनय तामाङले रेल्वे विभागसँग राखेका मागहरू मानिलिएको भन्ने वक्तव्यको पनि खण्डन गरेका छन्। ‘तामाङले सेभोक रम्फु रेलमार्ग निर्माण हुँदा चारवटा रेल्वे स्टेशनहरू बनिने जुन दाबी गरेका छन् त्यो झुटो हो। किनभने तत्कालिन रेलमन्त्री ममता ब्यानर्जीले शिल्यान्यास गर्दा रियाङ, गेलखोला, तिस्ताबजार, मल्ली र रम्फु भनेर त्यसबेलाकै डीपीआरमा छ। यो उहाँले सोझै जनतालाई ढाँटेका हुन्’ लिला गुरुङले भने।
यसैक्रममा गुरुङले बनबासीहरूले आजसम्म पर्जा पट्टा पाउन नसक्नुमा पञ्चायत चुनाव नभएको बयानको पनि प्रतिक्रिया दिएका छन्। उनले बनअधिकार कानुनमा ग्राम पञ्चायतको कुरा छैन भन्दै ग्राम सभाको कुरा रहेको अनि ग्राम सभाले कसरी कार्य गर्छ भन्ने विस्तृतमा रहेको पनि बताएका छन्। ‘उहाँले धेरै गाली गरे तर बनबासीको अधिकारको कुरा भने कहीँ गरेनन्। केवल आक्षेप मात्र लगाए’ गुरुङले भने।
अर्कोतर्फ लिला गुरुङले बन अधिकार 2006 लागु नगरेसम्म कुनै पनि बिकास कार्यहरूका निम्ति आफुहरूले एनओसी नदिने स्पष्ट पार्दै सरकारलाई सहयोग नगर्ने पनि स्पष्ट पारेका छन्। यसक्रममा विनय तामाङले आफुलाई अहिलेघरी कहाँ गयो? किन बोल्दैनन्? भने प्रश्न गरेको पनि जवाद दिँदै आफुहरूले बनबासीको अधिकार प्राप्तिको निम्ति आन्दोलनलाई कसरी अघि बडाउने भन्दै साङ्गठनिक कार्य गरेको जानकारी दिएका छन्। उनले बनबासीको अधिकार प्राप्तिको निम्ति आन्दोलनलाई अघि बडाउँन सम्पूर्ण बनबासीका प्रतिनिधीवर्गलाई लिएर गोरुबथानमा एउटा सभा आयोजना गरेर कोर कमिटि समेत तयार पारिसकेको जानकारी दिएका छन्।
कालेबुङको दुःख निवारक सम्मेलनमा अर्गनाइजेसनका दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ र तराई डुवर्सका कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा अन्यले पनि विनय तामाङले लगाएका सम्पूर्ण आरोपहरूको खण्डन गरेका छन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा कालेबुङ जिल्ला समितिका मुख्य संयोजक शरण राईले विनय तामाङलाई बन अधिकार कानुनबारे केही जानकारी नभएको आरोप नै लगाए। कोर कमिटी संयोजक बबित गुरुङ, खरसाङका राजकुमार रिजाल, फुर्वा छिरिङ शेर्पा, निरकुमार मगर, निमा शेर्पा आदिले पनि विनय तामाङको जमेर आलोचना गर्दै बनबासीहरूको अधिकारको निम्ति उनले केही कार्य नगरेको आरोप लगाएका छन्।
0 Response to "हिमालय फरेस्ट भिलेजर्स अर्गनाइजेसनद्वारा विनय तामाङको वक्तव्यको विरोध ..... विनय तामाङले तीन दिनभित्रमा माफी माग्नुपर्छ – लिला गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.