-->
पाँच दिवसीय भ्रमणमा ममता ब्यानर्जी आइपुगीन् कालेबुङ

पाँच दिवसीय भ्रमणमा ममता ब्यानर्जी आइपुगीन् कालेबुङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 28 मई। आज साँझ मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिवसीय भ्रमणमा कालेबुङ आइपुगीन्। उनी बाघडोग्रा हवाई अड्डाबाट सडकमार्ग हुँदै कालेबुङ साँझ ठिक 6:05 बजे आइपुगेकी हुन्। यस अवसरमा कालेबुङको थानाडाँडादेखि डम्बर चौकसम्म सडकका दुवै किनारामा बसेका गोजमुमो अनि तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरूले उनलाई भव्य स्वागत जनाए ।
मुख्यमन्त्रीलाई स्वागत गर्न थानाडाँडामा तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरू हातमा दलीय झण्डा बोकेर उभिएका थिए। यता थानाडाँडादेखि डम्बरचौकसम्म भने गोजमुमो पार्टीका कार्यकर्ताहरू सडकको दुवै किनारामा दलको झण्डा बोकेर बसेका थिए। उनी कालेबुङ शहर प्रवेश गरेपछि ‘ममता ब्यानर्जी जिन्दावाद’-को नाराले शहर गुञ्जिएको थियो।
गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अनि 105 दिनको बन्दपछि मुख्यमन्त्री ममता ब्यानर्जी प्रथमपल्ट् कालेबुङ आइपुगेकी हुन्। उनलाई स्वागत गर्नलाई गोर्खा जनमुक्ति मोर्चा अनि तृणमूल कार्यकर्ताहरू विभिन्न ठाउँहरूबाट कालेबुङ आइपुगेका थिए। यसका साथै उनलाई कालिझोडा, रम्बी, टिस्टा आदि स्थानहरूमा पनि स्वागत जनाइएको थियो।
कालेबुङ शहर प्रवेश पछि मानिसहरूले उनलाई स्वागत गर्दै ‘ममता ब्यानर्जी जिन्दावाद’को नारा लगाउँदा उनले वाहनबाटै हात हल्लाएर अभिवादन स्वीकार गरेकी थिइन्। मानिसहरूको स्वागतलाई उनले शहरमा पैदल हिँडेर् अभिवादन स्वीकार गर्ने अपेक्षा गरिए पनि उनी वाहनबाट भने ओर्लिनन्।
प्राकृतिक मौसमले दिएन साथ
बिहान धुम्म बनेको मौसम दिउँसो घाम लागेर खुल्ला बनेको थियो। यसक्रममा बिस्तारै शहरमा तृणमूल अनि गोजमुमो कार्यकर्ताहरू मुख्यमन्त्रीलाई स्वागत गर्न भेला हुन थालेका थिए। समय बित्दै जाँदा अनि मुख्यमन्त्री कालेबुङ प्रवेश गर्नै लाग्दा एका-एक मौसम बिग्रेपछि हावापानी परेको थियो। बंगोप सागरमा सृष्टि भएको निम्न चापको असरको कारण पर्न लागेको पानीको कारण दलीय झण्डा बोकेर मुख्यमन्त्रीको स्वागतमा बसेका मानिसहरूको भीड छताछुल्ल बन्न परेको थियो। पछिबाट केही उघिएपछि पुन: मानिसहरू भेला भएर स्वागत गर्न सडकमा ओर्लिएका थिए। यसक्रममा शहरमा सुरक्षा व्यवस्थाको कठोर बन्दोबस्त गरिएको थियो।
नगरपालिकाले स्वागतमा दिउँसै लगायो झाडु
मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतलाई केन्द्र गरेर कालेबुङ नगरपालिकाले आज दिउँसै कालेबुङ शहरको सडकमा झाडु लगायो। मुख्यमन्त्रीको स्वागतमा कालेबुङ नगरपालिकाले प्रथमपल्ट शहरको सडकमा दिउँसै झाडु लगाएको हो। मुख्यमन्त्रीको कालेबुङ आगममा शहरको बाटो सफा देखाउनलाई नगरपालिकाले दिउँसै सफाई कर्मचारीवर्ग लगाएर सडकका मैलाहरू सफाई गरेको थियो। नगरपालिकाले यहाँको 8 माइल स्थित पेट्रोल पम्पदेखिनै झाडु लगाएर सडक सफा गरेको छ। सडकका छेउ कुनामा रहेको सम्पूर्ण मैला अनि फुटपाथहरूलाई पूर्णरूपले बडालेर सफा गरेको छ। कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानको विशेष सक्रियतामा उक्त बाटो सफाई गर्ने कार्य भएको हो।
स्वागतमा लगाइएको होर्डिङ फ्याँकियो
मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागतका निम्ति लगाइएको होर्डिङ फ्याकिदिएका छन्। डा. ग्राह्म होम्स बिद्यालय नजिक मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतमा लगाइएको उक्त होर्डिङ फ्याँकिएको पाइएको छ। राती उक्त होर्डिङ फ्याँकिएको अनुमान गरिएको छ। त्यस क्षेत्रमा लगाइएका मोठ तीनवटा होर्डिङहरू मानिसहरूले निकालेर फ्याँकिदिएका छन्।

Related Posts

0 Response to "पाँच दिवसीय भ्रमणमा ममता ब्यानर्जी आइपुगीन् कालेबुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.