-->
 नेवार बिकास बोर्डका अध्यक्ष विरुद्ध प्राथमिकी दर्ता .....अधिकारको कुरा गर्न जाँदा धम्काउने कार्य गर्‍यो – फिरोज प्रधान

नेवार बिकास बोर्डका अध्यक्ष विरुद्ध प्राथमिकी दर्ता .....अधिकारको कुरा गर्न जाँदा धम्काउने कार्य गर्‍यो – फिरोज प्रधान


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ,2 अप्रेल। पश्चिम बङ्गाल नेवार विकास बोर्डका अध्यक्ष सुनिल प्रधानले बोर्डका कार्यकारी सदस्यहरूलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ। जसको विरुद्धमा नेवार विकास बोर्डका कार्यकारी सदस्य फिरोज प्रधानले प्राथमिकी दर्ता समेत गरेको एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। 

गत 30 मार्चका दिन पश्चिम बङ्गाल नेवार विकास बोर्डको मुख्य कार्यलय खर्साङमा आयोजित बोर्डको साधारण सभामा उपाध्यक्ष दिपक प्रधान लगायत सदस्यहरू उज्ज्वल प्रधान, सुदेश प्रधान, सागर प्रधानसँगै आफुलाई बाहिर निकालेर अभद्र व्यवहार गरेको कार्यकारी सदस्य फिरोज प्रधानले दाबी गरेका छन्।

विशेष गरेर आफुले सभामा बोर्डका कतिपय कार्यप्रणालीहरूलाई लिएर कुरा उठाउने भनेपछि बोर्डका अध्यक्ष सुनिल प्रधानका दुईजना मानिसहरूले उपाध्यक्ष लगायत पाँचजना सदस्यहरूलाई सभाबाट बाहिर निकाल्ने कार्य गरेको आरोप लगाएका छन्। उनले उक्त नेवार बोर्डको सभामा अध्यक्ष सुनिल प्रधानका दुईजना मानिसहरू क्रमैले बिक्कि राई अनि दोर्जे तामाङले आफुहरूलाई बाहिर धकेल्दै निकालेको कारण आफुहरू असुरक्षित बनेको भन्दै बोर्डका अध्यक्ष विरुद्ध थानामा प्राथमिकी दर्ता गरेको जानकारी दिएका छन्। आफुहरू बोर्डको सभामा नेवारहरूको हक अधिकारको कुरा गर्न जाँदा बोर्डका अध्यक्षले धम्काउने प्रयास गरेको फिरोज प्रधानले दाबी गरेका छन्।

‘बोर्डका उपाध्यक्ष लगायत हामी पाँचजनालाई अध्यक्षका दुईजना केटाहरू बिक्कि राई र दोर्जे तामाङले सभाबाट धकेल्दै बाहिर निकाल्ने कार्य गर्‍यो। त्यसपछि मलाई असुरक्षित लागेपछि अध्यक्ष सुनिल प्रधानको नाउँमा प्राथमिकी दर्ता गरेको छु’ – फिरोज प्रधानले भने। पत्रकार सम्मेलनलाई सम्बोधन  गर्ने क्रममा उनले पश्चिम बङ्गाल सरकारले 8 नोभेम्बर 2016 का दिन नेवार विकास बोर्डको गठनपछि बोर्डको सभामा आफुहरूलाई केवल एकचोटी मात्र बोलाएको आरोप पनि लगाएका छन्।

यसक्रममा 30 मार्चको सभामा आफुहरू कालेबुङ जिल्लाका नेवारहरूको निम्ति बोर्डको कार्यप्रणालीमा पारदर्शिता हुनपर्ने माग उठाउँन लाग्दा बोर्डका अध्यक्षले दुईजना नेवार समुदायसमेत नरहेका व्यक्तिहरू लगाएर दुर्व्यवहार गरेको उनले आरोप लगाएका छन्। यसक्रममा उनले कालेबुङका नेवारहरूले अध्यक्ष सुनिल प्रधानको माध्यमबाट कुनै सहुलियत पाउन नसकेको भन्दै अब कालेबुङ जिल्लामा वसोवास गर्ने नेवार समुदायका निम्ति सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने सरकार समक्ष माग गरेका छन्।

उनले नेवार बोर्ड गठनपछि सरकारले घर बनाउँनको निम्ति 5 करोड दिएको बताउँदै जसबाट कालेबुङले केवल 44 वटा मात्र घर पाएको पनि बताएका छन्। अर्कोतर्फ उनले नेवार बोर्ड गठन हुँदा सरकारले प्रकाशित गरेको अधिसूचनामा बोर्डको कार्यप्रणाली सम्बन्धि साधरण सदस्यहरूले समेत आवाज उठाउँन सक्ने प्रावधान रहेको भन्दै यता बोर्डबारे आफुहरूले आवाज उठाउँदा भने अध्यक्षले बोल्नै नदिएको उनले आरोप लगाएका छन्। यता खर्साङबाट खोलिएको नेवार (प्रधान) कल्याण एसोसिएसन-को सदस्यता लिएका मानिसहरूले मात्र नेवार बोर्डबाट सहुलियत पाउने भनिएको भन्दै सरकारले दिएको बोर्डमा त्यस्तो केही उल्लेख नरहेको पनि बताएका छन्। उनले यस सम्बन्धमा जिल्लापालले पनि जाँच गर्नुपर्ने माग गरेका छन्।

अर्कोतर्फ उनले बोर्डका अध्यक्ष सुनिल प्रधानले कालेबुङमा रहेका नेवार समुदायलाई भाषा, साहित्य र संस्कृतिको विकासका कार्य गर्नको साटो नेवार समुदाय माझमा नै फुटाउने कार्य गरेको आरोप लगाएका छन्।

यता उक्त आरोपहरूबारे नेवार बिकास बोर्डका अध्यक्ष सुनिल प्रधानलाई फोन गरेर प्रतिक्रिया लिन चाहँदा उनीसँग फोनमा सम्पर्क हुन सकेन।  

Related Posts

0 Response to " नेवार बिकास बोर्डका अध्यक्ष विरुद्ध प्राथमिकी दर्ता .....अधिकारको कुरा गर्न जाँदा धम्काउने कार्य गर्‍यो – फिरोज प्रधान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.