-->
साहित्य लेख्नेहरू पनि राजनीतिमा आउनुपर्छ – सञ्जय विष्ट

साहित्य लेख्नेहरू पनि राजनीतिमा आउनुपर्छ – सञ्जय विष्ट

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 25 अप्रेल। ‘पहिलेका साहित्य लेख्नेहरू सबैनै राजनीतिमा सक्रिय थिए। अहिले साहित्य लेख्नेहरू भने राजनीतिदेखि टाडा छन्। अब साहित्य लेख्नेहरू पनि राजनीतिमा आउनुपर्छ’ उक्त कुरा कालेबुङ महाविद्यालयका प्राध्यपक एवम् कथाकार सञ्जय विष्टले भनेका हुन्। टाउन हलमा आयोजित शिवकुमार राई शतवार्षिकी समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित विष्टले धेरैजना साहित्यकारहरूले सक्रिय राजनीतिज्ञको भूमिका निर्वाह गरेको उदाहरण दिँदै कथाकार शिवकुमार राईले समेत आफ्ना जातिका निम्ति राजनीति गरेको बताए।
‘शिवकुमार राईलाई गोर्खाहरूको बङ्गालमा बसेर उन्नती हुन सक्दैन भन्ने थाह थियो। त्यसैले उनले आफ्ना जातिका निम्ति धेरै कार्यहरू गर्नुपर्छ भनिसकेका छन्। उनले त व्यापार बाणिज्यमा समेत हाम्रा मानिसहरूले अघि बड्नुपर्छ भनेका छन्। आज उनका भनाईहरू हेर्दा उनी दूरदर्शी थिए भन्ने पाउँछौँ’ कथाकार विष्टले भने। राईले अखिल भारतीय गोर्खालिग पार्टीको स्थापनामा सक्रिया भूमिका निर्वाह समेत गरेको विष्टले बताए। वास्तवमा अखिल भारतीय गोर्खालिग गठन हुनको पछि गोर्खाहरूका निम्ति सर्वभारतीय स्तरमानै एउटा दह्रिलो राजनैतिक दल हुनपर्छ भन्ने सोंच राखेर गठन गर्नमा शिवकुमार राईले भूमीका निर्वाह गरेको विष्टले बताए। आफ्नो छोटो सम्बोधनको क्रममा उनले शिवकुमार राईको राजनैतिक व्यक्तित्वबारे चर्चा गर्दै कथाकारिताबारे पनि अवगत गराए थिए।
‘शुद्ध रूपमा राजनीति गर्नेहरू र साहित्य लेखेर राजनीति गर्नेहरूको दृष्टिकोण फरक हुन्छन्। किन भने साहित्यकारहरूको तेस्रो आँखा हुन्छन् अनि उनीहरूको तेस्रो आँखाले समाजमा अरूले देख्न नसकेका कुराहरू समेत देखेर कार्य गर्न सक्छन्। यसकारण पनि साहित्यकारहरू राजनीतिमा आउनुपर्छ भन्ने लागेको हो’ सञ्जय विष्टले अझ भने। यसक्रममा उनले कथाकार शिवकुमार राईले सामाजिक अन्धविश्वासका कुराहरू हटाउनुपर्छ भन्ने विचार भारत स्वतन्त्र हुन अघि नै सन् 1941 तिर गरेको उदाहरण पनि प्रस्तुत गरे। उनले आफ्नो सम्बोधनको क्रममा कथाकार शिवकुमार राई समयको धेरै ख्याल गर्ने व्यक्ति रहेको भन्दै उनले समयको जुन मोल सिकाएका छन् त्यसलाई अरूले समेत पालन गर्नुपर्ने आह्वान गरे।
शिवकुमार राई शतवार्षिकी समारोह समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई सप्तश्री ज्ञानपिठका निर्देशक तपन कुमार प्रधानले अध्यक्षता गरेका थिए भने भुवन पी खनालले सवागत सम्बोधन राखेका थिए। स्वागत सम्बोधन राख्दै खनालले पनि राई सम्बन्धि आफ्नो विचार प्रकट गरेका थिए। अमिर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा कालेबुङका युवा कथाकार छुदेन काबिमोलाई सम्वर्द्धना पनि जनाइएको थियो। मुख्य अतिथिका रूपमा उपस्थित सञ्जय विष्टको बाहुलीबाट कथाकार छुदेन काबिमोलाई दोसल्ला ओढाएर अनि स्मृति पत्र प्रदान गरि सम्मान जनाइएको थियो।
कार्यक्रममा क्लुनी महिला महाविद्यालयका सह-प्राध्यपक धनबहादुर मंगरले शिवकुमार राईमाथि वार्ता प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीवर्ग अनि संघ संस्थाका कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

0 Response to "साहित्य लेख्नेहरू पनि राजनीतिमा आउनुपर्छ – सञ्जय विष्ट"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.