जापसँगै क्रामाकपाले उठायो त्रीस्तरीय पञ्चायत चुनावको माग
डी.के.वाइबा, कालिमन्युज, दार्जीलिङ 5 अप्रेल। जन आन्दोलन पार्टीले पहाडमा पञ्चायत चुनाव हुनपर्ने माग राखेको छ। पार्टीका केन्द्रीय ब्युरो सदस्य युसुफ सिमिकले आज एक पत्रकार सम्मेलन गरेर जन आन्दोलन पार्टी पञ्चायत चुनावको पक्षमा रहेको स्पष्ट पारेका छन्। पश्चिम बङ्गालको राज्य चुनाव आयोगले विभिन्न जिल्लाहरूमा पञ्चायत चुनावको घोषणा गरेपछि पहाडमा पनि पञ्चायत चुनाव हुनपर्ने माग उठ्न थालेको हो। ‘जन आन्दोलन पार्टी पञ्चायत चुनावको पक्षमा छ। हामी पहाडमा पञ्चायत चुनाव हुनपर्छ भन्ने माग गर्छौँ’ युसुफ सिमिकले भने। राज्यभरी पञ्चात चुनावको घोषणापछि ग्रामीण क्षेत्रमा वसोवास गर्ने मानिसहरूले पञ्चायत चुनावबारे पार्टीले आफ्नो अडान स्पष्ट पार्नुपर्ने माग गरेको भन्दै जाप पञ्चायत चुनावको पक्षमा रहेको अडान स्पष्ट पारेको बताएका छन्।
युसुफ सिमिक |
विशेष गरेर दार्जीलिङ गोर्खा पार्वत्य परिषद गठनपछि भारतीय संविधानको धारा 243(एम) ले पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव हुन नसक्ने भएपछि जीटीए गठन भएर पनि अहिलेसम्म पहाडमा पञ्चायत चुनाव भने हुन सकेको छैन। संविधानको धारा 243(एम) लाई सरकारले संशोधन नगरेको कारण पहाडमा अहिलेसम्म त्रीस्तरीय पञ्चायत चुनाव हुन नसकेको हो। यस्तो अवस्थामा उक्त संविधानको धारा 243(एम)लाई संशोधनको पहल गर्नलाई जन आन्दोलन पार्टीले आफ्नो पक्षबाट पहल गर्नेपनि युसुफ सिमिकले स्पष्ट पारेका छन्। ‘संविधानको धारा 243(एम)लाई लिएर जुन समस्या छ त्यस समस्या सुल्झाउनका निम्ति जापले जे-जस्ता कार्यहरू गर्नपर्नेछ त्यो गर्नेछौँ। हामी विभिन्न ठाउँहरूमा यसबारे पत्रचारको कार्यहरू पनि आरम्भ गर्नेछौँ’ युसुफ सिमिकले भने। पहाडमा पञ्चायत चुनाव अतिनै आवश्यक रहेको भन्दै उनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउनका निम्ति समेत पञ्चायत चुनाव महत्वपूर्ण रहेको युसुफ सिमिकले बताएका छन्। ‘छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति जन आधार चाहिएको छ। हामी पञ्चायत चुनाव मार्फत् पहाडका जनता छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा छ भन्ने पनि देखाउनेछौँ’ सिमिकले भने। उनले पञ्चायत चुनाव पहाडमा गराउनका निम्ति भारतको कानुन मन्त्रालय, केन्द्र सरकार, बङ्गालको पञ्चायत विभाग सबै ठाउँहरूमा जन आन्दोलन पार्टी जान तयार रहेको भन्दै जीटीएले पनि पञ्चायत चुनाव गराउनका निम्ति सरकारलाई पत्रचार गर्ने कार्य गर्नुपर्ने माग गरेका छन्।
मोहन पौड्याल |
उनले दागोपापको सम्झौता अनुसार भारतको संविधानको धारा 243(एम) ले त्रीस्तरीय पञ्चायतमा असुविधा भए दुईस्तरीय पञ्चायत चुनाव सरकारले गराउन चाहे त्यसलाई पनि स्वीकार्ने स्पष्ट पारेका छन्। यद्यपी संविधानको धारा 243(एम) संशोधन गरेर त्रीस्तरीय पञ्चायतको पहल हुनपर्ने पनि माग राखेका छन्। उनले आजसम्म सही ठाउँमा पत्रचारहरू नभएको कारण पनि सरकारले पञ्चायत चुनाव नगराएको आरोप लगाएका छन्। ‘जीटीए गठनपछि जीटीए सभाले पञ्चायत चुनावको प्रस्ताव पारित गरेर राज्य सरकारलाई पठाउनुपर्ने थियो। त्यसपछि राज्यले पहल गर्नुपर्ने थियो तर, त्यसो हुन सकेन’ युसुफ सिमिकले भने। उनले हालमा दार्जीलिङ अनि कालेबुङ छुट्टा-छुट्टै जिल्ला भएको कारण त्रीस्तरीय पञ्चायत चुनाव भए जीटीएको क्षमतासँग कुनै असुविधा समेत नहुने विचार व्यक्त गरेका छन्।
अर्कोतर्फ क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले पनि पहाडमा पञ्चायत चुनाव हुनपर्ने माग गरेको छ। क्रामाकपा कालेबुङ आञ्चालिक समितिका सचिव मोहन पौड्यालले पञ्चायत चुनाव नभएको कारण ग्रामीण क्षेत्रका मानिसहरूले धेरै समस्याहरू भोग्न परिरहेको दाबी गरेका छन्। सरकारद्वारा ग्रामीण विकासका निम्ति लागु गरिएका विभिन्न योजनाहरू पञ्चायत चुनाव नभएको कारण ग्रामीण क्षेत्रका जनता सरकारी सहुलियतसँग समेत बञ्चित बन्न परिरहेको आरोप लगाएका छन्। यसक्रममा सरकारले शहरी क्षेत्रमा मानिसहरूको विकासका निम्ति जसरी नगरपालिका चुनाव गराउने कार्य गरिरहेको छ त्यसरी नै पञ्चाय चुनाव पनि गरेर ग्रामीण क्षेत्रका जनतालाई पञ्चायती राजको सुविधा दिनुपर्ने मोहन पौड्यालले माग गरेका छन्। उनले बङ्गालको अन्य जिल्लाहरूमा पञ्चायत चुनाव हुँदा पहाडी क्षेत्रमा भने पञ्चायत चुनाव नहुनु दुर्भाग्यजनक रहेको भन्दै यदि सरकारले पहाडको साँचो विकास गर्न चाहन्छ भने पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव गराउनुपर्ने क्रामाकपा कालेबुङ आञ्चलिक समितिका सचिव मोहन पौड्यालले माग गरेका छन्।
0 Response to "जापसँगै क्रामाकपाले उठायो त्रीस्तरीय पञ्चायत चुनावको माग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.