-->
समाजमा शिक्षाको खेती गर्दै ड्रप आउट विद्यार्थी ‘विपल’

समाजमा शिक्षाको खेती गर्दै ड्रप आउट विद्यार्थी ‘विपल’

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 1 मार्च। पुस्तकालय निर्माण गर्नु कुनै सानो कुरो होइन। अहिलेका पुस्ताहरू झन् ई-पुस्तक पढ्न चाहनेहरू मात्रै धेर छन्। यद्यपी हाम्रा समाज भने ई-पुस्तकमानै भर पर्न भने सक्दैनन्। यस्तो अवस्थामा विद्यार्थी अनि युवा जमातलाई पुस्तक पठनप्रति अग्रसर गराउने उत्साही युवा हुन् ‘विपल रसाईली’। उनै युवा विपल रसाईलीको एकल प्रयासमा ‘मन्सोङ पुस्तकालय’को शाखा आज कालेबुङमा उद्घाटन गरिएको छ।

यहाँको थाना डाँडा नजिक शर्मा बिल्डिङमा आज कालेबुङ बिज्ञान केन्द्रका प्रमुख डा. बी बी गुरुङको बाहुलीबाट उक्त मन्सोङ पुस्तकालयको शाखा रिबन काटेर उद्घाटन गरेका हुन्। यस अवसरमा डा. बीबी गुरुङसँगै पत्रकार अरुण कुमार रसाईली, सन्दिप जैन आदि पनि उपस्थित रहेका थिए। प्रदिप लोहागुणले सञ्चालन गरेको कार्यक्रममा कवि टिका भाइ अनि छेवाङ योञ्जनले कविता पाठ गरेका थिए।

विपल रसाईली एकजना ड्रप आउट विद्यार्थी हुन्। आफु जस्तो पुस्तकहरूको अभावमा आजका युवा जमात ड्रप आउट हुन नपरोस भनेर नै उनले पुस्तकालय सुरु गरेका हुन्। जब समयलाई चिनेर बाँच्नका निम्ति शिक्षाको महत्त्व बुझिन्छ त्यस बेला मात्रै ड्रपआउट हुनुको पीडाले पिल्साउँछ। हो त्यही पीडाले पिल्सिएर हुर्किएका युवा हुन् विपल रसाइली।

सन् २०१० को कुरा मात्रै हो। त्यस बेला विपल रसाइली १८ वर्षका जवान थिए। आठौँ श्रेणी पढ्दा-पढ्दै उनी ड्रपआउट भएर जसो तसो नीजि प्रयासमा बाह्य परीक्षार्थीका रूपमा माध्यमिक लेखेका थिए। दुर्भाग्यवश उनी पुन: माध्यमिक परीक्षामा पनि फेल भए। फेल हुनुमा आफ्नो अध्ययनको कमजोरी त थियो नै तर समाजबाट भने जस्तो अध्ययनका निम्ति उत्साह नपाउनु अर्को कारण पनि थियो। जब आठौँ श्रेणीबाट ड्रपआउट हुनु र माध्यमिक फेल हुनुको चटारोमा चेप्टिए तब समाजमा ‘शिक्षाको खेती गर्न’ तम्सिए विपल रसाइली।

मन्सोङ सिन्कोना कमानका श्रमिक मनबहादुर रसाइली अनि चन्द्रकला रसाइलीका कान्छा छोरा हुन् – विपल रसाइली। १३ जनवरी १९९२ का दिन जन्मेका विपलले ठुलो मान्छे हुने सपना साँचेका थिए। तर शिक्षाको अभावमा आफूले सोँचेको जस्तो ठुलो मान्छे हुन सकेनन् उनी। जब ड्रप आउट भए अनि बुझे उनले शिक्षाको महत्त्व। त्यसपछि नै उनले ‘शिक्षाको खेती गर्ने’ फराकिलो सोच सङ्गालेर घरको एउटा कोठाबाट सुरु गरे पुस्तकालयको आरम्भ। समाजमा शिक्षाको खेती गर्नाका निम्ति उनले सुरु गरेका पुस्तकालयमा सुरुका दिनमा केवल ३६ वटा पुस्तकहरू मात्र थिए। उक्त पुस्तकहरू पनि उनले दसैँको लुगा किन्न बाबाले दिएका एक हजार पैसाबाट किनेका थिए। त्यहीँ पैसाले किनेका 36 वटा पुस्तकहरू बटुलेर बिपल रसाईलीले मन्सोङ लाइब्रेरी सुरु गरेका हुन्। मन्सोङ पुस्तकालयको सफल सञ्चालन पछि उनले त्यहीँ पुस्तकालयलाई बडोत्तरी गर्दै कालेबुङ शहरमा शाखा विस्तार गरेको बताएका छन्।

‘विद्यार्थीहरूले सहजै पुस्तकहरू पड्न सकोस् भन्ने चाहना राखेको हुँ। आफुले पुस्तकको अभाव जसरी भोग्न पर्‍यो त्यस्तो समस्या उनीहरूलाई नहोस् भन्ने आफ्नो चाहना हो’ विपल रसाईली भन्छन्। उनले गाउँका विद्यार्थीहरू शहरमा पड्न आउँदा शहरमा सहजै पुस्तकहरू किन्न नसकेको अवस्थामा आफुले पुस्तकालय मार्फत् उपलब्ध गराउने चाहना रखेको पनि बताएका छन्। ‘कालेबुङ शहरमा पुस्तकालय खोल्नु सपनामा मात्रा सिमित थियो। जसलाई आज साकार रूप दिनु पाउँदा धेरै खुशी महशुष गरिरहेको छु’ विपल रसाईलीलो शाखा पुस्तकालको उद्घाटनपछि भने। यसक्रममा उनले गाउँबाट शुरू भएको सानो अभियान सहर ल्याउनुमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगिहरू प्रति आभार प्रकट गरेका छन्। 

Related Posts

0 Response to "समाजमा शिक्षाको खेती गर्दै ड्रप आउट विद्यार्थी ‘विपल’"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.