-->
जाप युवा एकाइले गर्‍यो शिर मुण्डन ...... सरकारको कालो नीतिको विरोधमा हो शिर मुण्डन – भुपेन राई

जाप युवा एकाइले गर्‍यो शिर मुण्डन ...... सरकारको कालो नीतिको विरोधमा हो शिर मुण्डन – भुपेन राई

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 नोभेम्बर।  जन आन्दोलन पार्टीको युवा एकाइले आज कपाल मुण्डन गरेको छ। पश्चिम बङ्गाल सरकारको कालो नीति विरुद्ध अनि गोर्खाल्याण्ड माग्ने दलका नेताहरूले सहिदको टाउको 2 लाखमा बेचेको आरोप लगाउँदै त्यसैको प्रतिवाद जनाउँन जाप युवा एकाइले उक्त शिर मुण्डन गरेको हो। प्रशासनले सार्वजनिक स्थलमा कपाल मुण्डन गर्ने अनुमति नदिएपछि जाप युवा एकाइका मोठ 15 जना कार्यकर्ताहरूले स्थानीय पार्टी कार्यलयमा नै कपाल मुण्डन गरेर साङ्केतिक विरोध गरेका थिए। उनीहरूले कपाल मुण्डन गरेपछि कालेबुङको डम्बर चौकमा आइपुगेर पर्चा समेत वितरण गरेका थिए।
‘कपाल मुण्डन बङ्गाल सरकारको कालो नीति विरुद्द हो। बङ्गालले गोर्खाहरूलाई छिन्न भिन्न गर्ने नीतिको विरोधमा हो। गोर्खाल्याण्डको मागलाई दबाउने जुन चलखेर गरिरहेको छ त्यसको विरोधमा हो। यसका साथै पहाडमा नेताहरूले गोर्खा सहिदहरूको टाउकोलाई 2 लाखमा बेच्ने प्रयास गर्दैछन् त्यसको पनि साङ्केतिक विरोध हो यो कपाल मुण्डन’ भुपेन राईले कपाल मुण्डनपछि पत्रकारहरूलाई भने। 
केन्द्र अनि राज्य सरकारले गोर्खाहरूप्रति बारम्बार गरिरहेको अवहेलनाको विरुद्धमा जाप युवा एकाइले थालेको यस कपाल मुण्डन कार्यक्रमलाई जारी राख्ने पनि राईले बताएका छन्। यसक्रममा उनले गोर्खाल्याण्डको मागलाई सरकारले दबाउने कार्य गरेको विरोधमा भारतभरी छरिएका सम्पूर्ण गोर्खाहरूले नै कपाल मुण्डन गरेर साङ्केतिक विरोध गर्ने अपिल समेत गरेका छन्। उनले कपाल मुण्डन कार्यक्रमलाई हेर्दा सामान्य देखिए पनि यो सरकारको विरुद्धमा गरिएको साङ्केतिक विरोधको अभियान हो भन्दै राज्य सरकारको नीति अनि जीटीए सँग सन्तुष्ट नभएका जनताले आफ्नो विरोध कपाल मुण्डन गरेर देखाउन सक्ने भुपेन राईले बताएका छन्।  
अर्कोतर्फ जाप युवा एकाइका बिशाल राईले पश्चिम बङ्गालमा गणतन्त्र छैन भन्दै दिर्घकालिन गोर्खाल्याण्डको मागलाई प्राप्ति गर्नका निम्ति सम्पूर्ण राजनैतिक दलहरू एकबद्ध बनेर अघि बड्नुपर्ने आह्वान समेत गरे। यसक्रममा उनले गोर्खाल्याण्ड आन्दोलन पछि सरकारले स्थापित गरेको जीटीए अनि हिल एरिया डेभलभमेन्ट जस्ता बिकासका एजेन्सिहरूले गोर्खाल्याण्डको चाहनालाई पुरा गर्न नसक्ने भन्दै केन्द्रले झट्टै त्रिपक्षीय वार्ता मार्फत् गोर्खाल्याण्ड राज्य गठनको प्रक्रियालाई अघि बडाउनुपर्ने आह्वान गरेका छन्। 
‘दुईचारवटा राजनैतिक दलका नेताहरूलाई दुई-चार करोड रूपियाँमा किनेर छुट्टै राज्यको मागलाई छोप्न सक्दैन। सरकारले यस कुरालाई बुझेर संवैधानिक प्रक्रिया अनुसार राज्य गठनको निम्ति उचित पदक्षेप लिनु पर्नेछ। यस कार्यको निम्ति केन्द्र सरकारलाई जापले अपिल गर्दछ’ बिशाल राईले अझ भने। 

0 Response to "जाप युवा एकाइले गर्‍यो शिर मुण्डन ...... सरकारको कालो नीतिको विरोधमा हो शिर मुण्डन – भुपेन राई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.