-->
कालेबुङ नगरपालिकाले बिनय गुटको समर्थन गर्ने ? ....नगरपालिकामा चाँढै न्यानो घाम लाग्नेछ – रवी प्रधान

कालेबुङ नगरपालिकाले बिनय गुटको समर्थन गर्ने ? ....नगरपालिकामा चाँढै न्यानो घाम लाग्नेछ – रवी प्रधान

डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 नोभेम्बर। गोर्खा जनमुक्ति मोर्चाको कब्जामा रहेको कालेबुङ नगरपालिकाले बिमल गुरुङकै साथ दिएर बस्ने हो अथवा बिनय तामङ गुटलाई समर्थन गर्ने हो भन्ने आजसम्म निर्णय गर्न सकेको छैन। यस्तो अवस्थामा आज कालेबुङ नगरपालिकाको 23 नम्बर वार्डकी नगरपार्षदिका लहमु भोटियालाई कालेबुङ पुलिसले पक्राउ गरेको हल्ला फैलिएको थियो।
यसबारे कालेबुङ थानामा पुगेर जानकारी लिँदा उनलाई आधिकारिक पक्राउ गरेको भने पुष्टि हुन सकेन। जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले पनि समाचार लेखुञ्जेलसम्म पनि नगरपार्षदिका भोटियाको पक्राउबारे आधिकारिक पुष्टि गरेनन्। यद्यपी नगरपार्षदिका लहमु भोटियालाई कालेबुङ पुलिसले उनकै वासस्थानबाट कुराकानी गर्न भनेर थानामा ल्याएको थाह लागेको छ।
पुलिसले उनलाई सोधपुछ गर्नका निम्ति अथवा पक्राउ गरेर थानामा ल्याएको भन्ने सन्दर्भमा भने कसैले पुष्टि गरेनन्। थानामा ल्याइपुर्यााएकी नगरपार्षदिका भोटियालाई बिमल गुरुङ गुटको मानिएको कारण अनि आजसम्म कालेबुङ नगरपालिकाले बिनय गुटलाई खुलेर समर्थन नगरेको कारण निवार्चित सदस्यहरूलाई थानामा ल्याउनु वास्तवमा चाप सृष्टिको राजनीति रहेको सम्भावना रहेको छ। यस्तो अवस्थामा पनि कालेबुङ नगरपालिकाको निर्वाचित वोर्ड भने मौनता साँचेर बसेको छ।
‘कालेबुङ नगरपालिकाको 22 जना वार्ड पार्षदहरूसँग वैठक भयो। उनीहरूले हामीलाई साथ दिएर अघि बड्ने निर्णय गरेका छन्। अब चाँढै उनीहरूले पत्रकार सम्मेलन गरेर यसको आधिकारिक घोषणा गर्नेछन्’ जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसन उपाध्यक्ष अनित थापाले 9 नोभेम्बरका दिन मोटर स्ट्याण्डमा आयोजित जनसभाबाट उक्त घोषणा गरेका थिए।
कालेबुङ नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण नगरपार्षदहरूले आफुहरूलाई समर्थन गर्ने अनित थापाले घोषणा गरेको 10 दिन बितेर जाँदा समेत यता कालेबुङ नगरपालिकाको निर्वाचित बोर्डले भने बिमल गुरुङ अथवा बिनय तामङ कसैलाई पनि आधिकारिक खुलेर समर्थनको घोषणा गर्न सकेको छैन। जसको कारण अहिलेघरी सबैको नजर कालेबुङ नगरपालिकाको निर्वाचित बोर्डमाथी अडेर बसेको छ।
छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै चलेको अनिश्चितकालिन बन्दलाई राज्य सरकारसँग दुईपक्षिय वार्ता गरेर बिनय तामङले एकाएक फिर्ताको घोषणा गरेका थिए। अनिश्चितकालिन बन्द फिर्ताको घोषणापछि विवादको घेरोमा परेका गोजमुमो नेता बिनय तामङले जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्षको पदभार 25 सितम्बरका दिन ग्रहण गरेका हुन्। चारैतिर विरोधका सम्मुखिन बनेर पनि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्षको पदभार सम्हालेका बिनय तामाङ अनि उपाध्यक्ष अनिता थापाहरूको गुटलाई बिस्तारै समर्थन प्राप्त हुँदै गइरहेको छ। यस्तो अवस्थामा दार्जीलिङ नगरपालिका अनि खर्साङ नगरपालिकाको निर्वाचित बोर्डले उनीहरूलाई साथ दिने घोषणा गरिसकेको छ भने गोजमुमोकै कब्जामा रहेको कालेबुङ नगरपालिकाको निर्वाचित बोर्डले भने बिनय तामङ गुटलाई समर्थनको घोषणा गर्न सकेको छैन। जसको कारण हालमा कालेबुङ नगरपालिकाको बोर्ड कब्जा गर्ने होडमा बिनय तामङ गुट सक्रिय रहेको एकजना निर्वाचित सदस्यले आफ्नो नाउँ उल्लेख नगर्ने सर्तमा बताएका छन्।
"आजसम्म कसलाई समर्थन गर्नु? भन्ने प्रश्नको चुडान्त निर्णय हुन सकेको छैन। यसबारे नगरपालिकाको निर्वाचित सदस्यहरूले चर्चा परिचर्चा गरिरहेका छन्। यद्यपी अन्तिम निर्णय भने अझसम्म निस्कन सकेको छैन" उनले अझ भने। पहाडको राजनैतिक परिस्थितिलाई मध्यनजर राखेर कालेबुङ नगरपालिकाको निर्वाचित बोर्डले पनि आगमी केहिदिन भित्रमा चुडान्त निर्णयको घोषणा गर्नसक्ने उक्त निर्वाचित नगरपार्षदले दाबी गरेका छन्।
यता हालमा बिनय तामाङ गुटलाई खुल्ला समर्थन गरेर अघि आएका वार्ड नम्बर 3 का निवाचित सदस्य रवी प्रधानले भने कालेबुङ नगरपालिकाको निर्वाचित बोर्डले झट्टै निर्णय लिनपर्ने समय आएको बताएका छन्।
‘हालमा कालेबुङ नगरपालिकामा रहेका सबै नगरपार्षदहरूले नै अहिलेको स्थितिमाथि चर्चा परिचर्चा गरिरहेका छौँ। हामीले समयको फल समयमा नै खानुपर्छ। समयभन्दा अघि अथवा समय भन्दा फल खाँदा त्यसको वास्तविक टेस्ट पाउँदैनौँ। यसकारण अब कालेबुङ नगरपालिकामा पनि चाँढै न्यानो घाम लाग्नेछ भन्ने हामीलाई विश्वास रहेको छ’ नगरपार्षद रवी प्रधानले भने।
उनले अहिलेघरी जनताको चाहनालाई लिएर नगरपालिकाले ठिकसँग काम गर्न नसकिरहेको बताउँदै जनताको काम गर्नका निम्ति पनि निर्वाचित नगरपार्षदहरूले सही निर्णय लिने समय आएको बताएका छन्।
‘हामीले नगरपालिकामा निर्वाचित सदस्यहरूसँग चर्चा परिचर्चा गरिरहेका छौँ। चाँडै एउटा राम्रो रिजल्ट निस्कनेछ भन्ने हाम्रो विश्वास छ’ रवी प्रधानले अझ भने। उनले कालेबुङ नगरका जनताले सम्पूर्ण नगरको विकास गर्नका निम्ति नगरपार्षदहरू चुनेर नगरपालिकामा पठाएको बताएका छन्। सोहिकारण सम्पूर्ण नगरपार्षद नगरवासी जनताको चाहना पुरा गर्न मिलेर अघि बडौँ भन्ने चर्चा भइरहेको अनि यसबरे चाँढै निर्णय हुनसक्ने पनि बताएका छन्।
यता अहिलेसम्म बिमल गुरुङ अथवा बिनय तामङ गुटलाई खुल्ला समर्थनको घोषणा नगर्ने कालेबुङ नगरपालिकामा बोर्ड कब्जाको होडमा तृणमूल कङ्ग्रेस समेत भित्र भित्रै सक्रिय रहेको स्रोतले दाबी गरेको छ। यसबारे नगरपार्षद रवी प्रधानलाई प्रश्न गर्दा उनले उक्त कुरा स्वीकार समेत गरेका छन्। ‘नगरपालिका वास्तवमा राजनीति गर्ने ठाउँ होइन। तर बिमल गुट बिनय गुट अथवा तृणमूल पन्थीको कुरा अघि आइरहेको छ। हामीले यसलाई पनि गम्भीरतासँग चर्चा गरिरहेका छौँ। यस्तो अवस्थामा हालमा म स्वंय अनि साथी कुनाल प्रधानले बिनय तामङ गुटलाई समर्थन गरेर काम गर्दैछौँ भने नगरपालिकामा भित्रिने प्रयास गरिरहेको तृणमूल कङ्ग्रेसलाई रोक्नका निम्ति पनि त्यहीँ झण्डा भएको त्यही गोजमुमो पार्टीको बिनय गुटलाई समर्थन गरेका हौँ’ नगरपार्षद रवी प्रधानले स्पष्ट पारे।
‘हामीले हाम्रा साथीहरूलाई पनि बुझाउने प्रयास गरिरहेका छौँ। साथीहरूबाट राम्रै फिडब्याक पाइरहेका छौँ’ रवी प्रधानले थप भने।
‘नगरपालिकाको निर्वाचित वोर्डको कुनै फेरबदल गर्न परे त्यस बोर्डको मियाद 6 महिना पुगेको हुनपर्छ। हाम्रो निर्वाचित बोर्डको 6 महिनाको कार्यकाल आगामी 29 नोभेम्बरका दिन पुरा हुनेछ। यदि भविष्यमा कुनै द्विविधा आएको खण्डमा अथवा बोर्ड परिवर्तन गर्नै पर्ने अवस्था आएको खण्डमा हामी काम गर्नेछौँ अनि आगामी नोभेम्बर 30 देखि दिसम्बरको पहिलो साताभित्र चुढान्त निर्णय हुनेछ’ नगरपार्षद रवी प्रधानले अझ भने।

0 Response to "कालेबुङ नगरपालिकाले बिनय गुटको समर्थन गर्ने ? ....नगरपालिकामा चाँढै न्यानो घाम लाग्नेछ – रवी प्रधान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.