-->
कालेबुङ नगरपालिकाको 14 जना नगरपार्षदले जनायो बिनय गुटलाई समर्थन

कालेबुङ नगरपालिकाको 14 जना नगरपार्षदले जनायो बिनय गुटलाई समर्थन

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 25 नोभेम्बर। कालेबुङ नगरपालिकाको निर्वाचित 14 जना नगरपार्षदहरूले आज गोजमुमो बिनय गुटलाई समर्थन जनाएका छन्। निर्वाचित 14 जना नगरपार्षदहरूले आज गोजमुमो महासचिव अनित थापासँग डेलोस्थित याखा रिसोर्टमा वैठक गरेर बिमल गुरुङको साथ छोडेर बिनय तामङ गुटलाई समर्थन जनाएका हुन्। गोजमुमो बिनय गुटलाई समर्थन जनाउँनेहरूमा वर्तमान नगरपालिका उपाध्यक्ष सोनाम याखा समेत रहेका छन्। यस भन्दा अघि कालेबुङ नगरपालिकाबाट केवल दुईजना नगरपार्षदहरू क्रमैले रवी प्रधान अनि कुनाल प्रधानले मात्रै बिनय तामङ अनि अनित थापा गुटलाई समर्थन गरेर अघि आएका थिए भने अन्य नगरपार्षदहरू भने मौन बसेका थिए।
कालेबुङ नगरपालिकालाई आफ्नो अधिनमा पार्नका निम्ति प्रयासरत रहेको गोजमुमो बिनय गुटले आखिरमा बाजी मार्ने निश्चित बनेको छ। यस्तो अवस्थामा गोजमुमो (बिनय गुट) महासचिव अनित थापा शुक्रबार नै कालेबुङ आएका थिए भने आज उनले नगरपालिकाका 14 जना निर्वाचित नगरपार्षदहरूको समर्थन लिन सक्षम भएका छन्। ‘कालेबुङ नगरपालिकाको 22 जना नगरपार्षदहरूसँग अघिबाटै बैठक बसिसकेका थिएँ। बिचमा केही उतार चडाव भयो। आज हाम्रो समर्थनमा 15 जना निर्वाचित नगरपार्षदहरूले समर्थन जनाएका छन्। अब हामी कालेबुङ नगरपालिकामा बोर्ड बनाउँनका निम्ति बहुमतमा आएका छौँ’ अनित थापाले पत्रकारहरूले भने। उनले आगमी 30 नोभेम्बर पछि मात्र नयाँ बोर्ड गठनको निम्ति अविश्वास प्रस्ताव ल्याउन सकिने बताउँदै सबै कार्य नियम अनुसार गर्ने गर्ने स्पष्ट पारेका छन्।
यता अघिबाटै बिनय गुटको समर्थन गर्ने नगरपार्षद रवी प्रधानले भने कालेबुङ नगरपालिकाको 17 जना निर्वाचित सदस्यहरू आफुहरूको समर्थनमा रहेको दाबी गरेका छन्। ‘हाम्रो समर्थनमा 17 जना नगरपार्षदहरू छन्। आज बैठकमा केवल 14 जना मात्र भए पनि अन्य 3 जनाले हामीलाई समर्थन गरिसकेका छन्’ रवी प्रधानले भने।
दार्जीलिङ अनि खर्साङ नगरपालिकाको निर्वाचित बोर्डहरूले गोजमुमो बिनय तामङ गुटलाई समर्थन गरिसक्दा समेत कालेबुङ नगरपालिकाको निर्वाचित बोर्ड भने मौन बसेपछि सबैको ध्यान कालेबुङ नगरपालिकामा नै अडेको थियो। यस्तो अवस्थामा आज कालेबुङ नगरपालिकाको 14 जना निर्वाचित नगरपार्षदहरूले खुलेर गोजमुमो बिनय तामङ अनि अनित थापालाई समर्थन गरेपछि अब कालेबुङ नगरपालिका बिमल गुरुङको पकडबाट फुत्किने स्पष्ट बनेको छ। 
निर्वाचित बोर्डले सोझै बिनय गुटलाई समर्थन नगरेको कारण अब कालेबुङ नगरपालिकामा बिनय गुटलाई समर्थन गर्नेहरूले नयाँ बोर्ड बनाउने सम्भावना समेत स्पष्ट बनेको छ। 23 वटा आसन रहेको कालेबुङ नगरपालिकामा निर्वाचित नगरपार्षद बरुण भुजेलको मृत्युपछि अहिले केवल 22 जना मात्र नगरपार्षदहरू रहेका छन्। यस्तो अवस्थामा बोर्ड बनाउनका निम्ति केवल 12 जना निर्वाचित नगरपार्षदहरूको समर्थन आवश्यक पर्छ भने 14 जनाले खुल्ला समर्थन गरेपछि अब कालेबुङ नगरपालिकामा बिनय गुटको बोर्ड गठन हुने बाटो तय भएको छ। यद्यपी कालेबुङ नगरपालिकामा आगमी 29 नोभेम्बरका दिनसम्म भने नयाँ बोर्ड बनिन सक्ने कुनै सम्भावना नै छैन। किन भने अघिबाट बनिएका बोर्डलाई भङ्ग गरेर नयाँ बोर्ड बनाउँनका निम्ति अविश्वास प्रस्ताव ल्याउन गठित बोर्डको कार्यकाल 6 महिना पुरा गरेको हुनपर्दछ। यस्तो अवस्थामा कालेबुङ नगरपालिकाको निर्वाचित बोर्डको 6 महिनाको कार्यकाल आगमी 29 नोभेम्बरका दिन मात्र पुग्नेछ। जसले गर्दा यदि नयाँ बोर्ड गठन गर्न परे अविश्वास प्रस्ताव 30 नोभेम्बरका दिन पछिमात्रै ल्याउन सकिने प्रावाधान रहेको छ। यसकारण कालेबुङ नगरपालिकामा नयाँ निर्वाचित बोर्ड आगमी 30 नोभेम्बर अथवा दिसम्बर महिनाको पहिलो साताभित्र हुने सम्भावना भने व्यापक रहेको छ।  
गोजमुमो बिनय गुटलाई समर्थन गर्ने निर्वाचित नगरपार्षदहरू मध्ये वर्तमान उपाध्यक्ष सोनाम याखा समेत रहेका छन् भने उनलाई अघिबाटै बिमल गुरुङको अत्यन्तै नजिकका मानिन्दै आएको हो। बिमल गुरुङका अत्यन्तै नजिक मानिने सोनाम याखा समेतले गोजमुमो बिनय तामङ गुटलाई खुलेर समर्थन गरेपछि अन्य नगरपार्षदहरू पनि बिस्तारै समर्थनमा आउने सम्भावना रहेको छ। निर्वाचित नगरपार्षद बरुण भुजेलको मृत्यु पछि 22 जना नगरपार्षद रहेको कालेबुङ नगरपालिकामा 18 जना गोजमुमो पार्टीका हुन् भने 2 जना जन आन्दोलन पार्टीबाट रहेका छन्। अन्य 2 जना नगरपार्षद भने तृणमूल कङ्ग्रेसको टिकमा बिजयी बनेपनि गोर्खाल्याण्ड आन्दोलनमा उनीहरूले तृणमूल त्यागेर गोजमुमो पार्टीमा समाले भइसकेको कारण हालमा मोर्चाको 20 जना नगरपार्षद रहेको छ। जसमध्ये 14 जनाले समर्थन गरेपछि अब बिमल गुरुङको समर्थनमा भने केवल 6 जना नगरपार्षद मात्र रहेको छ। 

Related Posts

0 Response to "कालेबुङ नगरपालिकाको 14 जना नगरपार्षदले जनायो बिनय गुटलाई समर्थन "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.