-->
बिनय तामाङलाई कालेबुङमा भव्य स्वागत आन्दोलन विफल हुनुमा 7 जनाको मुख्य भुमिका छ – बिनय तामङ

बिनय तामाङलाई कालेबुङमा भव्य स्वागत आन्दोलन विफल हुनुमा 7 जनाको मुख्य भुमिका छ – बिनय तामङ

डी.के. वाइबा, कालिमन्युज,कालेबुङ 10 अक्टोबर।‘आज तपाईँहरूलाई नाम खुलासा गर्न चाहदिँन। तपाईँ हामीले दुख पाउनुमा, यो आन्दोलनलाई लिकबाट बाहिर झारेर अर्कोबाटोमा लानुमा 7 जना मानिसहरूको मुख्य भुमिका छ। उनीहरूले गर्दा नै यस्तो भएको हो’ जीटीए बोर्ड अफ् एडमिस्ट्रेसनका अध्यक्ष बनेर पहिलोपल्ट कालेबुङ भ्रमणमा आइपुगेका बिनय तामङले उक्त कुरा बिनय तामङले भनेका हुन्। 
कालेबुङ शहरदेखि 5 किलोमिटर टाडोमा अवस्थित डेलोमा आज जनतालाई सम्बोधन गरेका थिए। कालेबुङ भ्रमणमा आइपुगेका तामङलाई पेशोकदेखिनै स्वागत गरिएको थियो। उनलाई स्वागत गर्न कालेबुङबाट मानिसहरू व्यापक रूपले टिस्टा बजारसम्म झरेका थिए। बाहनहरूको लामेताँत लागेर कालेबुङ भित्रिएका तामङ नोभेल्टि परिसरदेखि कालेबुङ शहरको मुटु मानिने डम्बर चौकसम्म पैदल हिँडेर आएका थिए। जातिय बाजा बजाउँदै बिनय तामङलाई नोभेल्टि परिसरदेखि स्वागत गर्दा बाटोको दुवै किनारामा हेर्ने मानिसहरूको भीड जमेको थियो। 
शहरको मुख्य भागमा पैदल हिँडेर डम्बर चौक आइपुगेपछि उनले डम्बर चौकमा स्थापित डम्बर सिंह गुरुङको सालिगमा खदा अर्पण गरेर श्रद्दाञ्जली अर्पण गरेर उनी सोझै डेलो प्रस्थान भए। 
उपस्थित जनता र पार्टी समर्थकहरुलाई सम्बोधन गर्दा भावुक देखिएका बिनय तामङले जीटीए बोर्ड अफ् एडमिस्ट्रेसनको अध्यक्ष बनेपछि सोसियल मिडियामा तथानाम मानिसहरूले आरोप लगाइरहेको सन्दर्भ झिक्दै सोही आरोपहरूलाई स्पष्ट पार्ने कार्य धेर गरे। 


यसक्रममा उनले गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि महासचिव रोशन गिरीको जमेर आलोचना समेत गरे। ‘रोशन गिरी दिल्लीमा बसेको बसेकै गरे। उनीसँगै दिल्लीमा काम गर्न पठाइएकाहरूलाई गिरीले पहाड फर्काए। अरूलाई दिल्लीमा काम छैन भनेर फर्काउने रोशन गिरी दिल्लीमा किन एक्लै बसे? उनको एक्लै बस्ने के काम थियो?’ तामङले प्रश्न तेर्साए। उनले गिरीलाई दिल्लीमा बसेर केहि काम नगरेको आरोप लगाउँदै जनतालाई ढाँट्ने कार्य गरेको आरोप लगाए। 
‘25 अगस्तमा कालेबुङ आउनेक्रममा मैले रोशन गिरीलाई फोन गरे अनि अब पार्टी बिग्रिएको खण्डमा आरजी र बिजी जिम्मेवार हुनेछ भने। किनभने दिल्लीमा के हुँदैछ भनेर रोशन गिरीलाई फोन गरेर सोद्धा जहिले पनि उनले काम हुँदैछ तर दाजुले नभन्नु भनेको छ मात्रै भन्ने गर्थे। यता जनताले हामीलाई के हुँदैछ भन्दै सोद्धा हामीले जवाब दिनुपर्थ्यो। 
पार्टीमा पारदर्शिता हुनपर्छ। हामी पनि जवाबदेही हौँ। यसकारण यस आन्दोलनलाई लिकदेखि बाहिर झार्नेमा एकजमा मुख्य अभियुक्त रोशन गिरी हो। पार्टीको महासचिव हुन् उनी। पार्टीको सेकेण्ड कमाण्ड लिडरले यस्तो धोका दिनु हुनेथिएन’ बिनय तामङले रोशन गिरीलाई कटाक्ष गर्दै भने।  उनले पार्टीभित्र तालमेलको अभाव हुनुमा बिमल गुरुङले अरूको कुरा नसुन्नु अनि रोशन गिरीलाई बिनाकारण मिडियामा बयान दिनु लगाउनुले रहेको पनि आरोप लगाए। यसका साथै डेड करोड गोर्खाको नेता भन्ने बिमल गुरुङ जङ्गल पसेर अडियो मार्फत कुरा नबुझी अचाहिँदो बयान दिनुले पनि आन्दोलन पछि परेको आरोप लगाएका छन्। 
यसक्रममा उनले बिमल गुरुङ र सबैको सुझावमा नै सरकारसँग वार्ता सुरु भएपछि सरकारी सुरक्षा लिएको सन्दर्भमा बिमल गुरुङ अनि अन्य मानिसहरूले बिक्री भएको भन्दै आरोप लगाउने गरेको बताउँदै सरकारी सुरक्षा लिन आफु बाध्य बन्न परेको दाबी समेत गरेका छन्। 
सरकारसँग वार्ता सुरु भएपछि आफ्नो हत्या गर्न बिमल गुरुङले मान्छेहरूलाई अह्राएको आरोप लगाउँदै सुरक्षा लिनुको चारवटा मुख्य घट्नाहरू समेत स्पष्ट पारे। ‘मैले सरकारी सुरक्षा लिने कुनै बिचार गरेको थिइन। तर मेरो हत्या गर्नलाई मान्छेहरू मगाउने कार्य भएपछि सरकारी सुरक्षा लिन बाध्य भएको हुँ। मेरो हत्या गर्नका निम्ति मानिसहरू मगाएको चारवटा घट्नाहरू मुख्य छन्। फोन रेकर्डमा मेरो हत्या गर्नलाई मानिसहरूलाई अह्राएको सुनेपछि नै मैले सुरक्षा लिएको हुँ’ तामङले भने। 
‘पुलिसले जुन फोन ट्यापिङ गरेको छ त्यहीँ ट्यापिङ मैले सुने अनि सेक्युरिटी राख्न वाध्य भएको हो। त्यस फोन रेकर्डमा खोज ल्याउ, काम हुन भन्दा अघि 5 लाख काम भए 5 लाख नेपालको 16 भइहाल्छ नि..., मेरोमा ल्याउन पर्दैन हिरो छ हिरो त्यहाँ लानु... उसलाई खत्तम पार्नु भनेको छ। पहिला मैले विश्वास गरेको थिइन तर पछिबाट जब मैले फोन रेकर्ड सुने साह्रै दुख लाग्यो। सेकेण्डमा प्रविण सुब्बाको फोनबाट तकभरका भाइहरूलाई तिमीहरू तीन चार गाडी गएर दाजुले भनेको बिनयको घर जलाउनु अनि जलाउँदा मान्छे पनि भित्रै जलाउनु’रे अनि दुईवर्ष पछि दाजु डाली उँधो जाँदा त्यहाँ तितेपाती उम्रेको हुनपर्छ भनेका छन्। 
तेस्रो फोन कलमा तीनजना भनेको छ त्यो तीन जना को हो अहिलेसम्म पत्तो भएको छैन। तिमीहरूले बाइकमा तीनजना गएर राती बिनयको घरमा गएर समान फ्याकिदिनु भने। त्यो समान भनेको कालेबुङको थानामा पड्केको समान (बम) भनेको हो। चौथो घट्ना दार्जीलिङमा मैले क्याण्डल जुलुस निकालेको दिन हो। खर्साङको शरण देवान दाजुलाई बिमल दाजुले फोन गरेर तिमीले केटाहरू खोज अनि केटाहरू खोजेर राती बिनयको घरमा गएर त्यो केटाहरूले घरमा राती समान फ्याँकिदिनुपर्छ भनेका छन्। शरण देवान छत्रे सुब्बादाजुहरूसँगै साढे दश वर्ष जेल बसेका व्यक्ति हुन् अहिले पनि नचेतेर् उपद्रो गर्दैछन। अनुज भाइ जो दिलारामको हो उसलाई काम अराएछ। अनुज भाइ चाहीँ मेरो गाउँमा जसलाई पक्र्यो उसको मामाको छोरा हो। 
... मेरो घर माथि पुलिसले फ्लड लाइट लगाएको छ तर तलबाट जङ्गलको बाटोबाट उनीहरूले त्यो समान फ्याक्नु भनेको थिएछ। पछिबाट एकजना प्रतिमा भन्ने तीनधारेको बहिनीको घरबाट त्यो समान फेला पनि पार्‍यो। चार-चारपल्ट यस्तो काम गर्दा पनि मैले के गर्नुपर्ने ?’ उनले प्रश्न गर्दै आफ्नो ज्यानको खतरा देखेर सुरक्षा लिएको स्पष्ट पारे। 
यसक्रममा उक्त सत्य कुरालाई जनताले सबैलाई बताइदिने आग्रह समेत गरे। ‘यो कुराहरू तपाईँहरूले सुनेर खोलाघारीमा (बिमल गुरुङसम्म) पनि पुर्‍याइदिनु’ भने। 
यसक्रममा उनले बम बिस्फोट गराउनुमा बिमल गुरुङहरूकै मुख्य हात रहेको आरोप लगाउँदै उक्त घट्ना सम्बन्धि कोलकोताको पहिलो दुईपक्षिय वार्तामा जाँदा सीआइडीले सोधपुछ गरेको समेत बताए। 
‘नवन्नमा भएको पहिलो बैठकमा जाँदा रोहित थापासंग भएको फोन रेकर्डमा जे सुन्नु भयो त्यसमा गलत तथ्य सुनाइएको थियो। वास्तवमा त्यसबेला मलाई जहाँबाट निकालेर कता लग्यो मलाई समेत थाह थिएन। पछिबाट थाहा पाएँ, म जहाँ पुगेको थ्यो त्यो सीआइइडीको हेडक्वाटर थियो। त्यहाँ लगेर सीआइडीले मलाई पहाडमा बम बिस्फोट भएको बिषयमा सोधपुछ गर्ने कार्य गर्‍यो। तर त्यहीँ कुरालाई नबुझी फोनमा बिमल गुरुङलाई गलत बुझाइयो। 
यदि भविष्यमा यस मुद्दा माथि सुनवाई सुरु भएपछि त्यसबेला सीआईडीले मलाई सोधपुछ गरेको रेकर्ड त्यहाँ उल्लेख हुनेछ’ तामङको कोलकोताको घट्नामाथि स्पष्टिकरण दिँदै भने। जनताले सत्य कुरा बुझ्न आवश्यक छ भन्दै आफुले सम्पूर्ण कुराहरू जनतालाई स्पष्ट पार्ने कार्य गरेको पनि तिनले  बताएका छन्। ‘
संसारमा कुनै पनि बन्दुकधारीहरूले गरेको आन्दोलन सफल भएको छैन। बुद्धि चलाउनुपर्छ। अमेरीका जस्तो राष्ट्रलाई समस्यामा पार्ने ओसामा बिन लादेनको अवस्था के भयो थाहै छ। श्रीलङ्कालाई समस्यामा पर्ने प्रभाकरणको के भयो सबैले जान्दछन। दाजुलाई सायद हिन्दी सिनेमा जस्तो लाग्यो होला यो आन्दोलन। उसले आफैलाई हिन्दी सिनेमाको हिरो सम्झ्यो। 
यसरी हुँदैन आन्दोलन’ बिस्फोटका घट्नाहरू माथि बिमल गुरुङप्रति आक्रमण गर्दै बिनय तामङले भने। 
‘आज बिमल गुरुङ जहाँ पुगेका छन् त्यसमा हामी दुखी छौँ। यो सबै 7 जनाको कारणले भयो’ तामङले भने। यसक्रममा उनले बिमल गुरुङले आजसम्म गोजमुमो पार्टीको केन्द्रिय समितिमा बसेकाहरूको कसैको सुझावलाई नसुन्ने गरेको परिणाम पनि आजको स्थिति हो भने। 
‘बिमल गुरुङसँग आजपनि प्रविण सुब्बा साथमा छन्। उनकै कुरा सुनेर आज यस्तो भएको हो। आठौँ कक्षा पडेको भाइले तेस्रो कक्षा पडेको व्यक्तिलाई पडाएको कारण आन्दोलन बिग्रेको हो’ बिनय तामङले अझ भने। 
यसक्रममा उनले जीएमसीसीले डाकेको आमरण अनशनलाई यदि हुन दिएको भए आन्दोलनले राम्रो बाटो लिने थियो भन्दै त्यस जीएमसीसीको तोकिएको आमरण अनशनलाई बिमल गुरुङले रोकेको आरोप लगाए। ‘आन्दोलनको निम्ति हामीले 11 वटा कार्यक्रम बनाउँदैछौँ । यसको निम्ति जनताको सहभागिता चाहिन्छ। यो लौरो र गोलि खानको निम्ति अथवा भोकै बस्नको निम्ति होइन। बम पड्काएर हुँदैन। हामी बुद्धिजीविहरूलाई अघि लगाएर आन्दोलनलाई फत्ते पार्न चाहन्छौँ’ बिनय तामङले भने।

Related Posts

0 Response to "बिनय तामाङलाई कालेबुङमा भव्य स्वागत आन्दोलन विफल हुनुमा 7 जनाको मुख्य भुमिका छ – बिनय तामङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.