-->
कोलकोता र दिल्लीमा तर्कको बम पड्काउनुपर्छ – डा. हर्कबहादुर छेत्री

कोलकोता र दिल्लीमा तर्कको बम पड्काउनुपर्छ – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज,  कालेबुङ 6 सितम्बर। जन आन्दोलन पार्टीले अनिश्चित कालिन बन्दको 84 औँ दिनमा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा ‘दिल्ली चलो अभियान’ को नाराबाजी लगाउँदै कालेबुङ शहरमा एकल राजनैतिक कार्यक्रम आयोजना गरेको थियो। यस अवसरमा जापा कार्यकर्ताहरूले कालेबुङको मेन रोड देखि छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी सँगै  ‘दिल्ली चलो अभियान’ को नाराबाजी लगाएर शहरमा जुलुस निकालेका थिए। जुलुसले डम्बर चौक हुँदै दस माइल फाटक भएर शहर परिक्रमा गरिसकेपछि पुन: मेन रोडमा आइपुगेर जनसभामा परिणत भएको थियो।
‘कालेबुङको डम्बर चौक, खर्साङको मोटर स्ट्याण्ड र दार्जीलिङको चौकबजारमा बम पड्काएर केहि हुँदैन। बम पड्काउनुपर्छ भने कोलकोताको नवन्नामा पड्काउनुपर्छ। प्रजातन्त्रमा बुद्धी र तर्कको तर्कको बम नवन्नमा पड्काएर गोर्खाल्याण्डको आवजलाई बुलन्द पार्नुपर्छ। हामी तर्कको बम पड्काउनुपर्छ भन्ने कुरामा विश्वास गर्छौँ’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले सभालाई सम्बोधन गर्दै भने। उनले जनसभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो अध्यक्ष विमल गुरुङ ‘राम्रो’ व्यक्ति समेत भन्न चुकेनन्। यद्यपी मोर्चा अध्यक्ष विमल गुरुङलाई सुझाव दिनेहरूले भने गलत बाटोमा हिँडाउने कार्य गरिरहेको आरोप लगाए। ‘विमल गुरुङ उसै नराम्रो मान्छे होइनन् तर उनलाई साथीहरूले बिगारेका हुन्। आज उनीमाथि देश विरोधी कानुन लागेको छ। एउटा राजनैतिक पार्टीको अध्यक्षलाई बिना प्रमाण राष्ट्रविरोधी कानुन लगाउने कार्य ठिक होइन’ डा. छेत्रीले भने। 
उनले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई टुङ्गोमा पुर्‍याउनका निम्ति जन आन्दोलन पार्टीले राजनैतिक स्वार्थलाई पन्साएर जनस्वार्थमा जस्तै पनि कार्यक्रम गर्न अग्रसर बनेको बताउँदै अन्य राजनैतिक दलहरूले पनि आ-आफ्नो राजनैतिक स्वार्थ त्याग्नुपर्ने सुझाव राखे। ‘हामी जनताको स्वार्थलाई प्राथमिकता दिन्छौँ। जनताकै स्वार्थलाई ध्यानमा राखेर ‘गोर्खाल्याण्ड’को निम्ति एकबद्ध बन्ने आह्वान गर्छौँ। आज आन्दोलन टुङ्गोमा पुग्नको साटो केवल ‘कदम ताल’ मात्र भइरहेको छ। यो आन्दोलन किन टुङ्गोमा पुगेन भन्छ भने त्यो कतिपय राजनैतिक दलको स्वार्थको कारण हो’ डा. छेत्रीले कुनै राजनैतिक दलको नाउँ नलिइ भने। 
यसक्रममा उनले आन्दोलनलाई निर्णायक मोडमा अग्रसर बनाउनका निम्ति जीएमसीसी बलियो बनेर सही रणनीति बनाउनुपर्ने सुझाव दिएका छन्। ‘जीएमसीसी बनिन्दा हामी खुशी थियौँ। गोर्खाल्याण्डको मुद्दा कुनै एउटा राजनैतिक दलको मुद्दा नभएको कारण जीएमसीसी बनिन्दा हामी खुशी भएका थियौँ। तर जब जीएमसीसीले दिल्लीमा गृहमन्त्रालयद्वारा डाकिएको वैठकमा जाप लगायत अन्य राजनैतिक दलहरूलाई लाने कार्य गरेन तब हामीलाई जीएमसीसीको कार्य पद्दत्ती ठिक लागेन। गोर्खाल्याण्डको निम्ति एकबद्ध बनेपछि सबै ठाउँमा सबै दलका प्रतिनिधीलाई समावेश गर्न सके आन्दोलन अझ शक्तिशाली बनेर जानेछ’ डा. छेत्रीले अझ भने। सोहिकारण जापले कतिपय जीएमसीसीको सभामा आफ्नो सहभागीता नजनाएको बताए। यद्यपी उनले भोलि दार्जीलिङमा हुने जीएमसीसीको सभामा भने जापले सहभागीता जनाउने स्पष्ट पारेका छन्। 
‘जीएमसीसी अझ सशक्त होस् भन्ने जाप चाहन्छ। सोहिकारण हामी भोलि हुने जापको सभामा भाग लिनेछौँ’ डा. छेत्रीले भने। उनले आफुलाई जीएमसीसीको सभामा भाग नलिएको सन्दर्भमा पनि मानिसहरूले प्रश्न गर्ने गरेको बताउँदै ‘सबै दलका अध्यक्षहरू यदि जीएमसीसीमा आए म पनि त्यहाँ हुनेछु। यति मात्र होइन यदि गोर्खाल्याण्डका निम्ति सबै दलका अध्यक्षहरू आमरण अनशनमा बस्छन् भने जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री पनि आमरण अनशनमा सँगै बस्नेछ’ उनले स्पष्ट भने।
यता छुट्टै राज्य गोर्खाल्याण्डको मागमा सम्पूर्ण पहाड लगभग तीन महिनासम्म बन्द रहँदा पनि पहाडका लोकसभा सांसद एस.एस आहलुवालीयाले भने समस्या समाधानको पक्षमा कुनै पदक्षेप नलिएको आरोप लगाए। ‘डा. हर्कबहादुर छेत्रीलाई गाली गरेर केहि हुँदैन। आज संसदमा गोर्खाल्याण्डको निम्ति काम गर्नलाई सांसद बनाएर आहलुवालीया पठाएपछि उनैले गोर्खाल्याण्ड हुँदैन भन्दैछन्। राजनीतिमा मगाएर खेलाडी खेलाएको कारण आज गोर्खाहरूको आवज संसद भवनमा उठ्न नसकेको हो। डा. हर्कबहादुर  छेत्रीलाई गाली गर्नेहरूले सांसद एस.एस आहलुवालीयाले कति काम गर्‍यौ? भनेर जवाब मगनुपर्छ’ उनले अझ भने। 
‘गोर्खाल्याण्डको नाउँमा भोट जितेर गएपछि यदि काम गर्न सक्दैन भने जनताको प्रतिनिधी भएर बस्ने अधिकार पनि उनलाई छैन’ डा. छेत्रीले थपे। अनिश्चितकालिन पहाड बन्दले यतिका दिनसम्म पहाडका जनता कुन अवस्थामा छ भन्ने कुरा सबैले मन्थन गर्नुपर्ने अवस्था आएको बताउँदै ‘यदि जनताले अनिश्चितकालिन बन्दलाई जारी राख्नुपर्छ अनि यस बन्द सही छ भन्छन् भने ठिक छ। अन्यथा जनताले बन्दले लाभ भएको छैन अनि यसलाई खोल्नुपर्छ भन्छन् भने पनि ठिक छ। गोर्खाल्याण्डको आन्दोलन जन आन्दोलन हो भन्छन् भने अब निर्णय पनि जनताले नै लिनुपर्छ। जनताले लिएको निर्णयलाई जन आन्दोलन पार्टीले साथ र समर्थन दिनेछ’ डा. छेत्रीले अनिश्चितकालिन बन्दको सन्दर्भमा बोल्दै भने। 
उनले सोहिक्रममा आगमी  सितम्बरका दिन राज्य सरकारले डाकेको वैठकमा जापले भाग लिने बताउँदै उक्त वैठकमा पुन: गोर्खाल्याण्डको आवज उठाउने स्पष्ट पारेका छन्। ‘राज्यको डाकेको वैठकमा हामी पुन: छुट्टै राज्य गोर्खाल्याण्डको माग दोहोर्‍याउनेछौँ। यसको साथै गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ताको बाटो खोल्नुपर्ने माग पनि वैठकमा गर्नेछौँ’ डा. छेत्रीले भने।
धेरै लामो समय पछि जनतालाई सम्बोधन गर्न सडकमा निस्केका डा. छेत्रीले गत 29 अगस्तका दिन सम्पन्न भएको वैठकबारे पनि जनतालाई जानकारी गराए थिए। यसक्रममा उनले पहाका राजनैतिक दलहरूमाझ सैद्धान्तिक मतभिन्नता भए पनि ‘गोर्खाल्याण्ड’ को मुद्दामा एकबद्ध बनेर गोर्खाल्याण्ड गठनको निम्ति छुट्टा-छुट्टै तरिकाले काम गर्दा दुश्मनको व्यवहार गर्न नहुने आह्वान समेत गरेका छन्। ‘गोर्खाल्याण्डको निम्ति फाइदा पुग्ने जुनै दलले राम्रो काम गर्दैछ भने उनीहरूलाई बाधा दिनु हुँदैन। हामी मुद्दाको निम्ति एकबद्ध बनेर लक्ष्यप्राप्तिको निम्ति अघि बड्नुपर्छ। गोर्खाल्याण्ड माग्नेहरू नै लड्न थाले त्यसले जनताको स्वार्थलाई आघात पुर्‍याउने कार्य गर्दछ’ डा. छेत्रीले भने।
अर्कोतर्फ सभालाई जाप युवा एकाईका अध्यक्ष विशाल राई अनि सचिव अमिर बस्नेतले पनि सम्बोधन गरेका थिए भने उनीहरूले पनि गोर्खाल्याण्डको निम्ति दिल्लीमुखी कार्यक्रमलाई अघि बडाउँन सम्पूर्ण जनता अघि आउनुपर्ने आह्वान गरे।

Related Posts

0 Response to "कोलकोता र दिल्लीमा तर्कको बम पड्काउनुपर्छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.