-->
मानिसहरूले दिए दावा भोटियालाई श्रद्धाञ्जली

मानिसहरूले दिए दावा भोटियालाई श्रद्धाञ्जली

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 सितम्बर। सिक्किममा बङ्गाल पुलिसद्वारा छापामारी अभियान चलाउँदा चलेको गोलिको शिकार बनी मृत्यु भएका पेदोङ निवासी दावा भोटियामा शवलाई आज कालेबुङ ल्याइ पुर्याएको छ। भोटियाको शव कालेबुङ शहरमा दिउँसो 1:30 बजे ल्याइपुर्याइएको थियो। 
सिक्किमबाट शवलाई पूर्ण श्रद्धाको साथमा वाइक अनि वाहनहरूको लामेताँत लस्करको साथ ‘दावा भोटिया अमर रहोस्” को नाराबाजीसँगै कालेबुङ शहर प्रवेश गर्दा श्रद्धाञ्जली अर्पण गर्न भेला भएका मानिसहरूले ‘कालेबुङ एसपी मूर्दावाद’को नाराबाजी समेत लगाएका थिए। 
कालेबुङ पुलिस थानामा गत 19 अगस्तको दिन भएको बम बिस्फोटपछि पुलिसले मेनरोडबाट हिँड्ने सडकलाई ब्यारिकेड्  लगाएर राखेको थियो भने शवलाई ल्याउँदा उक्त ब्यारिकेड् समेत खोलिदिएको थियो। जसको कारण शवलाई कालेबुङको मेनरोड हुँदै डम्बर चौकमा मानिसहरूले जोडदार नाराबाजी गर्दै ल्याइपुर्याएका थिए। शवलाई डम्बर चौकमा ल्याइपुर्‍याएपछि आत्मा शान्तिको कामना सँगै दुई मिनट मौन धारण पनि गरिएको थियो। यसक्रममा मानिसहरूले बोकेका राष्ट्रिय झण्डा सँगै गोजमुमो पार्टीको झण्डा पनि आधा झुकाएका थिए। 
शवलाई कालेबुङ ल्याइपुर्याएपछि यहाँको डम्बर चौकमा मानिसहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका निम्ति केहि समयको निम्ति वाहनमा नै राखिएको थियो।  मानिसहरूलाई सम्बोधन गर्दै गोजमुमो कालेबुङ जिल्ला समितिका अध्यक्ष डा. आर.बी भुजेलले सिक्किम सरकार प्रति आभार प्रकट गरे। 
‘सिक्किम सरकारले हामीलाई अप्ठ्यारो परिस्थितिमा पनि साथ दिएर ठूलो गुण लगाएका छन्। सिक्किम सरकारको सहयोगप्रति हामी धन्यवाद दिँदछौँ। यसका साथै दक्षिण सिक्किमका प्रशासनको सहयोग प्रति हामी आभार प्रकट गर्दछौँ’ डा. आर. बी भुजेलले भने। डम्बर चौकमा व्यापक रूपमा भेला भएका मानिसहरूले स्व. दावा भोटियालाई श्रद्धाञ्जली अर्पण गरेपछि सोझै पेदोङ लगिएको थियो। 
यसक्रममा मानिसहरूले शवको पछि पछि ‘दावा भोटिया अमर रहोस्’ भन्दै दस माईल फाटक सम्म अघोषित र्याली नै सम्पन्न भयो। शवलाई पेदोङ लाने क्रममा अलगडा बजारमा पनि मानिसहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए भने पेदोङ बजारमा पनि मानिसहरूले श्रद्धाञ्जली अर्पण गरे। शवलाई कालेबुङ ल्याउने क्रममा पुलिस प्रशासन अनि आन्दोलनकारी माझ झडप हुने सम्भावना व्यापक रहेको कारण थाना डाँडा परिसरमा व्यापक रूपले पुलिस बल तैनाथ गरिएको थियो।  मानिसहरूले पुलिस प्रसाशन मुर्दावादको नाराबाजी लगाए पनि कुनै तनाव सिर्जना भने हुन पाएन। 
पेदोङ ल्याइपुर्याएको दावा भोटियाको शवलाई भोलि त्रिपाई नजिक अन्तिम संस्कार गरिने पारिवारिक सुत्रले जानकारी दिएको छ।

0 Response to "मानिसहरूले दिए दावा भोटियालाई श्रद्धाञ्जली "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.