
अनिश्चितकालिन बन्द यथावत... दिल्लीमुखी आन्दोलनको घोषणाको प्रतिक्षामा जनता
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 24 जुलाई। अब 1 अगस्तको दिल्ली बैठकको फैसला र दिल्लीमुखि कार्यक्रम कस्तो गरिने भन्नेबारे सबैजना प्रतिक्षामा छन। यता यो कार्यक्रम र सभाबारे सर्वदलिय समिति जीएमसीसीका सदस्य र दलहरुले के कस्ता होम वर्क गर्दैछन यो प्रश्न सबैको मुखमा झुंण्डिएको छ ।
‘अबको आन्दोलन दिल्लीमुखी हुनपर्छ भन्ने गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले ठानेको छ। सोहि कारण अब जीएमसीको वैठक आगमी १ अगस्तको दिन दिल्लीमा सम्पन्न हुनेछ। उक्त कुरा गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिका संयोजक कल्याण देवानले 18 जुलाईमा बसेको सर्वदलिय वैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै भनेका थिए।
अब दिल्ली पुगेर पनि ज्योँ का त्योँ भयो भने आन्दोलन बिग्रिनु सक्ने छाँट देखिएको कतिजना बताउछन भने आन्दोलनले भित्र भित्रै अर्कै रुप लिदै गैरहेको संकेत पनि मिलिरहेको थप्छन उनिहरु। एकातिर केन्द्र अनि अर्कोतिर राज्य दुइतिर फर्केको समय आपस्तमा जीएमसीसीकै सदस्यहरु पनि दुइतिर फर्कने छाँट देखिन थालेको पनि थप्छन उनीहरु। दुइतिर दुश्मन भएको समय आपस्तमा मिलेर युद्ध गर्नु पर्ने स्थिति हो अहिले तर आ आफ्नो अस्तित्व बचाउने, आफुलाई माथि उठाउने समय होइन उनिहरु भन्छन।
त्यस समयको घोषणा यस्तो थियो- 1 अगस्तको सभादेखि उता दिल्लीमा नै धर्ना प्रदर्शन, विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटघाट गर्ने, गोर्खाल्याण्डको समर्थन बटुल्ने अनि सेमिनार आदि कार्यक्रमहरू दिल्लीमा नै गरिनेछ’ – उक्त कुरा गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिका संयोजक कल्याण देवानले वैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै भनेका थिए । यसक्रममा उनले दिल्लीमा छुट्टै राज्य गोर्खाल्याण्ड गठनको आवश्यक्ता माथि अन्य राजनैतिक दलका सांसदहरूलाई पनि अवगत गराएर केन्द्र सरकारलाई दबाऊ बनाउने कार्य गर्ने पनि बताएका थिए। यसक्रममा उनले आन्दोलनलाई प्रभावकारी बनाउनका निम्ति नै अनिश्चितकालिन बन्दलाई समेत यथावत राख्ने वैठकमा निर्णय गरेको स्पष्ट पारेका थिए।
अनिश्चितकालिन बन्द यथावत
‘अनिश्चितकालिन बन्दलाई फिर्ता गरे आन्दोलन प्रभावकारी हुँदैन भन्ने जनताले भनिरहेका छन्। जनताको भावनालाई सम्मान गर्दै अनि सरकारलाई प्रभाव पार्नका निम्ति अनिश्चितकालिन बन्द यथावत राख्ने निर्णय गरेका छौँ’ कल्याण देवानले भनेका थिए । वैठकमा उपस्थित सम्पूर्ण राजनैतिक दलका प्रतिनिधीवर्गले नै अनिश्चितकालिन बन्दलाई यथावत राख्ने निर्णय लिएको पनि उनले स्पष्ट पारेका थिए।
सिक्किम-बङ्गालका राज्यपाललाई भेट्ने
जीएमसीसीको दुईवटा प्रतिनिधी टोलिले सिक्किम अनि बङ्गालका राज्यपाल लगाय सांसद अनि राजनैतिक दलका नेतृत्वलाई भेट गर्ने भएको छ। ‘जीएमसीसीले विशेष दुईवटा टोलि गठन गरिएको छ। पहिलो टोलिले सिक्किमका राज्यपाल, मुख्यमन्त्री, सांसद अनि राजनैतिक दलका नेतृत्वलाई भेट गर्नेछ। उनीहरूलाई सिलगडीमा सिक्किमगामी वाहनहरूलाई गरिरहेको अत्याचारको विरोध गर्दै सिक्किमलाई आफुहरूको साथ रहेको सन्देश दिँदै गोर्खाल्याण्ड आन्दोलनबारे अवगत गराउनेछ’ कल्याण देवानले भनेका थिए । ‘दोस्रो टोलिले बङ्गालका राज्यपालसँग चाँडै भेटघाट गर्नेछ। त्यस भेटघाटमा हामी पहाडको वर्तमान स्थितिबारे अवगत गराउँदै पहाडमा राज्य सरकारले गरिरहेको अत्याचारवारे जानकारी गराएर राज्यपालको हस्तक्षेपको माग गर्नेछौँ’ देवानले अझ भनेका थिए । यसक्रममा उनले केन्द्र सरकारको हस्तक्षेपको माग गर्ने पनि बताएका थिए ।
विकास बोर्ड टीएमसीको भातृ सङ्गठन
मुख्यमन्त्री ममता ब्यानर्जीले गठन गरेको विकास बोर्डहरूलाई तृणमूल कङ्ग्रेसको भातृसङ्गठनको रूपमा कार्य गर्न लगाएको कल्याण देवानले आरोप लगाएका थिए। ‘आजसम्म जतिपनि विकास बोर्डका अध्यक्ष उपाध्यक्षले राजीनामा दिएर गोर्खाल्याण्ड आन्दोलनमा ओर्लिएका छन् उनीहरूलाई हामी आभार व्यक्त गर्दछौँ। आगमी दिनहरूमा रहेका अन्य विकास वोर्डका अध्यक्ष अनि उपाध्यक्षहरूले पनि झट्टै राजीनामा दिएर गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै पहाड फर्किने अपिल गर्दछौँ’ देवानले भनेका थिए । हालमा तृणमूल कङ्ग्रेसले विकास बोर्डलाई पार्टीको भातृसङ्गठनको रूपमा कार्य गर्न लगाएको भन्दै उनीहरूले राजीनामा दिएर जाति र माटोको आन्दोलनलाई साथ दिनुपर्ने उनले थप बताएका थिए। तर उक्त कार्य रातभरि करायो दक्षिणा हरायो झै भएको छ।
आमरण अनशन निश्चित गर्नेछौँ
‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले आमरण अनशन निश्चित गर्नेछ। यसको निम्ति समय अनि स्थान तय गरेका छैनौँ। यसबारे आगमी दिनमा तय गरेर आन्दोलनलाई अझ प्रभावकारी र व्यापक बनाउन आमरण अनशन निश्चित गर्नेछौँ’ कल्याण देवानले स्पष्ट पारेका थिए । उनले अघिल्लो आमरण अनशन स्थगित गर्नुको कारण अघिबाटै जानकारी गराएको बताउँदै आगमी दिनमा आमरण अनशन सम्भवत दिल्लीमा नै हुने सङ्केत पनि दिएका थिए।
ममता ब्यानर्जीको सम्बन्ध बङ्गालादेशसँग
त्यस समय छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई विदेशी शक्तिको हात छ भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीको सम्बन्ध वास्तवमा बङ्गलादेशसँग रहेको जीएमसीसीका सदस्य निरज जिम्बाले आरोप लगाएका थिए। ‘गोर्खाल्याण्डको आन्दोलनलाई चिनको हात छ भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीको सम्बन्ध नै बङ्गलादेश र बङ्गलादेशीहरूसँग छ’ निरज जिम्बाले भनेका थिए।
भारतमा एकजना गोर्खाहरू रहेसम्म चिनले भारतीय भुमीमा पाइला समेत टेक्न नसक्ने बताउँदै उल्टै मुख्यमन्त्री ममता ब्यानर्जीको क्रियाकलापले उनको सम्बन्ध बङ्गलादेश सँग रहेको पुष्टि हुने पनि बताउँदै गोर्खाल्याण्डको आन्दोलनलाई विदेशी शक्तिको हात छ भन्ने बयानको जोडदार विरोध गरेका थिए।
राष्ट्रवादी कङ्ग्रेसले सदनमा उठाउने मुद्दा
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई खुल्ला समर्थन गर्ने राष्ट्रवादी कङ्ग्रेस (एनसीपी)ले चलिरहेको संसदको सत्रमा गोर्खाल्याण्ड मुद्दालाई उठान गर्ने एनसीपीका जिल्ला अध्यक्ष एवम् जीएमसीसी सदस्य फजल अहमदले बताएका थिए। उनले केन्द्र सरकारलाई गोर्खाल्याण्डको मुद्दामा दबाउ बनाउन अन्य राजनैतिक दलका सांसदहरूसँग पनि समर्थन बटुलेर यस मुद्दालाई सदनमा राख्ने प्रयास गरिरहेको उनले सपष्ट पारेका थिए। ‘एनसीपीले गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गरिसकेको छ। अब यस मुद्दालाई केन्द्र सरकारले सम्बोधन गरेर भारतीय गोर्खाहरूलाई न्याय दिनुपर्छ। एनसीपीले संसदको सत्रमा गोर्खाल्याण्डको मुद्दालाई अन्य सहयोगि सांसदहरूको समर्थन लिएर उठाउने कार्य गर्नेछौँ’ फजल अहमदले भनेका थिए।
अर्कोतर्फ लगभग पाँच घण्टा लामो चलेको वैठकले केहि दिन अघि मात्रै गोर्खा जनमुक्ति युवा मोर्चाले दिल्लीमा आमरण अनशन गर्ने गरेको निर्णयलाई पनि वैठकमा चर्चा गरेको कल्याण देवानले बताएका थिए। मोर्चाको उक्त निर्णयलाई पुन: विवेचना गर्ने जीएमसीसीले आग्रह गर्ने पनि उनले बताएका थिए। तर गत 21 जुलाइदेखि गोजयुमोका सदस्यहरुले आफ्नै आमरण शुरु गरेर जीएमेसीसीको अनशनलाई छोपिदिएको मंतव्य सुनिएकोछ।
यसक्रममा उनले पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै गोजमुमो महासचिव रोशन गिरी अनि टोलि दिल्ली गएको सन्दर्भलाई पनि स्पष्ट पारेका थिए।
‘गोजमुमो प्रतिनिधी टोलि गोर्खाल्याण्डकै समर्थन बटुल्न दिल्ली गएका हुन्। उनीहरू जीएमसीसीको सभामा पारित प्रस्ताव अनुसार नै दिल्लीमा गएर गोर्खाल्याण्डको समर्थन बटुल्ने कार्य गरेका हुन्। अन्य जीएमसीसीमा भएका राजनैतिक दलहरू पनि आ-आफ्नो सम्बन्धमा रहेका राष्ट्रिय दलहरूको समर्थन बटुल्न दिल्ली जान सक्नेछन्’ देवानले भनेका थिए।
सरकार र प्रशासनको रवैयामा केही फरक देखिएको छैन उल्टो अलि अलि चलिरहेको एयरटेल र एमटीएसको नेट पनि पूर्ण रुपमा बन्द गरिएको छ भने एकमात्र नेपाली च्यानल एबीएनलाई शीलबन्द गरेर प्रशासन अझ शक्त देखिन्दैछ।
के कति प्रगति गत एक ह्प्ताह भित्र भए, के काम हुदैछ अनि कति अघि बड्दैछ जान्ने जिज्ञासा जनताको रहेकोछ । एक थरिका जनता भन्छन- जनताको आन्दोलन भनेपछि जनतालाई पनि थाहा हुनु पर्ने यसैले हाम्रो जिज्ञासा दिन प्रतिदिन बडी रहेकोछ।
0 Response to "अनिश्चितकालिन बन्द यथावत... दिल्लीमुखी आन्दोलनको घोषणाको प्रतिक्षामा जनता"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.