-->
जिल्लापालले भेटे अनशनकारीलाई ....अनशन डेढ करोड गोर्खाहरूका निम्ति हो – अजित रोका..... स्वास्थ्य सेवा लिन अस्वीकार आत्महत्या अनि दण्डनीय हो- प्रशासन

जिल्लापालले भेटे अनशनकारीलाई ....अनशन डेढ करोड गोर्खाहरूका निम्ति हो – अजित रोका..... स्वास्थ्य सेवा लिन अस्वीकार आत्महत्या अनि दण्डनीय हो- प्रशासन

Dr. Viswanath District Magistrate Kalimpong requesting hunger strike participants to take medical treatment
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २६ जुलाई। गोर्खा जनमुक्ति युवा मोर्चाले 21 जुलाईदेखि सुरु गरेको आमरण अनशनको आठौँ दिन कालेबुङ जिल्लापाल डा. विश्वनाथले अनशन स्थलको भ्रमण गर्दै अनशनकारीको स्वास्थ्यबारे जानकारी लिएका छन्। 
अनशनकारीहरूको स्वास्थ्य दिनोदिन बिग्रन्दै गएपछि आमरण अनशनको आठौँ दिन आज जिल्लापाल डा. विश्वनाथले अनशन स्थलको भ्रमण गरेर अनशनकारीहरूलाई स्वस्थ्य उपचार लिने आग्रह गरेका थिए। जिल्लापाल डा. विश्वनाथले अनशनस्थलको भ्रमण गर्न अघि डेपुटी म्याजिस्ट्रेट प्रितम लिम्बु, ज्योति घोष, कालेबुङ जिल्ला स्वास्थ्य अधिकारी अंकन सिम्लाङ्दी आदिको टोलिले अनशनकारीको स्वास्थ्यबारे जानकारी लिएका थिए। 
उनीहरूले अनशनकारीको स्वास्थ्यबारे जानकारी लिएपछि अनशनकारीको स्वास्थ्य धेरै बिग्रेको कालेबुङ जिल्लापाल डा. विश्वनाथलाई जानकारी दिएपछी जिल्लापलले पनि तत्कालै अनशन स्थलको भ्रमण गरेका हुन्। उनले अनशनकारीसँग कुराकानी गर्दै स्वास्थ्य अधिकारीको परामर्श अनुसार झट्टै स्वाथ्य उपचार लिने आग्रह गरे। सोहिक्रममा उनले अनशनकारीको परिवार पक्षसँग पनि कुराकानी गर्दै अनशनकारीहरूलाई झट्टै उपचार लिनका निम्ति परिवार पक्षले पहल गर्नुपर्ने अनुरोध गरे। 
उनले अनशन स्थलको भ्रमण अवधी धेरै स्वास्थ्य बिग्रेका अनशनकारी अजित रोकासँग कुराकानी गर्दै उपचार लिने आग्रह गरेका थिए। ‘अस्पताल गएर उपचार लिनुपर्छ। हिँड्नुहोस् अस्पतालमा भर्ना भएर उपचार लिनुहोस्’ जिल्लापाल डा. विश्वनाथले अनशनकारी अजित रोकासँग कुराकानी गर्दै भने। जिल्लापालको स्वास्थ्य उपचार लिने आग्रह सुनेपछि अनशनकारी अजित रोकाले साङ्केतिक भाषा (ईशारा) को प्रयोग गर्दै स्वास्थ्य उपचार लिनलाई पूर्णरूपले अस्वीकार गरे। 
यता अनशनकारीसँग कुराकानी गरेपछि पुन: जिल्लापाल  डा. विश्वानाथले अनशनकारी अजित रोकाका परिवार पक्षसँग कुराकानी गर्दै अनशनकारीलाई स्वास्थ्य उपचार लिनका निम्ति आग्रह गर्ने अपिल गरेका थिए। यता जिलापालले परिवार पक्षसँग कुराकानी गर्दै अनशनकारीलाई स्वास्थ्य उपचार लिनका निम्ति परिवारका सदस्यवर्गले आग्रह गर्ने अनुरोध गरिरहेको समयमा अनशनकारी अजित रोकाले परिवारका सदस्यवर्गलाई बोलाएर जिल्लापालको कुरा नसुन्ने आग्रह गरेका थिए। 
‘यसको (जिल्लापाल) कुरा नसन्नु। यो अनशन मेरो निम्ति मात्र होइन, डेढ करोड गोर्खाहरूको निम्ति हो। म अनशनबाट उठे सबैलाई दबाऊने कार्य गर्नेछ। तिमीहरू घर जाऊ मलाई केहि हुनेछैन’ अनशनकारी अजित रोकाले आमा अनि परिवारका सदस्यवर्गलाई भने। यति भन्दा अनशनकारी अजित रोकालाई श्वास लिनका निम्ति निक्कै गाह्रो भइरहेको थियो। मलिन स्वरमा उनको कुरा सुनेपछि अनशन स्थलमा आएका आमा अनि आफ्ना परिवारका सदस्यवर्ग लगायत अन्य मानिसहरूको गहभरी आँसु देखिएको थियो। 
यता अनशन स्थलको भ्रमण पछि कालेबुङ जिल्लापल डा. विश्वनाथले पत्रकारहरूसँग कुराकानी गर्दै ‘मेडिकल टिमको रिपोर्ट अनुसार दुईजनाको स्वास्थ्य खराब छ। उनीहरूलाई डाक्टरको सल्लाह अनुसार तत्काल अस्पतालमा लानु पर्नेछ’ भने। ‘प्रशासनको तर्फबाट हामीले रेगुलर मेडिकल टिम पठाइरहेका छौँ। आज बिहान मेडिकल टिमले केहि सजेसन दियो जसमा तत्काल मेडिकल ट्रिटमेन्टको आवश्यक छ भन्यो। मेडिकल टिमको सजेसन पाएर नै म अनशन स्थलमा गएर सबै अनशनकारीहरुसँग भेट गरेर मेडिकल ट्रिटमेन्ट लिने आग्रह गरेँ।’ जिल्लापालले अझ भने। 
यसक्रममा उनले अनशनकारीको परिवारका सदस्यहरूसँग भेट गरेर अनशनकारीलाई स्वास्थ्य उपचार लिने आग्रह गरेको पनि बताएका छन्। ‘अनशनकारीहरूको स्वास्थ्य बिग्रेको कारण उनीहरूलाई तत्कालै उपचारको आवश्यक्ता रहेको छ। यसबारे परिवारका सदस्यहरूलाई तत्काल चिकित्सा लिने आग्रह गर्दा परिवारका सदस्यहरू पनि अनशनकारीलाई चिकित्सा दिनका निम्ति राजी भएका छन्। 
अनशनकारीलाई तत्काल चिकित्सा दिनका निम्ति मेडिकल टिम अनि एम्बुलेन्स अनशनस्थलमा तैनाथ गरेका छौँ’ जिल्लापाल डा. विश्वनाथले भने। यता अनशनकारीलाई स्वास्थ्य उपचार दिनका निम्ति परिवार पक्ष राजी भएको जिल्लापाल डा. विश्वनाथको बयानलाई अनशनकारी अजित रोकाका बहिनी गिता बराईलीले खण्डन गरेका छन्। 
‘अनशनकारी अजित रोका मेरा दाजु हुन्। उनले आजसम्म स्वास्थ्य उपचार लिन अस्वीकार गरेका छन्। हामी परिवारका सदस्यहरूले पनि उनलाई स्वास्थ्य उपचार लिनका निम्ति कुनै दबाऊ बनाएका छैनौँ। जिल्लापालले स्वास्थ्य उपचार लिन परिवारका सदस्यहरू राजी भए भनेको कुरा झुटो हो’ गिता बराईलीले भने। उनले अनशनकारीलाई प्रशासनले बलजफ्ती उठाउने प्रयास गरे उनीहरूलाई उठाएकै दिनदेखि आफु आमरण अनशनमा बस्न तयारी रहेको बताएका छन्। 
अर्कोतर्फ अनशनकारीको स्वास्थ्य अत्यन्तै चिन्ताजनक रहेको जिल्ला स्वास्थ्य अधिकारी अङ्कन सिम्लाङ्दीले बताएका छन्। ‘तीनजना अनशनकारीको अवस्था धेरै खराब रहेको छ। उनीहरू सबैलाई तत्काल स्वास्थ्य उपचारको आवश्यक्ता छ। हामीले उपचार लिने आग्रह गरे पनि उनीहरूले उपचार लिन अस्वीकार गरिरहेका छन्’ जिल्ला स्वास्थ्य अधिकारी अङ्कन सिम्लाङ्दीले भने। तीनैजना अनशनकारीको विशेष गरेर किड्नीको समस्या देखा परिरहेको बताउँदै यदि झट्ट उपचार नलिए उनीहरूलाई डाइलेसिस् गर्न पर्ने अवस्थामा पुग्ने उनले थप बताएका छन्।
यता दार्जीलिङ खर्साग अनि मिरिकमा पनि आमरण अनशनमा बसेका अनशनकारीहरुको अवस्था चिंताजनक बनेकोछ। दार्जीलिंग प्राशासनले भने अनशनमा बस्नु आत्महत्या हो अनि आत्महत्या गर्ने अनि गर्न उस्काउनेहरुलाई आजिवन कारावाससम्म दण्डनिय सजाय  हुने नोटिस जारी गरेको छ। भारतिय कानुन अनुसार अनसन बसेर स्वास्थ्य बिग्रे अनि स्वास्थ्य सेवा लिन अस्वीकार गरे आत्महत्या गर्ने प्रयास गरेको अनि उनीहरुलाई यसो गर्न प्रोत्साहन र सहायता पुरयाउनेहरु विरुद्ध यसमा जडित भनि अदालतले कार्यवाही गरेर आजीवन कारावास सम्मको दण्ड दिने प्रावधान रहेको उक्त नोटिसमा बताइएको छ।

Related Posts

0 Response to "जिल्लापालले भेटे अनशनकारीलाई ....अनशन डेढ करोड गोर्खाहरूका निम्ति हो – अजित रोका..... स्वास्थ्य सेवा लिन अस्वीकार आत्महत्या अनि दण्डनीय हो- प्रशासन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.