-->
गोर्खाल्याण्डको माग गर्दै निस्कियो हजारौँ  जनता सडकमा

गोर्खाल्याण्डको माग गर्दै निस्कियो हजारौँ जनता सडकमा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 17  जुन। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै आज कालेबुङको सडकमा हजारौँ मानिसहरू ओर्लिएका थिए। जुलुसमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)का कार्यकर्ताहरू पनि आफ्नो दलको झण्डा सँगै सामेल भएका थिए। 
कालेबुङ शहर ‘बङ्गाल सरकार चिहान हो, चिहानमा गोर्खा बस्दैन’ जस्ता नाराले गुञ्जयमान भएको थियो। हजारौँका सङ्ख्यामा उपस्थित मानिसहरूले राष्ट्रिय झण्डा सँगै गोजमुमो र क्रामाकपाको झण्डा बोकेर डम्बर चौकबाट जुलुस निकालेका थिए। 
जुलुसले शहर परिक्रमा गरेपछि सोझै थाना डाँडा हुँदै जिल्लापालको कार्यालय अघि पुगेको थियो। जहाँ पुलिसले अघिबाटै ब्यारिकेट लगाएको कारण जुलुस अघि बड्न पाएन। जुलुस कालेबुङ जिल्लापालको कार्यालय पछि रहेको बाटोबाट पुन: शहरमा आउन चाहेको थियो तर पुलिसले रोकेपछि त्यहीँ बसेर नै जोडदार नाराबाजी लगाउने कार्य सम्पन्न भयो। यसक्रममा भीडले त्यहीँ बाटो भएर अघि बड्ने निर्णय गरेपछि पुलिसले लगाएको आफ्नो ब्यारिकेट आफै खोलेर जुलुसलाई बाटो दिन परेको थियो। 
पुलिसले ब्यारिकेट आफै खोलेपछि मानिसहरूले ‘जय गोर्खा’को नाराबाजी लगाएका थिए। पछिबाट जुलुस पुन: डम्बर चौकमा आइपुगेर पथसभामा परिणत भएको थियो। जुलुस अवधी शान्ति सुरक्षा बनाएर राख्नका निम्ति पुलिस सँगै आई.आर.बी, एसएसबी, सीआरपीका जवानहरू तैनाथ रहेका थिए भने पछिबाट सेना समेत सडकमा ओर्लन परेको थियो।
‘बङ्गाल सरकारले काँटा, फरुवा, कोदालोलाई डरलाग्दो हतियार देख्छ भने अब हामी हाम्रो प्रत्येक घरमा रहेका काँटा, फरूवा, कोदालो थानामा ल्याएर बुझाइदिनेछौँ। तिम्रो एके 47 जस्तो डरलाग्दो हतियार यहीँ हो तिमीहरू राख भनेर बुझाइदिनेछौँ’ पथसभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समितिका सह सचिव सामुएल गुरुङले भने। 
उनले दार्जीलिङमा भएको पुलिसी कार्वाहीको जोडदार विरोध गर्दै राज्य सरकार आफैले शान्तिमय पहाडमा बलजफ्ति प्रशासनको आडमा अशान्ति फैलाउने कार्य गरेको पनि आरोप लगाएका छन्। ‘पहाडमा राज्य सरकार आफैले अशान्ति फैलाउँदैछ। हिँसा भड्काउने कार्य राज्य सरकारले गरेको हो। यस्तो कार्य हामी सहन गर्दैनौँ’ गुरुङले अझ भने।
‘गोर्खाहरूको संवैधानिक माग गोर्खाल्याण्डलाई दबाउनका निम्ति राज्य सरकारले जनतालाई गरेको अत्याचारको विरोधमा हजारौँ जनता सडकमा ओर्लनेछ। हामी अब यस आन्दोलनलाई गोर्खाल्याण्ड राज्य गठन गरेर मात्र बिसाउनेछौँ’ सामुएल गुरुङले अझ भने। 
उनले संवैधानिक मागलाई रोक्नका निम्ति सरकारले बलजफ्ती प्रशासन लगाएर आतङ्क सिर्जना गर्ने कार्य गरिरहेको आरोप लगाउँदै ‘यो संविधान विरोधी कार्य हो’ भने।  उनले गोर्खाहरूको संवैधानिक मागलाई प्रशासनले रोक्न नसक्ने दाबी गर्दै केन्द्र सरकारले गोर्खाहरूलाई छुट्टै राज्य गठन गरेर न्याय दिनुपर्ने माग पनि गरेका छन्।
यता पथसभालाई सम्बोधन गर्ने क्रममा क्रामाकपा नेता अरुण घतानीले पुलिसी कार्वाहीको जोडदार विरोध गरेका छन्। ‘गोर्खाल्याण्डको आन्दोलनलाई क्रामकपाले हरेकपल्ट साथ दिँदै आएको छ अनि भविष्यमा पनि साथ दिएर अघि बड्नेछ। यो आन्दोलनलाई अब नेताहरूले टुङ्गोमा नपुर्‍याएसम्म रोक्न हुँदैन। गोजमुमो पार्टीले यदि जनताले गरेको गोर्खाल्याण्ड आन्दोलनलाई आधा बाटोमा नै रोके क्रामाकपा टुङ्गोमा पुर्‍याउनलाई अघि बड्नेछ’ अरुण घतानीले भने। उनले आन्दोलनमा उत्रेका जनतालाई सजक हुनपर्ने आह्वान गर्दै सरकारले आन्दोलनलाई हिँस्रक बनाउँनलाई प्रयास गरिरहेको पनि आरोप लगाए। ‘हामी गोर्खाल्याण्डको आन्दोलनलाई गणतान्त्रिक पद्धतिमा अघि बडाउन चाहे पनि सरकारले आन्दोलनलाई उग्र बनाउने प्रयास गरिरहेको छ। यस्तो स्थितिमा जनता सचेत बन्न आवश्यक छ’ घतानीले अझ भने।
‘हाम्रो गणतान्त्रिक आन्दोलनलाई आतङ्ककारीको आन्दोलन भनेर सज्ञा दिन खोजिरहेको छ। हामी भारत सरकारलाई भन्छौँ गणतान्त्रिक आन्दोलनलाई पुलिस प्रशासन लगाएर आतङ्ककारी बनाउने प्रयास गर्नु हुँदैन’ अरुण घतानीले भने। 
उनले पञ्जिकृत राजनैतिक दलको पार्टी कार्यालयमा पुलिस प्रशासन लगाएर प्रवेश गर्नु संविधान विरोधी कार्य हो भनि आरोप लगाए। आज गोर्खाल्याण्ड माग्नेहरूलाई बङ्गालको तृणमूल सकरारले जसरी अत्याचार गरिरहेको छ त्यसलाई हेरेर पहाडका तृणमूल कार्यकर्ताहरू ममता ब्यानर्जीको पार्टी त्यागेर सडकमा आउने अपिल पनि घतानीले गरेका छन्। यहाँ गोर्खाहरूलाई अहिले घरी भएको अत्याचार माथि मानव अधिकार सङ्गठन पनि बोल्नुपर्ने आह्वान गरेका छन्। 
‘गोर्खाल्याण्डको आन्दोलन कुनै व्यक्ति र राजनैतिक दलको होइन। यो जातिय उन्मुक्तिको लडाईँमा अब विकास बोर्डका अध्यक्ष, उपाध्यक्ष र कार्यकर्ताहरूले पनि राजीनामा दिएर आन्दोलनमा होमिनु पर्छ। आउनुहोस हातेमालो गरेर जातिय उन्मुक्तिको आन्दोलनलाई अघि बडाउँ’ अरुण घतानीले विकास वोर्डका पदाधिकारीवर्गलाई आह्वान गर्दै भने।

Related Posts

0 Response to "गोर्खाल्याण्डको माग गर्दै निस्कियो हजारौँ जनता सडकमा "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.