
दोस्रो सर्वदलीय बैठक र गोर्खाल्याण्ड आन्दोलनको भुँडी

बी० पी० बजगाईं, 30 जुन 2017 (यो लेख आन्दोलनको विरोध होइन| आन्दोलनको सफलताको पक्षमा लेखिएको यस लेखलाई पुरा पढेर मात्र कमेन्ट गर्ने, विचार प्रस्तुत गर्ने आव्हान गर्दछु| - लेखक)
बुँदा एक: अनिश्चितकालिन बन्द यथावत राखिने
नेपालीमा एउटा उखान छ, “भोकाएको भन्छ डाँडा वारी खाउँ, अघाएको भन्छ डाँडा पारी खाउँ”| आज यहि विन्दुमा उभिएको छ गोर्खाल्याण्ड आन्दोलन| दार्जीलिङ पहाड अनि डुवर्समा गोर्खा भनेको कमान बस्तीमा काम गर्ने, आज कमाएर आजै खाने, आर्थिक रूपले उभिन पटक्कै नसकेकाहरूको ठूलो जमात पनि हो| यो जमात भोक हड्ताल बसेको आज १८ दिन पुग्दा सर्वदलीय सभाले निर्णय लिन्छ बन्द निरन्तर राख्ने| यस निर्णयले आन्दोलनमा हुने खाने र हुँदा खानेमाझ ठूलो पर्खाल उभ्याउँदैछ|
राजनैतिक नेताहरूले दिउँसो कमाएर बेलुकीको छाक टार्ने समुहको पीडालाई नदेख्नु भनेको आन्दोलन सैधान्तिक पक्षमा कमजोर देखिनु हो| यस्तो तरिकाले आन्दोलनले उर्जा पाउनसक्दैन| यो केवल अनि केवल भावनात्मक आन्दोलनको रूप हो| राजनीतिमा भावना चाहिन्छ, तर त्यसको प्रयोग व्यवहारिक स्तरसम्म मात्रै भएको हुनुपर्दछ| मैले जनताको सहभागिता हटाउने कुरा गरेको भने पटक्कै होइन| दोस्रो सर्वदलीय वैठक अघि मैले बैठकलाई सुझाव लेखेको थिएँ| त्यो सुझाव बैठकमा पुरयाउने अनुरोध बैठकमा उपस्थित तीनजना प्रमुख व्यक्तिहरूलाई फोन मार्फत भनेको पनि थिएँ|
सुझावमा मैले लेखेको थिएँ, “’८६ को आन्दोलनमा लामो बन्द डाकेर जनतालाई थकित बनाइयो अनि दागोपाप थाप्ने काम भयो| थकित, गलेका, लत्रेका जनताले विरोधको ‘चुँ’ -सम्म बोलेनन्| गोजमुमोको पहिलो चरणको आन्दोलन अन्तिम चरणमा जनतालाई पर राखेर पहाडभित्रै नेतृत्वको विरोधको आन्दोलनमा परिणत भयो| यस्तो स्थितिमा एउटा हत्याकाण्डलाई आन्दोलन नियन्त्रण गर्ने चाबीको रूपमा राज्यसत्ताले प्रयोग गरयो| अहिले पनि त्यही मुद्दाको भूतले समग्र जातिलाई पिरोलिरहेको छ| अहिलेको आन्दोलनमा पनि हामीले बन्दलाई निरन्तर राख्यौं भने अन्तमा खाने कुराको अभावमा जनता थाक्नेछन्|
भनिन्छ, ‘भोको पेटले आन्दोलन गर्दैन’| यसैले अब हुने सर्वदलीय बैठकले बन्दलाई उठाउनुपर्छ| तर, नागरिक विहिन आन्दोलन कहिल्यै सफल हुँदैन| यसैले आन्दोलन शिथिल हुन नदिन दिनहुँ हजारौंको संख्यामा जनतालाई सडकमा निकाल्ने योजनामा काम हुनुपर्छ| जनतालाई सडकमा निकालेर केवल जिन्दावाद अनि मुर्दावादको नारा लगाउनु लाउँदा त्यसले आन्दोलन प्रति समर्पण र राजनैतिक संस्कार जन्माउँदैन| यसैले दिनहुँ जनता सडकमा बोलाएर दुई अर्थात् तीन घण्टा सडक कविता, सडक नाटक, सडक सङ्गीत जस्ता विभिन्न जनमुखी, जनवादी कार्यक्रमहरूमा सहभागी बनाउनुपर्छ| यस्तो कार्यक्रमले जनतामा हाम्रो आन्दोलनको विभिन्न पक्षहरूलाई बुझाउने काम गर्नसकिन्छ|
बन्द नरहेपछि पर्यटकको आगमन हुन्छ| विभिन्न स्थानबाट आएका पर्यटकहरूले समेत हाम्रो दिनहुँको कार्यक्रम हेरेर हामीले गोर्खाल्याण्ड माग्नुको कारण बुझेर जानेछन्| सरकारलाई दिनहुँ चाप दिनसकिने छ| युग बित्यो जिन्दावाद र मुर्दावादको नाराले...| अब हामी आफै संस्कारित हुने राजनैतिक आन्दोलन गरौँ| यसले धेरै कुरा खोल्दै जान्छ|” तर मेरो यस विचारलाई सायद सभामा राखिएन, अर्थात् राखे भनेपनि बुझ्न सकेनन|
प्रतिवादको निम्ति केही दिनको बन्द गणतन्त्रमा औजार पक्का हो| तर यसको निरन्तर प्रयोग घातक हुन्छ| म अहिले पनि निरन्तर बन्दको विरोध गर्छु| हिजोको सर्वदलीय बैठकले बन्दलाई निरन्तर राखेर राम्रो काम गरेन| बन्दको साटो जनतालाई सडकमा उतारेर गोर्खाल्याण्डको सडक कविता, सडक नाटक अनि सडक गीत भन्दै/ गाउँदै सडक नै जाम गराएर हिंड्न सकिने थियो| जनता अघाएर आन्दोलनमा सामेल हुनेथिए| आन्दोलन दिगो राख्न सकिने थियो| हिजो बन्दको निरन्तरता विरोधी मेरो कमेन्टमा नकारात्मक टिप्पणीहरू पनि आए| ती टिप्पणीकारहरू प्रोफाइल हेर्दा कतिपय यस राज्यबाहिरका रहेछन्|
भोको पेटलाई मात्र भोक थाहा हुन्छ, अघाएको पेटले भोक अनुभव गर्न सक्दैन| दार्जीलिङ पहाडमा नै पनि हुनेखानेहरूकोमा रसद-पानीको स्टक हुनसक्छ, उसलाई फरक नपर्ला, तर केही पेटहरू माटोको माया छोडेर रोटीको सपनामात्रै देख्ने बन्लान्, नेताहरूले यस्तो कुरामा विचार पुरयाउनु नसक्नु दुखद घटना हो| रसिया जस्तो बिकसित मुलुकमा पाउरोटीको निम्ति झगडा परेको घटना यही जीवनमा हामीले देखेकै हौँ, रसियन युवतीहरूले परिवारको भोक धान्न के के गर्नुपरेन, त्यसको इतिहास अध्ययन गरिनु पनि जरूरी छ|
तीन-तीनजना शहीद भईसके, सम्पर्क सुविधाबाट विछिन्न भएर जनताले काला-पानीको जीवन बाँच्दैछन्| विद्यार्थीहरूले उच्चतर शिक्षाको निम्ति फारम भर्न नपाएकोले एउटा पिडी नै अन्धकारतर्फ बढ़दैछन्| हिजो अस्ति मुसलमान समुदायको पर्वको अवसरमा बन्द खोलेको दिन कसैले ट्रकमा लगेर सब्जी बाँड्दा मानिसहरू रोडमा फ्याँकेको एउटा बन्दा कोपीको निम्ति कुदेको भिडियो सोसियल मिडियामा थियो| कसरी भन्नु सकिन्छ बन्द जनताको इच्छामा राखेको भनेर? बन्द निरन्तर गर्नुको पछिको राजनैतिक लाभ, लक्ष्य अनि कार्य योजना स्पष्ट पारिनु आवश्यक छ| आज मेरो यस लेखलाई विरोधको आँखाले अवश्यै हेरिएला, तर यस्तो राजनैतिक कार्यक्रमले लक्ष्य चुक्यो भने भोलि मलाई दोषी देख्ने त्यही आँखाहरूले के भन्ने? गरिबको भोक खेलाँची गर्ने विषय कदाचित होइन|
बुँदा दुई: गोर्खाल्याण्ड समन्वय समिति गठन
राम्रो कुरा हो यो| समन्वय समिति बन्नु नै पर्थ्यो| तर हिजो पाँच घण्टाको सर्वदलीय बैठकले कार्य योजना चुडांत रूपमा बनाउन किन सकेन? आज फेसबुकमा यस कदमलाई स्वागत गरेको प्रसस्तै देख्दैछु| मलाई सम्झना आउँछ, अगस्त २०१३ मा पनि गोजमुमोको नेतृत्वमा एउटा सर्वदलीय बैठक बसेको थियो अनि त्यस बैठकले गोर्खाल्याण्ड जोइन्ट एक्शन कमिटी गठन गरेको थियो| त्यसबेला पनि जनताले त्यस कदमलाई ऐतिहासिक पदक्षेप मानेकै थियो| आज कहाँ छ त्यो कमिटी? कुरा इमान्दार नेतृत्वको हो| यदि नेतृत्व इमान्दार थियो भने राजनैतिक दलका शीर्ष नेतृत्वहरू सर्वदलीय बैठकमा किन गएनन्? के यसबाट केही बुझ्न सकिंदैन?
मलाई पी अर्जुन ज्यूले लेख्नुभएको उनको पुस्तक ‘राजनीतिका कुराहरू’ –बाट एउटा कुरा उल्लेख गर्नु मन लाग्यो| त्यो के हो भने “घरभित्रको शत्रु सबै भन्दा भयानक हुन्छ|” हो हामीले हाम्रै मिथकहरूबाट पनि शिक्षा लिनुपर्छ|
सांसद चुनाव जित्ने बित्तिकै एस एस आह्लुवालियाले सिलगडीको एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै “ म र मेरो पार्टीले गोर्खाल्याण्ड हुनेछ अथवा गठन गर्नेछौं भनेर कहिल्यै भनेका छैनौं...” भनेका थिए| यो कसको झूट थियो? गोजमुमोको कि सांसदको? त्यतिनै बेला यस कुराको जोरदार विरोध किन भएन? मैले भन्न चाहेको कुरा हामी पटक पटक ढाँटिदैछौं| यसपाली के हुँदैछ? अँग्रेजीमा एउटा भनाई छ, “Words may lie, but actions will always tell the truth.” हामीलाई हिजो के भनियो अनि आज के भनिंदैछ त्यो हैन, हिजो अनि आज के कस्तो काम गरिँदैछ, त्यसलाई हेर्ने र बुझ्ने आवश्यकता छ|
राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर भूमिपूत्रलाई सांसद नबनाउने भनेर गैर गोर्खालाई बाहिरबाट इम्पोर्ट गर्ने पहाडको राजनीति त्यतिबेला जनतालाई ठीक लागेतापनि अहिले बेठीक लाग्दै होला, त्यस्तै अहिलेको मेरो कुरा जनतालाई बेठीक लाग्नसक्छ, तर भोलि ठीक लाग्दा समय गइसकेको हुनेछ|
बुँदा तीन: अविश्वास
नेताहरूलाई थाहा थियो, यो समय अत्यन्तै क्रुसियल समय हो भनेर, पल-पल, क्षण-क्षण महत्वपूर्ण छ भनेर| सबै किन्न पाइन्छ तर यस विश्वमा समय किन्न पाइंदैन| मैले हतार गरेको होइन| पहिलो सर्वदलीय सभा र हिजोको दोस्रो सर्वदलीय सभाको बीचमा नौ दिन लामो समय थियो| नौ दिनमा सबै दलले आ-आफ्नो तर्फबाट सामुहिक रणनीतिमा चाहिने सुझाव-पत्र तयार गरिसक्ने प्रशस्त समय थियो| पहिलो सर्वदलीय सभा पछि के गरिबसे राजनैतिक दलहरूले? किन बनिएन सामुहिक रणनीति? किन चाहियो फेरी एक सप्ताहको समय?
सबैलाई थाहा छ, पार्टीको शीर्ष नेताको अनुपस्थितिमा कहिल्यै चुडांत निर्णय हुनसक्दैन| किन उपस्थित भएनन् राजनैतिक दलका शीर्ष नेतृत्वहरू? के उनीहरू वर्तमान परिस्थितिलाई लम्ब्याएर राख्न चाहन्छन? चाहन्छन भने किन चाहन्छन?
यदि केन्द्र सरकारले गोर्खाल्याण्ड गठनमा चासो नदेखाए सबै पार्टीका शीर्ष नेताहरू अनिश्चितकालिन आमरण अन्शनमा बस्ने भनेको के हो? के अहिले चैं केन्द्र सरकारले गोर्खाल्याण्ड गठनमा चासो देखाउंदैछ? बस्ने भए आजै र अहिल्यैदेखि किन नबस्ने? अहिल्यैदेखि नेताहरू आमरण अनशनमा बस्दा के हुन्छ? केही बाधा छ?
यसबाहेक चित्त नपरेका केही बुँदाहरू पनि छन्, जसलाई म सोसियल मिडियामा ल्याउन चाहँदिन| ल्याउनु राम्रो पनि होइन| सम्पूर्ण विश्वको गोर्खा समाज एक भएर उभिएको बेला मैले यस्तो लेख्नु हुँदैन, यसले नकारात्मक असर पर्नजान्छ भनेर मलाई थाहा छ | तर विगतको इतिहासमा यसरी बिग्रेको कुरालाई कसैले पनि कान नबटारेको हुनाले हाम्रो सपना आजपनि जहाँको त्यहीं नै छ| १२०० मर्यों, दागोपाप थाप्यौं, कानमा तेल हालेर सुत्यौं...., ६ मर्यों, जीटीए थाप्यौं, फेरी कानमा तेल हालेर सुत्यौं...., अहिले तीन मर्यों, यस्तै पाराले केही वर्ष सुत्दै, फेरी उठ्दै, मर्दै, सुत्दै, उठ्दै, मर्दै..., कति पटक मरिरहनु? लाखौं जनताको भविष्यलाई चिया र कफीको टेबलमा बसेर केवल २०-३० जनाले कोरकार पार्नु उचित होइन| जे गर्नुछ, पक्का अनि लक्ष्यभेदी तरिकाले समय खेर नफाली गरौँ| हामीलाई देखेर गोर्खासँग विश्व डराउन छोड्दैछ...
यसबाहेक एउटा भन्नै पर्ने कुरा पनि भनिहाल्न चाहन्छु| बन्द, भोक र आन्दोलनको नाममा चन्दा संग्रह गर्ने योजनामा केही समुह लाग्ने सङ्केत वाट्सएपतिर देख्दैछु| आन्दोलनमा चन्दा आवश्यक त हो, तर त्यो कहाँ जाँदैछ भन्ने कुरा निर्क्यौल नगरी यस्तो कुरालाई प्रोत्साहन दिनु उचित हुँदैन|
अन्तमा म फेरी पनि भन्दैछु, युवाको कर्तव्य अब जिन्दावाद-मुर्दावादको नारामा लाम लाग्नु होइन. एउटा सचेत अनि राष्ट्रवादी नागरिक बनेर राजनैतिक कर्तव्य निर्वाह गर्नुपनि हो| (- साभार अनि आभार: फेसबुक -बी० पी० बजगाईं)
0 Response to "दोस्रो सर्वदलीय बैठक र गोर्खाल्याण्ड आन्दोलनको भुँडी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.