-->
नगरपालिका चुनावमा कसले जमाउँला धाक ? चुनाव शान्तिपूर्ण गराउनका निम्ति प्रशासन तयार

नगरपालिका चुनावमा कसले जमाउँला धाक ? चुनाव शान्तिपूर्ण गराउनका निम्ति प्रशासन तयार

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 13 मई। ‘नगरपालिका चुनावमा कसले जमाउने धाक?’- अहिले सबैको मुखमा उक्त प्रश्न झुण्डेको छ। बद्लिन्दो राजनैतिक वातावरणमा पहाडको सत्तासिन राजनैतिक दल गोजमुमो पुन: नगरपालिकाको सत्तामा आउँला? कि एक मौका खोज्दै हिँड्ने जाप आउने हो? कि विकासको नारा जप्ने तृणमूल कङ्ग्रेसले सत्ता कब्जा गर्ने हो? प्रश्नै प्रश्नै मात्र छ तर उत्तर भने केवल 17 मईका दिन मात्र प्राप्त हुनेछ। 
भन्नका निम्ति गोजमुमो जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेसका नेताहरूले नगरपालिका बोर्ड जमाउने धाक पिट्दैछन्। तर जनताले नगरपालिका चुनावमा पनि गोर्खाल्याण्डको मुद्दा जप्ने गोजमुमो अथवा भ्रष्टचार मुक्त नगरपालिका बनाउँछु भन्ने जाप वा विकासको मूल फुटाउँछु भन्ने तृणमूललाई चुन्ने कुराको किटान गर्न भन्ने स्थिति अहिले देखा परेको छैन। 
विगतका चुनावहरूमा पहाडको सत्तासिन राजनैतिक दलले नगरपालिकामा स्वत: आफ्नो बोर्ड निर्माण गर्दै आएपनि यसपल्ट भने त्रिकोणिय लडाई लड्न परिरहेको छ। जहाँ पहाडकै सत्ता सम्हाल्ने राजनैतिक दल गोजमुमोलाई नगरपालिका चुनाव फलामको चिउरा जस्तै बनेको छ। 
यता भ्रष्टचार मुक्त नगरपालिकाको कुरा गर्ने जन आन्दोलन पार्टीलाई पनि पार्टीको अस्तित्व बचाउन नगरपालिका चुनाव काँडाको बाटो हिँड्नु भन्दा कम्ति चुनौति भने पटक्कै छैन। यस्तो अवस्थामा राज्यकै बागडोर सम्हाल्ने तृणमूल कङ्ग्रेसलाई पनि पहाडमा हार र जित मात्र होइन भविष्यमा पहाडमा सङ्गठनै बाँच्न सक्छ सक्दैन भन्ने स्थितिबाट निस्कन सक्नुपर्ने अवस्थामा प्रतिष्ठाको लडाईँ लड्न परिरहेको छ।
तीनवटा राजनैतिक दलहरू क्रमैले गोजमुमो, जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेस माझ हुने त्रिकोणिय चुनावी लडाईलाई देख्रेख गर्नका निम्ति कालेबुङको मतदान केन्द्रहरूमा चुनाव कर्मीहरू प्रस्थान गरेका छन्। आज यहाँको नगरपालिका कार्यलय नजिक रहेको अतिथि गृहबाट इलेक्ट्रोनिक भोटिङ मसिन (इभिएम) बोकेर चुनाव अधिकारीको साथमा चुनावकर्मी अनि सुरक्षा बलहरू मतदान केन्द्रमा प्रस्थान गरेका छन्। कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा सम्पन्न हुन लागेको चुनावमा मोठ 46 वटा मतदान केन्द्रहरू रहेका छन्। चुनावलाई शान्तिपूर्ण गराउनका निम्ति प्रशासन पूर्णरुपले तयार रहेको छ। चुनाव अवधि कुनै पनि गडबडी नहोस भनेर सम्पूर्ण मतदान केन्द्रहरूमा चुनाव आयोगले सिसि टिभि क्यामेरा पनि जडान गरेको छ।
कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा मोठ 36 हजार 601 जना मतदाताहरू रहेका छन्। जसमध्ये 18 हजार 114 पुरुष अनि 18 हजार 487 महिला मतदाताहरू रहेका छन्। नगरपालिकाको 4 नम्बर मतदान केन्द्र कन्या उच्चतर माध्यमिक विद्यालयमा सबैभन्दा निम्नतम मतदाताहरू रहेका छन्। उक्त मतदान केन्द्रमा केवल 393 जना मतदाताहरू मार रहेका छन् भने 33 नम्बर मतदान केन्द्र, साई इन्टिच्युट अफ एडुकेशन एण्ड रिसर्चमा अधिकतम मतदाताहरू रहेका छन्। त्यस मतदान केन्द्रमा 1293 जना मतदाताहरू रहेका छन्। चुनावी मैदानमा खडा भएका मोठ 102 जना प्रार्थीहरूको भाग्य भोलि मतदाताहरूले इभिएम मसिनमा बन्द गर्नेछन्। जुन इभिएम मसिनबाट प्रार्थीहरूको भाग्य आगामी 17 मईका दिन खोलिनेछ।
कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूबाट जन आन्दोलन पार्टीले 23 जना नै प्रार्थीहरू खडा गरेका छन् भने गोर्खा जनमुक्ति मोर्चाले 22, तृणमूल कङ्ग्रेस 19, माकपा 9 अनि गोरामुमो पार्टीले 3 वटा आसनमा प्रार्थीहरू खडा गरेको छ। यसका साथै 26 जना निर्दलीय प्रार्थीहरू पनि चुनावी मैदानमा खडा भएका छन्। तृणमूल कङ्ग्रेसले 19 जना प्रार्थीहरुउलाई चुनावी मैदानमा उतारे पनि वार्ड नम्बर एकका प्रार्थी पवन सुन्दास चुनाव अघि नै गोजमुमोमा सामेल भएका छन्। यता गोर्खा जनमुक्ति मोर्चाको 15 नम्बर वार्डका प्रार्थीको नामाङ्कन पत्र रद्द भएको कारण मोर्चाको केवल 22 जना प्रार्थी रहेको हो भने त्यस वार्डमा मोर्चा समर्थित निर्दलिय प्रार्थी रहेका छन्।

Related Posts

0 Response to "नगरपालिका चुनावमा कसले जमाउँला धाक ? चुनाव शान्तिपूर्ण गराउनका निम्ति प्रशासन तयार"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.