-->
क्रामाकपाले गोर्खाल्याण्ड बाहेक अन्य कुरामा सम्झौता गर्दैन – अरुण घतानी

क्रामाकपाले गोर्खाल्याण्ड बाहेक अन्य कुरामा सम्झौता गर्दैन – अरुण घतानी

डी.के. वाइबा,कालिमन्युज, कालेबुङ 22 अप्रेल। ‘गोजमुमो पार्टी भाजपाको शरण पुग्यो, गोरामुमो ममताको साडी समाउनु पुगेको छ अनि जन आन्दोलन पार्टी पहाडमा तृणमूल भित्राउने दल हो। पहाडका यी तीनवटा राजनैतिक दलहरूले नै जनतालाई टुङ्गोमा पुर्‍याँउदैन। केन्द्र र राज्यको आशिर्वादमा जन्मेका यी राजनैतिक दलहरूबाट जनताले निकासको अपेक्षा राख्नु हुँदैन’ उक्त कुरा क्रामाकपा केन्द्रिय समिति सदस्य अरुण घतानीले भनेका हुन्। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा सङ्कल्प र्‍याली पछि सम्पन्न भएको पथसभालाई सम्बोधन गर्ने क्रममा घतानीले गोजमुमो, जाप अनि तृणमूल कङ्ग्रेसको जोडदार आलोचना गरेका थिए। 
‘क्रामाकपाले टालटुले व्यवस्थामा सम्झौता गर्दैन। आजसम्मका आन्दोलन गर्ने दलहरूले टालटुले व्यवस्थामा सम्झौता गरेको कारण नै छुट्टै राज्य गोर्खाल्याण्ड पाउन नसकेको हो। गोरामुमोले दागोपाप अनि गोजमुमोले जीटीएमा सम्झौता गरेर जनतालाई धोखा दिएको छ’ अरुण घतानीले भने। यसक्रममा उनले जन आन्दोलन पार्टीलाई आफ्नो स्पष्ट चरित्र जनता सामु राख्ने सुझाव पनि दिएका छन्। ‘जन आन्दोलन पार्टीले आफ्नो अनुहार स्पष्ट देखाउनुपर्छ। उनीहरूले बङ्गालको राजनैतिक दलसँग मिल्ने अथवा पारपाचुके गरेर आन्दोलन गर्ने हो त्यो स्पष्ट पार्नुपर्छ’ घतानीले भने। 
यसक्रममा क्रामाकपाले छुट्टै राज्य गोर्खाल्याण्ड बाहेक अन्य कुनै पनि व्यवस्थामा सम्झौता गर्न नहुने बताउँदै ‘गोर्खाल्याण्डको विकल्प केहि छ भने त्यो केवल गोर्खाल्याण्ड मात्रै हो’ भने। पथसभालाई सम्बोधन गर्ने क्रममा घतानीले अहिलेघरी नगरपालिका चुनावको मौसममा झोलाछाप नेताहरू सक्रिय रहेको पनि आरोप लगाएका छन्। ‘जनता होसियार् बस्नुहोस। झोलाछाप नेताहरू अहिले भोटको बजारमा सक्रिय रहेका छन्। यस्ता झोलाछाप नेताहरूलाई जनताले समयमा नै चिन्न आवश्यक छ’ अरुण घतानीले अझ भने। 
यसक्रममा क्रामाकपा परजीवि नरहेको दाबी गर्दै अन्य राजनैतिक दलहरू अन्य राजनैतिक दलहरू जस्तो सत्तारुढ दलहरूको आशिर्वादमा बाँचेको पार्टी होइन भने। अर्कोतिर पथसभालाई सम्बोधन गर्दै कालेबुङ आञ्चलिक कमिटिका अध्यक्ष किशोर प्रधानले क्रामाकपालाई गोर्खाल्याण्ड विरोधी दल भन्नेहरू अहिलेघरी तृणमूल कङ्ग्रेसको झण्डा समाएर हिँडिरहेको बताएका छन्। 
‘क्रामाकपाले जहिले पनि गोर्खाल्याण्डको कुरा गर्छ। क्रामाकपा जिउँदो रहेसम्म गोर्खाल्याण्डको निम्ति मात्रै लडिरहनेछ। हामीलाई गोर्खाल्याण्ड विरोधी भन्नेहरू आज तृणमूलको झण्डा समाउँदैछन्। हामी रङ फेर्ने पार्टी होइनौँ’ किशोर प्रधानले भने। यता उनले नगरपालिका चुनावमा क्रामाकपाले भाग नलिने बताउँदै अन्य राजनैतिक दलका प्रार्थीहरूलाई पनि समर्थन नजनाउने स्पष्ट पारेका हुन्। ‘नगरपालिका चुनावमा क्रामकपाले भाग लिने नलिने स्पष्ट भएको छैन। यदि भाग लिए स्वतन्त्र रुपले लड्नेछौँ तर चुनाव नलडेको खण्डमा हामी अन्य दलहरूलाई सघाउने कार्य भने गर्दैनौँ’ किशोर प्रधानले स्पष्ट पारे। 
अहिलेघरी दार्जीलिङ पहाडमा विकासको कुरा गरेर छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई गोजमुमो, गोरामुमो, तृणमूल कङ्ग्रेसले किनाराकृत गरेको आरोप लगाउँदै जनतालाई साँचो कुरा बताउँन यसरी पथसभा आयोजना गर्ने गरेको पनि प्रधानले स्पष्ट पारेका छन्। उनले गोर्खाहरूको राष्ट्रिय राजनैतिक सवाललाई केवल छुट्टै राज्य गोर्खाल्याण्ड गठनले मात्र सम्बोधन गर्न गर्न सक्ने बताउँदै पहाडका सत्तासिन राजनैतिक दल गोजमुमोले भने जनतालाई सही मार्गदर्शन गर्न नसकेको आरोप लगाए। यता क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) कालेबुङ आञ्चालिक कमिटिले आज पथसभा आयोजना गर्न अघि शहरमा सङ्कल्प र्‍याली आयोजना गरेको थियो। 
यहाँको नौ माइल स्थित नोभेल्टि परिसरबाट सम्पन्न भएको उक्त सङ्कल्प र्‍यालीले कालेबुङ शहरको परिक्रमा गरिसकेपछि थना डाँडामा आइपुगेर पथसभामा सम्पन्न भएको थियो। मोहन पौड्यालको अध्यक्षतामा सम्पन्न भएको पथसभालाई सञ्जिला घिसिङ, सुधन प्रधान, रविन राई आदिले सम्बोधन गरेका थिए भने उनीहरूले पनि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति क्रामाकपाले पटक्कै सम्झौता नगर्ने दाबी गरेका छन्।

Related Posts

0 Response to "क्रामाकपाले गोर्खाल्याण्ड बाहेक अन्य कुरामा सम्झौता गर्दैन – अरुण घतानी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.