-->
जन आन्दोलन पार्टीको प्रथम स्थापना दिवस पालन .......जीटीएबाट राजीनामा देऊ अनि गोर्खाल्याण्डको कुरा गर – डा. हर्कबहादुर छेत्री

जन आन्दोलन पार्टीको प्रथम स्थापना दिवस पालन .......जीटीएबाट राजीनामा देऊ अनि गोर्खाल्याण्डको कुरा गर – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 27 जनवरी। ‘विमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको उठान गर्छु भन्छन् भने पहिला जीटीएबाट राजीनामा दिनुपर्छ। त्यसपछि तिम्रो सांसद एस.एस आहलुवालीयालाई गोर्खाल्याण्डको बील संसदमा पेश गर्न लगाउनुपर्छ। यदि पेश गर्न सक्दिन भन्छ भने सांसदलाई पनि राजीनामा दिन लगाउनुपर्छ। जनतालाई अब गोर्खाल्याण्डको कुरा गरेर ढाँट्ने काम बन्द गरे मात्र जनताले विश्वास गर्नेछन्’ - उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले पार्टीको पहिलो स्थापना दिवसलाई सम्बोधन गर्दै भनेका हुन्।
जापको पहिलो स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै डा. छेत्रीले मोर्चाले पहाडमा गरिरहेको भ्रष्टचारको पोलपनि खोलेका छन्। उनले आगामी दिनहरूमा मोर्चाले गरेको भ्रष्टचारलाई उदाङ्गो पारेर जनताको अघि राख्ने प्रतिबद्धता जाहेर गर्दै जनताको काम गर्न चुनिएका नेताहरूले केवल भ्रष्टचार गरेर जनतालाई धोका दिइरहेको आरोप लगाएका छन्।
‘दार्जीलिङ जिल्लाभरीमा भारत सरकारको सय दिने रोजगार अन्तर्गत 701 करोड रूपिया आएको हामीले सूचनाको अधिकार मार्फत जवाब पाएका छौँ। 701 करोड कहाँ गयो कसैलाई थाह छैन। सूचीमा भएको काम कहीँ भएको छैन अनि पैसा सबै पारित गरिसकेको छ। वास्तवमा उनीहरू जम्मै भ्रष्टचारमा डुबेका छन् अनि यो भ्रष्टचार जीटीएको सम्पूर्ण विभागहरूमा नै व्याप्त छ’ डा. छेत्रीले अझ भने। उनले भ्रष्टचारीहरूलाई जन आन्दोलन पार्टीले सिर्कुना लगाउने बताउँदै नगरपालिकामा पनि उत्तिकै भ्रष्टचार भएको आरोप लगाए। अर्कोतर्फ आजसम्म जन आन्दोलन पार्टीलाई मोर्चाले तृणमूल कङ्ग्रेसको बी टीम हो भनि लगाएको आरोपलाई खण्डन गर्दै मोर्चानै वास्तवमा तृणमूलको बी टीम सँगै भाजपाको नराम्रो बी टीम हो भनि आरोप लगाए। ‘जापलाई तृणमूलको बी टीम भन्नेहरू बङ्गालले दिएको फन्ड थाप्छ अनि जीटीएको चौकिमा बस्छन्। बङ्गालको पैसा थापेर जीटीए चलाउने तिमीहरूनै तृणमूलको बी टीम हौ। यति मात्र होइन अहिले त मोर्चा भाजपाको घिनलाग्दो बी टीम भएको छ। भाजपाले उठ् बस गराउँदा उठ बस गर्नेहरूले भाजपाको बी टीम बन्ने काम बन्द गर्नुपर्छ’ डा. छेत्रीले मोर्चाप्रति कटाक्ष गर्दै भने।
यस क्रममा दलका अध्यक्ष हर्कबहादुर छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चाले कालेबुङको मेला ग्राउण्डमा हल्ला गर्नको साटो जीटीए सम्झौताको कानुनहरूलाई राम्ररी पढेर आफ्नो क्षमता बुझ्ने सुझाव दिएका छन्। गोजमुमो अध्यक्ष विमल गुरुङले जीटीएको कानुन नपढेका कारण उनलाई आफ्नो क्षमताबारे ज्ञान समेत नभएको आरोप लगाउँदै यदि आफ्नो क्षमता बुझ्ने भए मेला ग्राउण्डमा जनसभा गरेर गन-गन् गर्ने थिएन भनि छेत्रीले बताए। ‘आज विमल गुरुङले विकास बोर्डहरूको विरोध गर्दैछन्। तिमीले त्यसलाई विरोध गर्नको साटो जीटीए सम्झौताको कानुन 38, 48, 49 अनि 50 लाई राम्ररी अध्ययन गर। त्यस कानुनले तिमीलाई सबै क्षमता दिएको छ। यदि त्यसलाई बङ्गालले पालन गरेन भन्छौँ भने भारतको सर्वोच्च न्यायलयमा गएर मुद्दा दर्ता गर। कालेबुङको मेला ग्राउण्डमा गन-गन गरेर काम बनिन्दैन’ डा. हर्कबहादुर छेत्रीले सुझाव दिए। उनले आफ्नो सम्बोधनको क्रममा मोर्चाले अस्थायी कर्मचारी, स्वयँँसेवक शिक्षकको समस्या, बिजुलीको बीलको समस्यालाई समेत समाधान गर्न नसकेको आरोप लगाउँदै ‘नेताले हल्ला होइन काम गर्नुपर्छ’ भने।
यता कार्यक्रमलाई सम्बोधन गर्दै जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य अमर लामाले भारतको सर्वोच्च न्यायलयले जात अनि धर्मको नाउँमा चुनाव माग्न नपाउने आदेश जारी गरेर राम्रो काम गरेको दाबी गर्दै ‘गोर्खाल्याण्डको मुद्दालाई मागी खाने भाँडो बनाउनेहरूलाई लगाम लाग्नेछ’ भने। जापले भारतको कानुन र संविधानलाई सिरोपर गर्ने दाबी गर्दै जापले धर्म र जातीलाई राजनीतिको हतियार नबनाएको स्पष्ट पारे। यसक्रममा उनले कालेबुङलाई भोटाङको जमीन हो भनि विगतका दिनमा मोर्चा अध्यक्ष विमल गुरुङले भनेको कुरा स्मरण गर्दै राष्ट्रविरोधी कुरा गरेकै कारण केन्द्र सरकारले मोर्चाको कुरालाई गम्भिरतापूर्वक नलिएको दाबी गरे।
गत 27 जनवरी 2016 का दिन पहाडमा नयाँ राजनैतिक दलको रूपमा उदय भएको जन आन्दोलन पार्टीको उक्त पहिलो स्थापना दिवसमा कालेबुङ, दार्जीलिङ, खरसाङ मिरिक आदि क्षेत्रका कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा दलका अध्यक्ष हर्कबहादुर छेत्री, महासचिव नयन प्रधान सर्वोच्च नीति निर्धारण समीतिका सदस्य अनमोल प्रसाद, अमर लामा, जनचेली एकाईँकी प्रमुख प्रतीभा कुमाई आदिले पनि सम्बोधन गरेका थिए। यसक्रममा दलका नेतृत्वहरूले पार्टीले एक वर्षभित्रमा गरेका उपलब्धीमूलक कार्यहरूबारे उल्लेख गर्दै पहाडमा भइरहेका भ्रष्टचारहरूको मुद्दा पनि उठान गरेका थिए।



Related Posts

0 Response to "जन आन्दोलन पार्टीको प्रथम स्थापना दिवस पालन .......जीटीएबाट राजीनामा देऊ अनि गोर्खाल्याण्डको कुरा गर – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.