
गोर्खाल्याण्डको निम्ति माग गरेको समिति घातक हुने जापको आरोप ...... विमल गुरुङले आत्मघाती पाइला चाल्ने काम गर्दैछ – डा. हर्कबहादुर छेत्री
![]() |
डा. हर्कबहादुर छेत्री |
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 29 नोभेम्बर। ‘गोजमुमो अध्यक्ष विमल गुरुङले आत्मघाती पाइले चाल्ने कार्य गरिरहेका छन्। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति आन्दोलन गरेको यत्तिका वर्षपछि अहिले आएर ‘गोर्खाल्याण्ड राज्य गठनको औचित्य बुझ्ने कमिटि’ गठनको माग गर्नु ठिक होइन।
यो उनको गोर्खाहरुको निम्ति आत्मघाती पाइला हो। यसले सम्पूर्ण भारतीय गोर्खाहरूलाई भविष्यमा खाल्डोमा हाल्ने काम गर्नेछ’ – उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
जापको पार्टी कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर उनले यदि भविष्यमा ‘औचित्य बुझ्ने कमिटि’ गठन भएर गोर्खाल्याण्ड हुँदैन भन्ने रिपोर्ट सरकारले पेश गरे भविष्यमा गोर्खाल्याण्ड माग्नेहरूका निम्ति ढोका सधैँका निम्ति बन्द हुने सम्भावना व्यक्त गरेका छन्।
‘भविष्यमा औचित्य बुझ्ने कमिटि गठन भएर गोर्खाल्याण्ड हुँदैन भन्ने रिपोर्ट पेश गरे के हुनेछ? विमल गुरुङले आजसम्म गोर्खाल्याण्डको निम्ति आन्दोलन गरेका हुन् कि कमिटि गठनको निम्ति आन्दोलन गरेका हुन्?’ डा. छेत्रीले प्रश्न गरे। यसक्रममा उनले गोजमुमो छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ईमान्दार नरहेको आरोप लगाए।
‘गोजमुमोले गोर्खाल्याण्डको नाउँमा आन्दोलन गरे पनि उनीहरू मुद्दा प्रति ईमान्दार छैन। केवल जनतालाई आँखामा धुलो हाल्नका निम्ति गोर्खाल्याण्ड भनेर गोजमुमोले ढाँट्दैछ’ डा. छेत्रीले आरोप लगाए। उनले गोजमुमो पार्टी यदि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाप्रति ईमान्दार छौँ भन्छ भने गोर्खाल्याण्डको नाउँमा भोट जितेर गएका सांसद एस.एस आहलुवालीयालाई शीतकालीन संत्रमा संसदमा गोर्खाल्याण्डको बील पेश गर्ने माग गरेका छन्। ‘सांसद गोजमुमोको छ। केन्द्रमा सरकार भाजपाको छ। तिमीहरू गोर्खाल्याण्ड प्रति ईमान्दार छु र केवल गोर्खाल्याण्डको निम्ति दिल्लीमा कुराकानी गर्न जान्छु भन्छौँ भने शीतकालीन सत्रमा तिम्रो सांसदलाई गोर्खाल्याण्ड बील पेश गर्न लगाऊ’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले चुनौति दिँदै भने।
उनले पत्रकारहरूलाई सम्बोधनको क्रममा जन आन्दोलन पार्टीलाई ‘गोर्खा’ नाउँ समेत नलेख्ने पार्टी भनेर आरोप लगाउने गरेको बताउँदै मोर्चाले भने गोर्खा केवल नाउँको निम्ति मात्र लेखेको तर कार्य भने गोर्खाको हितमा नगरेको पनि आरोप लगाएका छन्।
‘हामी गोर्खा शब्द लेख्नलाई मात्र प्रयोग गर्दैनौँ। हामी शब्दमा भन्दा धेर कार्यमा विश्वास गर्छौँ र काम गरिरहेका छौँ। तिमीहरू गोर्खा शब्द लेखेर भविष्यमा गोर्खाहरूलाई खाल्डोमा हाल्ने काम गर्दैछौ’ डा. छेत्रीले आरोप लगाए।
यसैक्रममा जापले गोर्खाल्यण्डको बील बनाएर सांसदलाई दिँदा समेत त्यस बीललाई संसदमा मोर्चाले पेश गर्नका निम्ति दबाऊ बनाउन नसकेको आरोप लगाए। यसक्रममा उनले गोजमुमो अध्यक्ष विमल गुरुङको नाउँ उच्चारण गर्दै ‘गोर्खाल्याण्ड नभएसम्म पैदल यात्रा रोक्दिन भनेर 56 दिनमा फिर्ता गर्नु जनतालाई ढाँटेको होइन भने के हो?’ भनि प्रश्न गरे।
हाल जापले जन हितमा विविध कार्य गरिरहेको दाबी गर्दै अब आफुहरूले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति कार्य अघि बढाउने अनि सँग सँगै जनताको आधारभूत कार्यहरूलाई पनि उत्तिकै प्राथमिकताको साथ अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन्।
अर्कोतर्फ डा. छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा कोलकोता उच्च न्यायालयले कालेबुङ जिल्ला लगायत अन्य दुईवटा जिल्ला गठनका निम्ति स्वीकृती दिएपछि मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिँदै कालेबुङवासीलाई बधाई दिएका छन्।
‘मुख्यमन्त्री ममता ब्यानर्जीको सक्रियतामा कालेबुङ जिल्ला गठन हुन सम्भव भयो। यसका निम्ति मुख्यमन्त्रीलाई जन आन्दोलन पार्टी आभार व्यक्त गर्दछ’ डा. छेत्रीले भने। यसक्रममा उनले कालेबुङ जिल्ला हुन सक्दैन भन्दै कालेबुङ जिल्ला गठन हुन भोटाङलाई सोध्नपर्छ भनि गोजमुमो अध्यक्ष विमल गुरुङले भाषण दिएको कुरा आज गलत प्रमाणीत भएको दाबी गर्दै ‘उच्च न्यायालयको स्वीकृतीले भोटाङलाई सोध्नुपर्छ भन्ने विमल गुरुङ अनि उनका समर्थकहरूलाई गतिलो झापट मिलेकोछ’ भने।
‘जापले हुनसक्ने सम्भव कुराहरूको मात्र उठान गर्छ। जनतालाई भावनात्मक कुरा गरेर जापले ढाँट्ने काम गर्दैन। कालेबुङ जिल्ला सम्भव थियो अनि यो उठान गरेका हौँ। अब काम गर्ने नेतालाई जनताले चिन्ने समय आएको छ’ डा. छेत्रीले अझ भने।
0 Response to "गोर्खाल्याण्डको निम्ति माग गरेको समिति घातक हुने जापको आरोप ...... विमल गुरुङले आत्मघाती पाइला चाल्ने काम गर्दैछ – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.