कालेबुङमा नेपाली चलचित्रको म्याराथन प्रदर्शनी सुरू.... नेपाली चलचित्रलाई हामीले नै माया गर्नुपर्छ – ललित गोले
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 20 अक्टोबर। नेपाली चलचित्रहरूको म्याराथन प्रदर्शनीमा कालेबुङको ड्रीम थिएटर सिनेप्लेक्समा सुरू भएको छ।
माउन्टेन पिक्चर्स अनि ड्रिम थिएटर सिनेप्लेक्सको संयुक्त आयोजना अनि उपमा पब्लिकेशनको सहयोगमा मोठ 15 वटा नेपाली चलचित्रहरूको म्याराथन प्रस्तुती सुरू भएको छ। भारतबाट निर्माण भएका नेपाली चलचित्रहरूलाई लिएर पहिलोपल्ट आयोजना गरिएको म्याराथन प्रदर्शनीको उद्घाटन समारोहमा आज मुख्य अतिथिका रूपमा चर्चित नाट्य कलाकार ललित गोले उपस्थित रहेका थिए।
यस अवसरमा विभिन्न स्थानबाट मानिसहरू नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्नका निम्ति उत्साहका साथमा उपस्थित रहेका थिए। मुख्य अतिथि ललित गोलेको बाहुलीबाट रिबन काटेपछि सुरू भएको नेपाली चलचित्रको म्याराथन प्रदर्शनीमा प्रशान्त रसाईलीको निर्देशनमा निर्माण भएको ‘कथा’ चलचित्र पहिलो रूपमा प्रदर्शनी गरिएको थियो।
यसक्रममा मुख्य अतिथिका रूपमा उपस्थित ललित गोलेले नेपाली चलचित्रलाई नेपाली भाषीहरूले नै माया गरेर हेर्नपर्ने बताए। ‘नेपाली सिनेमाको क्षेत्रमा म्याराथन प्रदर्शनी आजसम्म भारतमा नै कहिले सम्पन्न भएको थिएन। कालेबुङमा यसरी पहिलोपल्ट नेपाली सिनेमाहरूको म्याराथन प्रदर्शनी सम्पन्न हुन नेपाली भाषी चलचित्र प्रेमीहरूका निम्ति हर्षको कुरा हो। यसको निम्ति आयोजक समिति वधाईका पात्र छन्’ मुख्य अतिथिका रूपमा उपस्थित ललित गोलेले भने।
उनले अहिलेघरी नेपाली चलचित्र हेर्नका निम्ति मानिसहरू सिनेमा घरमा थोरै जाने गरेको बताउँदै ‘वास्तविक चलचित्रको सम्पूर्ण पाटो बुझ्न अनि चलचित्रको भरपूर मनोरञ्जन लिन ठूलो पर्दामा सिनेमा घरमा नै हेर्नुपर्छ’ ललित गोलेले भने। सिनेमा हेर्नु भनेको त्यहाँ भित्र प्रयोग गरिएका तक्निकी, संवाद, कला, संगीत आदिलाई गहिराईमा गएर बुझ्नु रहेको बताउँदै त्यस सम्पूर्णतालाई बुझ्न अनि आफ्नो भाषा प्रतिको माया सँगै नेपाली चलचित्रलाई विकास गर्नका निम्ति पनि दर्शकवर्गले चलचित्र हेर्नुपर्ने ललित गोलेले बताए।
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आयोजक पक्षका अनमोल गुरुङले नेपाली चलचित्रहरू राम्रो हुँदैन भन्दै दर्शकवर्गले हेर्ने नगरेको बताउँदै वास्तवमा नेपाली चलचित्रहरू राम्रा हुँदा हुँदै पनि दर्शकवर्गले नहेरिदिँदा निर्माताहरू खिन्न बन्न पर्ने अवस्था आएको बताए। ‘नेपाली चलचित्रमा राम्रा पटकथाहरू समाहित हुन्छन्। जसलाई बाँधेर चलचित्र निर्माण गरिएको हुन्छ। यसकारण हाम्रा दर्शकवर्गले नेपाली चलचित्र हेरिदिए नै अझ निर्माताहरूले राम्रा चलचित्र निर्माण गर्न सक्नेछन्’ अनमोल गुरुङले अझ भने।
आजदेखि सुरू भएको उक्त नेपाली चलचित्रहरूको म्यारेथन प्रदर्शनी आगमी 27 अक्टोबरसम्म चल्ने भएको छ। यसक्रममा कालेबुङ, सिक्किम,दार्जीलिङ, मिरिक आदि क्षेत्रबाट निर्माण गरिएका नेपाली चलचित्रहरू क्रमैले कथा, ध्रुव तारा, नयाँ गोरेटो, बरदान, जिन्दगी आउँदैन फर्केर, किन माया, उजेली, तिमी र म, दल दल, तिमीले बुझिदिँदा, प्रियसी, जुजु, देशले रगत मागे अनि कान्छी ल्याउने रहर चलचित्रहरूको म्याराथन प्रस्तुती गरिने भएको छ।
आजदेखि सुरू भएको नेपाली चलचित्रको म्यारेथन प्रस्तुतीको पहिलो प्रस्तुती प्रशान्त रसाईलीको ‘कथा’ हेरेपछि दर्शकवर्गले खुबै प्रशंसा गरेका थिए। ‘ठूलो पर्दामा नेपाली चलचित्र हेर्न पाउनुको आनन्द बेग्लै हुँदो रहेछ। आजसम्म हामीले हिन्दी चलचित्र हेर्दै आएका थियौँ तर भाग्यवस आज कालेबुङमा यसरी ठूलो पर्दामा सिनेमाघरमा राम्रो नेपाली कथानक चलचित्र हेर्न पाएर अत्यन्तै हर्षित छु’ – उक्त कुरा प्रमिला सुब्बाले भनेकी हुन्। नेपाली कथानक चलचित्र ‘कथा’ ले आफूलाई भरपूर आनन्द दिएको बताउँदै अन्य दर्शकवर्गले पनि यस सुनौलो मौकामा राम्रा राम्रा नेपाली चलचित्र हेर्नुपर्ने उनले आह्वान गरिन्।
‘आफ्नै भाषामा आफ्नै मनको भाव व्यक्त गरिएको नेपाली चलचित्रमा ठूलो पर्दा हेर्दा खुशीको सिमा नै छैन। म खुशीलाई शब्दमा व्यख्या गर्न सक्तिन। आफ्नो भाषा बुझ्नलाई सहज भएको अवस्थामा चलचित्रका संवाद, संगीत र कलाकारको कलाले पनि तानेर राख्न सक्यो। एकमुष्टमा भन्दा चलचित्र हेर्नै पर्ने रामो छ’ अर्का दर्शक उषा राईले भनिन्। आजसम्म सिनेमा घरको ठूलो पर्दामा नेपाली चलचित्रहरू कमै लाग्ने गरेको अवस्थामा कालेबुङमा नेपाली चलचित्रहरू म्याराथन प्रस्तुतीमा दर्शकवर्गले मौका चुकाउन नहुने पनि उनले बताइन्।
यसैक्रममा मलिना सुब्बाले पनि चलचित्रको प्रशंसा गर्दै आफुहरू नेपाली चलचित्र ठूलो पर्दामा हेर्न पाएर आनन्दित भएको बताइन्। ‘हाम्रो भाषामा बनिएका चलचित्र हामीले हेर्नपर्छ। हिन्दी चलचित्रहरू भन्दा राम्रा छन् यी चलचित्र पनि। यसकारण यो मौका गुमाउनु हुँदैन हाम्रा चलचित्र प्रेमी दर्शकवर्गले’ मलिना राईले अझ भनिन्।
यता ड्रिम थिएटर सिनेप्लेक्सका माबो सुब्बाले नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्नका निम्ति दर्शकवर्गलाई मौका प्रदान गरेको बताउँदै यसले चलचित्र निर्माताहरूलाई समेत प्रत्साहन मिल्ने बताए। ‘हामीले नेपाली चलचित्रलाई दर्शक समक्ष जोड्ने प्रयास गरेका हौँ। आफ्नो चलचित्र आफै हेरौँ भन्ने हाम्रो चाहना हो’ माबो सुब्बाले अझ भने।
0 Response to "कालेबुङमा नेपाली चलचित्रको म्याराथन प्रदर्शनी सुरू.... नेपाली चलचित्रलाई हामीले नै माया गर्नुपर्छ – ललित गोले"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.