-->
कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई भव्य स्वागत

कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई भव्य स्वागत

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 21 सितम्बर। अस्थिर पहाडको राजनीतिमा गोर्खा जनमुक्ति मोर्चासित कटाक्ष बनेर विकास बोर्डको बाटो पैलाउने मुख्यमन्त्री ममता ब्यानर्जी आज कालेबुङ आइपुगिन्। बङ्गालको सत्तामा दोस्रोचोटी मुख्यमन्त्री बनेपछि ममता ब्यानर्जीको यो पहिलो कालेबुङ भ्रमण हो। यस अवसरमा उनी आज दिनभरीको प्रतिक्षापछि साँझ 6:25 मा मात्रै कालेबुङ आइपुगीन्। 
उनलाई स्वागत गर्न तृणमूल कङ्ग्रेस लगायत विभिन्न जातिय सङ्गठनका कार्यकर्ताहरू विहान लगभ दस बजेदेखि नै शहरमा भेला भएर बसे पनि उनी रात पर्दा मात्रै कालेबुङ शहर आइपुगीन्। कठोर सुरक्षाको घेरोभित्र उनी कालेबुङ भित्रिएपछि ‘ममता ब्यानर्जीको जिन्दावाद’, ‘तृणमूल कङ्ग्रेस जिन्दावाद’ को नाराले कालेबुङ शहर गुञ्जयमान बनेको थियो। 
मुख्यमन्त्री ममता ब्यानर्जीलाई कालेबुङ शहर भित्रिएपछि यहाँको नोभेल्टी परिसरदेखि सडक किनारामा बसेका दार्जिलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेस, जन आन्दोलन पार्टी लगायत भारतीय खस हितकारी सम्मेलन, जोगी कल्याण सङ्घ, गुरूङ कल्याण सांस्कृतिक संस्थान, दमाई विकास बोर्ड, मगर विकास बोर्ड, तामाङ विकास बोर्ड, लेप्चा विकास बोर्ड, लिम्बु विकास बोर्ड, खम्बु राई विकास बोर्ड साथै विभिन्न संघ संस्थाका प्रतिनिधीवर्गले भव्य स्वागत जनाएको थियो। 
दिनभरीको प्रतिक्षा पछि रात पर्दा मात्रै कालेबुङ भित्रिएकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जनताले भव्य स्वागत गरेपछि उनले वाहनमा नै सवार भएर जनताको अभिवादन स्वीकार गरिन्। उनलाई स्वागत जनाउँने क्रममा मानिसहरू टिस्टादेखि नै सडकमा उभिएका थिए। राज्यको सत्तामा दोस्रोचोटी आएपछि उनको यस पहिलो क्रालेबुङ भ्रमणको क्रममा भोलि हुने लेप्चा विकास बोर्डको पाँचौ स्थापना दिवस अनि शुक्रबार हुने तामाङ विकास बोर्डको दोस्रो स्थापना दिवस कार्यक्रममा भाग लिनेछन्। 
यसक्रममा उनले पहाडमा अन्य नयाँ विकास बोर्डहरूको घोषणा गर्न सक्ने सम्भावना पनि रहेको छ। यसका साथै उनले कालेबुङ जिल्लालाई पूर्णरूपले नयाँ जिल्ला बनिएको घोषणा सँगै नयाँ जिल्लापाल अनि पुलिस अधिक्षकको नाउँ पनि सार्वजनिक गर्न सक्ने सम्भावना रहेको छ। 
 स्मरण रहोस यसभन्दा अघि गोर्खा जनमुक्ति मोर्चाको पहाडमा एकक्षत्र शाषण भएको बेला 3 सितम्बर 2013 मा उनी लेप्चा विकास बोर्डकै स्थापना दिवसमा भाग लिन आएकी थिइन्। त्यसबेला मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन र लेप्चा विकास बोर्डको विरोध गर्दै पाहाडमा ‘जनता कर्फ्यु’ लगाएको थियो। त्यसबेला मोर्चाले ‘घरभित्र जनता’ कार्यक्रमको घोषणा गरेर मुख्यमन्त्रीको भ्रमणलाई ठाडै विरोध गरेको थियो। त्यहीँ विरोधिता वीच पनि मुख्यमन्त्री ममता ब्यानर्जी लेप्चा विकास बोर्डको स्थापना दिवसको कार्यक्रममा सहभागी बनिन अनि त्यसबेला मुख्यमन्त्रीलाई ठुलो संख्यामा लेप्चा सम्प्रदायहरु भेला भएर भव्य स्वागत गरेका थिए । 
त्यसपछि त्यहीँ लेप्चा विकास बोर्डकै बाटो पैलाएर अन्य विकास बोर्डहरू तामाङ, मगर, भोटिया, शेर्पा, लिम्बु, खम्बु राई, कामि, दमाइ, सार्की, एकपछि अर्को गर्दै 10 वटा बोर्ड गठन गरिए अनि यही तीनवर्ष पछि पहाडको राजनीतिमा व्यापक परिवर्तन आएको छ। 
तीनवर्ष अघि ‘घर भित्र जनता’ बसेर विरोध गर्ने जनता आज व्यापक रूपले उनै मुख्यमन्त्रीको स्वागतमा सडकमा खुल्ला रूपले उत्रिएका छन्। जसले गर्दा पहाडमा गोजमुमो पार्टीको एकक्षत्र शाषण समाप्त भएको आभाष मात्रै होइन मोर्चाको निम्ति विकट राजनैतिक सङ्कटको स्थिति सिर्जना भएको स्पष्ट बनेको छ।

0 Response to "कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई भव्य स्वागत"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.