-->
भ्रमण पूर्ण सफल : प्रधानमन्त्री ....मधेसको विषयलाई भारतसँग जोडेको छैन’

भ्रमण पूर्ण सफल : प्रधानमन्त्री ....मधेसको विषयलाई भारतसँग जोडेको छैन’

कमलदेव भट्टराई, कान्तिपुर, नयाँदिल्ली,आश्विन २, २०७३: प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सम्पूर्ण रूपमा सफल भएको र यसले दुई देशको बीचमा विश्वासको नयाँ आधार बनाएको बताएका छन्। उनले मधेसको समस्या नेपालको आन्तरिक मामिला भएको र आफूले मधेसको विषयलाई कहिल्यै पनि भारतसँग नजोडेको समेत उल्लेख गरे।
भारत भ्रमण सकेर स्वदेश फर्कनु अघिल्लो दिन यहाँ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियामा जस्तै संविधान कार्यान्वयनमा पनि भारतको सद्भाव र सहयोग जारी रहनुपर्ने पनि बताए। उनले संंविधानको स्वागतका लागि नेपालले भारतलाई आग्रह गरेको र भारत त्यसमा तयार नदेखिएकोबारे सोधिएको प्रश्नमा भने प्रतिक्रिया दिन मानेनन्।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शनिबार बिहान छुट्टै पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालको भारत भ्रमण पूर्णत: सफल भएको बताएका थिए। उनले भारतले प्रक्रियाको स्वागत गर्नुको अर्थ संविधानकै स्वागत भएको बताएका थिए। ‘संविधान निर्माण नेपालको आन्तरिक मामिला हो, हामीले नै समाधान गर्ने हो,’ डा. महतले भने।
प्रधानमन्त्री दाहालले पनि आफ्नो भ्रमणले दुई देशको सम्बन्धलाई थप सुदृढ गरेको दाबी गरे। उनले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रोकिएका परियोजनाहरूलाई एउटा समयतालिका बनाएर सम्पन्न गर्ने सहमति भएको समेत बताए। रोकिएका विकासका परियोजनाहरूमध्ये हुलाकी सडक निर्माणमा एक समझदारी भए पनि अन्य परियोजनाको सम्बन्धमा भने ठोस निर्णय हुन सकेको छैन।
पत्रकार सम्मेलनअघि प्रधानमन्त्री दाहालसँग भारतीय गृहमन्त्री राजनाथ सिंहले भेटवार्ता गरेका थिए। त्यस क्रममा दुईपक्षीय सुरक्षा चासोका विषयहरूमा कुराकानी भएको थियो। विशेषत: सीमापार आतंकवाद नियन्त्रण, सिमाना व्यवस्थापनलगायत विषयमा कुराकानी भएको स्रोतले बतायो। प्रधानमन्त्री दाहालसँग भारतको छिमेक नीति निर्माणमा महत्त्वपूर्ण हैसियत राख्ने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलले पनि भेटघाट गरेका थिए।
यसअघि प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशको एक जलस्रोत परियोजनाको अवलोकन गरेका थिए। आइतबार बिहान उनी पतञ्जली योगपीठले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुनेछन्। चारदिने औपचारिक भ्रमण सम्पन्न गरेर दाहाल आइतबार अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ।

Related Posts

0 Response to "भ्रमण पूर्ण सफल : प्रधानमन्त्री ....मधेसको विषयलाई भारतसँग जोडेको छैन’ "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.