-->
के गोजमुमोले जीटीएको चौकी त्यागेर आन्दोलन गर्न सक्ला ?

के गोजमुमोले जीटीएको चौकी त्यागेर आन्दोलन गर्न सक्ला ?

विश्लेषण डेस्क, कालिमन्युज, कालेबुङ, 25 अगस्त 2016:  दागोपाप कालमा पनि समय समयमा गोर्खाल्यान्ड आन्दोलन प्रारम्भ गर्ने धम्की तत्कालिन सत्तामा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले सरकारलाई दिने गर्थ्यो तर यो काम अध्यक्ष स्व सुभाष घिसिङबाट हुदैनथ्यो केवल ब्रांच कमिटिबाट मात्र हुंथ्यो। यो हुंकारसंगै जनतालाई तैयार हुने पोष्टर टाँसिने काम हुंंथ्यो बन्द पनि पालन हुंथ्यो। तर त्यसपछि भने केही हुदैनथ्यो।
गोर्खा जनमुक्ति मोर्चाले पनि यो चार वर्षमा 10 चोटि भन्दा बेसी यस्तो घोषणा गरिसकेकोछ। तर यस्तो घोषणा गोजमुमो अध्यक्ष एवम् ज़ीटीए कार्यकारी प्रमुख विमल गुरुङ स्वयँले गरेका छन कुनै भाषणमा अनि कुनै प्रेससंगको कुराकानीमा । 
यसचोटि पनि गोर्खाल्यान्ड आन्दोलन गर्ने सरकारलाई धम्कि बिमल गुरुङले दिँदैछन्। यता पार्टीको भातृ सङ्गठन युवा मोर्चाले अघिबाटै गोर्खाल्यान्डको मागमा साङ्केतिक जुलुस र पथसभा आयोजना गर्न सुरु गरिसकेको छ। त्यसैलाई अझ बल प्रदान गर्न यता विद्यार्थी मोर्चाले पनि गोर्खाल्यान्डकै नाउँमा रिले भोक हड्ताल दार्जीलिङ र कालेबुङमा शुरु गरिसकेको छ। 
गोर्खाल्यान्डको आन्दोलन अनि गोजमुमो पार्टीलाई सुरुदेखि नेतृत्व गर्दै आएका विमल गुरुङले यसपल्ट साँच्चै आन्दोलन गर्ने हो होइन त्यो उनी नै जान्दछन् कारण यस्तै कार्यक्रम फ्याकेको यो पहिलो चोटि होइन। एक चोटि त तिनले मुख्य कार्यकारीबाट् नै राजीनामा पनि दिएका हुन।
तर दुर्भाग्यवस उनले जिटिए त्यागेर गोर्खाल्यान्ड आन्दोलन गर्न अघि नै जीटीए सभामा पैह्रो गएपछि गोजमुमो आफ्नो धरातल फुस्केको देखेर हतप्रभ बनेको छ। ज़ीटीए सभाका सभाध्यक्ष एमव् गोजमुमो उपाध्यक्ष भुपेन्द्र (प्रदिप) प्रधानले आखिरमा गोजमुमो प्रमुख विमल गुरुङले आन्दोलन गर्छु भन्ने धम्कि दिइरहेको अवस्थामा नै पार्टी त्यागेर तृणमूल कङ्ग्रेसको झन्डा समाएका छन्। मोर्चा अध्यक्ष विमल गुरुङले अहिलेसम्म गरेका आन्दोलन टुङ्गोमा पुगेको नदेखेर हो अथवा अन्य विशेष कारणले प्रदिप प्रधानले पार्टी त्यागेका हुन् भन्ने लुकेको सत्य अहिले नै खुलेको छैन। गोजमुमो गठनदेखि नै आफैलाई गोर्खाल्यान्डको हिमायति ठान्ने प्रदिप प्रधानले आखिरमा ‘गोर्खाल्यान्ड होबेना’ भन्ने पार्टीकै शरणमा पसे। यस घट्नाले एउटा गोजमुमो पार्टी भित्र रहेका नेतृत्ववर्गमा तालमेल र साङ्गठनिक समन्यको कमजोरि रहेको स्पष्ट देखा त परेको छ नै अर्को तर्फ गोर्खाल्यान्डको हिमायति ठान्ने पहाडका नेताहरूमा मुद्दा प्रतिको इमान्दार नरहेको पनि स्पष्टै देखिएको छ।
सत्ताको लोभ पनि आजसम्म नेतृत्वमा देखिन्दै आएका घट्नाहरूले जनताले स्पष्टनै बुझिसकेका छन्। यस्तो अवस्थामा पहाडको राजनैतिक भविष्य भने दिन दिनै छुट्टै राज्य प्राप्तिको बाटोमा अग्रसर बन्नको साटो डावाडोल बन्दै गइरहेको छ। गोजमुमो अध्यक्ष विमल गुरुङले ज़ीटीए त्यागेर गोर्खाल्यान्ड आन्दोलन गर्छु भनि धम्कि दिएको लगत्तै पछि गोजमुमो उपाध्यक्ष प्रदिप प्रधानले पार्टी त्यागेको घटनाले पहाडको राजनीतिमा नयाँ समिकरण थपिएको छ। उसै त प्रदिप प्रधान केहि दिन अघिदेखि नै तृणमुल कङ्ग्रेस पार्टीमा जाने हल्ला चल्दै थियो। हल्लाहरूलाई बिराम लगाउन मोर्चा प्रमुखले उनकै घरमा भेटेर घण्टौँ कुराकानी गरेका थिए। सङ्गै अङ्गालो मारेर फोटि पनि खिचेका थिए। दुवै नेतामाझ भएको भेटघाटको फोटोलाई विमल गुरुङकै सामाजिक सञ्जाल फेसबुक पेजबाट सार्वजनिक गरिएको थियो। जसले प्रदिप प्रधान तृणमुल कङ्ग्रेसमा नजाने रहेछ भन्ने केहि घण्टाको निम्ति जनतामा भ्रम फैलाएर राखेको थियो। यद्यपी आखिरमा उनले मोर्चा त्यागे अनि गोर्खाल्यान्डको हिमायती भन्ने भाषणहरूलाई कुल्चिर ‘गोर्खाल्यान्ड होबेना’ कै शरणमा पुगे।
जुन कार्यलाई वास्तविक रूपमा पहाडका जनताले रुचाएका छैनन् अनि उनी आलोचनाका शिकार बनिरहेका छन्। प्रदिप प्रधान तृणमुल कङ्ग्रेसमा जानुको वास्तविक तथ्य सार्वजनिक नभए पनि आजसम्म गोर्खाल्यान्ड आन्दोलन अनि आन्दोलन पछि लागेका मुद्दाहरूबाट छुटकारा पाउन उनी मोर्चा त्यागेको हुनसक्ने सम्भावना रहेको पनि एकांश मानिसहरूको मत रहेको छ।
आन्दोलनको समय अनि आन्दोलन पछि लागेको मुद्दाहरूमा अहिले सभासदहरूलाई ज़ीटीए प्रमुख तथा पार्टीबाट हेरचाह नगरेको सुत्रले दाबी गरिरहेका छन्। जसलाई तृणमुल कङ्ग्रेसले हतियारको रुपमा प्रयोग गरेर मोर्चा फुटाउने उद्देश्यलाई विस्तारै पुरा गरिरहेको सुत्रले बताएका छन्। यदि सुत्रले दिएको उक्त आधारलाई मान्नु हो भने भविष्यमा एकाधिक आन्दोलन कालका मुद्दा लागेका गोजमुमो पार्टीका सभासदहरू पार्टी त्याग्न सक्ने छाँट देखा परेको छ। जसले पछिबाट ज़ीटीए सभामा गोजमुमो अध्यक्ष विमल गुरुङ विरद्ध अविस्वास प्रस्ताव समेत ल्याउन सक्ने कोलकोताबाट चलेको राजनैतिक चाल हुनसक्ने प्रवल सम्भावना रहेको छ।
ज़ीटीए सभा प्रमुख प्रदिप प्रधानले गोजमुमो त्यागे पछि अनि ज़ीटीए सभाले बहुमतद्वारा उनलाई अध्यक्षपदबाट निस्कासित गरेपछि जीटीएको धारा 19 र 37 का उपधाराहरु अनुसार उनले सभासदको पद् त्याग्नु पर्ने सम्भावनाहरु देखा परेकोछ। तर यसमा कानुनी दाउपेच लिएर राज्य सरकार अघि आउन सक्छ जसले गोजमुमोका सभासदहरु भित्रै अंतर्कलह असमंजता ल्याउन सक्नेछ । उनलाई पार्टीबाट निस्कासित गरेपछि अब उनी निर्दलिय सभासद बनेका छन्। जनताले सोझै मतदानको माध्यमबाट चुनेको कारण उनको महत्व रहिरहनेछ।
भविष्यमा ज़ीटीएबाट गोजुमुमो अध्यक्ष विमल गुरुङ अनि रहल 43 जना सभासदहरूले राजीनामा दिए जनताले चुनेको कारण प्रदिप प्रधानलाई ज़ीटीएको प्रभारी पनि सरकारले राख्न सक्नेछ। यसले गर्दा मोर्चाले क्षेत्रिय शाषण प्रणालीबाट समेत हात खुट्टा धुन पर्नेछ अनि त्यसबेला उनीहरूले आन्दोलन नै गरेको खण्डमा अहिलेको विभाजित परिस्थितिमा जनताको पूर्ण समर्थन प्राप्त गर्नु प्राय: असम्भव नै देखा पर्नेछ। यस्तो दोहोरो अवस्थामा अहिलेघरी गोजमुमोले ज़ीटीएको चौकि बचाउने हो अथवा जनताको विश्वास जित्नका निम्ति छुट्टै राज्यको बाटोमा जाने हुन् भन्ने प्रश्न टट्कारो बनेको छ।

0 Response to "के गोजमुमोले जीटीएको चौकी त्यागेर आन्दोलन गर्न सक्ला ?"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.