-->
नेपाली भाषा लेखनमाथि ‘कालेबुङ प्रस्तावना’

नेपाली भाषा लेखनमाथि ‘कालेबुङ प्रस्तावना’

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 21 अगस्त। भाषा मान्यता दिवसको छेक पारी उपमा प्रकाशन अनि कालेबुङ विज्ञान केन्द्रको संयुक्त आयोजनामा ‘नेपाली वर्णविन्यास : प्रस्तावना र प्रयोग’ शीर्षक राखी एउटा महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भयो। कालेबुङको डेलोस्थित विज्ञान केन्द्रमा सम्पन्न कार्यक्रमलाई साहित्यकार ज्ञान सुतारले अध्यक्षता गरेका थिए। यस अवसरमा नेपाली भाषा लेखनमाथि ‘कालेबुङ प्रस्तावना’ ग्रहण गरिएको छ जसलाई उपस्थित प्राध्यापक, शिक्षक, साहित्यकार गरेर मोठ अठ्ठाईसजनाले सहीछाप गरी स्वीकृति प्रदान गरेका छन्। यस अवसरमा प्रमुख वक्ताका रूपमा प्रा. डा. घनश्याम नेपाल उपस्थित रहेका थिए। कार्यक्रममा सत्र बुँदे प्रस्तावना ग्रहण गरिएको छ जुन प्रस्तावनालाई ‘कालेबुङ प्रस्तावना’ भनी नाम दिइएको छ अनि यस प्रस्तावनालाई छिट्टै सार्वजनिक गर्ने पनि सभाले निर्णय गरेको छ।
नेपाली भाषाको वर्णविन्यास अनि शुद्धाशुद्धिबारे आजसम्म ग्रहण गरिएका कतिपय प्रस्तावना र घोषणा पत्रहरूबारे विस्तारपूर्वक चर्चा गर्दै भारतीय परिप्रेक्ष्यमा भाषागत मानकीकरणलाई वैज्ञानिक ढङ्गमा स्थापित गर्नाका निम्ति यो कार्यक्रम राखिएको थियो। हिज्जेमा रहेका अनियमिततालाई नियमित गराउन मानक र सर्वमान्य नियमको खोजी गर्नलाई आयोजित सो कार्यक्रममा अठ्‌ठाईस शिक्षक, प्राध्यापक अनि वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। पाँच घन्टाभन्दा लामो बहसमा हिज्जे तथा भाषालेखनसम्बन्धी सबै बुँदाहरूमाथि व्यापक चर्चा गरियो। कार्यक्रममा उपस्थित सबै भाषाप्रेमीहरूले सक्रियतापूर्वक बहसमा भाग लिएका थिए।
नेपाली लेखनलाई सहज बनाउन अनि हिज्जेलाई वैज्ञानिकताका आधारमा मानक तुल्याउन कार्यक्रममा विविध पक्षहरूमाथि विशद् चर्चा गरिएको थियो। कालेबुङ, दार्जिलिङ, खरसाङ, सिक्किम अनि सिलगढीबाट आएका शिक्षक, प्राध्यापक अनि साहित्यकारहरूले नेपाली लेखनलाई चाँडोभन्दा चाँडो नियमित बनाई एकरूपता प्रदान गर्नुपर्ने आवश्यकता बोध गरे अनि आआफ्ना विचारहरू पोखे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रा नेपालले भारतको नेपाली भाषाका लागि मानक शब्दकोश र व्याकरण तयार गर्नु अब समयको माग हो भन्ने आशय प्रकट गरे। भाषाको एकरूपतालाई टेवा पुऱ्याउन यस्ता शब्दकोश र व्याकरण तयार गर्नलाई अब हामीले नै संस्थागत रूपमा दायित्व लिएर अघि आउनुपर्छ भन्ने विचार उनले पोखे।
‘भारतबाट अहिलेसम्म नेपाली भाषाका मानक शब्दकोश प्रकाशित भएको छैन। नेपाली भाषाका निम्ति राष्ट्रिय स्तरमा काम गर्दा भारत सरकारले नेपालबाट प्रकाशित शब्दकोशहरूलाई मान्यता दिँदैन। यसैकारण पनि भारतबाटै मानक नेपाली शब्दकोश लेख्नु आजको आवश्यकता हो।’ – प्रा घनश्याम नेपालले भने।
कतिपय नेपाली खबरकागजहरूले नेपाली भाषाको हिज्जे तथा व्याकरणमाथि गरिरहेको हेलचक्र्याइँमाथि पनि प्रतिक्रियास्वरूप कार्यक्रममा उपस्थित प्राय सबैले आपत्ति जनाए अनि यस्ता हेलचक्र्याइँहरूमाथि रोक लगाउने दायित्व पनि हामी सबैको रहेको सभाले मत प्रकट गऱ्यो। यसै प्रसङ्गमा कार्यक्रमका सभापति ज्ञान सुतारले यस्ता भाषिक अनुशासनहीनता केवल हाम्रै पत्रिकाहरूमा मात्र किन रहन्छ तर अन्य भाषाका खबरकागजहरूतिर किन हुँदैन भनी आश्चर्य प्रकट गरे। खबरकागजले केवल समाचार दिनु मात्र नभएर सम्बन्धित भाषाको संरक्षण र संवर्धन गर्नुपर्ने कर्तव्य पत्रिका प्रकाशन पक्षको पनि रहेको हुन्छ भन्ने विचार सभापति सुतारले पोखे।
कार्यक्रमलाई कवि सुधीर छेत्रीले सञ्चालन गर्दै नेपाली भाषाको मानकीकरणको समस्या रहेको कारण नै यस्ता कार्यक्रम आयोजना गर्न परेको आवश्यकताबारे प्रकाश पारेका थिए भने कथाकार सञ्जय विष्टले मध्यस्थता गरेका थिए।

0 Response to "नेपाली भाषा लेखनमाथि ‘कालेबुङ प्रस्तावना’"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.