जित्नेलाई भन्दा हार्ने विधायकलाई भव्य स्वागत ...... गोजमुमोको मिशन नै ‘कमिशन’ हो – डा. हर्कबहादुर छेत्री
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 जून। ‘जिल्ला माग समितिको एउटा जनसभामा ‘हो हामी गर्न सक्छौँ’ भनेको थिएँ अनि आज यसै मञ्चबाट भन्दैछु – ‘हो हामीले गर्न सक्यौँ’- उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
कोलकोताबाट कालेबुङ आइपुगेका डा. हर्कबहादुर छेत्रीलाई आज जनआन्दोलन पार्टी कार्यकर्ताहरूले भव्य स्वागत जनाएको थियो। चुनाउमा पराजित भएका नेतालाई यसरी भव्य स्वागत जनाइएको सायद यसभन्दा अघि कहिले भएको थिएन।
विधानसभा चुनाउ अघि कालेबुङ जिल्लाको मुद्दा बोकेर गोजमुमो त्याग्ने डा. हर्कबहादुर छेत्री चुनाउमा पराजित भएपछि पुन: कोलकोता गएका थिए। उनी कोलकोता गएकै क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा कालेबुङ जिल्ला अनि मिरिक महकुमा गठनको सरकारी प्रक्रिया आरम्भ हुन थालेपछि कालेबुङ जिल्ला प्रेमीहरूमा खुशीयाली छाएको छ।
यसैक्रममा कोलकोताबाट आएका डा. हर्कबहादुर छेत्रीलाई जाप कार्यकर्ताहरूले स्वागत जनाएका हुन। कालेबुङ आइपुगेका डा. छेत्रीलाई स्वागत गर्न आज जाप कार्यकर्ताहरू राष्ट्रिय राजमार्ग टिस्टादेखिनै भव्य स्वागत गरेपछि यहाँको नौ माइलको नोभेल्टि परिसरदेखि नै पुन: कार्यकर्ताहरूले ‘हर्कबहादुर छेत्री जिन्दावाद’-को नारा लगाउँदै भव्य स्वागत गरेका थिए।
स्वागतको क्रममा कालेबुङ जिल्ला गठनको सरकारी प्रक्रियाको थाल्निमा खुशीयाली मनाएर शहरमा जुलुस पनि निकालिएको थियो। अघोषित उक्त विजय जुलुसमा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, महासचिव नयन प्रधान लगायत सयौँको सङ्ख्यामा जाप कार्यकर्ताहरू सहभागी बनेका थिए। थाना डाँडाबाट सुरु भएको उक्त जुलुसले शहर परिक्रमा गरेपछि पुन: थाना डाँडामा आइपुगेर पथसभामा परिणत भएको थियो।
यस अवसरमा पथसभालाई सम्बोधन गर्दै जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले कालेबुङ जिल्ला प्रेमी जनतालाई बधाई दिए।
‘कालेबुङ जिल्ला गठनको श्रेय पूर्ण रूपले जिल्ला माग समिति अनि जन आन्दोलन पार्टीलाई जान्छ। यसकारण सम्पूर्ण जिल्ला माग समिति अनि जाप कार्यकर्ताहरूलाई बधाई दिँदछु’-जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने।
उनले आफ्नो सम्बोधनको क्रममा ‘जसले विरूद्धमा भोट हाले उनीहरूलाई के गुमाए भन्ने थाह छैन। हामीले कालेबुङलाई जे बनाउने सोंचेका थियौँ त्यो उनीहरूले गुमाए। तरै पनि चुनाउ हारेपनि हामीले कालेबुङ जित्यौँ’ डा. छेत्रीले भने।
उनले जनतालाई सचेत बस्ने आह्वान गर्दै ‘जन आन्दोलन पार्टीमा भविष्य छ’ भने।
‘हामीले हारेर जे ल्याएका छौँ तिमीहरूले जितेर त्यो ल्याएर देखाऊ। आज खर्साङको कुरा उठ्दैछ। हामी पूर्ण समर्थन गर्छौँ खर्साङलाई। हाम्रो समर्थनमा काम गरेर देखाऊ’ डा. छेत्रीले गोजमुमोको नाउँ नलिई चुनौति दिँदै भने।
उनले कालेबुङ जिल्ला एउटा ठूला उपलब्धि रहेको बताउँदै जिल्ला गठन भन्दा धेरै सजिलो रहेको केन्द्रिय विश्व विद्यालय मोर्चालाई ल्याएर देखाउने चुनौति पनि दिएका छन्।
‘अब भाषण होइन काम गरेर देखाऊ’ भन्दै गोर्खाल्याण्ड भन्नेहरूको गोर्खाल्याण्ड झोडा, नाला र भत्केको स्कुलहरूमा रहेको आरोप लगाए।
‘चुनाउ हारेपछि मोर्चाले सकियो जन आन्दोलन पार्टी सकियो भनेर सोंचेको थियो। हामी चुनाउको निम्ति आएको होइन यो त हाम्रो मिसन हो। जसरी गोजमुमो पार्टीको मिशन नै कमिशन हो, हाम्रो मिशन चाही जनताको सेवा गर्नु हो’- डा. छेत्रीले भने।
उनले जापलाई अहिले सम्पूर्ण दार्जीलिङ पार्टीका जनताले दह्रिलो विपक्षी पार्टीको रुपमा हेरेको बताउँदै जापले यस्ता उपलब्धीहरू अझ धेरै ल्याएर देखाउने बताए। उनले कालेबुङ जिल्ला गठनको आधिकारिक प्रक्रिया सुरु भएको बताउँदै अब कालेबुङका जनताले भोलिदेखि आफ्नो ठेगानामा जिल्ला लेख्दा हुनेछ भने।
‘राजनीति गर्नेहरूले चुनावको समयमा गरेको घोषणामा विश्वास हुँदैन। तर यहाँ चुनाव अघि क्याबिनेटले पारित गर्यो अनि चुनाउपछि लगत्तै जिल्ला गठनको निम्ति आधिकारिक प्रक्रिया आरम्भ भएको छ। यसको निम्ति जन आन्दोलन पार्टीले मात्रै लिखित सुझाव दिएको थियो’ डा. छेत्रीले भने।
उनले आफ्नो सम्बोधनको क्रममा ‘हारेको जन आन्दोलन पार्टी अनि डा. हर्कबहादुर छेत्रीले के गर्दैछ अनि जितेको गोजमुमोले के गर्दै त्यो हेर्नुहोस’ भन्दै जितेको मोर्चाले केहि गर्न नसकेको आरोप लगाए।
‘गर्न सक्दैनौँ भने नपठाऊ, गर्न सक्नेलाई बाटो छोडिदेऊ। हामी जनताको निम्ति काम गर्छौँ। जनताको निम्ति आएको पैसा जनताको निम्ति खर्च गरोस्। मैलाको पैसा पार्षदहरूले नखाओस’ उनले भने।
‘हामी तबसम्म यो मिशन छोड्दैनौँ जबसम्म हाम्रा भविष्यका नानीहरूका निम्ति कालेबुङ जिल्लालाई सुरक्षित र सुन्दर बनाउँदैनौँ’ – डा. हर्कबहादुर छेत्रीले भने।
0 Response to "जित्नेलाई भन्दा हार्ने विधायकलाई भव्य स्वागत ...... गोजमुमोको मिशन नै ‘कमिशन’ हो – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.