-->
पानी खोज्दै जाप कार्यकर्ताहरू पुगे मुहान पीएचईले मुहानबाट पानी ल्याउन नसकेको खुलासा

पानी खोज्दै जाप कार्यकर्ताहरू पुगे मुहान पीएचईले मुहानबाट पानी ल्याउन नसकेको खुलासा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 मई। कालेबुङका जनतालाई पिउने पानी वितरण गर्ने जिम्मेवारी लिएर बसेको जनस्वास्थ्य कल्याण विभागले (पीएचई) जनतालाई मुहानबाट पानी ल्याएर वितरण गर्न नसकेको पोल खोलिएको छ।
केहि दिन अघि विभागका अभियन्ताले कालेबुङमा पिउने पानीको समस्या मुहानमा नै पानीको कमीले हो भनेपछि जाप कार्यकर्ताहरू विभागको वयानको सत्यता जाँच गर्न पिउने पानीको स्रोत नेऊरा, रेली अनि थुकचुकको मुहानमा नै पुगेका थिए। पिउने पानीको मुहानमा नै पुगेपछि विभागको सम्पूर्ण दाबी झूटो प्रमाणित भएको छ। जब जाप कार्यकर्ताहरू थुकचुकको स्रोतमा पुगेका थिए त्यसबेला थुकचुकमा पानी हुँदाहुँदै पनि पाइपहरू लथालिङ अवस्थामा मुहानबाहिर भेटिएपछि जापले पीएचई विभागको भण्डाभोर गरेको हो।
'जुन रेली-थुकचुकको पानीले कुनैसमय सम्पूर्ण कालेबुङ शहरलाई पुग्थ्यो त्यही रेली थुकचुकमा पानी छैन भन्दै पीइचई विभाग पन्सिरहेको छ। तर जब हामी मुहानमा पुग्यौँ त्यहाँ पानी पर्याप्त थियो। तर पीएचईको मूल पाइप मुहानमा समेत डुबाईएको थिएन। मुहानमा नै पाइप नडुबाएपछि पानी कसरी आउँछ? यसै घटनाले नै पीएचई विभाग आफ्नो कामप्रति कतिको इमान्दार छ भन्नेकुरा स्पष्ट भएको छ'-जाप टाउन कमिटीका संयोजक एबी भण्डारीले भने।
भण्डारीले बताए थुकचुकबाट पीइचई विभागले पानी ल्याउन करोडौँ रूपियाँ खर्च गरेको छ। थुकचुकदेखि पानी ल्याउन 12 अनि 6 इञ्चको नयाँ पाइप बिछाइएको छ। क्याचमेन्ट निर्माणमा पैसा खर्च गरिएको छ। यद्यपि ती पाइपहरू विभागले देखाउनका निम्ति मात्र विच्छाएको कुरा मुहानमा पुग्दा स्पष्ट हुन्छ। किनभने, थुकचुकको मूल मुहानमा पानी जडान गरेर ल्याउनको सट्टा उक्त पानी नेऊराबाट आएको पाइपमा जोडिदिएको छ। 'पीएचई विभागले पानी ल्याउन एकातिर करोडौँ रूपियाँ खर्च गरिरहेको छ भने अर्कोतिर थुकचुकको पानी नेऊराको पाइपमा हालेर पीएचई आफ्नो जिम्मेवारीबाट पन्सिरहेको छ।
थुकचुकको पानी नेऊराकै पाइपमा हाल्ने हो भने पीएचई विभागको आफ्नो जिम्मेवारी के हो?'-प्रश्न गर्दै एबी भण्डारीले भने। 28 जनानाको जापको टोलीले थुकचुकसितै रेली मुहानको पनि निरक्षण गर्दा त्यहाँ पनि त्यस्तै अवस्था भेटिएको छ। रेलीको पानीलाई क्याचमेन्टमा हालेर पानी ल्याउने काम भएपनि उक्त पाइप आधाबाटोमा नै हराएर गएको छ।
'पीएचई विभागले पानी ल्याउन सक्दैन भने नेऊरा अनि थुकचुकबाट पानी ल्याउने जिम्मेवारी पनि नेऊरालाई दिँदा हुन्छ। नत्र करौडौँ रूपियाँको पाइइहरू मात्र जडान गरेर ठेकेदारहरूलाई मात्र पोस्याउने काम गर्नु हुँदैन। पैसा खर्च गरेपछि पानी पनि दिन सक्नुपर्छ'-भण्डारीले भने। यदि थुकचुक अनि रेलीको पानीलाई पनि ठिकसित व्यवस्थापन गर्नसकि हिँउदोको समय पनि थप आठदेखि 10 इञ्च पानी कालेबुङ ल्याउन सकिने जापको सोच रहेको छ।
यसरी नै अर्कोतिर घण्टौँसम्म पैदैल गरेर जाप कार्यकर्ताहरू नेऊरा पुगेका थिए। यसअवधि नेऊरामा पानी पर्याप्त देखिएपछि स्रोतमा पानी नभएको विभागको वयान गलत सावित भएको जापले आरोप लगाएको छ। 'केहीदिनअघि नगरपालिकामा बैठक गर्दा पीएचई अनि नेऊराले स्रोतमा नै पानी नभएको कुरा बताएको थियो। तर अहिले हामीले स्रोतमा आएर हेर्दा नेऊराबाट 10 इञ्च अनि 12 इञ्चको पाइपभरि पानी बगिरहेको छ भने आठइच्छ भन्दा धेर पानी चुहेर बगिरहेको छ। यसबाट विभागले झुट बोलिरहेको छ भन्नेकुरा प्रमाणित हुन्छ'-जाप टाउन कमिटीका कार्यालय प्रभारी विमल प्रधानले भने। उनले स्रोतमा पानीको कमि होइन तर व्यवस्थापन र वितरण प्रणालीको कमिको कारण नै शहरबासीले सातामा एकदिन मात्र पाउने पाउने स्थिति सृजना भएको बताउँदै जापले अब विभागहरूमाथि दवाब बनाउन विभिन्न राजनैतिक कार्यक्रमहरू गर्ने घोषणा गरेका छन्।
बुधबार विभिन्न स्रोतहरूको निरिक्षण गरिरहेको जाप टोलीले आज स्थानीय साङ्से भिजन अनि डेलो लेकको पनि निरिक्षण गरेको छ। यस निरिक्षणअवधि थाहा लागेअनुसार अहिलेसम्म जति पानी कालेबुङले पाइरहेको छ त्यो नेऊरा खोला वाटर सप्लाई मेन्टेनेन्स डिभिजिनको प्रयासले मात्र सम्भव भइरहेको छ। किनभने साङ्से भिजनमा पुग्दा नेऊराबाट 13 इञ्च पानी दैनिक रूपमा आइरहेको देखिएको छ।
13 इञ्च पानीमध्ये 8 इञ्च पानी जनतालाई वितरण गरिने गरिन्छ भने 5 इञ्च पानी सेनालाई प्रदान गरिने काम भइरहेको छ। तर पानी सम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी लिएर बसेको पीईएचई अधिनस्थ भिनज भने वर्षौदेखि बन्द अवस्थामा रहेको छ।
'पोहोर जुन जुलाई तिर पीएचईको लाइनमा पानी आएको थियो। त्यसपछि आजसम्म एकथोपा पानी आएको छैन। जुन जुलाईमा आएको पानी पनि स्थानीय झोडाहरूबाट ल्याएर पीएचईले देखाउटी काम मात्र गरिरहेको छ'-विभागसितै आबद्ध एक कर्मचारीले आफ्नो नाम उल्लेख नगरीदिने सर्तमा भने।
अर्कोतिर स्थानीय डेलो लेकमा दैनिक रूपमा आठ इञ्च पानी झरिरहेको छ भने अर्कोतिर मानिसहरूले सप्ताह दिनसम्म पानी नपाउने स्थिति छ। प्रत्येकदिन तीनदेखि चारलाख ग्यालन पानी झर्ने डेलोबाट पीएचईलाई सप्ताहमा चारलाख ग्यालन पानी दिन पनि हम्मेहम्मे पर्ने स्थिति छ। यस्तो स्थितिमा जनआन्दोलन पार्टीले पानी वितरण प्रणाली सम्बन्धी पनि व्यापक भ्रष्चारको शङ्का गर्दा आगामी दिनमा अवैद्य लाइन र ट्यापिङ सम्बन्धी पनि विभागको भण्डाभोर गर्ने दावी गरेको छ।
'पीएचई विभागले आजसम्म जनतालाई ठिकसित पानी दिन सकेन। एकातिर व्यापकरूपमा ट्यापिङ भएको कारण देखाउँछ भने अर्कोतिर ट्यापिङ गर्नेहरूलाई कार्वाही समेत गर्न सक्दैन। घरि स्रोतमा पानी छैन भनेर जिम्मेवारीबाट पन्छिन्छ त कहिले नेऊराको पानीलाई देखाएर श्रेय लिनखोज्छ। अब यसकिसिमको अन्याय सहन गरिनेछैन'-जाप टाउन कमिटीका संयोजक विमल प्रधानले भने।
उनले पानी व्यवस्थापनलाई लिएर् पीएचई र वारटवर्क्ससितै कालेबुङ नगरपालिका पनि उत्तिकै जिम्मेवार रहेको बताए। शहरबासीले शहरका आम समस्याहरू समाधान हुने आशामा जनप्रतिनिधि चुनेर नगरपालिकामा पठाएपनि नगरपालिकाले जनहितमा कुना काम गर्न नसकेको बताए। पानी व्यवस्थापनका निम्ति नगरपालिका पनि उत्तिकै जिम्मेवार हुँदाहुँदै पनि नगरपालिकाले कुनै काम गरेको प्रधानले आरोप लगाएका छन्।
जापको 28 जनाको टोलीले गरेको निरिक्षणअवधि विभागीय पोल खोलिएपछि अब जापले सम्पूर्ण रिपोर्ट पार्टीको ब्यूरो मेम्बरलाई बुझाएपछि नै भावी कार्यक्रम तय गर्ने भएको छ। पानीको मुद्दालाई गम्भिरतासित लिँदै जापले आगामी दिनमा सडकमा ओर्लेर आन्दोलन गर्ने भएको छ। जापको निरिक्षण टोलीमा स्टेफन तामाङ, अर्पण राई, विमल छेत्री आदिको विशेष उपस्थिति रहेको थियो।

Related Posts

0 Response to "पानी खोज्दै जाप कार्यकर्ताहरू पुगे मुहान पीएचईले मुहानबाट पानी ल्याउन नसकेको खुलासा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.