-->
सरीता राईलाई जन आन आन्दोलन पार्टीको बधाई

सरीता राईलाई जन आन आन्दोलन पार्टीको बधाई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 मई। राजनैतिक शिष्टतालाई कायम राख्दै जनआन्दोलन पार्टीले गोजमुमोका विजयी उम्मेद्वार सरिता राईलाई बधाइ दिएको छ। जापका पक्षमा ब्यूरो मेम्बर यूसुफ सिमिकले कालेबुङको नयाँ विधायिकाको रूपमा विजयी बनेकी सरिता राईलाई बधाई दिँदै आगामी दिनमा कालेबुङ जिल्लाको मुद्दालाई अघि बढाइदिने आह्वान गरेका छन्। 
‘गोजमुमो उम्मेद्वार सरिता राईले चुनाउ जितिसकेकी छन्। अब उनले राज्यद्वारा गर्नसकिने विकासका सबै कामहरू गरिदिन्छन् भन्ने हाम्रो आशा छ। हामी चाहन्छौँ पूर्व विधायक डा. हर्कबहादुर छेत्रीले कालेबुङ जिल्लाको मुद्दालाई जहाँसम्म पुऱ्याएका थिए त्यहाँदेखि अघि नयाँ विधायिकाले बढाइदिनुपर्छ’-सिमिकले भने। 
उनले नवनिर्वाचित विधायिकाले कालेबुङ जिल्ला, पिउने पानी साथै राज्यद्वारा प्राप्त गर्नसकिने विकासमूलक कामहरूलाई गम्भिरतासित लिएर काम गरिदिने अनुरोध गरेका छन्। 
यसरी नै जाप पराजित हुनुका कारणहरूबारे प्रश्न गर्दा उनले मुख्य गरी समयको अभावको कारण जिल्लाको मुद्दा अनि जापको सङ्गठनलाई सुदुर्वती क्षेत्रहरूमा पुऱ्याउन नसक्दा नै जाप विजयी बन्न नसकेको बताए। 
‘जाप गठन भएको अढाई महिना पनि पुरा नहुँदै चुनाउ आइसकेको थियो। यतिको छोटो समयमा हामीले सुदुरवर्ती क्षेत्रहरूसम्म पुगेर सङ्गठनलाई दह्रिलो बनाउन सकेनौँ। एकातिर पुरानो दल सङ्गठित थियो भने हामीसित सङ्गठित हुनलाई समय थिएन। हामीसित पर्याप्त संशाधनहरू थिएन। हामीबाट साङ्गठिक कुराहरूमा केही गल्तीहरू भएको छ जसबारे हामी समीक्षा गरिरहेका छौँ’-सिमिकले भने। यद्यपि जापले चनाउमा पराजयको सामना गर्नपरे पनि चुनाउ परिणामलाई लिएर अझ आफूहरूको मनोबल बढेको सिमिकले बताए। 
जापले कालेबुङबाट जुन 56 हजार 2 सय 62 भोट पाएको छ त्यो विशुद्ध भोट पाएको भन्दै उनले चुनाउमा पराजित भएकोमा जाप हताश नहुने बताए। चुनाउमा भारी मत पाएपछि जाप अझ उत्साहित भएर सङ्गठित र शक्तिशाली बन्नेतर्फ अग्रसर भइरहेको भन्दै उनले यो छोटो समयमा पनि जाप कार्यकर्ताहरूले मानिसहरूलाई बुझाउन धेरै काम गर्नसकेकोमा यो हार नरहेर जापको निम्ति जीत रहेको दावी गरे। 
अर्कोतिर नगरपालिका क्षेत्रमा 23 वटा वार्डमध्ये 17 वटा वार्डमा जापले विजय गर्नसकेकोमा शहरका जाप कार्यकर्ताहरू अनि जाप विद्यार्थी प्रकोष्ठको परिश्रमको फलस्वरूप नै यो सम्भव भएको बताए। यद्यपि विधानसभा चुनाउमा हारको सामना गर्नपरे पनि जापले जनहीतका कार्यहरूलाई निरन्तर रूपमा उठान गरिरहने सिमिकले बताएका छन्। 
डा. हर्कबहादुर छेत्रीले विधायकको पदमा बसेर जुन महत्त्वपूर्ण कामहरू गरेका छन् अनि आफ्नो अलग्गै पहिचान बनाउन सकेका छन् ठीक त्यसरी नै वर्तमान नवनिर्वाचित विधायिकाले डा. छेत्रीले भन्दा धेर काम गर्नुपर्ने सिमिकले सुझाउ राखेका छन्। जापले चुनाउपछि आ-आफ्नो स्तरमा चुनाउ समीक्षा सभाहरूको आयोजना गरिरहेको अनि चाँडै जाप ब्यूरो मेम्बरको सभा बसी भावी रणनीति तय गरिने सिमिकले बताएका छन्।

0 Response to "सरीता राईलाई जन आन आन्दोलन पार्टीको बधाई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.