-->
पिउने पानीको मागमा जापको मौन प्रदर्शन जारी

पिउने पानीको मागमा जापको मौन प्रदर्शन जारी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 मई। पिउने पानीको समस्या समाधानको माग गर्दै जन आन्दोलन पार्टीले लगातार रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। यसैक्रममा जाप कार्यकर्ताहरूले दुई दिनदेखि यहाँको डम्बर चौकमा पिउने पानीको दिर्घकालीन समाधानको मागमा धर्ना प्रदर्शन गरिरहेको छन।
लगभग महिना दिनदेखि सरकार अनि विभागलाई दवाब बनाउन विविध कार्यक्रमहरू गरिरहेको जनआन्दोलन पार्टीले आज पुन: मौन धरना प्रदर्शनको माध्मयबाट पार्टीको आवाज बुलन्द गरेको हो। धेरै मात्रमा जाप कार्यकर्ताहरूले यहाँको डम्बरचौकमा मौन प्रदर्शन गर्दै यथाशीघ्र पानीको स्थायी समाधान हुनुपर्ने माग गरेका छन्।
एकातिर आगामी बिहिबारका दिन विधानसभा चुनाउको परिणाम घोषणा हुनेछ भने अर्कोतिर चुनाउ परिणाम आउनअघि नै जापले राजनैतिक कार्यक्रमलाई तीब्रता दिइरहेको छ। यस सम्बन्धमा प्रश्न गर्दा जाप महासचिव नयन प्रधानले भने, चुनाउ आउँछ-जान्छ। वर्षौदेखि कालेबुङका जनता तिर्खाएका छन्। चुनाउ परिणामभन्दा कालेबुङबासीको तिर्खा महत्त्वपूर्ण हो।
जाप टाउन कमिटीद्वारा आयोजित मौन प्रदर्शन कार्यक्रममा सहभागि बनेका प्रधानले चुनाउ जुनै दलले जितेपनि पानीको समस्या जटिल बनिरहेको कारण जापले पानीको आन्दोलनलाई निरन्तर रूपमा अनि अझ प्रभावशाली ढङ्गमा अघि बढाउने बताए। 
‘हामीले मरुभूमिमा पानी मागेका छैनौँ। यहाँ पानी प्रशस्त छ तर पानीको व्यवस्थापन ठिक छैन’-प्रधानले भने। पत्रकारहरूसित कुराकानी गर्दै प्रधानले कालेबुङमा पिउने पानीको हाहाकार भइरहेको समयमा पनि जीटीएका भारप्राप्त सभासद् मौन रहेको आरोप लगाए। 
उनी अनुसार पीएचई जीटीएमा हस्तान्तरित विभाग हो। जुन विभागका सभासद्ले आजसम्म कालेबुङ आएर पानीको निम्ति कालेबुङबासीले भोगिरहेको अवस्था हेरेका छैनन्। गोजमुमोसित विभाग, पैसा, सत्ता सबैथोक हुँदाहुँदै पनि पानी जस्तो आवश्यकीय वस्तुसमेत दिन नसकेको प्रधानको आरोप छ। उनले केही दिनअघि पीएचई विभागले तीन-चार दिनभित्र रेली अनि थुकचुकको पानी पम्प गरेर ल्याउने भनी दिएको प्रतिश्रुति पनि केवल फोस्रो आश्वसन मात्र रहेको बताए। 
‘पीएचईले जतिपनि बचन दिएको छ आजसम्म एउटै पूरा गरेको छैन। विभागले रेली-थुकचुकबाट पानी ल्याउने बचन पनि पूरा गर्दैन’-प्रधानले भने। 
आजको जापको प्रदर्शनअवधि जाप कार्यकर्ताहरूसितै प्रगतीशिल विकलाङ्ग सङ्गठनका सदस्यहरूले पनि सहभागिता जनाएका थिए। हातमा प्ला कार्ड बोकेर प्रदर्शन गरिरहेका विकलाङ्ग सङ्गठनका अध्यक्ष गजेन्द्र गुरूङले भने, खुट्टा लाग्नेहरू कुनै धाराहरूमा गएर पानी ओसारेर भएपनि बाच्न सक्छन्। हामी त धाराबाट पानी ओसार्न पनि असक्षम छौँ। हामीलाई पानीको आवश्यकता अझ धेर छ। कालेबुङमा पानीको समस्या चाँडोभन्दा-चाँडो समाधान हुनुपर्छ। आम मानिसका निम्ति पर्याप्त धनसम्पत्ति भएपनि पानी नभए बाँच्न नसकिने भन्दै उनले विभाग र सरकारले पानीको मुद्दालाई लिएर गम्भिरतासित काम गर्न जरूरी रहेको बताए। 
आजको प्रदर्शनअवधि जाप टाउन कमिटीका संयोजक संयोजक एबी भण्डारी, प्रदीप छेत्री, कार्यालय प्रभारी विमल प्रधान, जाप केन्द्रिय समितिका नोर्देन भोटिया साथै विकलाङ्ग सङ्गठनका सचिव अनुप तिरूवा, उपाध्यक्ष लाक्पा सिंह शादा आदि विशेष रूपमा उपस्थित थिए।

0 Response to "पिउने पानीको मागमा जापको मौन प्रदर्शन जारी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.