-->
क्रामाकपाले गोर्खाल्याण्डको मुद्दालाई व्यापारको मुद्दा बनाउनेछैन – किशोर प्रधान

क्रामाकपाले गोर्खाल्याण्डको मुद्दालाई व्यापारको मुद्दा बनाउनेछैन – किशोर प्रधान

कालिमन्युज, कालेबुङ 7 अप्रेल 2016। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी(क्रामाकपा)ले पार्टी गठन भएको दुई दशकपछि प्रथमपल्ट कसैलाई साथ नदिएर आफै चुनावी मैदानमा ओर्लिएको छ। अहिलेसम्म प्रत्येक चुनावहरूमा मुद्दा मिलेको कारण समर्थन र सहयोग गर्दै आएको क्रामाकपाले प्रथमपल्ट चुनाव लड्नको साथै चुनावी मैदानमा विशेष रूपले युवा प्रार्थीहरूलाई अघि लगाएको छ। दार्जीलिङ पहाडका तीनवटा विधानसभा समष्ट्रिबाट चुनावी मैदानमा ओर्लिएको क्रामाकपाले यसपल्टको चुनावमा छुट्टै राज्य गोर्खाल्याण्डलाई नै प्रमुख मुद्दा बनाएको छ। यसक्रममा क्रामाकपा कालेबुङ विधानसभा चुनावका प्रार्थी किशोर प्रधानसिध स्थानीय समाचार च्यानल दैनन्दिनी अनि हाम्रो प्रजाशक्तिका सम्वाददाता डी.के वाइबाले गरेको विशेष कुराकानी -  

प्र. क्रामाकपालाई पार्टी गठनको 20 वर्ष पछि चुनावी मैदानमा ओर्लिन पर्ने के वाध्यता पर्‍यो ?
   क्रामाकपा भारतीय गोर्खाहरूको राष्ट्रिय राजनैतिक चिन्हारीको प्रश्नलाई समाधान गर्नका निम्ति गठन भएको राजनैतिक पार्टी हो। आजसम्म हामीले अन्य राजनैतिक दलहरूलाई राष्ट्रिय राजनैतिक परिप्रेक्ष्यमा उठ्ने छुट्टै राज्यको मुद्दालाई हेरेर साथ अनि समर्थन दिँदै आएका हौँ। क्रामाकपाले यत्तिका वर्षसम्म अरूलाई साथ दिँदै आए पनि सबै राजनैतिक दलहरूले निकास दिलाउन नसकेपछि हामी चुनावी मैदानमा ओर्लिएका छौँ।


प्र. त्यसको अर्थ आजसम्म अन्य राजनैतिक दलहरूले जनतालाई धोका मात्र दिने कार्य गर्‍यो ?
   हो आजसम्म विधानसभा अनि लोकसभामा गोर्खाल्याण्ड भनेर गएका नेता अनि राजनैतिक दलहरूले जनतालाई धोका मात्र दिने कार्य गरेको छ। अब क्रामाकपा यस्ता धोका दिने नेताहरूलाई त्यागेर सत्य र ईमान्दार नेतृत्व चुन्नुपर्छ भन्ने जनतालाई अह्वान गर्छौँ।


प्र. बङ्गालको विधानसभाले गोर्खाल्याण्ड दिँदैन। त्यहीँ गोर्खाल्याण्ड नदिने विधानसभाको चुनावमा किन भाग लिन पर्‍यो?

    हामी जान्दछौँ बङ्गालको विधानसभाले गोर्खाल्याण्ड दिँदैन भन्ने कुरा। त्यहाँ 391 जना विधायकहरूले गोर्खाल्याण्डको प्रचण्ड विरोध गर्छ भन्ने हामी जान्दछौँ। यद्यपी हामी विधानसभालाई सही प्रयोग गरेर त्यहाँ गोर्खाल्याण्डको आवाज उठाउँन चाहन्छौँ। गोर्खाल्याण्ड भारतीय संविधान अनुरूप हुनपर्छ भन्ने हाम्रो माग हो। विधानसभा संविधानद्वारा मान्यता प्राप्त स्थान हो। यदि त्यहाँ गोर्खाल्याण्ड हुँदैन भन्छ भने त्यो संविधानको विरोध हो। हामी यसबारे सही तथ्यपरक तर्क प्रस्तुत गरेर संवैधानिक मागको औचित्य बुझाउनेछौँ। विगतका विधायकहरूले गर्न नसकेको काम हामी गर्नेछौँ।


प्र. गोर्खाल्याण्ड बाहेक अन्य के के मुद्दाहरूलाई प्राथमिकता दिनुहुनेछ ?
   ग्रामीण स्तरको बिकासका निम्ति पञ्चायत व्यवस्था हुन अतिनै आवश्यक छ। धेरैवर्ष यता पञ्चायत चुनाव हुन सकेको छैन। जसले गर्दा ग्रामीण क्षेत्रको विकास पूर्णरूपले हुन सकेको छैन। यदि चुनाव जितेको खण्डमा हामी सरकारलाई आधिकारिक जवाब माग्नेछौँ अनि पञ्चायत चुनाउ सम्पन्न गर्नका निम्ति काम गर्नेछौँ। यसबाहेक हामी पहाडमा आम मानिसहरूको समस्याहरूलाई सम्बोधन गरेर जनहितमा काम गर्नेछौँ।


प्र.  आजसम्म चुनाव जितेर गएका विधायकहरूले विधानसभामा पुगेर काम गरेन त?
  निश्चय नै गरेको छैन। जति सरकारको दया अथवा मायामा काम भयो त्यति मात्रै हो। अन्य कुनै भनेजस्तो काम भएको छैन। 25 वर्षसम्म चुनाव जितेर गएका विधायकहरूले नगरेको काम हामी चुनाव जितेको खण्डमा पाँचवर्षमा पुरा गर्नेछौँ। हामी जनताको दास भएर काम गर्नेछौँ।


प्र. गोर्खाल्याण्डको मुद्दालाई यहाँ व्यापारको मुद्दा बनाउने कार्य हुँदैछ। क्रामाकपाले पनि यस मुद्दालाई व्यापार बनाएको त होइन?
   क्रामाकपाले नीति र सिद्धान्तको राजनीति गर्छ। हामीले गोर्खाल्याण्डको मुद्दालाई व्यापार बनाएको छैनौँ अनि बनाउने पनि छैनौँ। क्रामाकपा गाँस, वास र कपासका निम्ति जुझिरहेका जनताको निम्ति काम गर्ने राजनैतिक दल हो। हामी मुद्दाको व्यापार गर्दैनौँ जसरी अन्य राजनैतिक दलहरूले आजसम्म गोर्खाल्याण्डलाई व्यापार बनाउने कार्य गरिरहेको छ।


प्र.  कालेबुङ जिल्लालाई क्रामाकपाले कसरी हेरेको छ ?
उ    क्रामाकपाले जिल्लाको मुद्दालाई स्वागत अनि समर्थन गर्छ। यसबारे हामी काम गर्नेछौँ। यद्यपी हामी जिल्लाको मुद्दाले गोर्खाल्याण्डको मुद्दालाई ओझेलमा पार्न दिनेछैनौँ।


प्र. क्रामाकपाले अब आगमी दिनहरू पनि चुनावमा सहभागीता जनाउनेछ ?
   क्रामाकपाले चुनावमा सहभागीता जनाउने कार्यको प्रारम्भ गरेको छ। अब हामी आउने प्रत्येक चुनाउ लड्नेछौँ। 

0 Response to "क्रामाकपाले गोर्खाल्याण्डको मुद्दालाई व्यापारको मुद्दा बनाउनेछैन – किशोर प्रधान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.